पोखरा ५ पूर्णखोप सुनिश्चित वडा घोषणा

पोखरा ५ पूर्णखोप सुनिश्चित वडा घोषणा

pokhara-5-khop

पोखरा महानगरपालिका वडा नं. ५ पूर्णखोप सुनिश्चित वडा घोषणा गरिएको छ । पोखरा महानगर सहरी स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक तथा पूर्णखोप कार्यक्रम संयोजक तेजाखर लम्सालले वडाध्यक्ष विष्णुप्रसाद बराललाई प्रमाणपत्र हस्तान्तरण गरेपछि पूर्णखोप सुनिश्चित वडा घोषणा भएको हो ।

सहरी स्वास्थ्य केन्द्र पोखरा–५ द्वारा आयोजित कार्यक्रममा वडाध्यक्ष बरालसहित सहभागीले पूर्णखोप सुनिश्चितता ब्यानरमा हस्ताक्षर गरेका थिए ।

केन्द्र इन्चार्ज गणेश खड्काका अनुसार १६ देखि ५९ महिनाभित्रका सबै बालबालिकालाई सबै प्रकारका खोप लगाइएको छ । वडामा १ हजार ४ सय ३० खोप लगाउने लक्ष्य राखिएकोमा १ हजार ५ सय ४० बालबालिकालाई खोप दिइएको उनले जानकारी दिए ।

वडाध्यक्ष बरालले समयसीमा भित्रै वडालाई पूर्णखोप सुनिश्चितता घोषणा गर्न सम्भव भएको भन्दै यस अभियानमा सघाउने सबैप्रति आभार व्यक्त गरे ।

सहरी स्वास्थ्य महाशाखा जनस्वास्थ्य निरीक्षक लम्सालले पोखराका २६ वटा वडामा पूर्णखोप सुनिश्चितता घोषणा भइसकेको बताए । उनले बाँकी वडामा पनि छिट्टै घोषणा हुने दाबी गरे । अहिले पनि खोज र खोप भन्ने अभियान सञ्चालन भइरहेको भन्दै छिट्टै महानगर पनि पूर्ण खोप सुनिश्चित पालिका हुने जानकारी दिए ।

सहरी स्वास्थ्य केन्द्र पोखरा–५ व्यवस्थापन समिति संयोजक एवं वडा सदस्य कल्पना भुवाँजीको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य बदनकुमारी शर्मा, स्वास्थ्य स्वयंसेवी संयोजक गोमा सोती, केन्द्रकी कमला गौतमलगायतले बोलेका थिए ।

केन्द्रले दिएको जानकारीअनुसार आगामी जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ अभियान सञ्चालन हुनेछ । यसअघि खोप लगाउन छुटेका बालबालिकाले अभियानमा खोप लगाउन पाउनेछन् ।

महानगर जनस्वास्थ्य निरीक्षक लम्सालका अनुसार पोलियो रोगबाट बचाउन देशभरिका करिब १४ लाख ६२ हजार बालबालिकालाई पोलियो रोगविरुद्धको खोप ‘आइपिभी’ लगाइनेछ ।

उनले पोलियो रोगको सङ्क्रमण अझै देखिएकाले अभियान सञ्चालन गर्न लागिएको उनले बताए । उनका अनुसार विसं २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई उक्त खोप लगाउन लागिएको हो ।

सन् २०१६ देखि २०१८ को बीचमा उक्त ‘आइपिभी’ खोप उत्पादन हुन नसकेपछि ती उमेर समूहका बालबालिका खोप लगाउनबाट छुटेका थिए ।

खोप अभियानका लागि ग्लोबल एलाएन्स फर भ्याक्सिन एण्ड इमुनाइजेसन (गाभी) ले ३२ करोड रुपैयाँ बराबरको खोप उपलब्ध गराएको विभागले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds