कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । कार्कीलाई कांग्रेसका शेखर कोइराला समूहका ८ जना र एमालेका ३९ जना सांसदले सर्मथन गरेका छन्
सांसदहरुको हस्ताक्षरको प्रमाणिकरण सकिएपछि प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई कोशी प्रदेशको दोस्रो कार्यकालकाे पाँचौ मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेशसभामा रहेका ९३ सांसदमध्ये बहुमतका लागि ४७ सांसदको समर्थन चाहिन्छ । कार्कीले काँग्रेसका ८ सांसद लिएर एमालेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नेपाली कांग्रेसका कोशी प्रदेशसभा सदस्य केदार कार्कीले मुख्यमन्त्री पदका लागि ४७ प्रदेशसभा सदस्यसहितको हस्ताक्षरसहितको पत्र प्रदेश प्रमुखको कार्यालयमा बुझाएका थिए ।
सोही हक दाबी गर्दै नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि ४७ जनाकै हस्ताक्षरसहित माग दाबी गर्दा प्रमाणीकरणका लागि प्रदेश प्रमुख खापुङले स–शरीर प्रमाण खुल्ने प्रमाणपत्रसहित कार्यालयमा उपस्थित भई सनाखत गर्न गए राति सूचना जारी गरेका थिए ।
आङ्बो पक्ष भने आफूतिर पनि हस्ताक्षर गरेका कांग्रेसका ८ सांसद कार्कीकै पक्षमा सनाखत गर्न गएपछि अल्पमतमा पर्यो। जसका कारण आङ्बो पक्षका सांसद सनाखतका लागि प्रदेश प्रमुखको कार्यालय नै गएनन्।
नेकपा एमालेका ३९ तथा कांग्रेसका आठ प्रदेशसभा सदस्यको हस्ताक्षर सनाखत गरिएको हो । कांग्रेसका कार्कीसहित इन्दिरा थापा, शम्शेर राई, लीलाकुमारी राई, गोविन्द गिरी, सुनिताकुमारी गुरुङ, रामकुमार खत्री र मानबहादुर लिम्बूले प्रदेश प्रमुखको कार्यालयमा सनाखत गरेका छन् ।
शपथ आइतबार
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले पदको शपथ भोलि आइतबार खाने भएका छन्। अब उनलाई आइतबार दिउँसो ३ बजेभित्र शपथ गराउने तयारी रहेको उनका निजी सचिव नरेन्द्र श्रेष्ठले जानकारी दिए।
‘माननीय केदार कार्कीले ४७ सांसदको सनाखत गराउनुभएकाले प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुभएको छ’, श्रेष्ठले भने, ‘भोलि दिउँसो १ देखि ३ बजेभित्र शपथ हुन्छ।’
यसअघि गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले पनि कांग्रेसका ८ जनासहित ४७ सांसदकै हस्ताक्षर बुझाएपछि प्रदेश प्रमुख खापुङलाई निर्णय गर्न गाह्रो भएको थियो।
कोशीका सांसहरूले मध्यावधि रोक्ने बाटो रोजेः मुख्यमन्त्री कार्की
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले कोशीमा मध्यावधि निर्वाचन रोक्न सांसदहरूले आफूलाई रोजेको बताएका छन्।
मुख्यमन्त्री नियुक्त भएपछि पत्रकाहरूसँगको कुराकानीमा कार्कीले गठबन्धनको मात्रै संख्याले प्रदेश मध्यावधिमा जाने निश्चित देखेपछि त्यो रोक्नका लागि आफूले कदम चालेको उनले बताए।
यसलाई पार्टी र नेतृत्वले अस्वाभाविक रूपमा नलिने विश्वास समेत व्यक्त गरे। ‘संविधान मान्ने र संविधानवादमा विश्वास गर्ने पार्टी संविधानसम्मत गरेको कामकारबाहीलाई सकारात्मक लिन्छ भन्ने ठानेको छु,’ उनले भने, ‘कहिलेकाहीँ अस्वभाविकजस्तो देखिन्छ। त्यसको परिणाम आएपछि स्वभाविक रूपमा आत्मसात् गर्छ पार्टीले।’
१६८ को उपधारा ५ सांसदहरुको एकरूपताका लागि रहेको पनि उनले बताए। ‘सांसदहरूको एकरूपताले कोशीमा मध्यावधि रोक्न बाटो खोजेको हो। मध्यावधि रोकेर जनतामा एउटा आशा देखाउन खोजेका हौं,’ उनले बताए। उनले मन्त्रिपरिषद् बारे निर्णय नभइसकेको पनि बताए।
प्रचण्ड, देउवा र कोइरालाबिच लिखित सहमति
सत्तारुढ गठबन्धनको निर्णयविपरीत कोशी प्रदेशमा नेकपा एमालेको सहयोगमा सरकार बनाउन पुगेका नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाले लिखित सहमति भएको छ ।
शनिबार बिहान भएको तीन नेताबिचको छलफलमा लिखित सहमति भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सहमतिमा सबैजना सत्ता गठबन्ध्नप्रति दृढ र स्पष्ट रहेको तथा यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन नदिने उल्लेख छ ।
संविधानको धारा १६८ को उपधारा (५) अनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यसअघि असोज २० गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपुग्ने भएपछि राजीनामा दिएका थिए ।
सम्बन्धित खबर
‘पूर्णबहादुरको सारङ्गी’को २४ दिनको कमाई ४३ करोड ४० लाख
नेपाल प्रहरीका ८ जना एसएसपी डीआइजीमा बढुवाका लागि सिफारिस
दुर्गा प्रसाईं वीर अस्पताल भर्ना
दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
मृत्युपछि मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने
रविलाई थप १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम