मेसी बने अन्तर्राष्ट्रिय फूटबलका दोस्रो सर्वाधिक गोलकर्ता

मेसी बने अन्तर्राष्ट्रिय फूटबलका दोस्रो सर्वाधिक गोलकर्ता

messi

Photo Credit: FRANCISCO SECO/THE ASSOCIATED PRESS

अर्जेन्टिनाका कप्तान लियोनल मेसी अन्तर्राष्ट्रिय फूटबलका दोस्रो सर्वाधिक गोलकर्ता बनेका छन् ।

अमेरिकामा जारी कोपा अमेरिकाअन्तर्गत बुधवार बिहान न्युयोर्कमा भएको खेलमा क्यानडाविरुद्ध गोल गर्दै उनले यो कीर्तिमान बनाएका हुन् ।

यससँगै अन्तर्राष्ट्रिय फूटबलमा मेसीको नाममा १०९ गोल भएको छ । उनले इरानका अली देईको कीर्तिमान बराबरी गरेका हुन् ।

मेसीले अर्जेन्टिनाका लागि १८६ खेल खेल्दै १०९ गोल गरेका हुन् । मेसीभन्दा अघि अब पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो मात्र छन् । उनले २१२ खेल खेल्दै १३० गोल गरेका छन् ।

साविक विजेता अर्जेन्टिना क्यानडालाई २–० गोल अन्तरले हराउँदै कोपा अमेरिकाको फाइनलमा पुगेको छ ।

क्यानडाविरुद्ध अर्जेन्टिनाको जीतमा कप्तान मेसीसँगै जुलियन अल्भारेजले गोल गरे । जारी प्रतियोगितामा मेसीले पहिलो गोल गरेका हुन् ।

खेलको २२ औँ मिनेटमा नै अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । ५२ औँ मिनेटमा गोल गर्दै मेसीले अग्रता दोब्बर बनाएका हुन् । यसपछि दुवैतर्फबाट गोल हुन नसकेपछि अर्जेन्टिनाले खेल २–० ले जितेको हो ।

अब अर्जेन्टिनाले उरुग्वे र कोलम्बियाको विजेतासँग उपाधि भिडन्त गर्नेछ ।

अर्जेन्टिना कोपा अमेरिकाको लगातार दोस्रो उपाधि जित्ने लक्ष्यमा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ