गण्डकीको पहिलो प्रेस रजिष्ट्रारमा विमला भण्डारी नियुक्त

नियुक्ति

गण्डकीको पहिलो प्रेस रजिष्ट्रारमा विमला भण्डारी नियुक्त

भण्डारी पत्रकार महासंघ कास्कीको पहिलो महिला अध्यक्ष पनि हुन्

bimala bhandari

पोखरा । गण्डकी प्रदेशको प्रेस रजिष्ट्रारमा पत्रकार विमला भण्डारी नियुक्त भएकी छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष भण्डारीलाई रजिष्ट्रार नियुक्त गरेको हो ।

गण्डकीको पहिलो प्रेस रजिष्टार नियुक्तिका लागि सरकारले गत १६ साउनमा १५ दिनको म्याद दिएर सार्वजनिक सूचनामार्फत दरखास्त आह्वान गरेकोमा ५ जनाले दरखास्त दिएका थिए ।

छनोट समितिका सदस्यसचिव समेत रहेका मुख्यमन्त्री कार्यालयका सचिव केशवराज ढकालका अनुसार उक्त पदका लागि ५ जनाको दरखास्त परेका थिए । जसमा भण्डारीसहित भरत कोइराला, भानु पराजुली, दुर्गा अधिकारी, सरिता तिम्सिना पगेनी प्रतिस्पर्धी थिए ।

उम्मेदवारको केही दिनअघि व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणसँगै अन्तर्वार्ता भएको थियो । तीमध्ये छनोट समितिले नाम मन्त्रिपरिषद्मा निर्णयार्थ पठाएको थियो ।

आर्थिक मामिला मन्त्री एवं सरकारका प्रवक्ता डा. टकराज गुरुङको संयोजकत्वमा गठित ३ सदस्यीय छनोट समितिमा विज्ञ सदस्यको रुपमा अग्रज पत्रकार रवीन्द्र बास्तोला समेत थिए ।

गण्डकी प्रदेश आमसञ्चार ऐन, २०८० बमोजिम आगामी ४ वर्षका लागि प्रेस रजिष्ट्रार नियुक्ति गरिएको हो ।

कानुनमा प्रेस रजिष्ट्रारका लागि ३५ वर्ष पूरा भई ६० वर्ष ननाघेको, मान्यताप्राप्त विश्वविद्यालयबाट पत्रकारिता, आमसञ्चार, सूचना प्रविधि र कानूनमध्ये कुनै एक विषयमा स्नातकोत्तर तह हासिल गरेको, पत्रकारिता, आमसञ्चार, सूचना प्रविधि र कानूनमध्ये कुनै एक विषयमा कम्तीमा १५ वर्षको अनुभव भएको लगायत योग्यता तोकिएको छ ।

भण्डारी नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष हुन् । पत्रकार महासंघ निर्वाचन असोज १२ गते गर्ने निर्णय भइरहँदा उनी यहाँ प्रेस रजिष्ट्रारमा नियुक्त भएकी छन् । अब उनले पदबाट राजीनामा दिनेछिन् र मुख्यमन्त्रीबाट नियुक्तिपत्र लिएपछि औपचारिक रुपमा प्रेस रजिष्ट्रारको पदभार ग्रहण गर्नेछिन् । भण्डारी पत्रकार महासंघ कास्कीको पहिलो महिला अध्यक्ष पनि हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ