दुई हप्ता नपुग्दै अर्को हवाई दुर्घटना: सुरक्षाप्रति गम्भीर चिन्ता

दुर्घटना

दुई हप्ता नपुग्दै अर्को हवाई दुर्घटना: सुरक्षाप्रति गम्भीर चिन्ता

नेपालको हवाई इतिहासमा कूल एक सय १० हवाई दुर्घटनामा नौ सय ६५ जनाको मृत्यु

helicopter-cras-6-1

सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको दुई हप्ता नपुग्दै आज एयर डाइनेस्टीको ९ एन–एजेडी दर्ता नम्बर रहेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।

हेलिकप्टर दुर्घटनामा परी पाइलट अरुण मल्लसहित चार चिनियाँ नागरिकको मृत्यु भएको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले जानकारी दिए ।

मृत्यु हुने चिनियाँ नागरिकहरूमा जुताड ताङ, ताइ ली, यीयाम वु र जेमिङ जी रहेका छन् । मृतक सबैको शव सङ्कलनगरी परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रले विज्ञप्तिमार्फत जनाएको छ ।

आज दिउँसो १ः५४ बजे भक्तपुरको नलिनचोकबाट रसुवाको स्याफ्रुबेंसीका लागि उडान भरेको हेलिकप्टर उडान भरेको तीन मिनेटपछि सम्पर्कविहीन भएको थियो । दिउँसो २ः१४ बजे नुवाकोटको शिवपुरी गाउँपालिका–सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो ।

सरकारले एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको छानबिन गर्न आजै तीन सदस्यीय दुर्घटना जाँचबुझ आयोग गठन गरेको छ । मन्त्रिपरिषद्को आज सिंहदरबारमा भएको आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा आयोग गठन गरेको हो । आयोगलाई ३० दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ ।

यसअघि साउन ९ गते सौर्य एयरलाइन्सको सिआरजे ७ (९एन–एएमइ) कलसाइन विमान स्थानीय समयअनुसार बिहान ११ बजेर ११ मिनेटमा पोखराका लागि उड्नेबित्तिकै दुर्घटनाग्रस्त भएको थियो । चालकदलसहित १९ जना सवार उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी १८ जनाको मृत्यु हुनका साथै एक जना घाइते भएका थिए ।

यसअघि पटक १४ अक्टोबर सन् २०२३ मा मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेको थियो । सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको ‘एन–एनजे’कलसाइन हेलिकप्टर जिल्लाको खुम्बु–पासाङल्हामु गाउँपालिका–४ लोबुचेमा दुर्घटना भएको थियो ।

प्राधिकरणको हवाई सुरक्षा प्रतिवेदन ‘एभिएसन सेफ्टी रिपोर्ट’ अनुसार नेपालको हवाई इतिहासमा कूल एक सय १० हवाई दुर्घटनामा नौ सय ६५ जनाको मृत्यु भएको छ । यो हेलिकप्टर र विमान दुवै दुर्घटनाको विवरण हो ।

नेपालमै पहिलो पटक सन् १९७९ मा लाङ्टाङमा हेलिकप्टर दुर्घटना भएको थियो । लाङ्टाङमा भिभिआइपी हेलिकप्टर दुर्घटना हुँदा छ जनाको मृत्यु भयो । त्यसयता आजको हेलिकप्टर दुर्घटना एक सय १०औँ दुर्घटना हो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार आजको हेलिकप्टर दुर्घटनासहित हालसम्म नेपालमा विभिन्न हेलिकप्टर कम्पनीका ४१औँ दुर्घटना हो । ती दुर्घटनामा ९८ जनाको मृत्यु भएको छ । उनले नेपालमा एकपछि अर्को हवाई दुर्घटनाले प्राधिकरणलाई गम्भीर बनाएको बताए । उनले हवाई सुरक्षालाई प्रभावकारी बनाउन थप सक्रियता अपनाउने विश्वास व्यक्त गरे ।

प्राधिकरणको विवरणमा एक सय १० दुर्घटनामध्ये ५१ मल्टिइञ्जिन विमान दुर्घटनामा चार सय ६९, आठ सिङ्गल इञ्जिन विमान दुर्घटनामा २५ र ४१ हेलिकप्टर दुर्घटनामा ९८, विदेशमा दर्ता भएका १० वायुयान दुर्घटनामा तीन सय ७३ को मृत्यु भएको छ । रासस

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds