११ औं नेपाल लिटरेचर फेस्टिभलः चौँथो दिन शब्द, चित्र, दृश्यमा ११ सेशन

साहित्य कुम्भ मेलाः

११ औं नेपाल लिटरेचर फेस्टिभलः चौँथो दिन शब्द, चित्र, दृश्यमा ११ सेशन

संघीयता कार्यान्वयनदेखि आर्थिक समृद्धिको चिन्ता, विद्यार्थी पठनपाठनका कुरादेखि मधेश मन्थनसम्म

lit fest 4th day

‘संघीयता कार्यान्वयनमा समस्या कर्मचारी होइनन्, मानसिकता हो’

पोखरा । संघीयता कार्यान्वयनको दोस्रो कार्यकालमा आइसक्दा पनि अझै अधिकार बाँडफाँडकै विषयमा विवाद छ । संघीयता कार्यान्वयनमा तीनै तहको सरकारले एकलेअर्कालाई औंलो देखाउन छाडेका छैनन् ।

‘संघीयता राजनीतिक एजेन्डा भए पनि अहिले कर्मचारीतन्त्रको मानसिकता नबद्लिएको, उनीहरुकै हातमा तालाचाबी’ रहेको भन्दै जनप्रतिनिधिहरु कर्मचारीतिर पनि दोष देखाउन छाडेका छैनन् । उनीहरुको मान्यता छ, ‘संघीयताको मर्म बुझेका कर्मचारी नहुँदा काम हुन सकेन ।’

तर, धनगढीका मेयर गोपाल हमाल संघीयता कार्यान्वयनमा कर्मचारीतन्त्रलाई तड्कारोको रुपमा लिँदैनन् । बरु, राजनीतिक दल र उनीहरुले बोकेर हिँडेको मानसिकतालाई मुख्य चुनौती रहेको बताउँछन् ।

‘कर्मचारी त त्यति ठूलो चुनौती होइन । तर, स्रोतको विषयमा स्वार्थ समूह छ, त्यो महत्वपूर्ण छ’, पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलमा भएको ‘संघीयताको सेरोफेरो’ विषयक सत्रमा हमालले भने, ‘दलहरुको दल बलियो बनाउनुपर्छ भन्ने मान्यता पनि हो ।’
गएको निर्वाचनमा स्वतन्त्र उम्मेदवारीसँगै जित हासिल गरेका हमाल राजनीतिक दलका नेताहरुले आफ्नो पार्टीलाई बलियो बनाउन खोज्दा नै भ्रष्टाचारको दलदलमा फस्दै जाने आरोप लगाए ।

‘दलहरुमा दल बलियो भयो भनेमात्रै चुनाव जितिन्छ भन्ने उनीहरुको दिमागमा पारिएको छ । दल बलियो बनाउने भनेको कार्यकर्ता पाल्ने हो । उनीहरुसम्म पैसा कसरी पु¥याउने भन्ने हो’, हमालले भने, ‘कार्यकर्ताको व्यवस्थापन नै भ्रष्टाचारको मुख्य जड हो । जो पनि मेयर बन्नुहुन्छ, कार्यकर्ताको व्यवस्थापन गर्दागर्दै दाग लाग्छ ।’

हमालको भनाइमा कास्कीका रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा पनि सहमत देखिए । उनले पनि असल मनसायमा कर्मचारी समस्या नभएको आफूले २ पटकको कार्यकालमा कर्मचारीलाई समस्याका रुपमा नलिएको बताए ।

गाउँपालिका अध्यक्ष ओझाले जनतालाई संघीयता प्रति सकारात्मक बनाउने प्रमुख दायित्व नै जनप्रतिनिधिको रहेको बताए । ‘संघीयतालाई मर्मअनुसार कार्यान्वयन गर्ने जिम्मा पनि जनप्रतिनिधि नै हो । कर्मचारीहरुलाई आफूसँगसँगै लैजाने जिम्मेवारी पनि जनप्रतिनिधिकै हो’, उनले भने ।

हमालले व्यवस्थाभन्दा पनि नेतृत्व तहको इमान्दारिताले धेरै अर्थ राख्ने विचार राखे । उनले हालका मुख्य राजनीतिक दलका नेतृत्व जनताप्रति इमान्दार नै नरहेको जिकिर गरे । ‘व्यवस्था ठूलो होइन रहेछ, सबैभन्दा ठूलो त नेतृत्व कोप्रति इमान्दार छ भन्ने रैछ’, उनले भने, ‘अहिलेका मुख्य दलका मुख्य नेताहरु जनताप्रति इमान्दार छन् त ? भाषणमा त छन्, तर, व्यवहारमा छैनन् ।’

मेयर हमालले अहिले साझा स्वार्थमा भन्दा पनि व्यक्तिगत स्वार्थ हाबी हुन जाँदा जनतामा निराशा बढेको बताए । ‘अहिले हामी वृहत स्वार्थभन्दा पनि सानो स्वार्थ भयो । सानो स्वार्थले गर्दा डेलिभरी भएन । जनताको पक्षमा काम नभएपछि जनता असन्तुष्ट हुनु स्वभाविक हो’, उनले भने ।

गाउँपालिका अध्यक्षसमेत रहेका रुपा गाउँपालिका अध्यक्ष ओझाले प्रदेश सरकारसँग आफूहरुको धेरै अपेक्षा भए पनि समन्वय नभएको बताए । उनले ५ करोडभन्दामूनिका योजना नपठाउन आग्रह गर्दा पनि सुनुवाइ नभएको बताए । उनले भने, ‘तर, उहाँहरु ५० हजारका योजना पनि पठाउनुहुन्छ । ती योजना अहिले पनि छन् ।’

बेनी नगरपालिका उपप्रमुख ज्योति लामिछाने पनि प्रदेश तथा संघीय सरकारले स्थानीय सरकारसँग समन्वय नगर्दा कतै योजनामा तेहोरोसम्म हुने त कतै कुनै योजना नै नपर्ने गरेको अनुभव सुनाउँछिन् ।

गण्डकी प्रदेशका सांसद डिल्लीराम सुवेदीले संघीयतालाई उचित ढंगले लागू गर्न संविधानमै त्रुटि रहेको दाबी गरे । उनले संविधानको अनुसूचीमा कार्यान्वयनसम्बन्धी प्रष्ट नलेख्दा प्रदेश सरकार कमजोर बन्न पुगेको बताए ।

सांसद सुवेदीले अहिले पनि केन्द्रीकृत मानसिकताले गर्दा केन्द्रले सबै खर्च आफैं गर्ने प्रदेशले गालीमात्रै खाने दाबी गरे । ‘गत आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने पनि कूल १९ खर्ब वित्तीय खर्च गरेका रहेछौं । त्यसमा साढे १२ खर्ब केन्द्र सरकारले आफैं गरेको छ’, उनले भने, ‘स्थानीय सरकारले २४ प्रतिशत गरेको छ । अनि गालीचाहिँ प्रदेशले मात्रै खान्छ ।’

अब हालको ढंगबाट नभई नयाँ तरिकाले संविधानको मर्मअनुसार संघीयता लागू गर्न निर्मम तरिकाले उत्रिनुपर्ने ठाउँमा आइसकेको सांसद सुवेदीले बताए । ‘जे जति जति सोचिएको थियो । त्यो गर्न सकिएन । मूल नेतृत्वको मानस्पटलमै घुसेन । यो तादम्यता नमिल्दा थुप्रै चिजलाई असर गरिरहेको छ ।’

आर्थिक समृद्धिको बाटो

खराब अवस्थासँग जुध्दै आइरहेको नेपालको अर्थतन्त्र यतिबेला इतिहासकै सबैभन्दा अप्ठ्यारो समयमा छ । देशको शाशन व्यवस्था, कुटनीतिक सम्बन्ध, प्राकृतिक प्रकोप आदिका कारण विभिन्न समयमा प्रहार भइरहेको नेपालको अर्थतन्त्र सधैँ तंग्रिने प्रयासमा मात्रै रहेको देखिन्छ ।

अहिलेको अवस्थाबाट नेपाललाई आर्थिक समृद्धितर्फ कसरी लैजान सकिन्छ भन्ने विषयमा आइतबार पोखरामा छलफल भएको छ । सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको चौथो दिन व्यवसायी निर्वाण चौधरी र अर्थशास्त्री समीर खतिवडासँग छलफल भएको हो, जसको सहजीकरण अर्का व्यवसायी निरञ्जन श्रेष्ठले गरेका थिए ।

अर्थशास्त्री खतिवडाका अनुसार नेपालको अर्थतन्त्रमा दिर्घकालिन रुपमा दुई मुख्य ठूला समस्या रहेका छन् । जसमा आर्थिक वृद्धिदर कजोर हुनु र रोजगारी सिर्जना गर्न नसक्नु हुन् । त्यस्तै निजि क्षेत्र र सरोकारवाला निकायबिच समन्वय नहुनु, सहि ठाउँमा लगानी हुन नसक्नु, अस्वस्थ कर्मचारीतन्त्र आदि अहिलेका समस्या रहेको उनले बताए ।

हाल विद्यमान समस्याका बारेमा बोल्दै चौधरीले नेपालको परम्परागत कृषि पद्धती तथा पर्यटन व्यवसायमा परिवर्तन ल्याउनु पहिलो आवश्यकता रहेको जनाए । देश समृद्धि तर्फ उन्मुख हुने सम्भावना अझ रहेको बताउँदै उनले भने, ‘भारतमा पनि १५/२० वर्ष अगाडि ब्रेन ड्रेनको समस्या थियो । बिस्तारै सहि दिशामा जाँदैछ । भुटान, बंगलादेश, श्रीलंका पनि नेपालका लागि उदाहरण बनिसकेका छन् ।’

‘भारतमा स्पेशल इकोनोमिक जोनमा ठाउँ, कर, तथा नीतिगत रुपमा विभिन्न सुविधा दिइएको हुन्छ । त्यसो गर्दा स्थानियले रोजगार पाउँछन् । यो त्यहाँ पछिल्लो १५ वर्षमा देखिएको परिवर्तन हो ।’ उनले भने, ‘अहिले अस्तित्वमा रहेका प्रविधिको प्रयोग गर्न नसक्दा कृषीमा आधारित अर्थतन्त्र भएर पनि हामीले चामल मगाउनुपर्ने अवस्था छ ।’ रातो चामल, कालो चामल जस्ता नेपालका विभिन्न ठाउँमा उत्पादन हुने मौलिक अन्नलाई विश्व बजारमा लैजान नसक्दा त्यसको फाइदा उठाउन नसकिएको उनले बताए ।

त्यस्तै नीतिगत अस्थिरता नेपालको अर्को कमजोरी रहेको खतिवडाले बताए । निजी क्षेत्र असफल हुँदा देशको अर्थतन्त्रमा पनि धक्का लाग्ने जिकिर गर्दै उनले भने, ‘हाम्रोमा जस्तो करको दायरामा चलखेल अरु देशमा देखिँदैन । नीतिगत भ्रष्टाचारले गर्दा निजी क्षेत्र मारमा परेका छन् ।’ साथै नीतिगत रुपमा सहयोग नहुँदा निजी क्षेत्रबाट सरकारले पनि पाउने आर्थिक लय गुमाउने उनले संकेत गरे ।

नीति बनाउनमा निजी क्षेत्रको प्रत्यक्ष हात नभए पनि निजी क्षेत्रले गर्न सक्ने ठाउँ धेरै रहेको चौधरीले बताए । पछिल्लो पाँच वर्षमा खुलेका १५ चाउचाउ कम्पनी मध्ये १० कम्पनी बन्द भएको बताउँदै त्यसमा ति कम्पनीको बजार व्यवस्थापन तथा आन्तरिक रणनीति नै मुल कारक रहेको उनले जनाए । निजी क्षेत्रमै पनि पुरानोलाई बचाउन गाह्रो भइरहेका बेला नयाँमा कसरी लगानी गर्ने भन्ने मानसिकता रहेको उनको भनाइ थियो । साथै नीतिगत रुपमा स्थिरता आएपछि मात्रै आर्थिक समृद्धि हाँसिल हुनेमा उनले जोड दिए ।

आर्थिक वृद्धिको चाहना गरेर जादुको अपेक्षा गर्ने र सिस्टम मै हेराफेरी गर्नु नेपालको अर्को ठूलो समस्या रहेको अर्थशास्त्री खतिवडाले बताए । ‘विहार र युपीमा पनि औद्योगीकरण नभएसम्म वृद्धि हाँसिल गर्न सकिँदैन भन्ने बुझेर लगानी गरेका छन् ।’ भारतका राज्यको उदाहरण दिँदै उनले भने, ‘त्यहाँ गारमेन्टमा काम गर्ने त्यसमा सिप भएका जनशक्ति धेरै छन् । जसलाई मध्यनजर गर्दै त्यहाँको सरोकारवाला निकायले जनतालाई घर मै बसेर काम गर्ने वातावरण बनाइदियो ।’ साथै दक्ष जनशक्ति उत्पादनका लागि राज्यबाट लगानी हुनुपर्ने र त्यसले विदेशी कम्पनीलाई आकर्षित गर्न सक्ने उनले बताए ।

उनका अनुसार नेपालले अहिलेको अवस्थामा बंगलादेशको जस्तो अर्थतन्त्र बनाउनका लागि अझै दश वर्षसम्म ७ प्रतिशतका दरले र श्रीलंका जस्तो बन्नको लागि सोही दर २५ वर्षसम्म निरन्तर आर्थिक वृद्धि गर्नुपर्ने अवस्था छ । नीति बनाउने काम गर्दा उक्त तथ्य सम्झिनुपर्ने र छिमेकी राष्ट्रहरुको सफलताका कथाबाट सिक्नुपर्नेमा जोड दिँदै उनले भने, ‘बंगलादेशमा १५ वर्ष अगाडी मात्रै पनि गार्मेन्ट क्षेत्र एकदमै कम थियो । जुन क्षेत्र अहिले बंगलादेश इकोनोमीको एंकरको रुपमा रहेको छ ।’ निजी क्षेत्र प्रतिको धारणा फेर्न र निर्यात कसरी बढाउने भन्नेमा गम्भिर भएर सोच्नुपर्ने उनले बताए ।

त्यस्तै चौधरीले नेपालको आर्थतन्त्र सबल बनाउनका लागि देशको भौगोलिक अवस्थिति तथा अन्तरराष्ट्रिय सम्बन्ध तथा यहाँका प्राकृतिक स्रोतको सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

मधेश मन्थनः ‘मिडियाले मिस्टिरियस बनायो, राज्यले देशद्रोही’– सिके राउत

छवि भन्ने कुराले धेरै अर्थ राख्छ । नेपालमा बस्दासम्म आफ्नो प्रोफेसनभन्दा बाहिर अरुले चिन्ने कुरा पनि भएन । अमेरिकाबाट फर्किएर राजनीतिमा होमिइसकेपछि पनि प्रत्यक्ष जनताले भेट्ने, हेर्ने मौका पाएका थिएनन् । त्योबेला मेरो एउटा छवि बनाइयो, एक हिसाबले मिडियाले नै त्यो बनाइदिएको हो ।

भन्छन् नि ‘मिस्टिरियस’ छवि !

मान्छेलाई जब केही निषेधित हुन्छ, त्यसप्रति झन आकर्षण बढ्छ । घरबाटै सरकारले निस्किन नदिएपछि अरुले त ‘यो कस्तो खतरनाक मान्छे हो’ भनेर सोचिहाल्छन् । लोकतन्त्र आइसक्दा पनि किन बाहिर जान नदिएको होला ? भनेर लागिहाल्छ ।

त्यसमाथि ‘मिसाइल इन्जिनियर’को छवि बनाइदिँदा नेपालमा क्षेप्यास्त्र नै हान्न आएको हो कि ? भन्ने अरुलाई लाग्थ्यो ।

पटकपटक पक्राउ पर्थें । २ दजर्नचोटि त पहिले नै थियो । अस्ति भर्खर सांसद भइसकेपछि पनि धोती लगाउँदा पक्राउ परें । कतै बोल्न जाँदा पनि हातमा माइक समात्नेत्तिकै पक्राउ परिहाल्थें । यसले मान्छेहरुलाई स्वभाविक रुपमा जिज्ञासा लाग्ने भयो, ‘सिकेले के बोल्दो रैछ ? मुखबाट आगो निकाल्छ क्याहो ?’

त्यतिबेला मिडियाले मेरो अन्तर्वार्ता लिएको भन्दै एउटा मिडियालाई स्पष्टिकरण नै सोधियो । सायद कारवाही पनि गरियो होला !

मेरो त्यो रहस्यमयी पात्रको छवि कतै न कतै मिडिया नै बनाइदिएको हो । तर, त्यसमा मेरो कुनै दुखेसोचाहिँ छैन । क्रमिक रुपमा मिडियाले नै अहिले स्पेस दिँदै आएको छ । अरुले पनि सुन्न पाएका छन् । हामीसँग भएका जिज्ञासाहरु क्रमिक रुपमा स्पष्ट पार्दै गइराखेका छौं ।

म झन्डै २०११ मा नेपाल फर्किएँ । अमेरिकामा एउटा राम्रो वैज्ञानिकको जागिर छाडेर आउँदा त्यतिबेला स्वभाविक रुपमा प्रश्न उठ्थ्यो । ‘यो मान्छे कि नेपाल आयो ? अरु मान्छे अमेरिका जान आफ्नो किड्नी बेच्न पनि तयार हुन्छन्, पक्कै पनि केही रहस्य होला ! मिसाइल बोकेर आएको छ कि ?’ भनेर पनि प्रश्न उठ्थ्यो ।

अमेरिकाबाट किन नेपाल फर्किएको प्रश्न १३ वर्षअगाडि पनि सोधिन्थ्यो । अहिले पनि त्यही सोधिन्छ । लाग्दैछ–यो प्रश्नको आयू धेरै लामो रहेछ । जबसम्म कोही पत्रकार आफैंले त्यो प्रश्न सोध्दैनन्, अरुलाई दिएको जवाफबाट सन्तुष्ट हुनुहुन्न ।

मेरो जन्म सप्तरीको गाउँमा भयो । त्यतिबेला त्यहाँ प्राथमिक विद्यालयमात्रै थियो । अहिले पनि लगभग त्यस्तै छ । मैले त्यहीं पढें । पछि अर्को गाउँमा १० कक्षासम्मको पढाइ सकें । त्यसपछिमात्रै बस चढेर काठमाडौं गएको हुँ । पुल्चोकमा ओभसियर गरें, इन्जिनियरिङमा ब्याचलर गरें । त्यसपछिमात्रै जापान, क्याम्ब्रिज युनिभर्सिटी हुँदै जागिर गरें ।

सुरुदेखि नै गरिब पृष्ठभूमिमा हुर्किएको भएता पनि मेरो बुवा शिक्षक हुनुहुन्थ्यो । दाइहरु कलेजसम्म पढ्न भ्याउनुभएको थियो । त्यहीभएर पनि बच्चैदेखि मेरो मानसिकता इन्जिनियर बन्छु भन्ने थियो ।

त्यतिबेला हजार रुपैयाँ लिएर इन्जिनियर पढ्न आएँ । काठमाडौं आउनुभन्दा अगाडि पहाड कस्तो हुन्छ भन्ने पनि हेरेको थिइनँ । एकचोटि अलि टाढाबाट हेरेको थिएँ, त्योभन्दा अगाडि पहाड कस्तो हुन्छ भन्ने मलाई थाहा थिएन । कक्षामा नेपाली पढाइ भए पनि नेपाली खासै बोल्न आउँदैन थियो । लेख्न आए पनि बोल्न आउँदैनथियो ।

काठमाडौं आउने बस पनि कि विराटनगर कि काँकडभित्ताबाट आउँथ्यो । त्यही बसमा हामी आयौं । त्यतिबेला टिकट नदिएर मुडामा बसालिन्थ्यो । त्योबला अरुले दशथरि गाली गरेको छ, लात्ताले हानेको छ । अहो ! यो कस्तो व्यवहार रहेछ भन्ने बस चढ्नेबित्तिकै विभेदको जुन महसुस हुन्छ, त्यहाँबाट आउन थाल्यो ।

कहिले ‘सामान फाल्दिन्छु भैया’ भन्ने, कहिले के भन्ने, त्यो मलाई बडो विरक्त लाग्यो । गान्धीसँग घटेका घटनाहरु तुलना हुन्थ्यो, त्यतिबेला पनि ।
काठमाडौं आइसकेपछि नेपाली बोल्न आउँदैनथ्यो । तर, कक्षामा बसेको छु । परिचय दिन मुख खोल्नेबित्तिकै मधेशी टोन त आइहाल्छ नि ! ग्रामेटिकल्ली शुद्ध भए पनि बोल्नेबित्तिकै गल्ल हाँस्थे । त्यो ‘ह्यारेस’ भएर कक्षामा बस्नै मन नलाग्ने हुन्थ्यो । त्यसपछि बाहिर निस्केर हनुमान ढोका जान्थें, म्युजियम जान्थें । कक्षामा जान अलिकति असहज महसुस हुन्थ्यो । पहिलो वर्ष रिजल्ट पनि खासै राम्रो आएन ।

दोस्रो वर्षमा बुवाले नतिजा राम्रो आएन भनेपछि केही उत्तरदायित्व सम्झिएर गम्भीर भएर यिनीहरुले जति हेपे पनि हेपून्, इग्नोर गर्छु भनेर लागें । त्यो एउटा ट्रान्जिसन थियो । अर्को सेमेस्टर टप गरें । त्यसपछि कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । टप गर्न थालेपछि सबैले विस्तारै माया पनि गर्न थाले । पछि इन्जिजियरमा भर्ना भएर त्यसमा राम्रै भएर निस्किएँ ।

त्योबला म पनि अलि राष्ट्रवादी खालको थिएँ । गोर्खाली कविताहरु लेख्थें । प्रतियोगिताहरुमा भाग पनि लिन्थें । यतिसम्म कि पढाइको पहिलो वर्षमा एकचोटि ‘तराई–मधेश नवजागरण’ भन्ने एउटा संस्था थियो । त्यो संस्थाको सदस्य बन्नुप¥यो भनेर आउँदा किन सदस्यता लिनुप¥यो भनेर आउँदा ‘मधेशी–पहाडी केही पनि हुँदैन’ भनेर हप्काएर पठाइदिएको थिएँ ।

त्यतिबेला म विद्यार्थी थिएँ । राजनीतिमा कुनै चासो थिएन । चुनावमा भोट गर्न पनि जादिन थिएँ, खाली पढाइमामात्रै ध्यान थियो ।

पछिपछि एउटा अपवाफ फैलियो । हृत्तिक रोशनले नेपालललाई घृणा ग¥यो है भनेर कतै छापियो । त्यो फैलिँदैफैलिँदै काठमाडौंसम्म आइपुग्यो । त्यहीबेला सायद गोली लागेर पनि राजबिराजमा एकजना मारिनुभएको पनि थियो ।

त्यहीबेला काठमाडौंमा मधेशविरोध कार्य भए । काठमाडौंका मधेशीमाथि आक्रमण गर्ने, पसलमा आगो लगाउनेलगायतका त्रासपूर्ण वातावरण बन्यो । काठमाडौंमा कफ्र्युको वातावरण बन्यो । त्यतिबेला विन्टर भ्याकेसन थियो । अरु साथीहरु फर्किसकेका थिए । मभने पढन्ते भएको हुनाले काठमाडौंमै ल्याबमा पढ्न बसेको थिएँ ।

विभेदको नांगो रुप त्यतिबेलै हो देखेको ।

मलाई नै एउटा पुलमा समातेर ‘यसलाई फाल है’ भनियो । त्यो घटनामा आर्टिटेक्चरका एकवजा नेवारी साथीले गर्दा जोगिएँ । ‘यो मधेशी होइन, कालोकालो नेवारी हो’ भनेर भनिदिएपछि बाँचें ।

त्यतिबेला काठमाडौंका मजदुरसँग नेपाली हो भने नागरिकता खोई भनिन्थ्यो । नागरिकता देखायो भने खोसेर झोसिदिन्थे, त्यो मैले भोगेको छु । पहिले त सबै साथीहरुले एकदम सम्मान गर्थे । तर, त्यो घटनापछि होस्टल आउँदा पनि गाली गर्न थाले । अर्कै नजरले हेर्न थाले । त्यसपछि मेरो के अपराध भयो ? भनेर सोच्न बाध्य भएँ ।

त्यतिबेला काठमाडौंमा यस्तोसम्म वातावरण बन्यो कि मधेशीलाई भाडामा दिएकाहरु पनि बाहिरबाछ ताला लगाएर यहाँ कोही छैन भनेर भन्नुपर्ने स्थिति बन्यो । त्यसले पनि मलाई ‘यदि म यो देशको राष्ट्रियताप्रति समर्पित नागरिक हुँ भने किन आक्रमण भइरहेको छछ त ? आखिर म को हुँ ?’ भन्ने प्रश्न गर्न बाध्य बनायो ।

भारतकै कोही कलाकारले केही बोल्यो भन्दैमा म माथि किन आक्रमण भइरहेको छ ? मेरो राष्ट्रियता के हो ? मेरो पहिचान के हो ? मेरो अधिकार के हो त यो देशमा ? त्यतिबेला मैले सोच्नैपर्ने बाध्यता भयो ।

त्यतिबेलादेखि नै राजनीतिमा मेरो अलिकति चासो बढ्न थाल्यो । इतिहासहरु खोतल्न थालें । मेरो रुट, मेरो पहिचान के हो ? भनेर खोज्न थालें । त्यहीबेला जापानमा स्कलरसिप पाएर गएँ । बाहिर पनि विभेद भोग्नैपर्यो । तर, त्यहाँ म आफैं फेस गर्नुपर्छ भन्ने लागेको थिएन । म आफैं पनि अध्यात्मिक भएकाले मानवताका बारेमा सोच्नुपर्ने, सत्य खोज्नुपर्ने, किन सानो कुरामा अल्झिराख्ने भनेर आफू कहिल्यै पनि फेस गर्न खोजिनँ ।
‘नेपालमा जति हेपे पनि हेपून्, विदेश गइदिम्ला नि त !’ ढुक्क भएर बसेको थिएँ । जापान जाँदा प्लेन चढ्दै गर्दा आफैंलाई प्रमिस गरेको थिएँ, ‘नेपालमा जेजस्तो भयो । सबै कुरा यहीं बिर्सिन्छु । त्यहाँ मैले फ्रेस लाइफ स्टार्ट गर्छु ।’

तर, जापान पुग्दा पनि उस्तै विभेद पाएँ । नेपालीको कार्यक्रम भनेको छ, हामीलाई नै जान दिइएको छैन । नेपालीको रेस्टुरेन्ट जान्छु, त्यहाँ तपाईं नेपाली होइन भनिदिन्थे । नागरिकता बोकेको छु भनेर भन्नुपर्ने । सहपाठी र प्रोफेसरका अगाडि तँ नेपाली होइन भनेर भनिदिँदा साह्रै अप्ठेरो महसुस हुन्थ्यो ।

त्यतिबेला मधेश आन्दोलन पनि भयो । त्यतिबेला संघीयता भन्ने शब्द उतिसारो प्रयोगमा आइसकेको थिएन, राज्य पुनर्संरचना धेरै भनिन्थ्यो । त्यहीबेला राज्य पुनर्संरचनाले मात्रै हामीलाई पूरा अधिकार दिन सक्दैन भन्ने लागेको थियो । अधिकार, पहिचान र स्वायत्तताको कुरा गर्न सक्दैन भन्ने लाग्थ्यो । तर, त्यतिबेलासम्म पनि खुलेर आइसकेको थिएन ।

मलाई त्यतिबेलासम्म पनि म जोगी बन्ने हो भन्ने थियो । पहिले नेपाललाई जापानजस्तो बनाउनुपर्छ भन्ने सोच्थें । तर, जापान गइसकेपछि त्यहाँको लाइफस्टाइल देखेर ‘यहाँ जीवन नै छैन । ठूलाठूला भवन छन्, मान्छेमा जीवन छैन । खाना खाने फुर्सद छैन । दुनियाँको तीव्र गतिको रेल छ, तर, मान्छेहरु हातमा बर्गर लिएर दौडिराखेका छन्, मान्छेलाई बच्चा जन्माउने फुर्सद छैन’ यस्तो पनि जीवन हुन्छ ? भनेर तुरुन्तै सोचें ।

भौतिक सुखसुविधा धेरै पाउँदा पनि मान्छे खुुसी छैन । ट्रेनमा निदाएर बस्नुपरेको छ । आँखामा खुसीको चमक कतै देखिनँ । यो त हुँदै भएन भनेर बुवालाई पत्र लेखें, ‘बुवा यता राम्रो छैन ।’
०००
अमेरिका बोस्टनमा एउटा राम्रो खालको नेपाली कम्युनिटी छ । त्यहाँ म पुगेको त्यस्तै ३, ४ महिनाजत्ति भएको होला ! उहाँहरुले बोलाउनु भएको थियो । त्यसमा नेपालबाट संविधान सभाको सदस्यहरु पनि जानु भएको थियो । त्यसमा एकजना धोती लगाउने पनि जानुभएको थियो । तर, धोती लगाएकै कारण उहाँलाई कार्यक्रममा वञ्चित गरियो । धोती नेपालीको पहिचान नभएको भन्दै पस्न दिइएन ।

म त अमेरिकामा भर्खर पुगेको थिएँ । मलाई फोन आयो, हामीलाई यस्तो दुव्र्यवहार गरियो । हामीलाई स्वागत नगर्ने ? भन्नु भयो । उहाँहरुलाई म र एकजना साथी मिलेर डिनर स्वागत गर्यौं । त्यतिबेलासम्म नेतालाई मनै पराउँदिनथिएँ । उहाँहरुले मधेश पहिलेभन्दा धेरै विकसित भएको तर्क गर्नुभयो । त्यसको एक महिनापछि नेपाल फर्किएँ ।

मधेश कतिको बनेको रैछ ? भनेर मेचीमहाकाली यात्रा त्यहीबेला गरेको हुँ । कमैया, बेरोजगार, किसान, भूमिहीन सबैसँग कुरा गरें । कञ्चनपुरबाट फर्किनेबला थारुहरुको विस्थापित बस्तीमा छिरें, त्यो बस्तीमा छिर्दा त बुज्रुकहरु खुट्टा समातेर रुन थाले । उनीहरु घर,जग्गा बनाउने ठाउँ दिनुपर्यो, प्रहरी आएर कुटेको कुट्यै गरे भनेर भन्नुभयो ।

न म सरकारी कर्मचारी हुँ न म सिडिओ न प्रहरी हँ । त्यहाँ पनि यहाँ कञ्जनपुरको आदिवासी समुदायले त्यसरी खु्ट्टा समाथेर रुन थालेपछि कि समाजप्रति मेरो उत्तरदायित्व छ भन्ने बोध यो ।

अमेरिका त विकसित छ, त्यहाँको रकेट त अरुले नै बनाइदेलान् । यहाँको म आफैं गर्नुपर्छ भन्ने बोध भयो ।

गाउँमा कोही नेता आयो भने ‘तपाईंहरुलाई के चाहिन्छ ?’ भनेर सोधिन्छ मैले पनि सोधें । उनीहरुले बाटोघाटो मागेनन् । खेतमा बोरिङको व्यवस्था गरिदिनुप¥यो बाबु’ भनेर भने । ‘खेतमा बाली र पेटमा अन्न प¥यो भने घोडासम्म त के छातीसम्म हिलो भए पनि हिँड्न तयार छन्’ भनेर भने ।

उनीहरुले मागेको ठिकै थियो । त्यसपछि म बोरिङको लागि कोशिस गरें । लाहानको कार्यालयमा सम्पर्क गरें । अझ अमेरिकाबाट आएको भनेर बढाइचढाइ पनि गरें । तर, नेपालको सिस्टमले एउटा पनि बोरिङ ल्याउन सकिनँ ।

अमेरिकामा ठूलो वैज्ञानिक हुँला, सबैभन्दा पढेको हूँला । तर, एउटा बोरिङसम्म आफ्नो गाउँलेका लागि ल्याइदिने मेरो हैसियत रैनछ भन्ने गाहा भयो । त्यसपछि नै मैले यो तबसम्म बद्लिँदैन जबसम्म म राजनीतिमा आउँदिनँ भन्ने बोध भयो ।

अब म फर्केर यो समस्या समाधान गर्छु भनेर आफैंसँग वाचा गरें । त्यसको करिब १ वर्षैपछि नेपाल फर्किएको हुँ ।

नेपाल फर्केर एउटा खुलामञ्चमा भाषण गरें । तर, भाषण गर्नेबित्तिकै सबबै त्रसित भए । अमेरिकाबाट फर्कियो, हाइप्रोफाइल किन नेपाल आयो भनेर वाचलिस्टमा राखे । जहाँ जाँदा पनि जासुस लागिरह्यो । पछि विचार राख्ने त्र,mममा धरपकड हुन थालेपछि चर्चाको विषय बन्दै गयो । यहीबीचमा कसरी विभेद भइराखेको छ भन्ने लेखें ।

हामी कर्णाली सबैभन्दा पिछडिएको भन्छौं । थियो, कुनैबेला, छ । पक्कै पनि कर्णाली, सुदूरपश्चिम विकसित हुनुपर्छ । तर, आजको दिनमा महोत्तरी जिल्ला, जुम्लाभन्दा पनि पछाडि छ । २०७८ कै पनि तथ्यांक हेर्दा साक्षरता दर जुम्लाभन्दा करिब २० प्रतिशत कम छ । समग्र मधेशको झन्डै ६३ प्रतिशत छ, कर्णालीको ७६ प्रतिशत छ ।

यही कुरा बोल्दै गएपछि सरकारलाई असह्य भएको हो । धरपकड हुन थाल्यो । यतिसम्म सरकारले दियो फ्रि डा सिके राउत भन्दा पनि समातेर जन्मकैद हुनुपर्छ भन्न थालियो । फोटोकपी पेपरमा फ्रि डा सिके राउत भनेर उभिँदा पनि जन्मकैदको मुद्दा लाग्ने कस्तो खालको लोकतन्त्र हो ? भन्ने लाग्थ्यो । अदालत तारिख लिन जाँदा कसैले सिके राउत जिन्दावाद भन्दा पनि जन्मकैद ठोकिदिन्थ्यो ।

अन्तिममा यतिसम्म भयो कि राजनीतिक कुरा गर्न नदेला भनेर जनकपुरमा विवाह पञ्चमीमा पानी खुवाउन पानी राख्दा पनि पानी खुवाउने मान्छेलाई पनि समातेर मुद्दा लगाइदिए । भनेपछि तीर्थालुलाई खुवाउन नदिनेसम्मको दमन गरियो ।

हामीलाई बोल्न पनि नदिने, लेखपढ गर्न पनि नदिने, तीर्थालुलाई पानीसमेत खुवाउन नपाउने भएपछि हामीले यही तरिकाले अगाडि जान सकिँदैन भन्ने निष्कर्ष निकाल्यौं । अब मूलधारमै आएर जति गर्न सकिन्छ, गरौं भनेर संविधानभित्रै बसेर केही गरौं भनेर आएको हो ।

म जतिबेला फर्किएँ त्यतिबेला यहाँ संविधान बनिसकेको थिएन, संघीयता आइसकेको थिएन । तर, २०७५ सालसम्म आइपुग्दा संविधान आएर पनि स्थानीय तहमा अधिकार गइसकेको थियो । राजनीतिक परिवर्तन पनि केही सकारात्मक ढंगले अगाडि बढिसकेको थियो । म अमेरिकाबाट फर्किंदा र ०७५ सालको राजनीतिक अवस्था एउटै थिएन । त्यहीबेला सरकारले वार्ता टोली गठन गरेर अगाडि बढिसकेका थियौं । यो जेल जानुभन्दा अगाडिको कुरा हो ।

पछि राममनोहर घटना घट्यो । उहाँको हिरासतमा मृत्यु भयो । हामी तयसलाई हत्या भन्छौं । त्यो पनि लोकतन्त्रको कालोधब्बा हो । उहाँमाथि कुनै मन्त्रीज्युलाई कालोझन्डा देखाउनु भयो भनेर आरोप लगाइयो । पछि समातेर उहाँको मृत्यु भयो, हत्या भयो । त्यसपछि यो सविधानले जति अधिकार दिएको छ, त्यो अधिकार दिएको छैन भनेर कालो दिवस मनायौं । त्यसको प्रतिसोध राख्न छापा मारेर मलाई जेलसम्म पु¥याइदिए । जेल बस्दा वार्ता अगाडि बढ्न सकेन । पछि धेरै गृहकार्यपछिमात्रै वार्ता सफल भयो ।

पछि पार्टी गठन ग¥यौं । लगत्तै कोरोना महामारी सुरु भयो । मूलधारको राजनीतिमा हामी परिवर्तन गर्न सकिन्छ भनेरे आएका हौं । योभन्दा अगाडि संसदमा संसदमा पुगिसिकेपछि धेरै कुरा गर्न सकिन्छ भन्ने थियो ।

तर, त्यहाँ गइसकेपछि बोल्न पनि पाइँदैन भनेर थाहा पाएँ । त्यहाँ को कहिले बोल्ने पालो हुन्छ । अर्को, संसदमा कोसँग कति राम्रो र महत्वपूर्ण विषय छ भनेर महत्व राख्दैन । त्यहाँ कसले कति बोल्ने भन्ने उनीहरुको सिट संख्याका आधारमा हुने रहेछ ।

(पोखरामा जारी ११ औं नेपाल लिटरेचर फेस्टिभलमा डा सिके राउतले ‘मधेश मन्थन’ विषयक सेसनमा राखेको विचारको सम्पादित अंश । उक्त सत्र खगेन्द्र संग्रौलाले सहजीकरण गरेका थिए ।)

‘पुस्तकालय भएर मात्रै हुँदैन पढ्न अभिप्रेरित गर्नुपर्छ’

पोखरा । पोखराको अमरसिंह माविमा कक्षा ११ मा पढ्ने ऋद्धि पोखरेललाई पुस्तक पढ्न खुब रुची लाग्छ । पाठ्यक्रमको पुस्तक पढेर निस्किएको फुर्सदमा उनले बाहिरी विषयका पुस्तक पढ्नलाई समय छुट्याउँछिन् ।

बाहिरी पुस्तकमा उनको ध्यान घरमा अभिभावकको पढिरहने बानीले तानेको हो । ‘घरमा ड्याडी ममीले पुस्तक पढ्न एकदमै रुची दिनुहुन्छ । र उहाँहरुले पुस्तक घरमा ल्याउनुहुन्छ । त्यो देखेर यो पुस्तकमा के रहेछ ? कस्तो रहेछ ? पढ्ने ज्ञिजासा जागृती हुन्छ’, उनले भनिन् ।

विद्यालयमा भएको पुस्तकालयले मात्रै बालबालिकामा पठन संस्कृतिको विकास नहुने तर्क उनको छ । ‘विद्यालयमा केबल लाइब्रेरी मात्रै भएर विद्यार्थीहरु पुस्तक पढ्न अभिप्रेरित हुदैनन् । पुस्तक पढ्नुको फाइदाबारे बुझाउन सक्नुपर्छ’, उनले भनिन् । पुस्तकबारे छलफल र अन्तरक्रिया गर्नलाई विद्यालयले वातावरण मिलाइदिनुपर्ने उनको भनाइ छ ।

ग्लोबल कलेजियट स्कुलको कक्षा–८ मा पढ्ने आर्या हमाललाई पनि पुस्तक पढ्ने बानी अभिभावककै कारणले बसेको हो । उनका बुवाले त झन् छोरीका लागि भनेर हप्तैपिच्छे एउटा नयाँ पुस्तक ल्याइदिन्छन् रे ।

आर्या भन्छिन्, ‘यति धेरै पुस्तक छन् की तिन वटा कोठामा एउटा त पुस्तकले नै भरिएको छ । केही विज्ञानसँग सम्बन्धित छन् त केही सहित्यसँग ।’

पुस्तक पढ्ने माध्यम केबल पुस्तकालय मात्रै नभएको उनको भनाइ थियो । साहित्यिक कार्यक्रमले पनि पठन संस्कृति बसाल्ने उनले बताइन् ।
‘साहित्यिक कार्यक्रम वर्षमा एक पटक मात्रै नभइ हरेक महिना, अझ भएसम्म त हरेक हप्ता हुनुपर्छ’, उनको सुझाव छ । विद्युत्तिय सञ्चार माध्यमको प्रयोगले पनि पुस्तक पढ्न सकिने हमालको जानकारी दिइन् ।

‘पुस्तक पढ्न कुनै पनि शुल्क लगाउनु हुदैन । रुची अनुसारको पढ्न प्रेरित गरेमा उनीहरुले आफ्नो मनबाट पढ्ने जिज्ञासा राख्दछन् । बल्ल साँचो सिकाइ प्राप्त गर्छन्’, उनलाई लाग्छ ।

सैनिक आवासीय महाविद्यालयमा कक्षा १२ मा पढ्ने संसार क्षेत्रीले पाठ्यक्रमभन्दा बाहेक पहिलो पटक नाम सुनेको पुस्तक हो ‘मुना मदन’ । बाल्यकालमा उनका शिक्षकले मुना मदनको चर्चा गरिरहन्थे । पुस्तक पढ्ने रहर जागेपनि पर्वतको गाउँमा पुस्तकालय नै थिएन ।

जब गाउँमा कक्षा ५ सम्मको पढाई सकेर पोखरा झरे बल्ल पढ्ने मेसो मिल्यो । विद्यालयको पुस्तकालयले उनको ‘मुना मदन’ पढ्ने रहर पूरा गरिदियो । विद्यालयमा व्यवस्थित पुस्तकालय हुँदा पढ्ने बानीको विकास भएको संसारले सुनाए ।

साथीभाइसँगको भेटवार्तामा पनि नयाँ पुस्तकबारे चर्चा परिचर्चा उनी बताउँछन् । ‘पुस्तक लाइब्रेरीबाट मात्रै लैजानुभन्दा पनि पैसा खर्च गरेर आफैंले किनौं किनौं लाग्छ । अरुमा पैसा गर्नुभन्दा बरु पुस्तकमै खर्च गरौं न भन्ने धारणा बनेको छ’, उनले सुनाए ।

विद्यालयको पाठ्यक्रमसँगै अन्य पुस्तक पढ्न विद्यार्थीले कसरी समय मिलाउने त एसोएस हर्मन माइनर विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी सहनशीला पौडेलको जवाफ छ, ‘महिनामा एउटा पुस्तक पढ्नुपर्छ भन्ने हिसाबले समय मिलाउने । म विज्ञानको विद्यार्थी समय एकदमै कम हुन्छ । सुत्नुअघि पुस्तकको एउटा च्याप्टर त सक्छु सक्छु भनेर मन बनाउँछु र पढ्छु ।’ विदाको बेलामा पढ्ने हुँदा विद्यालयको पठनपाठनमा कुनै असर नगर्ने सहनशीलाले बताइन् ।

‘पढेको पुस्तक र प्रभाव’ विषयको सेसनमा विद्यार्थीहरु आर्या हमाल, श्रेया लामिछाने, सुजल केसी, सहनशीला पौडेल, ऋद्धि पौखरेल, समन गुरुङ र संसार क्षेत्रीसँग साहित्यकार दीपक पराजुलीले वार्तालाप गरे ।

पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको अलिमियाँ कक्षमा भएको वार्तालापमा सहभागी विद्यार्थीले पुस्तकालयमा सबैको रुची अनुसारको पुस्तक नपाइनेमा भने दुखेसो सुनाए । पुस्तकले संसार हेर्ने दृष्टिकोण बदल्ने विचार सहभागी विद्यार्थी पाठकको थियो ।

विद्यार्थीलाई ग्लोबल आइएमीको डिजिटल साक्षरता

पोखरा । पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलमा विद्यार्थीलाई डिजीटल साक्षरता कार्यक्रम भएको छ । शब्दहरुको उत्सव, स्रष्टाहरुको महोत्सव लिटरेचर फेस्टिभलमा विद्यार्थीलाई लक्षित गर्दै डिजीटल साक्षरता प्रदान गरिएको हो ।

ग्लोबल आइएमी बैंकका रिलेशनसीप म्यानेजर सागरबहादुर सिंहले विद्यार्थीलाई डिजीटल बैंकिङको बारेमा सहजीकरण गरे ।

सिंहले विद्यार्थीलाई डिजिटल बैंकिङको फाइदाबारे चर्चा गरे । डिजिटल युगमा डिजिटल बैंकिङ सेवाले सेवाग्राहीलाई सहज बनाएको उनको भनाइ थियो ।

उनले मोबाइल बैंकिङमार्फत विद्यालयको शुल्क तिर्ने व्यवस्था मिलाएको बताए । ‘स्कुलको फि पेमेन्ट सेवा धेरैलाई दिइरहेका छौं । बच्चालाई पैसा दिएर वा बुवाआमालाई भनेर पैसा तिर्ने गर्नुपर्दैन । घरमै बसेर मोबाइल बैंकिङमार्फत स्कुलको खातामा फि तिर्न सकिन्छ’, सिंहले भने । यो सेवाले अभिभावकको समयको बचतसँगै समयमै शुल्न तिर्न सहज हुने उनको विश्वास छ ।

मोबाइल बैंकिङ निकै सुरक्षित भएको उनले बताए । ‘मोबाइल बैंकिङ भएपछि अरुको फ्रड गर्छ की अफ्ठ्याराहरु पर्छ की भन्या जस्तो सोच्नु भएन । बायोम्याट्रिक, युजरनेम, पासवर्ड, ओटिपीबाट सुरक्षा प्रदान गरिरहेका छौं’, सिंहले विश्वस्त बनाए । उनले ओटीपी कोर्ड, पासवर्ड, पीन नम्बर र सुरक्षा प्रश्नहरु अरुमाझ नबाँड्न सिंहले अनुरोध गरे ।

ग्लोबल आइएमी बैंकले डिजिटल बंैकिङ सेवातर्फ मोबाइल बैंकिङ, इन्टरेट बैंकिङ, क्युआर कोड पेमेन्ट, डेबिट र क्रेडिट कार्ड, ट्राभल कार्ड, इकम कार्ड, मिस्डकल बैंकिङ र भाइबर बैंकिङ सेवा दिदैं आइरहेको छ ।

‘क’ वर्गको ग्लोबल आइएमीले ३५६ शाखामार्फत सेवा दिदैं आइरहेको छ । २७८ एटीएमसहित विदेशबाट समेत प्रादेशीक कार्यालयमार्फत सेवा दिएको छ ।

कविताको आयाम

पोखरा । कविताले भाव मात्र लेख्दैन । क्रान्ति लेख्छ, पोख्छ । कविताले प्रहार गर्छ शब्द मार्फत । यसका विविध आयाम प्रश्न गर्छ । प्रेमिल भाव पोख्न होस् वा प्रहार गर्न कविताको लयात्मक प्रस्तुती बेजोड हुन्छ । यी आयामहरु फेरिदो छन् । गद्य र छन्द बाहेक कविता लेख्ने आफनै शैली बनेका छन् । आजकल कवितामा शब्दमा मात्र पोखिदैन । संगितको धुनमा कविताको लय साटिन्छ । प्रस्तुतिका शैली फेरिएका छन् ।

तरपनि बेलाबेला नेपाली कविताले आलोचना खेपिरहन्छ । भूपि शेरचन र बैरागी काइलाको पेरिफेरिमा नेपाली कविता पोखिएको आरोप लाग्छ । नयाँ फरक शैली र ढंगमा कविले स्वाद पस्कन नसकेको बहस बेलाबखत भइरहन्छन् ।

यायवत आलोचना खेपिरहेका कविता क्षेत्रका विषयमा फरक धारण राख्छन् कविहरु । नेपाली कविता शैली फैलिएकोमा सन्तोष रहेको सुनाउँछन् कवि नवराज लम्साल । विविधता रहेको नेपाली कविताले आजको मुद्दाहरुको उठाइरहेको उनको भनाइ छ । पहिलेको समय प्रेमभाव कोरिने शब्द अहिलेको समयसम्म आइपुग्दा विद्धोह लेख्न थालेको विचार राख्छन् ।

‘हिजो कविता प्रेमको खोलासँग मात्र सिमित थियो त्यो प्रेमको फैलावाट छ । आफनो अधिकार निम्ती लडिरहेका अधिकार मागिरहेको पहिचान खोजिरहेको जमात सँग छ । वर्षौँदेखि दासत्व शोषण छुवाछुत र अमानवीय व्यवहार भोगिरहेका मानवहरुको विद्रोहसँग छ । नेपाली कविता फैलिएको छ । आजको कविता सन्तोषका साथ अघि बढेको छ,’नवराजले सुनाए ।

सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको चौथो दिन भएको ‘कविताका आयाम’ सत्रमा सहजकर्ता शकुन्तला जोशीले प्रश्नको जवाफ दिँदै नवराजले सो बताएका हुन् । उनको यो विचारमा एकै भाव पोख्छन् वक्ताका रुपमा रहेका तीर्थ श्रेष्ठ । नेपाली कविता संकुचित भएर बसेको आफूलाई नलाग्ने उनको विचार थियो ।

‘कविता राजनीतिक व्यवस्था जस्तो झयाकझाकी परिवर्तन हुने कुरापनि होइन । तर, कविता कविहरु पिच्छे बेग्लाबेग्लै ढंगले प्रस्तुतपनि हुन्छ । नेपाली कविता संकुचित भएर बसेको भन्ने लाग्दैन । नेपाली कविता भूपि र वैरागी काइलो सेरोफेरोमा बसेको छ भन्ने मलाई लाग्दैन । त्यसमा जति चर्चा परिचर्चा हुनुपर्ने हो त्यो नभएको हो,’ उनले सुनाए ।

कविताका आयाम विषयमा चर्चामा अर्की वक्ता थिइन् सुमिना । पछिल्लो समय बागी स्त्रीको आत्मकथा कविता संग्रह प्रकाशित गरेकी उनलाई प्रश्न थियो ,‘बागी हुन हामीलाई के ले प्रेरित गरेको छ ?’

लेखनका अनेक विधामा आफनो मनलाई घत लाग्ने विषयमा कलम चल्ने सुनाउँछिन् सुमिना । सामाजिक परिवेशले नै बागी बनाएको सुमिनको भनाइ छ ।

‘हामीलाई बागी बनाउने भनेको सामाजिक परिवेश नै हो लाग्छ । विभेद हिंसाका श्रृखंला देख्छौँ । त्यतिबेला हामीसँग विकल्प नै हुँदैन कि हामी बागी न बनौँ । र्निविकल्प विकल्प नै विद्रोही आवाज लाग्छ त्यसलाई मैले चाहिँ कवितामा प्रस्फुटन गरिराखेको छु,’उनले सुनाइन् ।
कविले शब्द मार्फत अँध्यारो समयमा टुकी जलाउने कामपनि गर्नुपर्ने बताइन् । वैचारिक जागरणका लागि कविताले भूमिका खेल्ने उनको भनाइ छ ।

अबको पुस्तकबारे सरप्राइज दिन्छुः अमर न्यौपाने

पोखरा । मदन पुरस्कार विजेता कृति ‘सेतो धरती’का लेखक अमर न्यौपानेले नयाँ कृतिबारे सरप्राइज दिने खुलाएका छन् ।

पोखरामा जारी सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको ‘कथा कस्तूरी’ सत्रमा सहजकर्ता भूमीश्वर पौडेलले नयाँ रचनाबारे चासो राखेपछि आफू ‘महत्वपूर्ण काम गर्दा कसैलाई नसुनाउने गरेको’ न्यौपानेले बताए । ‘आफूभित्रै कुनै महत्वपूर्ण काम गरेको छ भने भन्न हुँदो रहिन्छ । मेरो सबैभन्दा नजिकको मान्छेलाई नभनी राखिरहेँ भने त्यसलाई एकदमै चाँडो सक्छु,’ उनले थपे, ‘केही नभनी सरप्राइज दिनु छ, दिन्छु ।’

२०६८ सालको मदन पुरस्कार विजेता कृति ‘सेतो धरती’का लेखक न्यौपानेका पानीको घाम, करोडौं कस्तुरि र गुलाबी उमेर पनि प्रकाशित उपन्यास हुन् । उनको कलिलो मन बाल कथा संग्रह पनि प्रकाशित छ । सत्रमा उनले लेखकका दुई वटा भूमि हुने गरेको र आफूलाई देवघाट प्रिय लाग्ने गरेको सुनाए । ‘दुईटा ठाउँ मानिसका लागि महत्वपूर्ण हुन्छ । एउटा जन्मेको ठाउँ अर्को किताब जन्मेको ठाउँ,’ न्यौपानेले थपे, ‘मातृभूमि भनेजस्तै देवघाट नयाँ शब्द कोरल्दा ‘पुस्तक भूमि’ हो । देवघाट सेतो धर्ती जन्मिएको ठाउँ हो ।’

पात्रको नियन्त्रणमा लेखक र लेखकको नियन्त्रणमा पात्र हुने उनले बताए । आफूलाई अरुले भन्दा फरक शैलीमा लेख्न मन लाग्ने न्यौपानेले सुनाए । हरेक व्यक्तिले एकै तरिकाले भन्दा आफ्नो शैलीले स्थापित गर्नुपर्ने उनको भनाइ छ ।

‘एउटा लेखकले जसरी, जुन डिजाइनमा लेख्छ अर्कोले त्यसरी नलेख्नु अझ सुन्दर कुरा हो । अर्कोको अर्कै धारणा होस्,’ न्यौपानेले भने, ‘सिर्जनात्मक कुरा कक्षाको किताबमा पढेजस्तो परीक्षामा त्यस्तै लेख्नुपर्छ भन्ने हुँदैन । सिर्जनात्मक कुरा भोलि नयाँ हुन्छ । हरेक मान्छेले आफ्नो शैलीको रुपमा स्थापित गर्नुपर्छ ।’

पात्रमा आफ्ना विचार मिसाउँदा रचना बलियो हुने उनको दाबी छ । उनी लेखक र पात्रको सम्बन्ध रुखको जरा र जमिनजस्तै भएको टिप्पणी गर्छन् । ‘सूर्यको पृथ्वीसँग सम्बन्ध छ । पृथ्वीको सूर्यसँग सम्बन्ध छ । जराको जमिन अनि जमिनको जरासँग सम्बन्ध छ,’ न्यौपानेले भने, ‘त्यो जरा र जमिनको जस्तो सम्बन्ध छ लेखक र पात्रको त्यस्तै सम्बन्ध छ । जसरी जरा र जमिनको सम्बन्धबाट फल फल्छ त्यो फल भनेको किताब हो ।’

न्यौपानेलाई एकजना दर्शकले प्रश्न सोधिन् – लेखक बन्दा छोरी बिग्रिन्छ कि भन्छन् । अनि आर्थिक अवस्थाको कुरा पनि जोडिन्छ । मैले लेख्दा ठिक हुन्छ कि हुँदैन ?

न्यौपानेले लेखक बन्न तर सिर्जनात्मक हुन सुझाए । ‘सिनेमा लाइनको छोराछोरीहरु सिनेमामै आउँछन किनकि त्यहाँ ग्लामर र पैसा छ । तर हामी कवि–लेखकको छोराछोरी लेखक भएको देखिँदैन,’ उनले भने, ‘यो अर्थसँग जोडिएको विषय हो । सिर्जनात्मक तरिकाले बौलाएर लेख्नुस् । मज्जाले लेख्न सक्नुहुन्छ ।’

ओझेलमा लाहुरेनीको कथा

पोखरा । पोखरा लाहुरेको सहरको रुपमा परिचत छ । गोरखा शब्दसँग पोखराको निकै पूरानो साइनो गाँसेको पोखरा अहिले पनि उस्तै प्रयत्नशील छ ।

रिटायर्ड लाहुरे मात्रै होइन भर्ती भएर लाहुरे बन्नेहरुको लर्को पोखरामा देखिन्छ ।

लाहुरेको सहर पोखरामा यतिबेला ११ औं संस्करणको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिबलको सरगर्मी छ । आइतबार फेस्टिबलमा लाहुेरनीको कथा व्यथा सुनाइयो ।

पहिलो होस् या दोस्रो विश्वयुद्धमा गोरखा लाहुरेले आँट देखाए, वीरताको इतिहास लेखाए ।

इतिहासका पानामा गोरखा लाहुरेका कथा धेरै लेखिएको छ । कतै बहादुरीको कथा त कतै इमानदारीताको । तर, लाहुरेनीको कथा नेपथ्यमै हराइरह्यो ।

गोली, बारुद र खुकुरीको धारमा होमिने लाहुरेका आत्मविश्वास बनेका लाहुरेनीहरु जहिल्यै छायामै परेको लाहुरेनीका कथा सेसनमा सहभागी वक्ताले एकै स्वरमा भने ।

मिना गुरुङलाई त लाहुरेनीप्रतिको हेर्ने दृष्टिकोणले आत्म दुखाएको छ । विलिन लाहुरेनीको कथा कसैले कोट्याउन नखोजेको उनले बताइन् । ‘यो कथाव्यथा, लाहुरेनीको योगदानलाई उसले निभाएको अहम भूमिकालाई कसैले पनि चासो दिएनन् । समाजका यतिधेरै प्रभुत्व व्यक्ति, इतिहासविद्हरु, राजनीतिकर्मीहरुले, साहित्यकारहरुले ध्यान दिएनन्’, गण्डकी प्रदेश सभाको पूर्व सदस्यसमेत रहेकी गुरुङले गुनासो गरिन् ।

पुस्तकमा पनि लाहुरेनीको कथा कतैं नलेखिएको उनको भनाइ छ । गोरखा महिलाले वेदनापूर्ण जीवन बिताएको उनले स्मरण गरिन् । आफ्नो सपना निमोठेर बाँच्नुपरेको मिना स्वयमको भोगाइ छ ।

लाहुरेनीका सुखदुखबारे चित्र कोर्दै आइरहेकी चित्रकार सुजना थापा श्रीष २०७ वर्षपछि बल्ल गोरखा महिलाबारे थोरै भएपनि चर्चा हुन थालेको बताउछिन् । लामो इतिहासमा लाहुरेनी हराएको उनले बताइन् ।

‘कथाहरु लाहुरेकै आयो बहादुरीको, विजयको । तर, हामीले भावनात्मक, आर्थिक, अलिकति सामाजिक कुरालाई छाड्यौ’, अनुसन्धानकर्मीसमेत रहेकी सुजनाले भनिन् । गोरखा इतिहासलाई पाठ्यक्रममै समेट्न नसक्दा लाहुरेनी गुमनाम भएको उनको ठम्याइ छ ।

शब्द र कथाले बुनेको गोरखा इतिहासमाथि गहिरो अनुसन्धानको आवश्यकता सुजनाले औल्याइन् । ‘मुख्य समस्या बौद्धिक फोरममा आएर गोरखा महिलाबारे बुझाउन सकेका छैनौं’, उनले भनिन् ।

गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का संस्थापक महासचिव डा. चन्द्रबहादुर गुरुङ गोरखा महिलाले लडाँइमा श्रीमानको गुमाएर पनि पेन्सन नपाएको सुनाए । गाउँमा एकाथरी नाम पल्टनमा अर्कोथरी नाम हुँदा आर्थिक रुपमा चेपुवामा परेको उनले बताए ।

‘प्रेमी फर्केर आउँछ भन्दा भन्दै जीवन बित्यो । पेन्सन पनि पाएनन् समाजले पनि नानाथरी लाञ्छना लगायो’, उनले भने । गोरखाका महिलाको पीडा सुनाइसाध्य नरहेको चन्द्रबहादुर बताउँछन् । ‘बाध्यताको देशमा हामी छौं’, उनले सुनाए ।

लेखनमा सम्पादनको महत्व

पोखरा । सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलको चौथो दिनमा लेखक चन्द्रहास चौधरी र जेनिस प्यारियटको प्रस्तुति रहेको द आर्ट अफ एडिटिङ फिक्शन विषयवस्तुमा सम्पादक र सम्पादनका विभिन्न पक्षमा छलफल भएको छ ।

लेखन र सम्पादनमा विशेषज्ञता भएका चौधरी र प्यारियटले राम्रो सम्पादन र सम्पादक बन्ने सोचसँग सम्बन्धित विषयमा छलफल गरेका छन् ।

लेखनमा सम्पादनको महत्व रहेको वक्ता चन्द्रहास चोधरीले सुनाए । सम्पादन सहि भए त्यसले कुनै कथा सहज ढंगमा उजागर गर्ने उनको भनाइ थियो । चौधरीले भने, ‘पाठहरू राम्ररी सम्पादन भएमा एउटा सानो गाउँको बस्तीको कथाले करोडौं रुपैयाँ खर्च हुने सरकारी कार्यक्रम जत्तिकै समाजको सत्यता उजागर गर्न सक्छ ।’

यस्तै दुबै वक्ताले पछिल्लो वर्षहरुमा पत्रिकाहरुले आख्यान लेखकलाई ठाउँ दिन छाडेको चिन्ता व्यक्त गरे ।

‘विगतमा दक्षिण एसियाली परिदृश्य निकै विस्तार भएको छ तर दक्षिण एसियामा अंग्रेजी साहित्यको एउटा दुःखद कुरा के छ भने लघुकथाहरू पत्रिकामा पूरै हराइसकेको छ,’चौधरीले भने ।

चौधरीका अनुसार कथा लेखनमा समस्या बढ्दै गएको छ । यस्तै प्यारियटले लेखनमा सम्पादन र भाषा दुबै महत्वको साथ हेर्ने बताइन् ।

‘मेरो लागि महत्त्वपूर्ण कुरा यो हो भाषा पानामा कसरी सुनिन्छ । र, यो मेरो कानमा राम्रोसँग सुनिनुपर्छ,’प्यारियटले भनिन् । भाषाको लय र गति आफूले धेरै याद गर्ने बताउँछिन् ।

यस्तै लेखक र सम्पादनबिच पनि प्रगाढ सम्बन्ध हुने सुनाउँछिन् ।

महाकवि: महाआख्यान

पोखरा । महाकवि लक्ष्मीप्रसाद देवकोटाको साहित्यबारे त यहाँहरुलाई जानकारी भएकै हुनुपर्छ । म चाहिँ देवकोटाको साहित्यिक पक्षभन्दा देवकोटाको व्यक्तित्व कस्तो थियो । देवकोटाको आनीबानी कस्तो थिए । देवकोटाका रमाइला कुराहरु केके थिए । यस्ता विषयमा केन्द्रीत हुन चाहेको हो मैले । म त्यतै प्रति नै आफुलाई केन्द्रीत हुँदै लैजानेछु ।

अब महाकवि लक्ष्मीप्रसाद देवकोटा मेरो पिताजी पण्डित सोमनाथ घिमिरे व्यासका मित्र हुनुहुन्थ्यो । मेरो पिता जि पनि नेपाली साहित्य र अंग्रेजी साहित्यमा विद्धान हुनुहुन्थ्यो, लेखक पनि हुनुहुन्थ्यो । हाम्रो मुल घर रामेछाप हो । रामेछापबाट पिता जि बेलाबेलामा भाषा पाठशालामा पढाउनुहुन्थ्यो र काठमाडौं आउने गर्नुहुन्थ्यो । त्यहि आउने शिलशिलामा आफु साहित्य अनुरागी भएको हुनाले लक्ष्मीप्रसाद देवकोटासँग मेरो पिता जि चिनजान गर्न जानुभो ।

यो चाहिँ विस १९९६ को घटना हो । त्यो बेलादेखि पिता जिको देवकोटासँग परिचय भएको हो । परिचयमा प्रगाढता कसरी थपिदै गयो भने । मेरो पिता जि त्यो बेला श्री ३ भीम शमशेरको टंगाल दरवारमा सम्बन्धित हुनुहुन्थ्यो । त्यहाँ पण्डितको कार्य गर्नुहुन्थ्यो । र यहि टंगाल दरवारमा लक्ष्मीप्रसादकी साइली दिदि पनि कार्यरत हुनुहुन्थ्यो । दिदीको माध्यमबाट देवकोटासँगको मित्रतामा प्रगाढता थपिदै गयो । यसरी आउने जाने क्रम चल्दै गयो ।

मेरो पिता जि धार्मीक कुराहरु लेख्ने । लेखेका कुराहरु देवकोटालाई देखाउनु जानुहुन्थ्यो । देवकोटाले त्यो हेरेर भन्नुहुन्थ्यो रे ‘पण्डित जि तपाईंको चस्माको गलास कहाँको हो । इन्डियन गलास हो की युरोपियन’ । पिता जीले इन्डियन भन्नुभएछ । त्यसपछि देवकोटाले इन्डियाको गलासको काम छैन । युरोपियन चस्मा लगाउनुपर्छ । तपाईंको लेखन रुढिबादी भयो । त्यो इन्डियन क्लासकै प्रभाव हो त्यसैले युरोपियन गलास लगाउनुस् तपाईंले अनि मात्र लेखहरु लेख्नुस् भन्नुभएछ ।

त्यो भन्नुको मतलब तपाईंले आफ्नो लेखनमा दृष्टि विस्तार गर्नुस् । आधुनिक युगलाई सुहाउने खालको पनि लेख्नुस् भन्नृभएको होला भन्ने मलाई लाग्दछ । र यही प्रसंगमा पिता जीले भनेअनुसार देवकोटाको घरमा जानुहुन्थ्यो । देवकोटाको कविताहरु पनि सुन्ने, आफ्नो लेख रचना सुनाउने क्रम चलिरहन्थ्यो । हामी त केटाकेटी थियौं । म चाहिँ १९९८ सालमा जन्मिएको हुँ । मैले ६÷७ वर्षदेखि देवकोटा जिलाई आफ्नो घरमा देख्ने अवसर पाएको हुँ ।

मेरो पिता जि संगीतमा शौख राख्नुहुन्थ्यो । उहाँ तबला पनि बजाउने हार्माेनी पनि बजाउने र देवकोटा जि पनि त्यस्तो संगीतमा चाख राख्ने मेरो पिता जीको बैठकमा उहाँका केही मित्रको जमघट हुने गर्दथ्यो । त्यसमा देवकोटा, उहाँका काइला भाई मधुसुदन देवकोटा, जनकराज शर्मा, रिदयराज शर्मा यिनीहरुको जमघट हुन्थ्यो । देवकोटा जी हार्माेनियम बजाउँदै गीत गाउन थाल्नुहुन्थ्यो शास्त्रिय संगीत ।

अब देवकोटा जी विरामी हुनुभयो । क्यान्सर रोगले ग्रसित हुनुभयो । मेरो पिता जि टंगाल दरबारसँग सम्बन्धित भएको हुनाले यहाँका राणाहरुको घर कलकत्तामा पनि थियो । त्यो देवकोटालाई पनि थाहा थियो । देवकोटाले पण्डित जी रोगको उपचार गर्न जानुप¥यो । रानी समून्द्रकुमारीको घर हामीलाई उपचार गर्न जानुछ । केही बस्ने व्यवस्था तपाईंले मिलाइदिनुहुन्छ की भनेर भन्नुभएछ । पिता जीले हुन्छ नी किन नहुनु भनेर मिलाइदिनुभयो । उहाँ उपचारका लागि कलकत्ता जानुभयो ।

एकदिन देवकोटाका भाई मधुसुदनले मेरो पिता जिलार्य भन्नुभएछ, पण्डित जि तपाईंलाई दाईले भेट्न खोज्नुभएको छ । एकपटक अस्पताल जानुप¥यो । अनि पिता जी त्यहाँ जानुभयो । जानेवित्तिकै देवकोटा जी जुरुक्क उठेर तल झर्नुभएछ । म बंगभूमिमा मर्ने भएँ ।

मलाई आफ्रनै भूमिमा पशुपतिनाथ, पवित्र बागमती नदिमा पुग्ने त्यहाँ मर्ने, त्यहाँ जल्ने इच्छा छ मलाई त्यहाँ जाने व्यवस्था मिलाइदिनुस् भनेर देवकोटाले ढोग्दै खोज्नुभएछ । त्यसपछि पिताले उठाउनु भयो । त्यसपछि परिवारप्रति जंगिदै देवकोटाले के भन्नुभएछ भने यीनीहरु मलाई उपचार गर्न आएका हुन् र यहाँ कलकत्ता शयर गर्न आएका हुन् । यहाँ मलाई विरामीलाई छोडेर घुम्न जान्छन् । देख्नुभो अहिले मलाई पागल भन्छन् ।

देखिहाल्नुभयो होला नी भनेर पिता जीलाई भन्नुभएछ । अनि पिता जीले मैले के सहयोग गर्नुप¥यो । मेरो नेपाल पुग्ने खर्चपर्च जति ल्याएको थिए । सकियो । परिवारसहित काठमाडौं पुग्ने खर्चको व्यवस्था तपाईंले गर्दिनुप¥यो भन्नुभएछ ।

पिताजीले देवकोटाको भाईलाई सोध्नुभएछः हामीलाई काठमाडौं जान कति लाग्छ । उहाँले ५ सय भए पुग्छ भन्नुभयो । ल म त्यति त दिइहाल्छु नी दिनुभएछ । र महाकविले के भन्नुभएछ भने मैले तमसुक लेख्दिनु प¥यो । त्यसपछि मेरो पिताले भन्नुभएछ मैले तमसुकलाई पत्याएर दिएको हो र मैले त मेरो मित्र लक्ष्मीप्रसाद देवकोटालाई पत्याएर दिएको हुँ ।

तमसुक समसुक चाहिदैन मलाई । सक्नुभयो भने फिर्ता गरिदिनु होला सक्नुभएन भने मलाई केही चाहिदैन भन्नुभएछ । फेरि महाकविले भन्नुभएछ म त बाच्दिन मरिहाल्छु । व्रमश्वो खाएर मर्छु की भन्ने डर लाग्छ मलाई । भनेर जवरजस्ती गरेर देवकोटाले लेख्नुभएछ अगाडि रहेका किताव र पत्रिकामा लेख्नुभएछ । मैले सोमनाथ घिमिरे व्याससँग ५ सय भारु सापट लिएको छु । त्यो चाहिँ मेरो सन्तानले तिरिदिनु भनेर ४/५ वटा किताब र पत्रपत्रिकामा लेख्नुभएछ । यो लेखेपछि देवकोटाले भन्नुभएछ, यो देखेपछि मेरो सन्तानले तपाईं पैसा तिर्छन् । अनि मलाई शान्ति मिल्छ ।

(पोखरामा जारी ११औं नेपाल लिटरेचर फेस्टिभलमा रोचक घिमिरेले ‘महाकवि: महाआख्यान’ विषयक सेसनमा राखेको विचारको सम्पादित अंश)

Why stay in the homeland ?

The number of people leaving the country for employment opportunities is increasing rapidly. Although the country is receiving a high amount of remittance, the migration of youth to foreign lands has become one of the major problems of the country.

In the 11th edition of the Nepal Literature Festival, a discussion session was conducted about it. The speakers of the session were the former CEO of Nabil Bank, Anil Keshari Shah, Professor Kapil Adhikari, and entrepreneur Prathana Saakha. The theme of the session was “Swadesh Kina Basney?” which translates to “Why stay in the homeland?” in English.

During the session, Shah said it has been challenging for many people to stay in the country and do something.

“Only if youth start seeing the future in the country, will the country be better,” says Shah. “If we cannot create a situation for youth to stay in the homeland, they can’t be stopped from leaving the country.”

Shah further notes that most students studying in expensive colleges are willing to go abroad for further studies, which is a sad thing.

Prathana Saakha suggests that if someone tries to start a business during their student days, they can be successful and do not have to leave the country.

Referring to her business of helmets, she says, “Nepal has so many challenges; if one is willing to solve any of those problems, they can be a good entrepreneur.”

Shah further states that besides Nepal, people from other countries are also migrating. Every country has its reasons for migration.

“Some people leave the country due to religious issues, some due to societal issues, and some due to ideological issues. But Nepalis are leaving the country due to economic issues. So, the only solution to this problem is economic reform,” says Shah.

Nepal should invest in hydropower, sports, and others, he adds.

Shah is hopeful that youth will return to the homeland after obtaining necessary skills from foreign lands.

Faculty Dean of Gandaki University, Kapil Adhikari, says that most youths are leaving the country under the pretext of higher education.

“The current education system of the country has problems. The education system has political influences,” says Adhikari.

Adhikari, who earned his Ph.D. from American universities, says that the foreign universities where Nepali students are studying have lower standards than the universities of Nepal.

To motivate students to remain in the homeland, they should be taught about their country, says Adhikari.

For an entrepreneur in Nepal, more than economic challenges, they have other challenges to face. If someone has a small amount of money, they should start the business with the amount they have.

Saakha started her business with an investment of Rs 25,000; later, the company had an evaluation of one crore.

The problems of tax, regulation, and policy create difficulties for entrepreneurs, says Saakha.

थप सेशनहरूः

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds