काठमाडौं : प्रतिनिधिसभा बैठकमा बिहीबार सत्तापक्ष र प्रतिपक्षबीच धकेलाधकेल भएको छ।
बैठकको सुरुमै कांग्रेस सांसदले वेल घेराउ गर्दै नाराबाजी गरे। तर सभामुखले नाराबाजीकै बीच बैठकलाई कार्यसूचीमा प्रवेश गराए। शून्य र विशेष समयका कार्यक्रम हटाएको भन्दै उनले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए।
सभामुख देवराज घिमिरेले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बोल्न समय मागेको भन्दै समय उपलब्ध गराए। कांग्रेस सांसदहरू थप आक्रोशित बने। उनीहरुले गृहमन्त्री लामिछानेलाई बसेकै ठाउँबाट अघि बढ्न दिएनन्।
सभामुखले समय दिएपछि लामिछाने रोष्ट्रममा जान खोजे। तर कांग्रेस सांसदको भीड छिचोल्न उनलाई कठिन थियो। सभामुखले समय दिएपछि लामिछानेलाई रोष्ट्रममा पुर्याउन सत्तारुढ एमालेका सांसदहरू खटिए। उनीहरु रविलाई अघि बढ्न भनिरहेका थिए।
एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली आफैं कुर्सीबाट उठेर रविलाई रोष्ट्रम जाने बाटो क्लिएर गर्न खोजे। त्यतिबेला कांग्रेस सांसदले ओलीलाई घेरा हाले। त्यसक्रममा कांग्रेस उपसभापति समेत रहेका धनराज गुरुङले एमाले अध्यक्ष ओलीतिर फर्किएर आपत्तिजनक हर्कत गरे । गुरुङले ओलीप्रति उत्तेजित हाउभाउ देखाएका थिए ।
आखिर ओलीप्रति धनराज किन आक्रोशित भएका थिए ? एक एमाले नेताका अनुसार गुरुङ गृहमन्त्रीलाई जसरी पनि रोक्ने ध्याउन्नमा थिए र ओलीले सम्झाउन खोज्दा उनी उत्तेजनामा आएका हुन् ।
‘गृहमन्त्रीलाई जान दिन्नँ, म जसरी नि रोक्छु । म रोक्छु, रोक्छु । कसले छेक्न सक्छ’, भन्दै गुरुङ प्रस्तुत भएका ती नेताले बताए ।
गुरुङ हात हाल्ने ढंगले प्रस्तुत भएपछि एमालेका प्रमुख सचेतक महेश वर्तौला,ठाकुर गैरे,रघुजी पन्त,सुर्य थापालगायत प्रतिवादमा उत्रिएका थिए । त्यसपछि हात हालाहाल भएको हो ।
धनराजसहित उदण्ड सांसदको हर्कतले संसदमा तनावको अवस्था आएपछि स्थिति थप भड्किन नदिन सभामुखले हतार हतार बैठक स्थगित भएको घोषणा गरे।
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय अराजकता मच्चाएको बताएका छन् ।
बिहीबार साँझ बसेको प्रतिनिधि सभाको बैठकमा भएको तनावका बारेमा बोल्दै उनले कांग्रेसले अलोकतान्त्रिक र अधिनायकवादी चरित्र प्रदर्शन गरेको बताएका हुन् ।
प्रमुख सचेतक बर्तौलाले आफ्नो दलको अध्यक्षमाथि गरेको अपमानजनक व्यवहारको भत्सर्ना समेत गरेका छन् ।
उनले भने,‘कांग्रेसले सदन अवरुद्ध गरेर महत्त्वपूर्ण समयलाई बन्धकी बनाइरहेको छ । आजको बैठकमा कांग्रेसले हौसिएर, मात्तिएर सरकारको लाइनमा आयो । जब सभामुखले गृहमन्त्रीलाई बोल्न समय दिनुभयो, कांग्रेसका प्रमुख नेताहरू आएर सरकारको लाइनमा आएर अवरोध गर्ने, उपसभामुखको कुर्सीमा आएर बस्ने यसप्रकारको असंसदीय गैरराजनीतिक व्यवहार गर्नुभयो ।’
उनले अगाडि भने,‘त्यतिमात्र हैन हाम्रा श्रद्धेय अध्यक्षमाथि उहाँहरूले अपमानजनक व्यवहारपनि गर्नुभयो, त्यस्ता अभिव्यक्ति दिनुभयो । निष्कर्षमा भन्नुपर्दा आजको बैठकमा कांग्रेसले घोर अलोकतान्त्रिक, गैर राजनीतिक, असंसदीय व्यवहारको प्रदर्शन गर्नुभयो । अधिनायकवादी हर्कत र संसदमा दादागिरी र अराजकता मच्चाउने काम भयो ।’
उनले कांग्रेसले संसदमा गरेको क्रियाकलापको संसदीय दलको तर्फबाट भर्त्सना गरेको बताए । आगामी दिनमा यस्ता अधिनायकवादी चरित्र प्रदर्शन नगर्न आग्रह गरे ।
पूर्वप्रधानमन्त्रीलाई झम्टिने, यो असंसदीय घटना हो : रघुजी पन्त
नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिपक्ष नेपाली कांग्रेसले आक्रमण गर्न खोजेको दाबी गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ठाउँमा उठेर गृहमन्त्री रवि लामिछानेले बोल्न पाउनुपर्छ भन्दा झम्टिएको आरोप लगाए ।
“यो असंसदीय घटना हो । सत्तापक्षका एकजना पूर्वप्रधानमन्त्री एउटा ठूलो पार्टीको दलका नेताले उठेर बोल्न पाउनुपर्छ भन्दा मन्त्री भइसकेका प्रतिपक्षका सांसदहरू झम्टेर जाने हो ?,” उनले संसद् बैठकपछि सञ्चारकर्मीसँग प्रश्न गरे ।
पन्तले कांग्रेसका सांसदहरूले आक्रमण गरेको भन्दै आपत्ति जनाए । उनले अध्यक्षलाई हातपात गर्न खोजेपछि जोगाउन अरु सांसद गएको समेत बताए । “को भिड्न गयो ? अनि हातपात गर्न लागेपछि आफ्ना अध्यक्षलाई जोगाउन जाँदैनन्,” उनले प्रश्न गरे ।
उनले आफूमाथि लागेको आरोपबारे जवाफ दिने अधिकार गृहमन्त्रीसँग रहेको बताए । “दमनजी सभामुख हुँदा सरकार सत्तापक्षको, संसद् प्रतिपक्षको भन्नुहुन्थ्यो,” उनले भने, “आरोप लागेपछि जवाफ दिने सार्वभौम अधिकार हो ।”
घटना विशेष समिति बनेको आफूलाई जानकारी समेत नभएको बताए ।
माओवादी सांसद भन्छन् : कांग्रेसले माफी माग्नुपर्छ
सत्तारुढ माओवादी केन्द्रका सांसद माधव सापकोटाले संसदमा बिहीबार भएको गतिविधिका लागि कांग्रेसले माफी माग्नुपर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदहरुले नाराबाजी गरेका थिए । सभामुखले गृहमन्त्री रवि लामिछानेलाई बोल्नका लागि समय दिएपछि कांग्रेस सांसदहरु उनलाई रोक्न गएका थिए ।
त्यसक्रममा कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच विवाद भएको थियो । दुबै दलका सांसदहरुबीच धकेलाधकेल भयो । बैठकपछि माओवादी सांसद सापकोटाले कांग्रेसका उपसभापति धनराज गुरुङले उपसभामुखलाई उठाएर उहाँको आसनमा गएर उभिनु असंसदीय भएको बताए ।
‘मर्यादालाई भुलेर जे गर्नुभयो, त्यो राम्रो भएन’, उनले भने, ‘कांग्रेसका सिनियर नेताहरुबाट जे क्रियाकलाप भयो, यसमा क्षमा मागेर आइन्दा संसदलाई शोभनीय बनाउँछौं भनेर कमिटमेन्ट गर्नुपर्छ ।’
सम्बन्धित खबर
‘प्रधानमन्त्रीकै नागरिकता र हस्ताक्षर किर्ते गर्नेले कसैको बाँकी राख्दैन’
कांग्रेस–एमालेको सहमतिमा चीन भ्रमणका एजेन्डा तय हुन्छ : गृहमन्त्री लेखक
मेडिकल कलेज तथा सरकारी अस्पतालले शुल्क विवरण सार्वजनिक नगरे कारबाही
बीआरआई सम्झौताबारे एमालेसँग साझा धारणा बनाएर अघि बढ्छौं : गगन थापा
पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण
एकीकृत समाजवादीले कीर्तिपुरको मेयरमा माओवादीलाई समर्थन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते