आज जनै पूर्णिमा । यस दिनको विशेष खान्की हो, क्वाँटी । त्यसो त हरेकजसो पर्वको आ–आफ्नै विशेष परिकार हुने गर्छ । जस्तो तिहारमा सेलरोटी, दशैंमा मासु, माघे संक्रान्तिमा कन्दमुल, असार पन्ध्रमा दही चिउरा ।
झ्ट्ट हेर्दा लाग्छ, यो खाने संस्कृतिको आधुनिक जीवनसँग कुनै साइनो छैन । यो त केवल आडम्बर हो । पुरातन संस्कार हो । परम्परा धान्नका लागि मात्र यसो विधि पुर्याउने हो ।
तर, हाम्रा पुर्खाले यस्ता संस्कार बसाएका होइनन् । यसमा केही सामाजिक, केही सांस्कृतिक, केही वैज्ञानिक रहस्य एवं महत्व हुन्छ । चर्चा गरौं क्वाँटीको ।
जनै पूर्णिमाको दिन विभिन्न गेडागुडी मिसाएर पकाइने एक झोलिलो खान्की हो यो । सिमी, केराउ, चना, मटर, राजमा, बोडी, भटमास, मुगी, दाल लगायत थरीथरीका गेडागुडीको समिश्रणलाई भिजाएर त्यसबाट टुसा अंकुराउन थालेपछि पकाउन योग्य मानिन्छ । यसरी पकाइएको खान्कीलाई क्वाँटी भनिन्छ ।
परम्परागत हिसाबले हेर्ने हो भने क्वाँटीमा ९ थरीका गेडागुडी मिश्रण गरिन्छ । यसलाई भिजाउने, टुसा उमार्ने र पकाउने विधी पनि छ ।
अंकुरित गेडागुडी स्वास्थ्यका लागि राम्रो हो । यसमा भरपुर मात्रामा प्रोटिन हुन्छ । साथै भिटामिन र मिनरल्सको स्रोत पनि हो यो ।
किन खाने क्वाँटी ?
हामीलाई थाहा भएकै कुरा हो, शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्नका लागि विभिन्न पोषक तत्वको आवश्यक पर्छ । त्यस्ता पोषक तत्व खानेकुराको माध्यामबाट प्राप्त हुने हो । त्यसैले हाम्रो शरीरका लागि सन्तुलित आहारको आवश्यक्ता पर्छ । सन्तुलित आहारमा अंकुरित गेडागुडी पनि एक हो ।
तर, हामी गेडागुडी भिजाएर त्यो अंकुराएपछि खान जाँगर चलाउँदैनौ । अंकुरित गेडागुडी एक पटक मात्र होइन, हरेक दिन आवश्यक हुन्छ शरीरलाई । जनै पूर्णिमा नै किन त ?
हामी कृषि उद्यममा आधारित जीवनशैलीमा बाँचेका छौं । यतिबेला खेती किसानी गरेर थकित भएका हुन्छन् । खेती किसानीको क्रममा शारीरिक श्रम बढी गर्दा शरीरलाई अतिरिक्त उर्जाको खाँचो हुन्छ । त्यसैको परिपूर्ति गेडागुडी अर्थात प्रोटिनले गर्छ । प्रोटिनले मांसपेशीलाई स्वस्थ्य राख्ने काम पनि गर्छ ।
खेतीपातीको कामले थकित शरीरमा उर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खाने गरिएको भनाइ छ ।
यस्ता छन् क्वाँटीका फाइदा:
पोषणविद्का अनुसार क्वाँटी आफैमा प्रोटिनको सम्पूर्ण स्रोत हो । यो शक्तिवद्र्धक एवं पौष्टिक आहारा हो । यसमा भिटामिन बिका सबैजसो प्रकार पाइन्छ ।
- कब्जियतको समस्या हटाउँछ । क्वाँटी रेसादार खानाको स्रोत हो ।
- मधुमेह तथा पायल्स भएका मानिसलाई समेत फाइदा गर्छ । तर मधुमेह भएकाले चिकित्सक तथा डाइटिसियनसँग भने एक पटक सल्लाह लिन आवश्यक छ ।
- यसले बूढो हुने गति मन्द पार्नुको साथै मानिसलाई सुन्दर स्वस्थ र रोगमुक्त पार्दछ ।
- तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई चाहिने शक्तिको स्रोत दिन्छ ।
- यो सजिलै पाच्य हुन्छ।
- पेटमा अनावश्यक वायु बनाउँदैन ।
- क्वाँटीमा भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन ई तथा खनिज पदार्थ प्रशस्त मात्रामा हुन्छ । यसले शरीरको थकाइ कम गर्छ र तनावबाट मुक्त गराउँछ ।
- रोग प्रतिरोधात्मक शक्ति बढाउँछ ।
- रोगी, बालबालिका तथा वृद्धमा हुने कुपोषण हटाउन सकिन्छ।
- क्वाँटीको नियमित सेवनले स्मरण शक्ति पनि बढ्छ ।
- मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ।
- रक्तसञ्चार तथा स्नायु प्रणालीलाई धेरै फाइदा पुग्छ।
- टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ । त्यसैले, क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा सङ्क्रमणजस्ता समस्याबाट पनि छुट्कारा मिल्छ ।
- पाचनशक्तिमा सुधार ल्याउँछ ।
- गेडागुडीमा हुने सबै पौष्टिक तत्त्व शरीरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार आउँछ
तर, कति खाने ?
क्वाँटीलाई ज्वानोमा झानेर वा पकाएर खाने गरिन्छ । यो स्वादिलो परिकार पनि हो । तर, यसबाट प्रोटिन मिल्छ भनेर वा मिठो लागेको भरमा धेरै मात्रामा खानु हुँदैन । क्वाँटी नियन्त्रित मात्रामा खानुपर्छ ।
किनभने जब शरीरमा प्रोटिनको मात्रा बढ्छ, युरिक एसिड बढ्ने भय हुन्छ । यसको भार मिर्गौंलामा पर्न सक्छ । अत्याधिक वा अनियन्त्रित क्वाँट सेवन गर्दा त्यसले मिर्गौलालाई असर गर्छ ।
सम्बन्धित खबर
अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्न मन्त्री पौडेलको सक्रियता
आज विश्व ध्यान दिवस मनाइँदै
तिहारमा अधिक मिठाइ खाँदा यी कुराहरूमा ध्यान दिनुहोस्
भीरकोटमा वृहत् योग शिविर हुने
पोषणविद्को सुझाव : दसैं भन्दैमा धेरै नखाऔं, चिल्लो पिरो कम गरौं
बिरामी बनाउन सक्छ दसैंको खानपानले, मासुसँगसँगै फलफूल उपयोगी
यो पनि पढौँ
पोखरामा सेती ड्यामबाट खसेर डब्लूआरसी पढ्ने २१ वर्षीय संगमको मृत्यु
अमेरिकामा कार दुर्घटना हुँदा २ नेपालीको मृत्यु
पोखरामा स्काई डाइभिङ सुरू, नेपाली प्रशिक्षकले नै गराउने
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत