पोखराको पुरानो एयरपोर्टमा विपत्‌को पूर्व तयारीका लागि आपतकालीन गोदामघर

पोखराको पुरानो एयरपोर्टमा विपत्‌को पूर्व तयारीका लागि आपतकालीन गोदामघर

aapatkalin

पोखरा। पोखराको पुरानो विमानस्थलमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले मानवीय सहायता केन्द्र निर्माण गरेको छ । उक्त केन्द्रको नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले बुधबार उद्घाटन गरेका छन् । मौसमको खराबीका कारण उनी पोखरा आउन नसकेपछि भर्चुअल रुपमा उद्घाटन गरेका हुन् ।

गृहमन्त्रीले वक्तव्य दिएर भर्चुअल रुपमा उद्घाटन गरेपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ताम्रपत्र अनावरण गरे ।

कार्यक्रममा गृहमन्त्री लेखकले विपद व्यवस्थापनका लागि ३ तहकै सरकार मिलेर काम भइरहेको र आगामी दिनमा समेत यसले निरन्तरता पाउने बताए । पोखरामा बनेको सहायता केन्द्र सञ्चालनमा आएपछि यस क्षेत्रको विपद् व्यवस्थापनमा चुस्त हुने विश्वास उनले व्यक्त गरे ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशमा यस वर्ष मात्र बाढी, पहिरोका कारण सबैभन्दा धेरै जनधनको क्षति भएको बताए ।

यस वर्ष मात्रै प्रदेशमा ७३ जनाको ज्यान गएको, ३ जना बेपत्ता, ८२ जना घाइते र १७ करोड बराबरको क्षति भएको जानकारी उनले दिए।  मुख्यमन्त्री पाण्डेले विकास साझेदार, सङ्घ, प्रदेश र स्थानीयको समन्वयबाट सञ्चालन गर्नका लागि कार्यविधि बनाई अगाडि बढ्नुपर्ने बताउँदै एकद्धार प्रणाली लागु गरिएमा सम्बन्धित क्षेत्रका बासिन्दाले प्रत्यक्ष लाभ लिन सक्ने बताए ।

युरोपेली संघको झण्डै दुई करोड रुपैयाँ (१ लाख ६१ हजार अमेरिकी डलर) को सहयोगमा बनेको उक्त केन्द्रको गत चैतमा कास्कीका तत्कालीन प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले शिलान्यास गरेका थिए ।

उक्त केन्द्रका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले ४ रोपनी जग्गा उपलब्ध गराएको थियो । कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले छिटै कार्यविधि बनाएर केन्द्र सञ्चालनमा ल्याइने प्रतिबद्धता जनाए ।

केन्द्रमा राहत सामग्री, उद्धारका उपकरण, खाद्यान्न, जेनेरेटर लगायतका सामग्री राखिने छ । गण्डकीमा आइपर्ने मानवीय संकटका बेला यो केन्द्र उपयोगी हुने डब्लुएफपीले जनाएको छ । विपत्तिका बेला संकलन हुने राहत सामग्रीको अभिलेख राख्ने, सहजीकरण गर्ने र उद्धार एवं राहत वितरणलाई छरितो बनाउनका लागि मानवीय सहायता केन्द्रमार्फत् काम हुने छ । खासगरी भूकम्प, बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिपछि राहत तथा उद्धारका लागि केन्द्रले काम गर्ने छ ।

बागमती प्रदेशको त्रिभुवन विमानस्थलमा, सुदूरपश्चिमको धनगढी र बैतडीमा, लुम्बिनीको नेपालगन्ज र भैरहवामा, कर्णाली प्रदेशको सुर्खेत र जुम्लामा, मधेश प्रदेशको वीरगन्ज र बर्दिबासमा तथा कोशी प्रदेशको विराटनगर र तेह्रथुममा गरी देशैभर ११ ठाउँमा मानवीय सहायतास्थल बनेका छन्। गण्डकी प्रदेशको पोखरामा शुरू भएको सहायतास्थल १२औं संरचना हो।

२०७१ चैतमा पहिलो पटक त्रिभुवन विमानस्थलमा सञ्चालन भएको सहायतास्थल २०७२ सालको महाभूकम्प जाँदा राहत र उद्धारको केन्द्र नै बनेको विश्व खाद्य कार्यक्रमका ईपीआर परियोजनाका अधिकारी मोती थापाले बताए।

कार्यक्रममा गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा. भीष्म प्रसाद भुसाल, विपद् जोखिम व्यवस्थापन तथा पुनर्लाभ शाखा प्रमुख विश्वराज न्यौपानेलगायतका वक्ताहरूले सो गोदामघरको आवश्यकताका बारेमा बोलेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ