सुदन किराँतीको सर्वत्र विरोध, पोखरामा राँके जुलुस निकालिँदै

विवादित मन्त्री

सुदन किराँतीको सर्वत्र विरोध, पोखरामा राँके जुलुस निकालिँदै

रबि लामिछाने, कमल थापा र गोकुल बाँस्कोटाद्वारा राजीनामा माग

sudan-kiranti

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँती आफ्नै उग्र भाषणका कारण आलोचित बनेका छन् । राजधानीमा हिजो आयोजित क्रिश्चियन धर्मको एउटा कार्यक्रममा दिएको अभिव्यक्तिका कारण उनी विवादमा मुछिएका हुन् ।

सहभागीले ताली बजाउँदै उनको भाषणलाई समर्थन गर्न थालेपछि हौसिँदै मन्त्री किराँतीले क्रिश्चियनबाहेक अन्य धर्म मान्नेको उछितो काढेका थिए । भाषणका क्रममा उनले क्रिश्चियन नमान्नेलाई संविधान विरोधि र देशद्रोहीको संज्ञा दिएका थिए ।

बुधवार काठमाण्डौमा भएको उपत्यकाव्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव २०८० लाई सम्बोधन गर्दै मन्त्री किराँतीले भनेका थिए– ‘राज्यका आँखामा सबै धर्म बराबरी हुन् । आज तीन करोड नेपालीमा लाखौँ क्रिस्चियनहरु भइसकेका छन् । क्रिस्चियनलाई मान्दिन भन्नु संविधानलाई मान्दिनँ भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हतकडी लगाउने जेलमा हालिदिने हो ।’

उनले विश्वमा धार्मिक जनसङ्ख्या ८५ प्रतिशत रहेको ३० प्रतिशत क्रिश्चियन रहेको उल्लेख गर्दै संसार मान्ने अनि हामीले नमान्ने ? भनेका थिए । मन्त्री किराँतीले नेपालमा भने उनीहरूलाई खैनी माडेझै थिचोमिचो गरिएको आरोप लगाएका थिए ।

भाषणका क्रममा जिसस क्राइस्टसँग तुलना गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई किराँतीले विद्रोही नेताका रुपमा अथ्र्याएका थिए । प्रधानमन्त्री प्रचण्डले समेत जिसस क्राइस्टलाई मान्ने किराँतीले दाबी गरेका थिए ।

मन्त्री किराँतीको अभिव्यक्ति अहिले निकै विवादित बनिरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ता अधिकांशले किराँतीको अभिव्यक्ति गैर जिम्मेवार भएको भन्दै तत्काल राजिनामाको माग गरेका छन् ।

पोखरामा राँके जुलुस

मन्त्री किराँतीको विवादास्पद अभिव्यक्तिको बिरोध गर्दै पोखरामा आज साँझ बिरोध जुलुस आयोजना गरिएको छ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कास्कीले गैरजिम्मेवार मन्त्री सुदन किराँतीको राजीनामाको माग सहित राँको सहितको जुलुस आयोजना गरेको हो । साँझ ५ बजे पृथ्वीचोकबाट राँके जुलुस निकालिने भएको हो ।

सुदन किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पर्यटनमन्त्री सुदन किराँतीलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् ।

उनले सामाजिक सञ्जालमा भनेका छन्– ‘क्रिष्टियन धर्म नमान्ने सबै देशद्रोही हुन्’ भन्ने गैर जिम्मेवार अभिव्यक्ति दिने पर्यटन मन्त्री सुदन किराँतीलाई तत्काल बर्खास्त गर्नुपर्दछ। प्रम पुष्पकमल दाहाल प्रचण्डको ध्यान जाओस्।

थापाले पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाउने मन्त्री किराँतीलाई कानून अनुसार कारबाही गर्न पनि माग गरेका छन् ।

गैर जिम्मेवार अभिव्यक्ति दिने किराँती राजीनामा देउः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक संजाल फेसबुकमा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता बिथोल्ने मन्त्री किराँतीको अभिव्यक्तिप्रति खेद प्रकट गरेका छन् ।

उनले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउँदै किराँतीको अभिव्यक्तिको जवाफ माग गरेका छन्


‘संस्कृति मन्त्री सुदन किराँतीको पछिल्लो अभिव्यक्ति, सामाजिक सद्भाव र सहिष्णुता खलबलाउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार, पदीय गरिमा विपरीतको र अत्यन्तै खेदजनक छ,’ उनले भनेका छन्, ‘यस्तो गैर जिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृति मन्त्रीजस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्छ ? प्रधानमन्त्रीज्यू, गम्भीर ध्यानाकर्षण होस्।’

किराँतीले कत्रो जेल बनाउलान् त अब ? : बाँस्कोटा

एमाले नेता गोकुल बाँस्कोटाले मन्त्री किराँतीप्रति ब्यङ्ग गर्दै अन्य धर्मावलम्वीलाई थुन्ने जेल कत्रो बन्ने ? भन्दै कटाक्ष गरेका छन् ।

यो अभिव्यक्तिको रियाक्सन ठूलो हुन्छः राणा

लाई सांसद धवलशमशेर राणाले चेतावनी दिएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बिहीबारको बैठकमा उनले मन्त्री किरातीको विवादास्पद अभिव्यक्तिको ‘रियाक्सन’ ठूलो हुने बताए ।

समिति सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री समेत रहेका राणाले विवादास्पद अभिव्यक्तिका कारण निम्तने स्थितिको जिम्मेवार सरकार हुनुपर्ने चेतावनी दिए ।

“यस (विवादास्पद अभिव्यक्ति)को रियाक्सन ठूलो हुन्छ,” उनले बैठकमा भने, “यसको जिम्मेवार तपाईं सरकार हुनुपर्छ ।”
बुधबार मन्त्री किरातीले किस्चियन धर्मका विषयमा दिएको अभिव्यक्तिप्रति विभिन्न टीकाटिप्पणी भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ