गण्डकीमा आज पहिरोमा परेर ७ जनाको मृत्यु, २ बेपत्ता

विपद्

गण्डकीमा आज पहिरोमा परेर ७ जनाको मृत्यु, २ बेपत्ता

tanahu-pahiro-2

गण्डकीमा शनिबार मात्रै बाढीपहिरोमा परेर ७ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् ।

यसवर्ष मनसुन सुरु भएसँगै गण्डकी प्रदेशमा अहिलेसम्म १८ जनाले पहिरोमा परेर ज्यान गुमाएका छन् । लमजुङमा पहिरोमा परेर ५ जनाले ज्यान गुमाए भने कास्की सहित स्याङ्जा र बाग्लुङमा २/२ जना गरी ६ जनाको मृत्यु भएको छ ।

स्याङजामा पहिरोमा परेर दुई स्थानमा गरी ४ जनाको मृत्यु भएको छ । शनिबार दिउँसो विरुवा गाउँपालिका–६ लामाखेतमा घरमाथिबाट खसेको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको हो ।

७१ वर्षीय माधव शर्मा उनकी श्रीमति ६५ वर्षीय गुहेश्वरी शर्मा मरासिनी, छिमेकी ६७ वर्षीय हरिमाया शर्माको मृत्यु भएको वडाध्यक्ष कृष्णबहादुर क्षेत्रीले जानकारी दिए ।

स्याङदीका यी तिनै जना पहिरोले घर पुरेपछि भागेर झन्डै एक किलोमिटर पर इश्वरी लम्सालको घरमा गएर आश्रय लिएका थिए । तर, आश्रय लिएको घरमा पनि माथिबाट पहिरो खस्दा मृत्युवरण गर्नुपरेको छ । खाना खाने बेलामा एक्कासी पहिरो खस्दा पुरिएर मृत्यु भएको वडाध्यक्ष क्षेत्रीको भनाइ छ ।

इश्वरी लम्सालको परिवारका ८ जना सदस्य पनि त्यही घरमा थिए । ५ जना घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको वडाध्यक्ष क्षेत्रीको भनाइ छ ।

यसैगरी,  स्याङजाको भीरकोट नगरपालिका–५ स्वरेक जिमिरेमा घरमाथिबाट खसेको पहिरोले एक जना वृद्धाको मृत्यु भएको छ ।

सडकमाथिबाट खसेको पहिरोमा पुरिएर ७५ वर्षीय खिनाकुमारी मल्लको मृत्यु भएको हो । उनकी बुहारीले भने भागेर ज्यान जोगाउन सफल भएकी छिन् ।

यस्तै, पर्वतमा पनि पहिरोले दुई जनाको ज्यान लिएको छ । गोठमा बाँधेको भैंसी बाख्रा जोगाउन खोज्दा फलेवास नगरपालिका–१ कार्कीनेटाका ४० वर्षीय झलकप्रसाद शर्मा र स्याङ्जाको आँधीखोला गाउँपालिका–३ का ३३ वर्षीय तुलसीप्रसाद शर्माको मृत्यु भएको हो । तुलसीप्रसाद झलकको आफन्त हुन् ।

पहिरोमा पुरिएर वेपत्ता दुवै जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी खुमलाल भुषालले जानकारी दिए ।पहिरोमा पुरिएर २ वटा माउ भैँसी, एउटा पाडो र ४ वटा बाख्रासमेत वेपत्ता भएको छ ।

तनहुँमा पनि पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । शुक्लागण्डकी नगरपालिका–७ काउरेमा पहिरोले घर पुरिएर तीन जना बेपत्ता भएका थिए ।

बेपत्ता मध्ये हिरा नेपालीको शव फेला परेको इलाका प्रहरी कार्यालय बेलचौैताराका प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी बताए । अनिषा बास्तोला र श्याम भण्डारी वेपत्ता रहेका छन् ।

दिउँसो हिरा नेपालीको घरमा पहिरो खसेपछि उद्धार गर्न आएका छिमेकीसमेत वेपत्ता भएका हुन् । ५ जना सामान्य घाइते भएका थिए । भिरालो जमिन भएकाले पहिरो झरेको प्रहरी निरीक्षक सुवेदी बताउँछन् । पहिरो खसेर सुना नेपालीको घरमा समेत पूर्ण क्षति पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds