रवि पक्राउ पर्ने हल्लाले रास्वपामा हलचल, केन्द्रीय कार्यालयमा कार्यकर्ताको भीड

सहकारी प्रकरणः

रवि पक्राउ पर्ने हल्लाले रास्वपामा हलचल, केन्द्रीय कार्यालयमा कार्यकर्ताको भीड

rabi sabhapati

सहकारी बचत अपचलन प्रकरणमा गोर्खा मिडिया ग्रुपका सञ्चालक तथा पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि रास्वपा सभापति रवि लामिछाने पनि सम्भावित गिरफ्तारीको खबरले पार्टीभित्र हलचल मच्चिएको छ।

पक्राउको आशंकासँगै रास्वपाले आन्तरिक छलफल तीव्र बनाउँदै कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको छ।

सहकारी छानबिन विशेष संसदीय समितिले जीबी राईले सहकारीको रकम गोर्खा मिडियामा ल्याएको र रवि लामिछानेले समेत हस्ताक्षर गरेर खर्च गरेको ठहर गरेको थियो।

उक्त ठहरपछि समितिले कानूनी कारबाहीको सिफारिस गरेको थियो।

सरकारको निर्देशन आएलगत्तै प्रहरीले छविलाललाई आज साँझ पक्राउ गरेको हो।

यसैबीच, लामिछाने पनि सम्भावित पक्राउको तयारीमा छन्। श्रोतका अनुसार कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी लिन प्रहरी टोली खटाइसकिएको छ भने प्रहरी प्रधान कार्यालयका अनुसार उनलाई सम्भावित गिरफ्तारीबारे सूचित गरिएको छ।

सहकारी ठगी प्रकरणमा संसदीय समितिको सिफारिसअनुसार कारबाही हुन सक्ने आशंका गर्दै पार्टीले आन्तरिक रणनीति बनाउन थालिसकेको छ। रवि अहिले बनस्थलीस्थित पार्टी कार्यालयमा नेताहरूसँग आन्तरिक छलफल गरी घर फर्किसकेका छन् ।

रास्वपाले लामिछानेको गिरफ्तारीको हल्लापछि आफ्ना कार्यकर्तालाई केन्द्रीय कार्यालयमा भेला बोलाएको हो।

सभापति लामिछानेलाई समेत आजै पक्राउ गर्ने आशंकापछि रास्वपाले काठमाडौं उपत्यकाका पार्टी-कार्यकर्तालाई केन्द्रीय कार्यालयमा जम्मा हुन सर्कुलर जारी गरेको थियो ।

केन्द्रीय कार्यालय परिसरमा नेता-कार्यकर्ता जम्मा भएका थिए भने बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो।

चीन गएका नेतालाई रास्वपाले बोलायो फिर्ता

रास्वपाले चीन गएका आफ्ना नेताहरुलाई फिर्ता बोलाएको छ । पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि केन्द्रीय पार्टी कार्यालयमा भेला भएका रास्वपाका नेताहरूको छलफलले चिन भ्रमणमा गएका आफ्ना नेतालाई फिर्ता बोलाएको हो ।

चीन भ्रमणमा गएका नेताहरुलाई फिर्ता बोलाइएको रास्वपाका नेता विराजभक्त श्रेष्ठले जानकारी दिए ।

सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा आएपछि सो रकम खर्च गर्ने र गराउने प्रक्रियामा लामिछाने संलग्न रहेको संसदीय छानबिन समितिको ठहर छ । समितिको सिफारिस अनुसार गोर्खा मिडियाका सञ्चालक कुमार रम्तेल, छविलाल जोशी र प्रबन्ध निर्देशक लामिछानेविरुद्ध पूरक अभियोग लैजान लागिएको हो ।

गोर्खा मिडियाका अध्यक्ष गितेद्रबावु राईविरुद्धको मुद्दा कास्की जिल्ला अदालतमा विचाराधीन छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ