पोखरा । अमरसिंह मावि र ग्लोबल कलेजियट बोर्डिङ स्कुल पोखरा महानगरपालिका विद्यालयस्तरीय बुद्धिचाल (चेस) प्रतियोगिताको च्याम्पियन बनेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको शनिबार भएको अन्तिम चरणमा सर्वाधिक अंकसहित छात्रतर्फ अमरसिंह र छात्रातर्फ ग्लोबल विजेता बनेका हुन् । छात्रतर्फको विजेता अमरसिंहले ११ र छात्रातर्फको विजेता ग्लोबलले १२ अंक पाएको निर्णायक संयोजक रामबहादुर क्षेत्रीले जानकारी दिए । अमरसिंह र ग्लोबलले ट्रफी, मेडल र प्रमाणपत्रसहित ७ हजार रूपैयाँ पुरस्कार पाएका छन् ।
छात्रतर्फ हिमालयन बोर्डिङ स्कुल ‘ए’ १० अंकसहित द्वितीय, श्री विन्ध्यावासिनी मावि ‘ए’ तृतीय, कुमुदिनी होम्स चौंथो र रेन्बो एकेडेमी पाँचौ भए । विन्ध्यावासिनी, कुमुदिनी र रेन्बोले समान ८÷८ अंक पाए । ६ राउण्ड खेल्दा यी विद्यालयका विद्यार्थीले जितेका खेल, समयसहित कम्प्युटरले हिसाब गर्दा बुचर टेबल पोइन्टको आधारमा विजयी स्थान घोषणा गरिएको हो ।
छात्रातर्फ बालविद्या मन्दिर १०.५ अंकसहित द्वितीय, त्रिवेणी पब्लिक स्कुल ९ अंकसहित तृतीय, ताराकुञ्ज मावि ९ अंकसहित चौंथो र प्रतिभा मावि ‘ए’ ८ अंकसहित पाँचौ भएको खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । छात्र र छात्रातर्फ द्वितीय र तृतीय हुनेले क्रमशः ५ हजार र ३ हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए । चौंथो र पाँचौं हुनेले क्रमशः २ हजार र १ हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।
छात्रतर्फ कालिका मावि छैटौं, ग्लोबल कलेजियट सातौं, केफ सेकेण्डरी स्कुल आठौं, मदरल्याण्ड मावि नवौं र अमरसिंह मावि दसौं भए । छात्रातर्फ अमरसिंह मावि ‘ए’ छैटौं, हार्बड एकेडेमी सातौं, अञ्जुली आवसीय मावि आठौं, छोरेपाटन मावि नवौं र हिमालयन बोर्डिङ स्कुल दसौं भएको आयोजकले जनाएको छ । छैंटौदेखि दसौं हुने विद्यालयका विद्यार्थीले मेडल र प्रमाणपत्र पाए ।
पुरस्कार वितरणपछि बोल्दै खेलकुद विकास समिति अध्यक्ष दीपकबहादुर गोदारले चेसमा विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिताले सकारात्मक सन्देश दिएको सुनाए । विद्यालय तहबाटै चेस खेल्नेतर्फ रूचि हुनु, बढाउन सकेमा यसले मानसिक स्वास्थ्य र सोच्ने शैलीमा विकास हुने उनले बताए । बुद्धिचाल महासंघका केन्द्रीय अध्यक्ष हिराकाजी महर्जनले चेस बौद्धिक खेल भएकाले यसले विद्यार्थीको पढाइमा योगदान गर्न भूमिका खेल्ने बताए । उनले देशभरका ५५ जिल्लामध्ये कास्की बुद्धिचालमा सक्रिय रहेकाले यसलाई निरन्तरता दिइरहन आग्रह गरे ।
पोखरा महानगरपालिका बुद्धिचाल संघका अध्यक्ष चन्द्रबहादुर गुरूङले विद्यालय तहमै चेसको विकास गर्न यो प्रतियोगिता गरेको बताए । उनले विद्यार्थीको संख्या प्रशंसालायक देखिएको र यसलाई आगामी वर्ष पनि निरन्तरता दिने बताए । पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्ड हलमा शुक्रबार र शनिबार चलेको प्रतियोगितामा ६० विद्यालयका २ सय ५० जनाभन्दा बढी छात्र÷छात्रा सहभागी थिए ।
सम्बन्धित खबर
अर्जुनचौपारीमा दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव हुने
यु–१९ विश्वकपमा छनौट भएकी रचना र क्रिकेटर दीपेशलाई पोखरामा सम्मान
अर्जुनचौपारीले यु-१९ विश्वकप खेल्ने स्याङ्जाका खेलाडीलाई पुरस्कृत गर्ने
नेपालले अफगानिस्तानलाई २-० गोलले हरायो
नेपालले कुवेतलाई एक सय ६५ रनको फराकिलो अन्तरले हरायो
नेपालको शानदार जित‚ थाइल्याण्ड १०६ रनले पराजित
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते