पोखरामा प्रधानमन्त्री प्रचण्डलाई सहकारी पीडितले देखाए कालोझण्डा [भिडियो]

आन्दोलन

पोखरामा प्रधानमन्त्री प्रचण्डलाई सहकारी पीडितले देखाए कालोझण्डा [भिडियो]

प्रहरीले बल प्रयोग गर्दा केही घाइते

pm-kalo-jhanda

प्रधानमन्त्री प्रचण्डलाई पोखराका सहकारीपीडितले विरोधमा कालो झण्डा र ब्यानर देखाएका छन्। पोखरा सभागृहमा माओवादी केन्द्रको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्न जानेक्रममा उनलाई कालो झण्डा र ब्यानर देखाइएको हो।

कार्यक्रममा विरोध जनाउँदा प्रहरीले कुटपिट र धरपकड गरेको छ। प्रहरीले बल प्रयोग गर्दा केही घाइते भएका छन् । प्रचण्ड कार्यकर्ता प्रशिक्षणमा जाँदै गर्दा पोखरा सभागृह अगाडि सहकारी पीडितले विरोध प्रदर्शन गर्न खोजेका थिए।

प्रदर्शनकारीमध्ये १२ जनालाई प्रहरीले नियन्त्रण लिएको सहकारीपीडित संयुक्त संघर्ष समिति संयोजक किरण श्रेष्ठले बताए। तीमध्ये पोखरा सराङकोटका ७८ वर्षीय भीमप्रसाद चपाईँ र पोखरा लेकसाइडकी ३० वर्षीया अनुराधा श्रेष्ठ घाइते छन्।

‘सहकारी पीडितलाई न्याय दे’ लगायतका नाराबाजी गर्दैगर्दा उनीहरू सभागृह हलको मूलगेटबाटै पक्राउ परेका हुन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्की लगिएको छ।

प्रधानमन्त्री प्रचण्ड बुधबार बिहान भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सातौ सभामा भाग लिन अघिल्लो दिन नै पोखरा आएका थिए। त्यसपछि उनी प्रशिक्षणलाई सम्बोधन गरेर पोखरा सभागृह पुगेका हुन्।

केन्द्रमातहत १, गण्डकी प्रदेशमातहत ३ र पोखरा महानगरमातहत ३ सहकारी गरी ७ सहकारीका करिब ४० हजार बचतकर्ताको झण्डै ७ अर्ब रुपैयाँ अपचलन भएको छ। शिव शिखर, मित्रमिलन, विन्दवासिनी, प्राइम, सूर्यदर्शन, इमेज र बलिदानी बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको रकम हिनामिना पारेका हुन्।

संघर्ष समिति संयोजक श्रेष्ठले राज्यसँगै प्रहरी प्रशासनसमेत पीडितको विपक्षमा उभिएको आरोप लगाए। सहकारी पीडितलाई राहत मिल्ने कार्यक्रम सरकारले नल्याएको गुनासो गर्दै माग नसुनेसम्म आन्दोलन चर्काउने उनले चेतावनी दिए।

यसैबीच, सूर्यदर्शन बचत पीडित संघर्ष समिति तथा सहकारी बचतपीडित संघर्ष संघले एक विज्ञप्ति जारी गरी प्रहरी दमनको निन्दा गरेको छ। प्रहरी दमनबाट घाइतेको तुरुन्त उपचार गर्नुपर्ने, पक्राउ गरेका सबै पीडित बचतकर्तालाई तुरुन्त तत्काल रिहा गर्र्नुपर्ने माग गर्दै संघर्ष समितिले आफ्नो माग पूरा नभए आमरण अनसनमा बस्ने चेतावनी दिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ