आज ईन्द्र जात्रा पर्व मनाईंदै

आज ईन्द्र जात्रा पर्व मनाईंदै

indra jatra

काठमाडौँ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।

प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको यःसिं ठड्याइएपछि शुरु हुने यो जात्रा विभिन्न नाचगान, रथयात्रा र देवीदेवताको पूजा गरी सात दिन मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको यःसिँलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । यःसिँको फेदमा इन्द्रको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो ।

इन्द्रध्वजको पूजागरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । आजको दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोका गद्दी बैठकमा देवीका रूपमा रहेका श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा अवलोकन गर्ने परम्परा छ ।

इन्द्रध्वजाको यःसिं ठड्याएपछि शुरु भएको जात्राभरि भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । इन्द्रध्वजाको यःसिं ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने विधान रहेको छ ।

यस उपलक्ष्यमा आज उपत्यकाको पश्चिममा पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भाद्र शुक्ल पूर्णिमाका दिन बुधबार स्नान गरेर मेला भर्न भक्तजनको घुइँचो लाग्छ । पर्वको अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा समेत दिइएको छ ।

यसैबीच भाद्र शुक्ल चतुर्दशीका दिन अनन्तनाथ (भगवान् विष्णु) को पूजा गरेर अनन्त चतुर्दशी पनि मनाइँदैछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ