काठमाडौँ । नेपाल प्रहरीका जवान युवराज घिमिरेको हत्या आरोपमा प्रहरीले एक जना नाबालकसहित ७ जनालाई पक्राउ गरेको छ । ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान घिमिरेको शव शुक्रबार काठमाडौँको तार्केश्वर–९ मनमैजुमा शङ्कास्पद अवस्थामा फेला परेको थियो ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा २१ वर्षीय सचिन परियार, १८ वर्षीया अन्जली श्रेष्ठ, २१ वर्षीया बसुन्धरा कार्की, ५६ वर्षीया नुनमाया कार्की, २१ वर्षीय बुद्ध लामा, ३० वर्षीय अमृत तामाङ र एक जना १३ वर्षीय नाबालकलाई पक्राउ गरेको हो । उनीहरू सबै सडक पेटी तथा निर्माणाधीन घरहरूमा आश्रय बनाई बस्ने गरेका थिए ।
उनीहरूलाई अस्ट नारायण हल पछाडि, २२ धारा जङ्गलबाट भाग्न लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीको भनाई छ । पक्राउ गर्ने क्रममा प्रहरीले १ राउन्ड हवाई फायर समेत गरेको थियो ।
खोटाङको मजुवागढी गाउँपालिका– १ घर भएका घिमिरेको टाउको र शरीरका विभिन्न भागमा चोट देखिएको छ । स्थानीय जोनस खत्रीको निर्माणाधीन घरको भुईँ तलामा बोराले छोपेको अवस्थामा शव फेल परेको थियो । घिमिरे सामाखुसीमा डेरा गरी बस्दै आएका थिए ।
यसकारण युवराजको हत्या गरियो
मारिएका ट्राफिक जवान घिमिरे यसअघि गोंगबु बसपार्कमा ट्राफिक प्रहरीको रुपमा कार्यरत थिए । गोंगबुमै कार्यरत रहेका बेला ट्राफिक प्रहरी घिमिरे र पक्राउ परेका सचिनको चिनजान भएको अनुसन्धानबाट खुलेको छ । त्यतिबेला सचिन बसपार्क क्षेत्रमा भरियाको काम गर्थे ।
हत्या भएको दिन ड्युटी सकेर घिमिरे रातिको साढे ८ बजे दरबारमार्गबाट निस्केको सीसीटीभी फुटेजमा देखिएको छ । घिमिरे राति ९ बजे तारकेश्वर नगरपालिका–११ स्थित नाम उल्लेख नभएको एउटा सानो खाजा घरमा पुग्छन् ।
अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार केही समयमै उक्त खाजा घरमा सचिन र अञ्जली पनि आइपुग्छन् । भक्तपुर चाँगुनारायण–१ घर भएका २१ वर्षीय सचिन परियार र नुवाकोटको दुप्चेश्वर गाउँपालिका घर भई सो क्षेत्रमा बस्ने १८ वर्षीया अञ्जली श्रेष्ठ ‘लिभ–इन पार्टनर’ हुन् ।
सचिनसँग पूर्व चिनजान भएकाले उनीहरु एउटै टेबुलमा बसेर खाजा मदिरा खान्छन् । खाजा घरमा युवराजले अञ्जलीलाई आँखा झिम्क्याएको निहुँमा उनलाई कुटपटि गर्ने योजना सचिनले बनाउछन् ।
‘ट्राफिकले सुरुमा मदिरा लिन इन्कार गरे पनि सचिनले कर परेपछि मदिरा पिएको देखिन्छ । सो क्रममा उनीहरुबीच सामान्य विवाद हुन्छ’ एक अनुसन्धान अधिकृतले भने, ‘नसाको सुरमा विवाद भएपछि युवतीसँग ट्राफिकलाई जोडेर थप विवाद गरेको देखिन्छ ।’
‘सचिन आफैं लागु औषध प्रयोगकर्ता समेत रहेको, मदिरा पनि पिएपछि निहुँ खोज्दै युवतीसँग ट्राफिकलाई जोडेर हत्यासम्म भएको देखिएको छ’ तीन अनुसन्धान अधिकृतले भने ।
विवाद भएपछि ट्राफिक प्रहरी घिमिरे उठेर आफ्नो कोठातर्फ जान खोज्छन् । तर सचिनले पछाडिबाट मोटरसाइकल तान्दै रोकेर अञ्जलीलाई चढाउँछन् र आफू पनि मोटरसाइकलको पछाडि बस्छन् । त्यसपछि सचिनले ट्राफिक प्रहरी घिमिरेलाई आफूहरु बस्दै आएको मनमैजुको निर्माणाधीन घरमा लैजान भन्छन् ।
मनमैजुस्थित निर्धाणाधीन घर नजिक पुगिसकेपछि मोटरसाइकलबाट उनीहरु झर्छन् । त्यसपछि सचिनले ट्राफिक प्रहरी घिमिरेलाई हेलमेटले हिर्काएर लडाएको पाइएको एक अनुसन्धान अधिकृतले बताए । त्यसपछि सचिन र अञ्जली दुबैले कुटपिट गरेको अनुसन्धानबाट प्रहरीको भनाइ छ ।
गम्भीर घाइते अवस्थामा घिमिरे भुइँमा ढलेका घिमिरेलाई त्यसै घरमा सुतेका अरु ५ जनाले पनि उठेर कुटपिट गरेको अनुसन्धानमा संलग्न अधिकारीहरु बताउँछन् । प्रहरी जवान घिमिरेमाथि नक, इटा, रड, ढुंगा, हेल्मेटले प्रहार गरेको देखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी नवराज अधिकारीले बताए ।
हत्यापछि घिमिरेको बर्दी र बुट उनीहरुले जलाएका थिए । शवलाई भने कालो म्याट्रेसले छोपेर फरार भएका थिए । हत्यामा विशेषगरी लागु औषध, मदिरा र युवतीको विवाद जोडिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
नाबालकको क्लुले समातिए ६ अभियुक्त
हत्यापछि उनीहरु सोही राति फरार भएका थिए । राति सडकपेटीमा सुतेका उनीहरु शनिबार कपडाहरु लिन उक्त निर्माणाधीन घरमा पुगेका थिए ।
केही स्थानीयले समेत उक्त कुरा प्रहरीलाई जानकारी गराएपछि वरपरको सीसीटीभी फुटेजहरु हेर्दा पुष्टि भएको थियो । बन्दै गरेका घरहरु, पुल, पाटीहरुमा बस्ने समूहबाट हत्या भएको विषय खाजा घरबाट समेत खुलेको थियो ।
मदिरा पिउने बेला विवाद भएको खाजाघरका सञ्चालकलाई सचिनले दिदी, भिनाजु भन्ने गरेको र उधारो समेत खाँदै आएको खुलेको थियो । तर उनको यकिन हुलिया खुल्न बाँकी थियो ।
अनुसन्धानका क्रममा प्रहरीले सुरुमा एक जना नाबालकलाई पक्राउ गरेको थियो । शनिबार दिउँसो मनमैजु क्षेत्रबाटै एक नाबाललाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरेपछि उनैले दिएको सूचनाबाट अरु ६ जना पक्राउ परेका थिए ।
नाबालक पक्राउ परेपछि बुद्ध र दोर्जेलाईलाई अष्टनारायण हल नजिकबाट प्रहरीले पक्राउ गरेको थियो ।
बुद्धको समूहलाई पक्राउ गर्ने क्रममा प्रहरीले एक राउण्ड हवाइ फायर समेत गरेको थियो । अष्टनारायण हल नजिकको पेटीमा समेतका उनीहरु भाग्न लागेपछि हवाइ फायर गरेर नियन्त्रणमा लिइएको एसएसपी रजौरेले बताएका छन् ।
राति जंगलमा सुतेको अवस्थामा कार्की आमाछोरी र अञ्जली पक्राउ परेका थिए । प्रहरीले घटनाका मुख्य योजनाकार भनेको सचिनलाई भने आइतबार बिहान बालाजु बाइसधारा नजिकबाट पक्राउ गरेको थियो ।
सम्बन्धित खबर
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
मेडिकल कलेज तथा सरकारी अस्पतालले शुल्क विवरण सार्वजनिक नगरे कारबाही
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण
एकीकृत समाजवादीले कीर्तिपुरको मेयरमा माओवादीलाई समर्थन गर्ने
रवि र छवि विरुद्ध चितवनमा पनि किटानी जाहेरी
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते