११ औं नेपाल लिटरेचर फेस्टिभलः अन्तिम दिन शब्द, चित्र, दृश्यमा दर्जन बढी सेशन

लिटरेचर फेस्टिभलः

११ औं नेपाल लिटरेचर फेस्टिभलः अन्तिम दिन शब्द, चित्र, दृश्यमा दर्जन बढी सेशन

‘राजनीतिक नेतृत्व सही नभए कुनै पनि व्यवस्थाले काम गर्दैन’

last day lit fest

‘राजनीतिक नेतृत्व सही नभए कुनै पनि व्यवस्थाले काम गर्दैन’

पोखरा । ७० वर्ष अवधिमा देशले ३ फरक फरक व्यवस्थाको प्रयोग गरिसकेको छ । २००७ सालअघिको राणातन्त्र, राणातन्त्रदेखि २०६५ सम्मको राजतन्त्र र त्यसपछिको गणतन्त्र नेपालले भोगिसकेको छ ।

हरेक पटक व्यवस्था परिवर्तन गर्दा देशमा सुधार हुने अपेक्षा गरिएको हुन्छ । तर, व्यवस्था केही वर्ष कार्यान्वयन हुन नपाउँदै त्यसको विकल्प खोज्दा थालिन्छ । त्यस्तै अहिले कार्यान्वयनमा रहेको संघीयताको विषयमा समेत विकल्प खोल्न थालिएको छ । २०७२ मा संविधान जारी भएपछि देश संघीयतामा गएको थियो । तर, संघीयताले खर्च बढाएको भन्दै कतिपयले संघीयता खारेज गर्न माग गरिरहेका छन् ।

कतिपय राजनीतिज्ञहरू भने संघीयता खारेज अहिलेको विकल्प नभएको बताउँछन् । पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको राणातन्त्र, राजतन्त्र र गणतन्त्र विषयक सेसनमा नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का अध्यक्ष चन्द्रदेव जोशीले संघीयताले खर्च बढायो भन्नु भैँसीलाई सिङ गाह्रो भयो भन्नु जस्तै भएको उल्लेख गरे ।

‘संघियताको एउटा कुरा मात्रै के हो भने समानता । समानतालाई कायम गर्न सक्नुभएन भने संघीयता फस्टाउन सक्दैन । त्यस कारणले यो संघीयताले बढी खर्च ग¥यो भन्नु भैँसीलाई सिङ गह्रौँ हुँदैन । संघीयता चाहिन्छ, प्रान्तलाई बलियो बनाउनुपर्छ,’ उनले भने ।

प्रान्तलाई सशक्त र अधिकार सम्पन्न नबनाउँदासम्म संघीयता सफल नहुने जोशी सुनाउँछन् । उनी भन्छन्, ‘संघियता नराम्रो कुरा होइन । गलत कहाँनिर छ भने प्रान्तलाई कुन रूपले हेर्ने दृष्टिकोण । म त संविधान सभा लडेको मान्छे हुँ । जब तपाईँ प्रान्तलाई सशक्त र अधिकार सम्पन्न बनाउनु हुन्न । किटान गर्नुहुन्न । तब सम्म संघीयता सफल हुँदैन ।’

विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटाले व्यवस्था परिवर्तनभन्दा पनि जे कुरा प्राप्त छ । त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताउँछिन् । ‘व्यवस्था परिवर्तनभन्दा पनि अहिले मूलभूत रूपमा उठाउनुपर्ने विषय भनेको जे कुरा प्राप्त गरेको छ । त्यसलाई कार्यान्वयनमा जानुप¥यो । र कार्यान्वयन सही दिशा र सही ढंगबाट हुनुपर्छ भन्ने नै हो,’ उनले भनिन् ।

राजनीतिक नेतृत्वहरुले सही तरिकाले काम नगर्ने हो भने कुनै पनि व्यवस्थाले काम नगर्ने बास्कोटाले सुनाइन् । उनले थपिन्, ‘अहिले राजनीतिक नेतृत्वहरुले सही तरिकाले काम नगर्ने हो भने कुनै पनि व्यवस्थाले काम गर्दैन । सबै कुरा गएर राजनीतिमा ठोकिन्छ । र राजनीतिक दलहरूले राम्रो काम नगर्ने हो भनेपछि कुनै पनि व्यवस्था टिक्न सक्दैन ।’

गाडीको गति कति हुन्छ । त्यो तपाईँ निर्णय लिने हो । तर, जाने ठाउँ हुनुप¥यो । जुन देशमा नागरिक सचेत हुन्छन् । त्यस देशको लोकतन्त्र बलियो हुन्छ । २००७ सालको देन के हो भने हामीसँग बिस्तारै बलियो हुँदै आएका छौँ । हामीसँग प्रश्न गर्ने शक्ति छ ।

राजनीति शास्त्री हरि शर्माले २००७ सालको व्यवस्था परिवर्तन मात्रै क्रान्ति भएको बताउँछन् । ‘अरू आन्दोलन हुन् । २००७ सालको मात्रै क्रान्ति हो । क्रान्तिले सामाजिक सम्बन्धलाई परिवर्तन गर्दछ । सहजताका साथमा त्यसका फल आउटले त्यसलाई परिवर्तन गर्छ । क्रान्ति क्रान्ति भनेर क्रान्ति हुँदैन । सामाजिक रूपमा त्यसलाई सम्बन्धलाई परिभाषित गर्ने, पुन परिभाषित गर्छ,’ उनले भने ।

उनले थपे, ‘राणातन्त्र हुँदै राजतन्त्र हुँदै लोकतन्त्रको यो ७०/८० वर्षको यो यात्रा पक्कै पनि सहज भने होइन । गएको ४०÷५० वर्षमा सबैभन्दा कमजोर केही छ भने सामाजिक आन्दोलन छ ।’

मधेस आफ्नै नेतृत्वको कारणले रोइराखेको राजनीतिक शास्त्री शर्मा बताउँछन् । ‘मधेस आज किन राईराखेको छ । हो निश्चय पनि संरचनागत विभेद छ । मधेस आफ्नै नेतृत्वको कारण पनि रोइराखेको छ । नेतृत्व जबसम्म क्रेटिभल हुँदैन । सामाजिक चेतनालाई बोक्ने सम्भावक हुँदैन,’ उनले भने

प्रजातन्त्रले नयाँ परिवेशमा जानुपर्ने ढोका मात्रै खोलेको नेकपा संयुक्तका अध्यक्ष जोशीले बताए । ‘एउटा नेपालले जुन सिस्टम बाचिराखेको थियो । त्यसलाई तिरस्कार गरेर नयाँ परिवेशमा जानुपर्ने ढोका मात्रै खोल्यो । एक दिनमा त केही गर्न सकिँदैन,’ उनले भने ।

व्यवस्था परिवर्तनको इतिहासलाई पाठ्यक्रममा सही तरिकाले देखाउन नसकिएको विवेकशील साझा पार्टीकी अध्यक्ष बास्कोटाले दाबी गरिन् । ‘हामीले सम्झिने भनेको चाहिँ हामीलाई के पढाइयो । किनभने त्यो बेलाको इतिहास के पढाइयो । त्योबाट हामीले सिक्ने अवसर पाएका हौँ,’ उनले भनिन्, ‘मलाई खड्किएको कुरा के छ भन्दाखेरि इतिहासलाई जसरी देखाउनुपर्थ्यो । त्यो लेभलबाट कहीँ पाठ्यक्रममा हामीले इतिहासलाई देखाइदिएनौँ कि । केही ढाकछोप ग¥यौँ कि भन्ने जिज्ञासा अहिले मनमा लाग्छ ।’

संस्कृति, भूगोल र भूगर्भ: पोखराका पर्यटकीय गन्तव्य

पोखरा। हिमाली क्षेत्रमा भइरहेको प्रदुषणलाई मध्यनजर गर्दै खुम्बु पासाङल्हामु गाउँपालिकाले आधार शिविर व्यवस्थापन कार्यविधि २०८० ल्याएको छ । यो व्यवस्था बमोजिम सगरमाथा आरोहण गर्ने आरोहीले आफनो दिसा–पिसाब फिर्ता ल्याउनुपर्ने छ ।

मानवीय गतिविधीका कारण हिमाल क्षेत्रमा पारिरहेको असरको विषयमा सगरमाथाप्रति ध्यान सबैको जान्छ । सबैभन्दा पहिला चढिएको हिमाल हो अन्नपूर्ण । अन्नपूर्ण सरसफाईको विषय भने कमै ध्यान गएको छ सरोकारवालाको ।

गत चैतमा ७२ वर्षपछि अन्नपूर्णको सरसफाइ भएको थियो पहिलोपटक । नेपाली सेनाको सरसफाइ कार्यक्रम अन्तर्गत अन्नपूर्ण क्षेत्र पर्यो । जसमा साथ दिएको थियो पोखरा महानगरपालिकाले । १५ लाख आर्थिक सहयोग समेत प्रदान गरेको थियो महानगरले । पोखरा ट्राजिन्ट पोइन्ट हो पर्यटकीय गन्तव्य अन्नपूर्ण क्षेत्र प्रवेशको लागि । हिमालकै कारण पहिचान बनाएको छ पोखराले ।

‘हामी पोखराका त्यही हिमाल हेरेर यहाँ बाँचेका छौ । अथवा यसले हामीलाई बचाइरहेको छ । विभिन्न सेक्टरमा खास गरि आज हामी पर्यटनको कुरा गर्दै छौ भने पर्यटनको लागि हिमाल र ताल नै महत्वपूर्ण हो,’प्रमुख धनराजले भने ।

यसको संरक्षणको जिम्मेवारी पोखरा महानगरको पनि रहेको बताउँछन् महानगर प्रमुख धनराज आचार्य । सगरमाथा सरसफाइ अभियान नेपाल सरकारले सुरु गरेपछि साथ नेपाल आर्मीले दिएको थियो । अन्य हिमालहरुको सरसफाइ अभियान चल्दा अन्नपूर्ण क्षत्रेमा कति फोहोर होला ध्यान कसैको गएको थिएनन् ।

‘पहिलाचोटी हामीले गएको वर्ष अन्नपूर्ण हिमाल सरसफाइ गरेर ३१ टन फोहोर हामीले अन्नपूर्णबाट लिएर आएका छौँ त्यसमा महानगरको साझेदारी हो । त्यो हिमाललाई हेरेर बाँचेका छौँ त्यसको सरसफाइको जिम्मा हाम्रो हो,’ उनले भने ।

सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिनको ‘संस्कृति, भूगोल, भूगर्भ: पोखराका पर्यटकीय गन्तव्य’ विषयमा छलफलमा प्रमुखले सो भनेका हुन् । जसमा सहजकर्ता कनकमणि दिक्षित थिए । सत्रमा पोखराको भू बनावटको विषयमा चर्चा भएको थियो । यसको महत्व बताउँदै कनकमणिको प्रश्न थियो – पोखराको मैदान कसरी बन्यो पर्यटकलाई त्यो पनि चाहिन्छ । सेतीको खोँचको बारेमा पोखरावासीलाई चासो नै छैन । चासो छ मेयर साब भन्दिनुस् ।

प्रश्नको जवाफ दिँदै प्रमुखले यसबारे पोखरा महानगरले कार्यविधि तयार पारिरहेको बताए । उनले छलफलमा पोखरामा मापदण्ड बिना बनेका संरचनाको जिकिर समेत गरे ।

‘चासो छ । भर्खरै चार दिन भयो मैले साइन गरेको । पोखराको ताल तलैया डिल भिर नदी सम्पूर्ण ठाउँको मापदण्ड हामीले क्लियर गरेका छौँ । कहाँ के बनाउन मिल्ने का के बनाउन नमिल्ने कुन ठाउँको जोइनिङ गरेर कुन ठाउँमा अग्ला घर बनाउन मिल्ने का नमिल्ने । त्यो सबै कुराहरुलाई हामीले फेस गरेका छौँ । त्यो चासो भएकै कुराले यो गरेको हो ,’धनराजले भने ।

भू बनावटको विषयमा कुराकानीको गर्दै गर्दा बेलाबेला परिरहने पोखराको भ्वाङ नछुट्ने विषय हो । पूरानो अध्ययनले पनि पोखरा सेती किनारका केही भाग कमजोर रहेको प्रष्ट्याउँछ । त्यसपछि पोखराको विषयमा केही अध्ययन भएको छ । अब, पोखरा महानगर त्यसैको तयारीमा रहेको प्रमुखले सुनाए ।

‘फ्रेन्चहरुको भूगोलमा राम्रो रिसोर्स छ । उहाँहरुले पोखराको सिंगो एक्सरे गर्ने भन्नुभएको छ । अलिकति भूभागको हिसाबमा पोखरा अलि खतरा छ भन्ने छ रियल अवस्था के छ भन्ने विषयमा फ्रेन्च साथीहरुले रिसर्च गर्ने कुराकानी भएको छ,’उनले भने ।

पोखरा महानगरको अर्को विषय हो ताल संरक्षण । पर्यटनलाई लक्षित गर्दै महानगर योजना अघि सारेको छ । जून विवादबाट अछुतो छैनन् । यसैका विषयमा कनकमणिले प्रश्न गरे । यस्तै अर्को उज्यालो शहर बनाउनका लागि विवादित बनेको विषय हो आर्वाको डाँडामा राखिएको बत्ती । कनकमणिले यस विषयमा लेख नै लेखेका थिए ।

उनले प्रमुखलाई प्रश्न गरे – आर्वाको बत्ती किन हो ?

त्यस विषयमा दुई थरी प्रतिक्रिया आएको प्रमुखले जिकिर गरे । धाम निर्माणको योजना छ त्यस स्थानमा । एकथरी धाम निर्माण हुने स्थानलाई बत्तीले परिचय दिएको प्रतिक्रिया पाएको प्रमुखले सुनाए ।

‘समाचार देख्ने बित्तिकै मैले सम्बन्धित प्राविधिकलाई त्यो बत्ती १० बजेपछि निभ्ने बनाउनुहोस् । अरु बाँकी कुरा पछि गरौँला भनेँ । फेरि त्यही क्षेत्रका अन्य प्राविधिक साथीले अर्को टिम पठाएर त्यसलाई बल्ने बनाउनुभएछ । यस्तैका बिचमा छ त्यसमा हामी छलफलका क्रममा छौँ,’प्रमुखले भने ।

‘आपतै आपतको तालपारि’

पोखराः पोखरालाई चिनाउने प्रमुख कारण हो फेवाताल । फेवाका कारण पोखरा पर्यटकीय नगरीका रुपमा स्थापित छ ।

फेवाकै कारण ताल वारिको क्षेत्र पर्यटकीय रुपमा परिचय बनायो – लेकसाइडको । फेवातालका किनारमा रहेका दुई स्थानको कथा फरक छ । तालपारि भने अझैपनि विकट क्षेत्रका रुपमा परिचित छ । आधारभूत सेवा लिनका लागि तालपारिका नागरिकलाई सकस छ ।

तालपारि सडकसञ्जाल सुविधा सहज छैन । दैनिकरुपमा वारपार गर्ने प्रमुख माध्य हो डुंगा । विद्यार्थी शिक्षाका लागि दैनिक जोखिमपूर्ण यात्रा तय गरेर ताल वारि आइपुग्छन् । न लाइफ ज्याकेट न कोही प्रौढको साथमा । एक्लाएक्लै हरेकदिन विद्यार्थी डुंगाको सयर गरेर तालवारिको विद्यालय आइपुग्छन् ।

तालपारिका विद्यार्थीको प्रश्न छ – तालपारि हामी कहिलेसम्म आफनो ज्यान जोखिमा राखिराखि डुंगा वारपार गर्ने केही व्यवस्थापन गरिदिनु पर्यो ।’

११ औँ संस्करणको नेपाल लिटरेचर फेस्टिभलमा चौथो दिन भएको ‘तालवारि–तालपारि’ सत्रमा १० कक्षामा अध्ययनरत छात्राको प्रश्न हो यो । सत्रमा वक्ताको रुपमा गणेशमान गुरुङ, अञ्चला चौधरी र ज्ञानबहादुर जलारी उपस्थित थिए भने सहजकर्ताको भूमिका रघुनाथ वाग्ले ।
स्थानीयको गुनासो छ तालपारि विकास भएन । तालपारिको जीवनशैली सकसपूर्ण छ । सत्रमा अर्का स्थानियले गुनासो राखेका थिए – आपतै आपतको तालपारि ।

‘आपतै आपतको तालपारि । उज्यालो ताल वारि । मैले धेरै पढेको छैन । तर, मैले बुझेको लेकको अर्थ ताल साइडको अर्थ किनार के यही बैदाम मात्र किनार भया ? हामी अनदु लामडाँडा सिम्ले वरिपरिको गाउँहरु तिनीहरु पनि त जम्मै लेकसाइड हो नि,’उनले सुनाए ।

तालपारि सहज रुपमा सडक सञ्जाल नजोडिँदा पनि स्थानियले सास्ती छ । प्रदेश सरकार तालपारिलाई पर्यटकीयस्थलका रुपमा जोड्न योजना ल्याएको सुनाउँछ ।

‘यसलाई व्यवस्थित गर्न योजना बनिसकेको छ । तालको क्षेत्र सबै लेकसाइड हो । प्रदेश सरकारले राउन्ड फेवा योजना अघि सारको छ । सबै कुरा हो भिजन छ । सबै किनारमा प्रगति हुनुपर्छ,’सांसद गणेशमानले भने ।

राउन्ड फेवाको योजना पूरानो हो । तालपारि सडक सञ्जाल नजोडिएको होइन । तर, असहज रुपमा । आकस्मिक सेवाका लागि तालपारिका स्थानिय तालवारि आउनुपरे प्रयोग गर्ने दुईबाटो छन् । एक आधा घण्टा बढी फेरो पारेर छोरेपाटन यात्रा वा डुंगाको सयर । एम्बुलेन्सको सेवा पुग्नका लागि सडक जोडिएका छैनन् तालपारिका गाउँमा ।

सहजकर्ताको प्रश्न थियो यही विषयमा – ताल पारि कहिले एम्बुलेन्स पुग्छ ?

सांसद गणेमानले आफूहरुसँग विकासको लागि भिजन भएको सुनाए । सडकसञ्जाल जोडिनका लागि काम अघि बढेको बताउँछन् उनी ।

‘पानीभन्दा माथि पुल बनिसकेको छ । त्यहाँबाट बाटो यहाँ ल्याउने हो । कसरी लैजानुपर्छ विज्ञ राखेर लगिन्छ । हुन्छ । हिजो तालभन्दा माथि बाटो लैजानै हुन्न भन्ने थिए । लगेरै छोड्यौ त ? हामी सक्दैनौँ त ? ढुक्क हुनुहोस् हामी सक्छौँ आइ ह्याब प्लान मसँग भिजन छ,’उनले भने ।

तालवारिको बस्ती विकासका लागि विश्व बैंकसँग मिलेर प्रदेश सरकारले योजना ल्याउन लागेको नीति तथा योजना आयोगकी सदस्य अञ्चला चौधरीले सुनाइन् ।

‘सामाजिक विषय पढाउने विषयमा सरकारनै संकुचित छ’
– चैतन्य मिश्र

नजिकै फेवा ताल केले बनेको छ ? अनि कलम केले बनेको छ ? यो दुइटा कुरा सम्झिराख्नुहोस् ।

एउटा कथा छ, ५० वर्ष पहिले नेपालमा एउटा दम्पत्तिले ६ जना बच्चा पाउँथे । अहिले २ भन्दा कम पाउँछन् । म जन्म र मृत्युको कुरा गर्दैछु । म जन्मेको ताका हजार जना बच्चा जन्मिए भने ४ सय जना मर्थे । तर, अहिले हजारमा २७ जनामात्रै मर्छन् ।

अब कल्पना गरौं, जन्म र मृत्यु निर्धारण गर्ने के ले हो ? हामी दैवले हो भन्थ्यौं, आपसे आप हो भन्थ्यौं, प्रकृतिले हुन्छ भन्थ्यौं । आखिर के ले हो ? यो जन्म र मृत्युमा भौतिक कारण छन्, जैविक कारण छन्,,, आदिआदि छन् ।

नेपालमा जन्ममा ४ जना अर्थात् एक तिहाई बच्चा कम भइसके । संसारमै यस्तो भइराखेको छ । मृत्युमा पनि यस्तै भइसक्यो । ४ सयमा जम्मा २७ जनामा आइसक्यो । यसमा पनि भौतिक कारण होलान्, जैविक कारण होलान्, रासायनिक कारण होलान् !

मैले आज यहाँ भन्न खोजेको कुरा, मूलतः समाजको प्रकृतिमा आएको परिवर्तको कारणले गर्दा हो ।

आजको विषय समाज किन पढ्ने भन्ने हो । समाज, सामाजिक शिक्षा, समाज विज्ञानलगायत समाजसँग सम्बन्धित किन पढ्छौं त ? समाज पढ्नुको महत्व के हो ? जन्म र मृत्यु समाजले निर्धारण गर्छ कि गर्दैन ? त्यो नितान्त प्राकृतिक, दैविक, जैविक कारणमात्र हो कि सामाजिक कारण पनि हो ?

समाजको चरित्र परिवर्तन हुँदा कसरी जन्म र मृत्युको जरै परिवर्तन हुन्छ ? हाम्रो बाँच्ने सम्भावना बढ्ने, घट्ने हुन्छ । समाज यति महत्वपूर्ण चिज हो । त्योबारे अध्ययन गर्नु अत्यन्तै जरुरी छ । त्यो अध्ययन नगरी हाम्रो शिक्षा पूरा हुँदैन ।

अघि तालको कुरा गरेको थिएँ नि ! त्यो ताल केले बन्छ ? ताल सतहमा हेर्दा पानीले बन्छ । त्यो ठीक पनि हो । ताल पानीले नै बनेको हो । आकासे पानीले बनेको हो, नदीले बनेको हो, आद्रताले बनेको हो । जमीनले गर्दा बनेको हो ।

तर, तपाईं कल्पना गर्नुहोस्, अहिले फेवतालको ठूलो झगडा छ । फेवाताल कहिले ठूलो हुने, कहिले सानो हुने, मुद्दामामिला हुने भइरहन्छ । ठूलो बनाउने, सानो बनाउने प्रयत्न भइराखेको छ ।

हो, त्यो फेवातालको निर्माण पनि हाम्रो सामाजिक चरित्रले निर्माण गर्छ । राजनीतिक, आर्थिक चरित्रले पनि गर्छ । त्यो पानीले मात्रै बनेकै होइन । फेवाताल समाजले बनाएको हो । अहिले नियन्त्रण नगर्ने हो भने त्यहाँ घरैघर बन्छ । फेवातालमा अहिलेसम्म केही नबनेको त्यहाँ नियन्त्रण गरिएकाले हो । नत्र त्यहाँ बजार बन्थ्यो । सहर बन्थ्यो ।

फेवातालको पानीमा हामीले समाज देखेनौं भने अनर्थ हुन्छ । फेवातालको पानीमा समाज देख्न, बुझ्नलाई सामाजिक शिक्षा महत्वपूर्ण छ । यो कुरामा सामाजिक पढ्नेले, पढाउनेले ग्रहण गर्न सक्नुपर्छ ।

अघि एउटा कलमको प्रसंग पनि भनेको थिएँ । यसो हेर्दा कलम प्लास्टिकले बनेको छ, केमिकलले बनेको छ । भित्र मसी छ । तर, यहाँ कसैले मान्छे देख्छ ? योभित्र समाज छ ? योभित्र पनि मान्छे छ नि ! मान्छेले काम गरेर कलम बनेको हो । यो प्लास्टिक कसले बनायो ? त्यो केमिकल, त्यो मसी कसले बनायो ?

कलम बनाउँदा थुप्रै मान्छे लाग्छन् । कतिजनाको लगानी लाग्छ । कतिजनाको आम्दानी हुन्छ । कतिजनाको परिवार चल्छ । त्यसैले कलमभित्र पनि समाज छ । यो कलमभित्र मान्छे, समाज, समाजको चरित्र र समाजिक सम्बन्ध देख्नु अत्यन्तै आवश्यक छ ।

यसर्थ सामाजिक शिक्षा पढ्नु भनेको देख्ने प्रयत्न गर्नु हो ।

अरु धनी देशहरुमा सामाजिक शिक्षा पढाउनेहरु टन्न तलब हुन्छ । यहाँ पढाउनेको धेरै तलब हुँदैन । सामाजिक पढाउनेमात्रै होइन, अरु काम गर्नेको पनि बाहिर धेरै तलब हुन्छ । यहाँ कम हुन्छ । काम गर्ने त उही हो । उही काम गर्दा भिन्नभिन्न ज्याला किन हुन्छ संसारमा ?

अहिले क्लाइमेट चेन्ज भनिएको छ । क्लाइमेट चेन्ज भनको त ठूलो कुरा हो नि ! प्रकृतिजन्य, दैवले गर्ने भन्ने कुरा थियो । अहिले कतिपय ठाउँमा एकदमै गर्मी हुन थाल्यो, कतै कम पानी पर्न लाग्यो । धेरै बाढी आउन लाग्यो । यस्तो बाढी, पहिरो, पानीदेखि लिएर सानोसानो भूकम्पसमेत मान्छेले गर्दा हुन्छ । हामीले जे खान्छौं, जे लगाउँछौं, जे उपभोग गर्छौं त्यसले गर्दा क्लाइमेट चेन्ज हुन लाग्यो ।

हावापानीलाई पनि समाजले परिवर्तन गर्छ । हावापानी भनेको त बडा प्राकृतिक कुरा हो नि ? यो कि दैविक कुरा थियो, प्राकृतिक कुरा थियो । भनेपछि हावापानीमा आएको परिवर्तनलाई हामीले समाजको चरित्रको पक्ष भनेर बुझ्नुपर्छ । समाजले गर्दा यस्तो भएको हो ।

त्यसकारण सामाजिक शिक्षा पढ्दा, पढाउँदा हाम्रो जीवनमा यावत कुराहरु, जे परिवर्तन आएका छन् यसलाई सामाजिक चरित्रसँग जोडेर हेर्नसक्नुपर्छ ।

हामी प्रविधिले समाज परिवर्तन गर्छ भन्ने गर्छौं । खासमा समाजले प्रविधिको निर्माण गर्छ । समाजले प्रविधि परिवर्तन गर्छ । त्यसकारण सामाजिक शिक्षा पढ्ने, पढाउनेले समाजलाई अगाडि र प्रविधिलाई पछाडि राख्ने हो । सामाजिक पढ्ने, पढाउनेले समाज कारक हो, अरु असर हुन् भनेर बुझ्ने बुझाउने प्रयत्न गर्नुपर्छ ।

अनि यो कोभिड र समाजको के सम्बन्ध छ ? समाजले गरेर कोभिड ल्याएको हो कि ? जरुर हो । समाजमा आएको परिवर्तनले कोभिड ल्याएको हो । समाजले दूरदराजका कहिल्यै भेट नहुने, ज्युँदा वा मुर्दा जनावरहरुलाई एक ठाउँमा ल्याइदियो ।

चाहे त्यो मासु बनाएर पसलमा वा ज्युँदो रुपमा, यिनीहरु आआफ्नो रोग बोकेर आए । एउटाले अर्कोलाई रोग सारेर आए । रोग अउने मुख्यतया जनावरहरुबाट हो ।

हङकङजस्तो ठाउँमा धेरै क्राउड छ । त्यहाँ धेरै ठाउँबाट मान्छे बस्छन्, उनीहरुलाई उत्तरी ध्रुवको मासु पनि चाहियो, दक्षिणी ध्रुवको मासु पनि चाहियो । त्यो सम्मीश्रणबाट यो भाइरसहरु सिर्जना हुने हो । ग्लोबलाइज्ड संसार एकैठाउँमा आउँदा, सम्पन्न मान्छेहरुले जर्महरुलाई एक ठाउँमा ल्याउँदा कोभिडको जन्म भयो । मास्क लगाउने, सोसियल डिस्टान्सिङ भनेर कोभिडबाट बच्ने उपाय पनि समाजले नै अगाडि सारेको हो ।

अर्थात् सारांशमा भन्नुपर्दा म, हामीभित्रै छौं । अंग्रेजीमा पनि ‘आई’ वी’कै भागभित्र हो । ‘म’ वर्ग, घर, देश र विश्वकै भाग हो । यो हामी र मबीचको सम्बन्ध देखाउने शिक्षा नै सामाजिक शिक्षा हो । म छुट्टै होइन भनेर देखाउने नै सामाजिक शिक्षा हो । त्यसकारण ‘म’ एउटा ठूलो ‘हामी’ को एक भाग हुँ भनेर बुझाउने विषय नै सामाजिक शिक्षा हो ।

यो विश्वको, यो ब्रह्माण्डको म एउटा अंश हुँ, यो परिवर्तनशील संसारको एउटा परिवर्तित भइराखेको अंग म हुँ भनेर बुझाउने सामाजिक शिक्षा हो । सामाजिक शिक्षा पढाउने यो भाव राखेर पढाउँदा उपयुक्त हुन्छ ।

यो इतिहास बुझाउने पनि सामाजिक शिक्षा नै हो । हामी हाम्रा पुर्खाहरुको अंश हौं । पुर्खा भन्नाले मैले मेरै वंशावली लेखेकोजस्तो होइन, सम्पूर्ण मानव पुर्खाको कुरा हो । वंशावलीमा मलाई कुनै विश्वास छैन । मानवजातिको कुरा गरेको हो । त्यो पुर्खा यहाँसम्म कसरी परिवर्तन भएर आयो ? त्यो श्रृंखलामा म कसरी जोडिएको छु ? भनेर ऐतिहासिक कालखण्डक्रम बुझ्ने पनि सामाजिक शिक्षाबाटै सुरु हुन्छ ।

शिक्षा भनेको किताबबाट जाँचमा लेख्ने कुरा होइन । शिक्षा भनेको विचार गर्ने हो । किताबमा लेखेको कुरालाई पनि जाँच्ने हो । किताबमा लेखेको कुरा त पढ्नु प¥यो, त्यहाँ लेखेका कुरा मनन् पनि गर्नुप¥यो ।

किताबमात्रै होइन, बा ले के भन्नुभयो ? आमाले के भन्नुभयो ? साथीले के भन्छन् जोड्ने र आफूले कुन ठिक रहेछ भने सत्यको खोजी गर्नु नै शिक्षा हो । किताबमा लेखिएको कुरामात्रै सत्य हुँदैन । आफैंले विचार गर्न सिक्ने, आफैंले बोल्न सिक्ने, आफैंले लेख्न सिक्ने हो यो पढ्ने भन्ने कुरा ।
०००
सामाजिक शिक्षा खास गरेर हामी धेरैलाई मन पर्दैन । अहिले त झन् ऐच्छिक बनाइयो । सरकारलाई मन पर्दैन, निजी स्कुललाई मन पर्दैन । अघि मैले सामाजिक शिक्षाको महत्व भनें । तर, ११, १२ कक्षाका सबै विद्यार्थीले सामाजिक शिक्षा पढ्नुपर्दैन ।

यो एकदमै नहुनुपर्ने कुरा हो । बेठिक भा’छ ।

कस्तोखाले हाम्रा नेता होलान् ? शिक्षा मन्त्रालय होला ? सचिवालय टिम होला ? प्रधानमन्त्री कस्तो होला ? देश चलाउने मान्छे कस्ता होलान् ? जसले स्कुलतहमै महत्व बोकेको सामाजिक शिक्षालाई ऐच्छिक बनाउँछ । नपढे पनि हुन्छ भन्ने गराउँछ ।

‘सामाजिक सम्बन्ध पढ्नुपर्दैन तैंले, समाज पढ्नुपर्दैैन’ भन्छ । यो एकदम गलत भएको छ । सामाजिक शिक्षालाई अलि तल राख्ने सरकारमात्रै होइन, अभिभावक नै जिम्मेवार छौं । धेरैजसो हामी बाउआमालाई छोराछोरीले साइन्स नै पढ्नुपर्छ, इन्जिनियर पढ्नुपर्छ । केमेस्ट्री, फिजिक्स नै पढ्नुपर्छ, गणित नै पढ्नुपर्छ भन्ने छ । यी सबै पढ्नुपर्छ । तर, सामाजिक शिक्षा पनि नपढी हुँदैन ।

अहिले सामाजिक शिक्षा र गणितलाई ११, १२ मा ऐच्छिक बनाइएको छ । त्यो नगर्नुपर्ने कुरा भयो । गणित, फिजिक्स, केमेस्ट्रीलाई छुट्टाछुट्टै विषय बनाएर पढाइन्छ । खास यो छुट्ट्याएर पढाउनुपर्ने विषय होइन, यिनीहरु एकआपसमा जोडिएका विषय हुन् । जे ले गर्दा यो सबै बनेको छ, त्यो विषय पढ्नुपर्दैन ?

यसमा मुख्यतयाः केन्द्रीय सरकारलाई भनेको हो । तर, अब केन्द्रीय सरकारलेमात्रै पढाउने होइन होला ! कोही पालिकाको नेतृत्वमा हुनुहुन्छ भने पनि यो विचार गर्नुहोस् । केन्द्रीय सरकार लेखेको पाठ्यपुस्तकमात्रै पढाउने हो कि हाम्रो प्रदेश वा पालिकालाई छुट्टै पाठ्यपुस्तक चाहिन्छ ? अथवा यसलाई ऐच्छिक नबनाउने अर्कै शैक्षिक प्रणाली चाहिन्छ ? त्यसकारण अब पालिकाले पनि ध्यान दिनुपर्ने बेला भयो ।

संसारमा राम्रा विश्वविद्यालयले स्कलरसिप माग्दा सामाजिक शिक्षा पढेकै हुनुपर्छ । ठाडो एउटामात्रै विषय पढेको भन्दा सबै विषय पढेकोले बढी महत्व पाउँछ । आफ्नोबारे, विश्वब्रह्माण्डबारे जानकारी त राख्नुप¥यो नि ! म र यो परिवार, म र ब्रह्माण्ड, म र मेरो टोल कसरी जोडिएको छु ? भन्ने पढ्नु परेन ? बुझ्नुपरेन ?

सामाजिक शिक्षा भनेको पढ्ने कुरामात्रै होइन, आफैंले गर्ने कुरा पनि हो । आफ्नै घरको बारेमा सोधपुछ, लेख्ने कुरा हो । बाको जीवनी, आमाको जीवनी, हजुरबुवाको जीवनी, हजुरआमाको जीवनी, उनीहरु र आफूमा भएको परिवर्तन, फरक केके छ ? किन भयो ? खोज्ने विषय हो ।

पालिका, वडामा गएर सूचना लिने, विश्लेषण गर्ने विषय नै सामाजिक शिक्षा हो । आफैंले नगर्दासम्म पढेको पूरा हुँदैन । हाम्रा पाठ्यपुस्तकमा क्रियाकलाप भनेर लेखिएको हुन्छ । तर, कति गराइन्छ ? मलाई शंका छ ।

११, १२ को सामाजिक शिक्षाको कुरामा किन जोड दिइरहेको छु भने यो विषयको कोर्स प्लान बनाउने २० जनालाई राखेर मैले पनि सँगै बनाएको हो । यद्यपि, हामीले बनाएको भन्दा त्यहाँ धेरथोर फरक छ । नचाहिने किसिमले फरक छ ।

एउटा जीवनोपयोगी शिक्षा भनेर गाभिएछ । सबै शिक्षा जीवनोपयोगी छ । जीवनोपयोगी हुन सक्दैन भन त्यो शिक्षाको के काम ? जीवनोपयोगी शिक्षा हरेक विषयमा हुन आवश्यक छ । तर, सामाजिक शिक्षामा लिएर गाभिएछ । त्यहाँ गाभ्ने विषय होइन ।

अर्को अनर्थ के भने त्यहाँ जातको कुरा छैन, वर्ग छैन, मधेशी, पहाडी छैन । पुरुष, महिला र अपांगतासम्बन्धी अलिअलि छ । मेरो टिमले कोर्स प्लान बनायो भनेर अलिअलि गर्व त लाग्छ, गर्व पनि लाग्दैन । जे भनेको त्यो त्यहाँ छैन । सबै झिकेजस्तै छ ।

कतिपय देशमा यसरी नै झिक्छन् । देश फाटेको देखाउनु हुँदैन भन्छन् । वर्ग, जातको कुरा गर्दा लुगा फाटेकोजस्तो देखिन्छ भन्छन् । त्यो फाटेको देखाउनु हुँदैन भन्ने धेरै समाजमा छ नै ! तर, यो अनर्थ पनि हो । जस्ताको तस्तै नदेखाउन खोजेको हो, ढाँटछल गरेको हो ।

दलित र नदलितको सम्बन्ध नपढाएर कसरी समाज पढाइन्छ ? हामीले हामीभित्र जे खोले छुवाछुत छ, त्यो पनि लुकायौं । हामी त स्वच्छ छौं भन्यौं, जबकि व्यवहारमा छैनौं । सामाजिक शिक्षाको मूल आधार जन्मिँदैमा फरक हुँदैन भन्ने हो । सबै मान्छे उही हो भन्ने हो । तर, त्यो कुरा पाठ्यपुस्तकले अंगिकार गरेन । हामीले सामाजिक शिक्षा होइन, पुरातनपन्थ सिकाइराखेका छौं । यसबाट जतिसक्दो चाँडो मुक्ति लिए राम्रो हुन्छ ।

किताबमा अरुको बारेमा पढेको होइन नि त । विद्यार्थीले हरेक विद्यार्थीले पढेको शब्दभित्र आफूलाई हाल्न सक्नुपर्छ । यस्तो हुँदा सामाजिक शिक्षाले समभाव सिकाउँछ । यसले म छुट्टै छैन भन्ने सिकाउँछ । अरु र आफ्नोबीचको दूरी घटाउन मद्दत गर्छ ।

अर्को भनेको जुम्लामा पढाउने र झापामा पढाउने पाठ्यपुस्तक एउटै हुनुपर्दैन । यो एकदमै गल्ती भयो । जुम्लाको समाज भिन्नै छ । ताप्लेजुङ, कञ्चनपुरको छुट्टै छ । त्यसकारण स्थानीय तथ्यतथ्यांकहरु, भावहरु समेटेर छुट्टाछुट्टै पाठ्यपुस्तक लेखिनुपर्छ । यो फिजिक्स, म्याथम्याटिक्स पढाएको जस्तो होइन ।

(पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलमा ‘सामाजिक शिक्षा र हाम्रो पाठ्यक्रम’ विषयक सत्रमा मिश्रले राखेको विचारको सम्पादित अंश)

आँखा विशेषज्ञसँग आँखाको भाका

पोखरा । जलविन्दु रोगमा नेपालकै पहिलो विशेषज्ञ हुन् सुमन थापा । हालसम्म ६० हजार बढीको उपचार गरिसकेका सुमनको परिचय त्यति मात्र सिमित छैन । पढाईमार्फत डाक्टर बनेका सुमनको मन मुटुमा संगीत ताजै छ ।

सानैदेखि म्युजिसियन बन्ने लक्ष्य राखेका सुमन कलकत्तामा पिएचडी गरेका थिए । म्युजिसियन सिक्ने बाटोमा अघि बढेका सुमन साथीको लैलैमा लागेर डाक्टर पढेको बताउँछन् । ‘सानैदेखि म्युजिक सिक्ने चाहना थियो । त्यहि पढ्छु सोचेको थिए । एकजना भुटानी साथीले डाक्टर पढम् भने त्यसपछि डाक्टर पढ्छु भनेर लागे,’ उनले भने, ‘मैले डाक्टर पढेँ, उसले अर्कै बढ्यो ।’

उनीले हालसम्म बाइपासदेखि ब्ल्यु फ्रेट नामक क्रियाशील सांगीतिक समूहमा काम गरिसकेका छन् । आफैँ गीत लेख्छन्, गितारमा औंला चलाउँछन्, र धुन पनि आफै भर्छन् ।

सबैभन्दा सजिलो भनेको गीत गाउँन हुने थापा बताउँछन् । ‘म सानो हुँदा खेरि सबैभन्दा सजिलोसम्म आएको भनेकै गाउन हो । डाक्टरी भनेको कुरा त धेरै पछि आएको कुरा हो,’ उनले भने ।

सांगीतिक यात्राको सुरुवाती दिन सम्झिदैँ थापाले भन्छन्, ‘बिचमा केही खान जानुहुन्थ्यो । मैले चाहिँ गितार बजाएर खेल्थे ।’

डाक्टर बनेपछि जतिबेला पनि जतिबेला पनि गीत गाउन मन लाग्ने सुमन सुनाउँछन् । ‘गायक त पहिलादेखि नै थिए । खाली गाउन मन लाग्थ्यो । पढ्न मन लाग्थेन । र म्युजिसियन नै भएर जिवन विताउन मन लागेको थियो । तर, डाक्टर पढ्दा धेरै गाह्रो भयो । सुरुमा फेल पनि भइयो । किनकि पढाईमा मन पनि थिएन । जतिबेला पनि गाउन मन लाथ्यो,’ उनले भने ।

सानैदेखि गीत गाउन सुरु गरेको उनले सुनाए । ‘कसरी आयो थाहा भएन । केही म्युजिक सुन्यो, केही गाना सुन्यो । सानो हुँदाखेरि गाइयो होला । तर, गाउन चाहिँ सानै देखि एकदमै गाइरहेको हो,’ उनले भने ।

कलकत्तामा पिएचडी सकेपछि उनी काठमाडौं फर्किएका थिए । त्यसपछि उनले ‘बाइपास’ समूहसँग संलग्न रहेर आफ्नो सांगीतिक रहरलाई अगाडि बढाएका थिए । सांगीतिक यात्रा मात्रै अगाडि बढाइरहेका थिए । त्यसपछि उनी विर अस्पतालमा जोडिएका थिए ।

‘म डाक्टर बनेर फर्किएपछि गायन क्षेत्रमा मात्रै थिए । साथीहरुले विग्रियो भनेर विर अस्पतालमा काम गर्र्न लगाए । त्यसपछि केही समय त्यसैमा लागे’ उनले भने । थापाले विर अस्पतालदेखि मणिपाल अस्पतालसम्म काम गरेपनि गायनको भोक भने मेट्न सकेनन् । उनले विदेश गएर जलविन्दु रोगका अध्ययन गरेर फर्किएका सुमन अहिले पनि सांगितिक यात्रामा क्रियाशिल छन् ।

असफलताको पाठ

पोखरा । नेपाली सेनाको जागिरले जिन्दगी ठिकठाक चल्दैथ्यो । देश १० वर्षे सशस्त्र द्वन्द्वको भूमरीमा फस्यो ।

हुँदाखादाको जागिर छाडेर स्याङजा वालिङका भीम लुंइँटेले जहाज चढेर दुवई ओर्ले । एकातिर कमाइ कम अर्कोतिर युद्वको रापतापमा जेलिएको देशमा ज्यान जोगाउन मुस्किल ठानेर भीमले वैदेशिक रोजगारको बाटो रोजेका थिए ।

उनले दुवईमा काम गर्ने कम्पनी भर्खर खुलेको थियो । टिनको टहरा बनाएर सुरु भएको कम्पनिको भित्तामा तस्बिर थियो, ‘टहरको माथिबाट कम्पनीको नामको जहाज उडेको ।’ तस्बिरले बोकेको लक्ष्य थियो, ‘भविष्यमा कम्प्नीको आफ्नै जहाज उडाउने छ ।’

भीमको दिमागलाई त्यही एटा तस्बिरले हान्यो । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने अठोटले उनलाई घच्घचाइरह्यो । भीमलाई वदेश धेरै वर्ष मन लागेन । विदेश छँदा गाउँघरमा देखेका सम्भावनाहरु उनका आँखा वरिपरी घुमिरहन्थे ।

देशमा सशस्त्र जनयुद्धमा पूर्णविराम लागेर विस्तृत शान्ति सम्झौता भइसकेको थियो । केही लाख रुपैयाँ कमाएर लुइँटेल स्वदेश फर्किए ।सम्भावना देखेर उनले रोजे बंगुुरपालनलाई । २०७१ सालमा भीमले २७ लाख रुपैयाँ लगानी गरेर बंगुरपालन सुरुवात गरे ।

देशमा जनयुद्ध त रोकिएको थियो भीमले रोजेको पेशाले भने समाजसँग युद्ध सुरु भयो । त्यतिबेलाको समाज भन्थ्यो, ‘बाहुनले बंगुर पाल्न त के छुन समेत हुदैन ।’ परिवार, समाजसँग विद्रोह गर्दै उनले साथीभाइसँग मिलेर आँधीखोलाको किनारमा बनाएको खोरमा २७ वटा बंगुर हुलेर हजार माइल पर सफलताको यात्रामा एक पाइला चाले ।

साथीसँग मिलेर सुरुवात गरेर व्यवसायमा दरार आउन सक्ने देखेर छोटो समयमै भीम एक्लैले व्यवसाय सम्हाले । उनी सफल हुँदै गर्दा उदेश्य राखेका थिए, ‘देशमा रोजागरी सिर्जना गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नेछु ।’ विश्वबजारमा बंगुरको मासु निकै माग भएको उनको भनाइ छ ।

बंगुर पालनमा उनले विस्तारै सफलता हासिल गर्दै गए । बाहुनका छोराले बंगुर पाल्नै नहुने भाष्य समाजबाट हट्दै गयो । रोजगारीका लागि संख्या बढाउदै थिए । भीमको लगावबाट प्रेरित भएर बंगुर पाल्ने युवाहरुको संख्या दिनानुदिन बढ्दै गए ।

विद्रोह गरेर थालेको पेशाबाट सफलताको सिंढी चढ्दै गर्दा एक्कासी उनी शुन्यमा झनुपरेको छ । ९ महिना अगाडि उनको फर्मबाट १४ सय बंगुर मर्दा ठूलो क्षति व्यहोर्नुप¥यो ।

अफ्रिन स्वायन फिबरका कारण उनले ३ करोड रुपैयाँ बराबर नोक्सानी व्यहोर्नुपरेको बताए । उनको सफलताको यात्रामा अफ्रिकन स्वायन फिभरले असफलताको ट्याग झुन्डाइदिएको छ ।

भीमले त्यसपछि यतिसम्म आर्थिक अभाव भोगे कि बंगुरलाई खुवाउने दाना नहुदाँ भकारीको धान झिकेर खुवाए । त्यो आधा पेट । पहिला ऋण लिन उनका फर्ममा आउने बैंकले ऋण पत्याएन । राज्यले पनि दुखमा मलम लगाउने कोशिष गरेन ।

राज्यका निकाय र बैंक तथा वित्तिय संस्थाको सहयोग नपाएकोमा उनको गुनासो छ । ‘समस्याको पाटो त आर्थिककै थियो । अहिलेसम्म न बैंकिङ क्षेत्र न राज्यका निकाय कुनै पनि क्षेत्रबाट सहयोग भएन । बरु भिडियो हेरेर नेपाल भन्दा बाहिर रहनुभएका अथवा नेपालमै भएका केही साथीहरुले तपाईले गरेको कामप्रतिको प्रसाद हो है भनेर रकम सहयोग गर्नुभयो’, उनले भने ।

अहिले उनी सुरुवाती संघर्षको दिनमा पुगेको बताउँछन् । भीमले न हरेश खाएका छन न बाटो फेरेका छन् ।

बंगुरको बजार पूरानै अवस्थामा फिर्ता पाएकोमा खुशी देखिए । ‘मसंग उत्पादन हुुने हो भने त्यो क्षतिलाई कभर गर्न सक्ने गरी वातावरण तयार भएको छ’, भीमले भने, ‘र त्यो अवस्थामा आफुलाई पु¥याउनका लागि लडिरहेको छु ।’

एक्कासी सफलता गुमाएका भीमले विश्वस्त हुँदै भने, ‘त्यो असफलताको अगाडि झुन्डाइएको एउटा ‘अ’ फेरि पनि हटेर जान्छ ।’

पोखराको फेवाताल किनारमा ११ औं संस्करणको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिबलको अन्तिम दिन सोमबार ‘असफलताको पाठ’ सेसनमा भीम लुइँटेल, चन्द्रकान्त बराल र नवराज देवकोटासँग पत्रकार जमुना वर्षा शर्माले अन्तरक्रिया गरिन् ।

पुम्दीकोटमा विशाल महादेवको मूर्तीको परिकल्पनाकारसमेत रहेका चन्द्रकान्तले २०३६ सालमा बंगुर पाल्ने सहास गरेर समाजसँग पैठेंजोरी खेलेका थिए । २४ वर्षका चन्द्रकान्तलाई केही गरौं भन्ने हुटहुटी थियो ।

उनले सुरुमा ३ महिने तालिम लिएर पशु सहायकको जागिर खाए । तालिमले बंगुर पाल्दा मनग्य आम्दानी देखाएपछि उनले बंगुर पाल्न सुरु गरेका थिए ।

घरमा उनले जिद्धी कसे, ‘जसै बंगुर पाल्छु ।’ जायजेथा पूरै १५० रोपनी जग्गा धितो राखेर १ लाख ५० हजार रुपैयाँ ऋण काढेर उनले बंगुर पाल्न सुरु गरे । ‘अफ्रिकन स्वायन फिभर रोग लागेर बंगुरहरु बच्चा उत्पादन गर्दै मर्ने हुन थाल्यो र म असफलताको बाटोमा गएं’, उनले सम्झिए ।

बंगुर पाल्दा धन र धर्म दुवै गुमाएको उनले सुनाए । ‘त्यतिबेला बाहुनका छोराले बंगुर पाल्ने भनेको सामान्य कुरा थिएन । भित्रभित्र छोएको पानी खान हुन्न भन्ने मान्छेहरु पनि प्रशस्त हुन्थे’, उनले भने ।

किन घुम्ने ?

घुमफिर गर्न रूचाउने र आफ्नो घुमफिर अरूलाई देखाउने ‘कन्टेन्ट क्रिएटर’ हुन् – कञ्चन राई र पूजा रिजाल ।

घुमन्तेको नामले परिचित कञ्चन र सोलो ट्राभलर पूजाले सोमबार पोखरामा आफ्नो घुमफिर अनुभव सुनाए । नेपाल लिटरेचर फेस्टिभलमा सहजकर्ता दीपकराज जोशीसँग ‘घुमन्तेका कुरा’ सत्रमा उनीहरूले घुमफिर अनुभव मात्र सुनाएनन् घुम्न जानुअघि के–के गर्ने भनेर टिप्स पनि दिए ।

पूजाको शब्दमा घुम्नु भनेको कुनै गन्तव्य पुग्नुमात्र होइन । आफू गन्तव्यसम्म पुग्दा बास बसेको, खानपिन अनुभव र मौसम पनि यात्राका महत्वपूर्ण पाटो रहेको उनले सुनाइन् । ‘घुमौं भनेर त्यहाँ गएर खाना कस्तो छ, संस्कृति थाहा पाउन त्यहीँ जान पर्छ । कहीँ बस्न मन लाग्छ । कुनै ठाउँको खाना मीठो लाग्छ,’ उनले भनिन्, ‘घुम्नु भनेको ठाउँममा पुग्नुमात्र होइन । को मान्छे भेटिन्छ, कस्तो खाइन्छ, कस्तो मौसम थियो भन्ने यादले ट्राभलसँग जोड्छ ।’

पैसा र समय खर्चिएर किन घुम्ने ? हामीले आफ्नो जीवनलाई दुःखको कुन अवस्थासम्म धान्न सकिन्छ भन्ने बुझ्न पनि घुम्न आवश्यक रहेको पूजाले बताइन् । यात्राले धैर्य र घुलमिल हुन सिकाएको अनुभव रिजालको छ ।

‘ट्राभल भनेर हामीले दिमागमा वाह भन्ने बनाउँछौं । ट्राभल दुःख पनि हो । कहिलेकाहीँ क्याम्पिङ गर्दा कहिल्यै नगर्नु परेजस्तो हुन्छ,’ पूजाले थपिन्, ‘गन्तव्यमा पुग्ने लक्ष्य हुन्छ, कसैको जहाँसम्म पुग्छु अनि फर्कन्छु भन्ने हुन्छ । आफूलाई मनपर्ने कुरा र कसरी बाँच्न सकिन्छ भन्ने बुझ्न पनि घुम्ने हो ।’

मनोरञ्जन लिनमात्र भन्दा पनि आफूमा परिवर्तन ल्याउन पनि घुम्नुपर्ने कञ्चनको भनाइ छ । घुम्न थालेदेखि आफ्नो सोचाइ र रुचीमा सकारात्मक परिवर्तन भएको उनले अनुभवसहित सुनाए । ‘पहिला एनटीभीमा लोकदोहोरी बझ्दा झर्को लाग्थ्यो । आजकल लोकदोहोरी र परम्परागत धुन बज्यो भने कहाँको रैछ, कुन भेगको रैछ, कसले गाउने रैछ भन्ने चासो लाग्छ,’ उनले भने ।

घुम्न जाँदा गाउँमा सहयोग गर्ने भावना देखेर आफू प्रभावित रहने गरेको र यो नेपालको सुन्दर पक्ष भएको राईले बताए । तर, विकासले गर्दा गाउँमा रहेको यो ‘असल मानवीय संस्कार’ गुम्न सक्ने चिन्ता उनले सुनाए ।

‘कुनै गाउँ घुम्दा, नयाँ ठाउँ जाँदा हामी पर्यटक होइन । हामी बाटो हिँड्ने बटुवा मात्र हो,’ उनले भने, ‘पानी वा चिया माग्यो भने यसले चियाको पैसा यति दिन्छ भनेर अपेक्षा गर्नु हुँदैन । त्यो नेपालको मीठो पाटो छ । तर, विकासले गर्दा विस्तारै गुम्दै जान्छ होला ।’ विकास कार्यको पछाडि दौडँदा र व्यस्त जीवनशैलीले धेरै देशका जनताले सहयोगको भावना नै गुमाएको राईले सुनाए ।

नेपालको पर्यटन बजारले डिजिटल हिसाबले काम गर्न नसकेको र ट्राभल एजेन्सीले आफूजस्तै घुमफिर गर्नेसँग सहकार्य गर्न सके दुवैलाई फाइदा हुने बताए । स्थानीय तहले आफ्नो गाउँ–ठाउँका गन्तव्य चिनाउन प्रयास गरे पनि यसलाई प्रभावकारी बनाउन आवश्यक रहेको उनको सुझाव छ ।

अरूलाई नयाँ–नयाँ गन्तव्य देखाउने र घुम्न प्रेरित गर्नेका भने आफ्नै दुःख छन् । क्यामरा लिएर ‘स्टोरी’ खोज्दै हिँड्दा घुम्नुको मज्जा लिन नसकेको राईको अनुभव छ ।

‘घुम्ने भनेको क्यामरा लिएर त्यो ठाउँको बारेमा सोधखोज गर्ने कामजस्तो भइसक्यो । जसले गर्दा मेरो ५० प्रतिशत घुमाइको मज्जा घटेको छ,’ उनले भने । भूगोलमा सयौं गुणा ठूला देशभन्दा नेपाल सानो भएपनि धेरै विविधता रहेको तर त्यसलाई प्रयोग गर्न नसकेको राईले बताए ।

पछिल्ला वर्ष स्थानीय सरकार पनि आफ्नो ठाउँका गन्तव्य चिनाउन सक्रिय छन् । स्थानीय सरकारहरु पनि आफ्नो ठाउँ चिनाउन सक्रिय हुनु निकै राम्रो पक्ष भएको रिजालको भनाइ छ ।

कहीँ घुम्न जानुअघि त्यो ठाउँको बारेमा अध्ययन गर्न, आफ्नो खर्चको हिसाब गर्न र सुरक्षाको अवस्था के छ भन्ने पनि थाहा पाउन उनको सुझाव छ । घुमफिरमा निस्कँदा डेटाबेसको अभाव र घुम्न जाने ठाउँबारे अध्ययन गर्ने स्रोतको कमी पर्यटन क्षेत्रको समस्या भएको पूजाले बताइन् ।

‘दालभातको स्वाद कुनै परिकारले बिर्साउन्न’

पोखरा । रोहिणी राणाले हालसालै ‘द नेपाल कुकबुक’ पुस्तक बजारमा ल्याएकी छन् । पुस्तकमा तराई, पहाड र हिमालमा प्रचलित १०८ प्रकारका परिकारको पाक कला समावेश छ । रोहिणीको यो दोस्रो पुस्तक हो ।

यस अगावै रोहिणीले अंग्रेजी भाषाको ‘द राणा कुक बुक रेसिप्स फ्रम द प्यालेसेज अफ नेपाल’ पुस्तक ल्याएकी थिइन् ।

पुस्तकमा जंगबहादुर राणादेखि मोहनशमशेर राणासम्मका ९ प्रधानमन्त्रीको भान्छामा पाक्ने खानाका परिकारबारेको पाक कला समावेश थियो ।

१४० प्रकारका खानाका परिकारबारे पुस्तक लेख्ने उनलाई बाल्यकालमा भने पाककलाबारे कुनै ज्ञान थिएन ।

सोमबार पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलमा उनै लेखक रोहिणीसँगै पूर्व बैंकर अनिकेशरी शाह नेपाली परम्परागत स्वादबारे गफिए ।

गफमा रोहिणीले बाल्यकालमा खाना पकाउने ज्ञान नै नभएकोदेखि पाक शिक्षाको पुस्तक लेखेको राज खुलाइन् ।

भारतको आग्रामा जन्मिएकी रोहिणीको होटलमा हिन्दी, कन्टिनेन्टल लगायत कुकले खानाको परिकार पकाइरहेको देखेकी थिइन् । उनले पकाउने रुची भएपनि सिक्ने कष्ट बाल्यकालमा कहिल्यै गरिनन् ।

जब कलेजको पढाइ सकिने बेला भयो उनको बिहेको कुरा छिनियो त्यो पनि नेपालको राणा खानदानमा । खाना पकाउने लगायत घरधन्दा उनलाई नआउने भएकै कारण विहे र इंगजमेन्टबीचको समय ८ महिना राखियो ।

‘विहेको कुरा छिनिएपछि आमाले भन्नुभो यसले घरको कला, सीप केही पनि जानेको छैन । ८ महिना विहे र इंगेजमेन्टको बीचको पिरयडमा पाक कलामा ट्रेनिङ भयो । भाउजुले मलाई सिकाउने ड्युटी पाउनुभो । त्यतिबेला अलि अलि सिके’, रोहिणी फ्ल्यासब्याक सुनिइन् ।

गौरवशमशेर राणासँग विहे भएर नेपाल आएपछि उनको खानाको अनुभव बडो रोमाञ्चक थियो ।

‘कसैले भने हुन्थ्यो नि हामी ब्रेकफास्ट खादैनौं । सिधैं साढे ९ बजे भुजा खान्छौं भनेर मानसिक रुपमा तयार हुन्थ्यो होला ! आर्मीको परिवार साढे ९ बजेर बोलाएर खाने कुरा टक्र्रयाँइयो’, उनले भनिन्, ‘अण्डा, टोस्ट पर्खें । यत्रो यत्रो छाप्रीभरी भुजा, दाल, मासु, तरकारी, अचार हेर्दा खेरी त चकित भए !’

अहिले भने उनलाई संसार घुमेर थरीथरीका स्वाद चाखे पनि दाल, भात, तरकारीको स्वादको तल मेटाउन सक्दैन रे ।

राणा परिवारमा पाक्ने परिकारबारे उनलाई श्रीमनको घरको भान्छे चिनियाँ चम्पाले सिकाइन् । जो राणा खान्दनमा स्वादिलो खाना पकाउनमा प्रख्यात थिइन् । उनैसँगै सिकेपछि उनलाई पुस्तक लेख्ने योजना फुरेको हो ।

३५ वर्ष अगाडी नै उनले पुस्तक लेख्न थालेको बताइन् । ‘बच्चाहरु स्कुल जाने, कलेज जाने । यो भन्यो त्यो भने । किताब बसेको बस्यै भो । बच्चाहरुको विहेपछि लाग्यो अब किन किताब नलेख्ने’, उनले सुनाइन् ।

‘द राणा कुक बुक रेसिप्स फ्रम द प्यालेसेज अफ नेपाल’ मा सय परिकार आफ्नै घरको समावेश गरेकी उनले जानकारी दिइन् । राणा परिवारको परिकारबारे लेखिएको पुस्तक प्रकाशनको समय विश्वव्यापी कोराना भाइरसको संक्रमण फैलिइरहेको थियो । प्रकाशकले पुस्तकको विक्री नभएको भन्दै तत्काल प्रकाशन गर्न मानेन् ।

१० महिना किताब छाप्न प्रतिक्षा गर्नुप¥यो उनले । जुन समय रोहिणीलाई लाग्छ जिन्दगीकै निराश समय थियो ।

उनले कोरोनाको बेला नै सोच्न थालिन्, ‘अब हिमाल, पहाड, तराईमा पाक्ने परिकारबारे किन नलेख्ने ?’ त्यसपछि रिसर्चमा लागेको उनले बताइन् । ‘धेरै अनुसन्धान गरे । एउटा एउटा थरको’, उनले भनिन् । ति परिकारबारे हेरक भन्छामा पुगेर चम्चा चम्चा नापेर पुस्तले लेखेको उनले बताइन् ।

उनले बेमौसमी तरकारीका उत्पादन बढ्दा अस्वस्थ्यकर खाना खानुपरेको उल्लेख गरिन् । जंकफुडका कारण पनि बालबालिका अस्वथ्य बन्दै गएको रोहिणीको भनाइ छ ।

संसारको सबैभन्दा झुटो मान्छे इमानदार अभिनेता होः अनुप बराल

११ औँ नेपाल लिट्रेचर फेस्भिलको अन्तिम दिन अभिनयसँग सम्बन्धित सत्र अभिनयको फरक अन्दाज सम्पन्न भएको छ ।

उक्त सत्रमा बोल्दै अभिनेता तथा निर्देशक अनुप बरालले एउटा इमानदार अभिनेता नै संसारको सबैभन्दा झुटो मान्छे हुने बताएका छन् । आफूभन्दा फरक पात्रको रुपमा उभिएर दर्शकलाई त्यसमा विश्वास गराउन सक्नु एउटा कुशल अभिनेताको गुण रहेको उनले जिकिर गरेका हुन् ।

सुरज सुवेदीले सहजिकरण गरेको सत्रमा आफूले गरेका अभिनय सम्झिँदै बरालले बाल्यकालमा चोरेर खुदो खाएको, झुट बोलेर सिनेमा हेर्न गएको प्रसंग जोडे ।

वक्ताकै रुपमा रहेकी अभिनेत्री सृष्टी श्रेष्ठले पनि बाल्यकालमा बुवाआमाले थाहा नपाउने गरी फिल्म हेर्ने गरेको घटना सम्झिँदै अभिनय यात्रा त्यतिबेलादेखि नै सुरु भएको बताइन् । तर, त्यसरी गरिने अभिनय र फिल्म अथवा नाटकको लागि गरिने अभिनयमा भने तात्विक फरक रहेको बरालले स्पष्ट पारे ।

त्यस्तै रंगमञ्चमा गरिने अभिनय र फिल्ममा गरिने अभिनयमा पनि केही भिन्नता हुने उनले बताए । ‘मैले बढी समय थिएटरमै बिताएँ ।

मिडियमसँगै अभिनय शैली पनि फिल्म र थिएटरमा फरक हुन्छ ।’ उनले भने, ‘धेरै मान्छेसम्म आफ्नो आवाज र हाउभाउ प्रत्यक्ष पु¥याउनुपर्ने भएकाले थिएटरमा अलिकति बढाइ चढाइ गर्नुपर्ने हुन्छ । तर, सिनेमामा रिसाउँदा, खुसी हुँदा वा अन्य अवस्थामा चियाको कप उठाउने तरिकामै पनि फरक इमोसन हुन्छ । क्यामेराले त्यो पनि देखाउन सक्छ ।’ जुन ठाउँमा अभिनय गरे पनि आफ्नो भूमिका प्रतिको इमानदारिता एउटा कुशल अभिनेताको पहिचान रहेको उनले बताए ।

अभिनय गर्दा कारण खोज्नु कति महत्वपूर्ण हुन्छ भन्ने बताउँदै बरालले भने, ‘हामीलाई टाउको दुःखेको अभिनय गर्नुपर्यो भने टाउको समात्छौँ । तर के कारणले टाउको दुखेको हो भनेर खोज्नतिर लाग्दैनौँ । यो धेरै अभिनेताहरुको समस्या हो । एउटा अभिनेताले दिइएको स्थान, समय र फ्रेममा रहेर कारण खोज्दै गयो भने त्यसले धेरै बाटो पनि खोल्छ ।’

फिल्ममा अभिनय गर्दा आफूले निर्देशकको भिजनमा काम गरिरहेको छु भन्ने कुरा सधैँ याद राख्ने अभिनेत्री सृष्टी श्रेष्ठले बताइन् । ‘कुनै सिनमा आफूले गरेको रियाक्ट नै कसरी आयो भन्ने थाहा हुँदैन तर त्यो रियाक्टमा पात्र नै हुन्छ । छायांकन अघि गरिने वर्कशप, फिल्म र पात्रका बारेमा हुने छलफलले एक्टर र डिरेक्टर एउटै स्टेजमा ल्याएको हुन्छ ।’ राधाको उदाहरण दिँदै उनले भनिन्, ‘राधामा काम गर्दा पात्र यति पर्सनल भइसकेको थियो कि त्यो हाम्रो लागि एउटा सन्तान जस्तो थियो । जसले गर्दा सुटिङमा धेरै म्याजिकल मोमेन्ट घटित भएको थियो ।’

एउटा राम्रो फिल्म बन्नका लागि अभिनेता र निर्देशक बिचको सम्बन्ध एकदमै घनिष्ठ हुनुपर्ने बरालले बताए । निर्देशकले अभिनेताका लागि स्वतन्त्र ठाउँ दिइ पात्रमार्फत नयाँ कुरा खोज्ने वातावरण बनाइदिने र अभिनेताले निर्देशक सामु आफूलाई समर्पित गरेमा पटकथामा नसमेटिएका सुन्दर घटनाहरु तत्काल घट्न सक्ने उनको भनाइ थियो । निर्देशक आफ्नो अडानमा रहँदा अभिनेताबाट निस्कन सक्ने जादु गुम्ने भएकाले आफू काम गर्दा त्यस्ता कुरामा सचेत रहने उनले बताए ।

समाजमा बलियो हुनुपर्छ, रुनु हुँदैन, आफ्नो भावना देखाउनु हुँदैन भन्ने प्रचलनले गर्दा मान्छे आफैदेखि टाढा हुने भएकाले एउटा अभिनेताले ति कुरा चिर्नुपर्ने श्रेष्ठले बताइन् । उनले भनिन्, ‘एउटा एक्टर भोल्नरेबल हुनुपर्छ, हामीमा भएका सबै पाटा सँग साक्षातकार हुनुपर्छ । त्यसो भएमा मात्रै आफूसँग कनेक्ट हुन सकिन्छ । म त्यसरी नै काम गर्ने प्रयास गर्छु ।’

‘अभिनय गर्दा चरित्रको पृष्ठभूमीले ठूलो प्रभाव पार्छ । पानी फोटोमा द्वन्द्वकालबाट पिडित मान्छेहरुलाई नजिकबाट नियाल्ने कोसिस गरेँ । मलामीमा कालको चरित्र थियो, नदेखिएका चरित्र गर्दा कल्पनाले काम गर्दो रहेछ ।’ उनले भने, ‘त्यसरी काम गरेको चरित्रको माया त लाग्छ ।

तर माया लागे पनि त्यो छोड्नुपर्ने हुन्छ । नत्र त्यो अरु काममा आउँदो रहेछ । जुन एउटा अभिनेताले चाहँदैन ।’ उनले मेथड एक्टरको रुपमा चर्चित हलिउड फिल्म ‘द डार्क नाइट’का अभिनेता हिथ लेजर, जसको त्यो फिल्मपछि निधन भएको थियो, उदाहरण दिँदै एउटा अभिनेताले आफूले निभाउने चरित्रलाई त्यो स्तरमा जीवनसँग नजोड्न पनि अनुरोध गरे ।

बाँदरको समस्या समाधानको लागि अध्ययन आवश्यक

पोखरा । पहाडी क्षेत्रमा बाँदरको समस्या प्रमुख नै हो । बाँदरबाट कृषक यति आजित छन् यो विषय सदनमा पुगेको छ । सरकारले आफनो नीति तथा कार्यक्रममा बाँदरको विषय समेट्न छुटाउँदैन । पछिल्लो समय पहाडि क्षेत्रमा बाँदर र मानिसको द्धन्द बढ्दो छ । केही हप्ता अघि मात्र पोखरा महानगरपालिका वडा १७ मा बाँदरको समस्याका कारण वडाध्यक्षले रुख काट्ने आदेश जारी गरे ।

पछि, सो निर्णयको चौतर्फी आलोचना भएपछि पोखरा महानगरका प्रमुख धनराज आचार्यले उनको निर्णयका विपक्षमा पत्र जारी गरेका थिए ।
बाँदरकोे समस्या समाधानमा स्थानिय तहलाई अधिकार र सहयोग गरे निष्कर्ष निस्किने भनाइ राख्छन् महेश्वर ढकाल । स्थानीय नीति निर्माणबाट यो समस्याको समाधान निस्किने उनको भनाइ छ ।

‘कास्कीको बाँदरको समस्या स्याङ्जासँग मिल्दैन । स्याङ्जाको समस्या तनहुँसँग मिल्दैन । त्यो टाइम अनुसार ठाउँ अनुसार कन्टेक्ष्ट अनुसार गर्नुपर्ने भएको हुनाले यो स्थानिय सरकारलाई हामीले अध्ययन अनुसन्धान गरेर उनीहरु त्यही स्थानीय नीति निर्माण गर्नमा सहयोग गर्यौ भने यो समस्या समाधान गर्न सक्छौँ । तर, अलिकति जोड चाहिँ गर्नुपर्ने हुन्छ,’महेश्वरले भने ।

बाँदरको समस्या नेपालमा पेचिलो बन्दै गएकाले यस बारे अध्ययन हुनुपर्ने विचार राख्छन् उनी । ११ औँ नेपाल लिटरेचर फेस्टिभलको अन्तिम दिनको सत्र ‘प्रकृतितर्फ फर्क !’ मा विचार राख्दै उनले योग्य हिसबाले अध्ययन हुनुपर्ने भनाइ राख्छन् ।

‘बाँदरको समस्या नेपालमा एकदमै पेचिलो भएर गएको छ यसमा यही नै उपाय हो भन्ने छैन यसमा एउटा बाँदरको समस्याको बारेमा अलिभरपर्दो अनुमान गर्न योग्य हिसाबले यसको अध्ययन अनुसन्धान हुनपर्यो । कहीँ घटना घट्यो अनि त्यसपछि यसको सोलुसन निकाल्ने होइन । सम्रगमा यसको अध्ययन गरेर कन्क्लुसन हुनपर्यो,’ महेश्वरले भने ।

पहाडमा बाँदर र तराईमा हात्ती मानवबिचको द्धन्द्ध सिर्जना बढ्दो छ । तीनै तहका सरकारले विभिन्न कार्यक्रम योजना ल्याएपनि यो समस्याबाट कृषक र स्थानिय आजित छन् । हात्तीबाट तराई क्षेत्रमा स्थानिय उस्तै आजित छन् । प्राकृतिक हिसाबले हात्ती र मानिसबीचको द्धन्द्ध समाधान गर्न सकिने उनको भनाइ थियो । तर, हात्ती ठुलो स्तनधारी प्राणी भएकाले उसलाई खान, बस्ने स्थान फराकिलो आवश्यक परेको विषयमा ध्यान दिनुपर्ने बताउँछन् उनी ।
बढ्दोे मानव र वन्यजन्तुबिचको द्धन्द्धमा मानिसको बढ्दो जनसंख्या एक कारण रहेको विचार उनी राख्छन् ।

‘कां निर ब्यालेन्स बिग्रेको छ भने । मान्छेको जनसंख्या बढ्दै जादा हाम्रो बस्तीहरु विस्तार भए । बाटोघाटो धेरै बनायौ वनक्षेत्रको प्रयोग गर्यौ । त्यो गर्दा हात्ती बस्ने ठाउँमा मान्छे बस्न थाल्यौँ । हात्तीलाई खाने बस्ने पिउने अभाव भयौँ । र, मान्छे र हात्तीको बिचमा द्धन्द्ध सिर्जना हुँदेै गयो,’उनले भने ।

सत्रमा वन्यजन्तु र मानिसबिचको सम्बन्ध र यो बाट सिर्जित समस्याको विषयमा बहस भएको थियो । सत्रमा वक्ताको रुपमा महेश्वर, राजेन्द्र सुवाल र सहजकर्ताको रुपमा ददि सापकोटा थिए ।

विद्यार्थीको क्षमता विकासमा योग
– राजु अधिकारी

पोखरा । विद्यार्थी वर्गको क्षमता विकासमा योगले के काम गर्छ ? हाम्रो प्राय सबैको हातमा मोबाइल, ल्यापटप, कम्प्युटर हुन्छ । मोबाइल र ल्यापटपले काम गर्दा एकैसाथ ४ वटा कुरा प्रोसेस हुन्छ ।

हार्डवेयर, सफ्टवेयर, इलेक्टिसिटी र इन्टरनेट । हाम्रो शरीर हार्डवेयर, दिमाग के हो सफ्टवेयर । सास के हो इलेक्टिसिटी, क्याकअफ । इन्टरनेट के हो साथीत्व, विद्यालय, साथीभाइ, परिवार, समाज, आफन्त, देश भूगोल, परिस्थिति, वातावरण । जसले योग गर्न सुरु गर्छ । उसको चार वटामा भएका एन्टिभाइरसहरु निस्कन्छ सुरुमा त ।

अहिले हाम्रो समाजमा स्वस्थ एक जना छौँ । रोग लागेका धेरै छौँ । हाम्रो हार्डवेयरमै कमजोरी छ । भाइरसहरू छन् । या आक्रमणहरू छन् । हामी कमजोर भएका छौँ । योग भनेको फस्टमा के हो व्यायाम । दोस्रोमा हो दिमागको व्यायाम । तेस्रो शरीरको व्यायाम । अनि त्यसपछि सफ्टवेयरलाई राम्रो बनाउँछ । भाइरस निकाल्छ । त्यसपछि प्राणायाम गर्छौँ । श्वास लिने छोड्ने गर्छौँ । यसले के गर्छ । हाम्रो शरीरमा, मनमा, चेतनामा लोडसेडिङ हुन दिँदैन । व्यकअफ हुन्छ । ब्याट्री चार्ज भइरहन्छ । अन्तिममा योग गर्छ । राम्रोसँग काम गर्ने, जिउने, सोच्ने । जसले योग गर्छौँ । उहाँको जीवनमा सकारात्मक ऊर्जा आउँछ । अनि स्वस्थ हुन थाल्छौँ ।

पहिला हामीले ए फर एप्पल, बी फर बल, सी फर क्याट पढेका थियौँ । तर, अहिले के पढ्नु पर्ने बेला आएको छ । भने ए फर अल्जाइमर, बी फर ब्लड प्रेसर, सी फर क्यान्सर । किनकि हरेक घरमा छ । हरेक जसो घरमा छ । एप्पल, बल, क्याट त पढेकै हो । अब सानै देखि अल्जाइमर, ब्लड प्रेसर, क्यान्सर पड्यौँ भने हामी स्वस्थ उङ्छौँ । स्वस्थ हुँदै जान थाल्छौँ ।

एक दिनमा १४४० मिनेट हुन्छ । ४० मिनेट आफूलाई दिने । १४०० मिनेट खाना, स्कुल, साथीभाइ, सुत्ने काममा खर्चनुस् । ४० मिनेट आफ्नो लागी दिने । अब ४० मिनेट जब आफ्नो लागि दिन थाल्नुहुन्छ नि अनि हाम्रो जीवन चमकदार हुन थाल्छ । त के का लागि दिने योग, व्यायाम, साधनामा । योग भने हाम्रो पुराना ऋषि मुनिहरूले आविष्कार गरेको शब्द हो । योगको तिन वटा अर्थ हुन्छ । पहिलो अर्थ हो जोड्नु । योगले हामी सबैलाई जोड्ने काम गर्छ । दोस्रो अर्थ भनेको अनुशासनमा बस्नु । खान मन लागिराखेको छ । तर, जंगफुट खान मन लागिराखेको छ ।

भित्र मनले भन्छ खबरदार अस्वस्थ कर छ । यसले बोर्नब्रेनलाई हानी गर्छ । जिब्रोले भन्छ होइन खाइदिने हो आज त हो नि । भित्रै लडाई चल्छ । जो योगको विद्यार्थी छ । उसको मनले आफूलाई कन्ट्रोल गर्छ । आफूले आफूमाथि सिसी क्यामरा राखिदिन्छ । आफूलाई हेरिराख्छ । हामीलाई हानी गर्ने कुरा, असर गर्ने कुरा, काम नलाग्ने कुरा, रोग जन्माउने कुरा म गर्दिन । कसले गर्दिन भन्यो भित्रको चेतनाले । तेस्रो अर्थ चाहिँ युज समाधि । सबैको बुद्धि सामान्य बुद्धि, पढ्ने बुद्धि, पास हुने बुद्धि । हामी जाने भनेको सुबुद्धितिर हो । वृद्धि माथि उग्लियो भने सुबुद्धि हुन्छ । त्यो भन्दामाथि गयो भने विवेकशीलता हुन्छ । विवेकशीलता पनि अझै माथि पुग्यो भने प्रज्ञावान् । योगले हामीलाई संवृद्धितिर लैजान्छ । कुबुद्धितिर जान दिँदैन ।

जो योग गर्छ उसले कडापन घटाउँछ । मनलाई टे«निङ गर्छ, मनलाई प्रशिक्षित गराउँछ । थोरै रिसाउनुपर्छ भन्ने जानकारी दिन्छ । चेतना दिन्छ । अनि बिस्तारै हामी नरम बनाउँछ । जो नरम छ । उ झुकेर नमस्कार गर्छ, प्रणाम गर्छ । जो नरम छैन । उ हाई गर्छ । हाईको अर्थ ओए बाउ, ओए आमा हो । हाई भनेको ओए । नमस्कार भनेको न भनेको दिमाग, म भनेको रिदम, स्कार भनेको पेट । मेरो प्राण शक्ति नाइटोबाट आउँछ श्वास । हजुरभित्रको चेतना, आत्मा, मनुष्यतालाई विनम्रता, कृतज्ञता, अभिवादन पूर्वक नमस्कार गर्छु भनेको अर्थ हो ।

रोगीहरूलाई, भोगीहरूलाई योगी बनाउँछ योगले । योगले क्रेटिभिटीसँग जोड्छ, स्वास्थ्यसँग जोड्छ, मेमोरीसँग जोड्छ । तर, ४० मिनेट हरेक दिन बिहान दिनु¥यो आफूलाई । निकाल्दौं कहाँबाट निकाल्ने ४० मिनेट । हजुर जति बजे उठ्नुहुन्छ । त्योभन्दा २० मिनेट अघि उठ्नुहोस् । मोबाइल र टिभी जति समय हेर्नुहुन्छ त्योबाट २० मिनेट घटाइदिनुस् । अर्को २० मिनेट निस्कियो । हामी ठुला मान्छेहरू पनि अरू २० मिनेट निकालौँ । अर्काको कुरा काट्ने समयबाट २० मिनेट निकालौँ । यो ३ वटा नगर्ने त कोही छैन ।

ध्यान दिनुहोला । योगले जोड्छ । नकारात्मक कुरा हटाएर सकारात्मक कुरातर्फ स्वास्थ्यमा जोड्ने काम गर्छ । शरीरलाई स्वास्थ्यसँग जोड्छ । मनलाई एकाग्रतासँग जोड्छ । हजुरले मनलाई जे काममा, जे विषयमा लगाउनुभयो । त्यहाँ एकाग्रता हुने । त्यसैमा लागिरहने, नहट्ने काम एकाग्रता हो । जसले योग गर्छ । उसको एकाग्रता बढ्छ । जसलाई दिमागले सल्लाह दिन्छ । उसको नाम तनावविका हुन्छ । जसलाई मन र रिदमले सल्लाह दिन्छ उसको नाम प्रशंनीका हुन्छ । सल्लाह दिने को भित्र मन ।

तनावलाई खुसीमा बदल्ने विधि के हो योग । मनलाई टे«निङ, प्रशिक्षण गर्ने, आफ्नो ठाउँमा ल्याएर खुसी, पोजेटिभ, क्रेटिभ भनेर आदेश दिने कुरा चाहिँ योग हो । जसले योग गर्छ । मौन बस्छ, ध्यान गर्छ, मेडिटेसन गर्छ, स्वथ्य खाना खान्छ, यसले हामी मनलाई एकाग्रतासँग जोड्ने भयो । इमोशनलाई खुसीसँग जोड्ने भयो । आज त मैले मिठो खाने भन्ने कुरा मनलाई नोटिस ग¥यो । यति खानुभयो भने अन्दाज गर्ने काम बुद्धिले ग¥यो । तर, त्यो खान खाएपछि सन्तुष्टि भयो । त्यो चाहिँ आत्म हो । सबैभन्दा भित्र छ आत्म । जो चाहिँ पावर हाउस हो । अहिले चाहिँ इलेक्टिसिटी बलिराखेको छ । हामीलाई साउन्ड, लाइट बनेर काम गरिराखेको छ । हामीभित्रको आत्म, मन, श्वास, शब्द, सम्बन्ध बनेर जसले यो काम गरिराखेको छ । जसले योग गर्छ । उ चाहिँ आत्मसँग जोडिँदै जान्छ ।

(पोखरामा जारी ११ औँ नेपाल लिटरेचर फेस्टिभलमा आहारविद् एवं जीवनशैली तथा योग प्रशिक्षक डाक्टर राजु अधिकारीले ‘विद्यार्थीको क्षमता विकासमा योग’ विषयक सेसनमा राखेको विचारको सम्पादित अंश)

हामी किन दुःखी छौं ?
– योगी विकासानन्द

खुसी मान्छेको मात्र होइन प्रााण्ीको पनि खोज हो । खुसी हुने तरिका फरकफरक हुन्छन् । जिन्दगीभर हामी जे कर्म गर्छौं त्यो खुसी नै खोजिरहेका हुन्छौं । कहाँनेर हामी चुक्यौं भने त्यो खुसी के हो ? यो कुराको बोक्रे पहिचान त भयो तर गुदी पहिचान हुन सकेन ।

खुसीबारे यसको वैज्ञानिक कारण उप्काउन चाहेँ । हाम्रो मस्तिष्कबाट दुई चिज उत्पादन हुन्छ । एउटा जैविक इलेक्ट्रीसिटी हो । त्यसलाई अल्फा, बिटा, थिएटा, डेल्टा र गामा लेभलमा विभाजन गरेको छ । यो हाम्रो मस्तिष्कले बिजुली उत्पादन गरिरहेका ब्यान्ड हुन् । कोही मान्छेले ओलम्पिकमा या कुनै साहित्यकारले कुनै गज्जबको कुरा आविष्कार गर्छन्, कलाकारले कला प्रस्तुत गर्छन् भने उनले त्यो अघिपछि प्रस्तुत गर्न नसकिरहेको र कुनै एउटा विशेष अवस्थामा आउँछ भने त्यसलाई गामा भनिन्छ । योबेला दायाँबाया सबै बिर्सिइन्छ, जे गर्न खोजेको त्यहीमात्र सोचिन्छ अरु केही सोचिँदैन । धार्मिक दृष्टिमा हेर्दा यसलाई ‘अर्जुनदृष्टि’ भनेर पदावली प्रयोग गर्दै आएका छौं । अर्जुनले अरु साथीजस्तो नानाभाती कुरा गरेनन्, उनले भने – गुरुवर मैले चराको आँखाबाहेक केही देख्दिनँ ।

हो, जसले आफ्नो लक्ष्यबाहेक केही देख्दैन उसले आफ्नो आधा काम पहिल्यै सक्काइसक्यो । अब आधा काम प्रयोग गरेपछि थाहा हुन्छ । अर्जुनदृष्टिको कुरा सयपल्ट होइन हजारपटक गर्छौं तर हाम्रो अर्जुनदृष्टि किन हुँदैनभन्दा अर्जुनदृष्टि हुन मस्तिष्क बिटाबाट अल्फामा, अल्फाबाट ठेटामा, ठेटाबाट डेल्टामा र डेल्टाबाट पनि पर गामाको लेभलमा इलेक्ट्रिसिटी उत्पादन हुन्छ । त्यो भए हामी सबैसँग अर्जुनदृष्टि हुन्छ । वैज्ञानिकमा भए उसले आविष्कार गर्छ, खेलाडीमा भए खेलमा गोल्डमेडल जित्छ, साहित्यकार भए अब्बल दर्जाको साहित्य, कालजयी कृति जन्मिने गर्दछ ।

सफल हुनु भनेको दिमाग गामा लेभलमा चल्नु हो । खुसी हुनु भनेको के त ? खुसी हुनु भनेको हाम्रो मस्तिष्क अल्फा लेभलमा आउँछ । अल्फा भनेको इलेक्ट्रिसिटी कम उत्पादन हुनु हो । कम हुनु भनेको हामीले शान्तिको अनुभूति गर्छौं, आनन्द महसुस गर्छौं । सेरोटोनिन रसायन ब्लक हुनासाथ तपाईं हामी खुसी हुन सक्दैनौं । यसको खुसी भनेको न धन, न प्रतिष्ठा, न प्रतिष्ठामा कतै हुँदैन भन्ने धार्मिक हिसाबले पहिल्यै आएको थियो । अहिले वैज्ञानिकले पनि खुसी र दुःख दुवै केमिकलले हो भन्ने वैज्ञानिक रुपले प्रमाण्ीत छ । तनाव छ, दुःख छ भन्ने कुरा आर्थिक, सामाजिक कारणले आएको होला तर यो पीडा स्ट्रोस हर्मोनबाट आउँछ । सफलताा, खुसी, पीडा, असफलता बाहिरको संसारमा हुँदैन । यो सबै कुरा मान्छेको दिमागमा हुन्छ । यो कुरा बुझेन भने जिन्दगीभर हामी खुसी खोज्न जानेहरू दुःख पाएर फर्कन्छौं ।

खुसी हुनु र सुखी हुनु एउटै कुरा होइन । खुसी हुन मःम खाए हुन्छ, एकछिन नाच्दा र हाँस्दा हुन्छ । सुखी हुनु भनेको जीवनप्रति सन्तुष्ट र आनन्दित हुनु हो । यो दुवै कुरामा पनि बायोकेमिकल चाहिन्छ । त्यो कुरा पनि हाम्रै दिमागमा छ । हामी भाग्न खोजिरहेको दुःख पनि हाम्रै शरीरभित्र केमिकलको रूपमा छ । त्यसकारण हामीले सुख जीवन बाँच्ने हो भने मनोविज्ञानलाई बुझ्नपर्छ । जबसम्म हामीले कारण बुझ्दैनौं तबसम्म निवारण गर्न सक्दैनौं । म दुःखी हुनुको कारण मेरा बाबा रिसाएको, श्रीमतीले गड्बड गरेकाले, श्रीमान्ले बेविचार गरेकाले भन्न सकिन्छ । तर त्यसो होइन । बिहान पूर्वबाट सूर्य उदाएको र साँझ डुबेको देख्छौं । न सूर्यको उदय हुन्छ न डुब्छ । आखिर घुम्ने त पृथ्वी हो । अनि घुम्ने पृथ्वी नदेख्ने, नघुम्ने सूर्य घुमेको देख्छौं । बाहिरबाट हामीले धेरै धोखा खाइरहेका हुन्छौं ।

कहिलेकाहीँ म साथीहरूलाई सोध्छु – तपाईहरूले बोटमा केरा देख्नुभएको छ ? सबैले हात उठाएर देखेका छौं भन्नुहुन्छ । कसैले बोटमा केरा देख्दैन । सबैले देख्ने केराको बोक्रा हो । सुन्तला कसैले देख्दैन, बोक्रा देख्छन् । त्यसकारण मान्छेले सत्य देख्दैनन्, सत्यको बोक्रा देख्छन् । त्यो बोक्रालाई सत्य भन्ठान्छ जसको कारणले ऊ सत्यसम्म कहिल्यै पुग्दैन । सुःखको गुदी, मनोविज्ञान के हो त ? संसारमा सबैभन्दा सजिलोचिज खुसी हुनु हो । किनभने खुसी हुन हाँस्दा, नाच्दा पुग्छ । हामीलाई किन गाह्रो प¥यो ? किनभने हामी धेरै विचार गर्छौं । खुसी हुन एकाग्र हुनपर्छ । म बोलिरहँदा म त्यहाँ केन्द्रीत भइनँ भने मैले बोल्नै सक्दिनँ । स्रोताले सुन्न ध्यान दिएन भने स्रोता खुसी हुँदैन ।

खुसी भनेको केमिकल भएकाले पैसा चाहिँदैन । खुसी हुन हामी पैसा कमाउन खोज्छौं । खुसी हुन जुन चिज गरिरहेको छ त्यसमा एकाग्र्र हुनु नै काफी छ । सन् १९७० को दशकमा अमेरिकामा रिकार्ड निक्सनको पालोमा ड्रग्स प्रतिबन्ध लगाउने घोषणा भयो । त्योबेला अफिमबाट बन्ने किसिमकिसिमका ड्रग्स प्रयोग गरिरहेका थिए । तर, वैज्ञानिकहरुको खोजी ड्रग्समा किन लागे भनेर रह्यो । त्यो सेवनपछि डोपमिन भन्ने केमिकल निस्किन्छ । डोपमिन सक्रिय भए खुसी भइन्छ, सक्रिय नभए खुसी भइँदैन । ड्रग्सले खुसी दिने हो कि केमिकलले दिने हो ? बोक्रामा खुसीको कारण ड्रग्स हो तर वास्तविक कारण दिमागभित्रको त्यो केमिकल हो । यो बुझेपछि वैज्ञानिकले सारा युवा बटुले । उनीहरूलाई बिहान कतै नहेरी दौडने भनेर अह्राए । केही समयपछि भाग्दाभाग्दा नलडेसम्मको विन्दुमा दौडन लगाए । जसले ड्रग्स लिन्थे प्रायले छोड्थे किनकि दौडँदादौडँदा डोपमिन सक्रिय हुन्छ । त्यसलाई अचेल ‘रनर्स हाई’ भनिन्छ । भाग्दा पनि निस्कने केमिकल त्यही हो ।

ड्रग्समा मान्छे किन लाग्छ ? उसले भाग्दा त्यही केमिकल उत्पादन हुन्छ जुन ड्रग्समा हुन्छ भन्ने थाहा पाउँदैन । मान्छेलाई ड्रग्समा जान आवश्यक नै छैन । आमाबाबाले छोराछोरी, शिक्षकले विद्यार्थीलाई सिकाउन सकेनन् । ड्रग्स लिनु र भाग्नु समान हो । ड्रग्स लिँदा तपाईं खुसी भएपनि परिवार दुःखी हुन्छ । त्यहीकारण कुन बाटो रोज्ने भन्ने कुरा युवा भ्रममा परे भने हामी बोक्रालाई सत्य मानेर बसेका छौं ।

मान्छेमा जति बढी नकरात्मकता आउँछ त्यति बढी काम गर्न छोड्दिन्छ । जस्तैः डिप्रेसन भएका मान्छे हिँड्दा पनि विस्तारै हिँड्छ, हात पनि विस्तारै चलाउँछ, खाँदा पनि विस्तारै खान्छ । शरीरको मोसन नै सुस्त हुन्छ । जब डिप्रेसनको उल्टो हुन्छ त्योबेला फटाफट हिँड्छ । भनाइको मतलब तपाईं कति खुसी हुनुहुन्छ भन्ने कुरा तपाईंको स्पिडले बताउँछ । जति बढी नकारात्मक विचार आउँछ त्यति काम गर्ने जाँगर घट्छ । काम गर्ने जाँगर नचलेपछि तपाईं असफल हुनुहुन्छ ।

देश विकास हुन युवा खुसी हुनपर्छ । किनकि जहाँ दुःख छ उसले विकास गर्न चाहँदैन । अचेलका युवामा जोसजाँगर छैन भन्ने कुरा बोक्रामात्र हो । गुदी कुरा के हो भने अचेलका युवालाई हामीले खुसी बनाउन सकेनौं । हाम्रा कलेजले उनीहरूलाई खुसी हुन दिएन, प्रेसरमात्र दियो । घरले पनि सुत्नुपर्ने बच्चालाई बिहानै उठाएर स्कुल पठाउँछ । यी सबैबाट आमाबाबा, परिवार, प्रशासनबाट तनाव दिने काम भयो । देशलाई विकास गर्न खुसी पनि चाहिन्छ ।

पोखरा आएर जति पोखरा खोजिन्छ हामी खोज्दाखोज्दै बाहिर जान्छौं । खुसी पनि त्यही हो । खुसी खोपडीमा छ । त्यसलाई खोज्ने होइन । जे गर्दा दुःखी भइन्छ त्यो नगरौं । के काम गर्दा दुःखी हुन्छौं ? दुःख रातजस्तो हुन्छ । वैज्ञानिकहरूले अँध्यारो छैन भन्छन् । त्यो प्रकाशको अभावमात्र हो भन्छन् । दुःख भन्ने चिज हुँदैन, त्यो खुसीको अभावमात्र हो ।

(पोखरामा जारी ११ औं संस्करणको नेपाल लिटरेचर फेस्टिभलमा ‘युवा र खुसी’ सत्रमा योगी विकासानन्दले दिएको प्रवर्चनको अंश)

थप सेशनहरू

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds