उत्कृष्ट प्रदर्शनका बाबजुत भारतसँग हार्‍यो नेपाल, क्वार्टरफाइनलबाट बाहिरियो

एसियन गेम्स क्रिकेटः

उत्कृष्ट प्रदर्शनका बाबजुत भारतसँग हार्‍यो नेपाल, क्वार्टरफाइनलबाट बाहिरियो

रोहित र मोन्टीले भने : १०-१५ रन बढी दियौं

Team Nepal

चीनमा जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वाटरफाइनलबाट बाहिरिएको छ । भारतविरुद्धको खेल २३ रनले गुमाएपछि नेपालको यात्रा क्वाटरफाइनलमै रोकिएको हो । स्वर्ण पदकको बलियो प्रत्यासी भारत भने यस जितपछि सेमिफाइनल प्रवेश गर्न सफल भएको छ ।

झेजिङ युनिर्भसिटी कलेज अफ टेक्नोलोजी फिल्डमा भारतले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७९ रन बनायो । नेपालका दीपेन्द्रसिंह ऐरीले १५ बलमा ४ छक्कासहित सर्वाधिक ३२ रनको योगदान दिए । यस्तै, सन्दीप जोरा १२ बलमा १ चौका र ३ छक्कासहित २९ रनमा आउट भए ।

कुशल मल्लले २२ बलमा २९ रन जोड्दा कुशल भुर्तेलले ३२ बलमा ४ चौका र १ छक्कासहित २८ रन जोडे । करण केसी १३ बलमा १ चौका र २ छक्कासहित १८ रनमा नटआउट रहे । भारतका लागि रवि विश्रोई र आवेश खानले ले ३–३, अर्शदीप सिंहले २ तथा शाई किशोरले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०२ रन जोडेको थियो । भारतका यसस्वी जैसवालले शतकीय इनिङ्स खेले । उनले ४९ बलमा १०० रन जोडे । टी २० क्रिकेटमा उनी कम उमेरमा शतक प्रहार गर्ने खेलाडीको रेकर्ड बनाउन सफल भए ।  यस्तै, रुतुराज गायकवाडले २५ रन बनाए भने रिंकु सिंहले १५ बलमा ३७ रन बनाए । नेपालका दीपेन्द्रसिंह ऐरीले दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एक–एक विकेट लिए ।

नेपाल र भारतबीच अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी खेल भएको यो पहिलोपटक हो । त्यस अगाडि एसियाकपमा क्रममा नेपाल र भारत वान डे क्रिकेटमा भिडेका थिए ।

रोहित शर्माको कप्तानीमा रहेको भारतको सिनियर टोली वान डे विश्वकप खेल्ने तयारीमा रहेकोले भारतले आईपीएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरुलाई एसियाडमा पठाएको थियो । भारतले अब बुधबार हुने बंगलादेश र मलेसियाबीचको विजेतासँग शुक्रबार सेमिफाइनल खेल्नेछ ।

भारतसित हारेपछि रोहित र मोन्टीले भने : १०-१५ रन बढी दियौं

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल र मुख्य प्रशिक्षक मोन्टी देसाईले भारतलाई केही रन बढी दिएका कारण खेल हार्न पुगेको बताएका छन् ।

एसियाडको क्रिकेटमा भारतसँग २३ रनले पराजित भएपछि नेपालका मुख्य प्रशिक्षक देसाईले नेपालले १०-१५ रन बढी दिएको बताए । ‘हामीले १०-१५ रन बढी दियौं । फिल्डिङ अलिक राम्रो गरेको भए के थाहा हामीले १९०-१९५ रन चेज गर्न सक्थ्यौं कि?’ खेलपछि मोन्टीले पत्रकारसँग भने ।

भारतले सानदार सुरुवात गरेपनि १० देखि १५औं ओभरसम्म नेपालले कसिलो बलिङ गरेको थियो । त्यो ५ ओभरमा नेपालले ३४ रन मात्र दिएको थियो । १५ ओभरमा १३८ रन बनाएको भारतले अन्तिम ५ ओभरमा भने ६४ रन जोड्यो ।

भारतीय टिममा आईपीएल खेलेका खेलाडीहरु रहेकोले त्यति रन बन्नु स्वभाविक भएको प्रशिक्षक मोन्टीले बताए ।

‘हामीले अझ राम्रो गर्न सक्थ्यौं । टी२० खेल हो जे पनि हुन सक्छ । १५ रन जति बढी भयो’, कप्तान रोहितले भने । रोहितले पनि फिल्डिङमा नेपालले आफ्नो स्तर अनुसार खेल्न नसकेको बताए ।

भारत विरुद्ध नेपालका लागि दीपेन्द्रले अलराउण्ड प्रदर्शन गरे । बलिङमा नेपालबाट सर्वधिक २ विकेट लिएका उनी नेपालका लागि सर्वाधिक रन बनाउनेमा समेत अगाडि रहे ।

प्रशिक्षक मोन्टी र कप्तान रोहिले दीपेन्द्रको तारिफ गर्दै टी-२० विश्वकप क्वालिफायरअघि लयमा आउनु नेपालको लागि सकरात्मक रहेको बताए । ‘उ (दीपेन्द्र) टी-२० स्पेशलिस्ट हो,’ मोन्टीले सटिक जवाफ दिए ।

‘क्वालिफायरअघि दीप्पी दाइ लयमा आउनु नेपालको लागि धेरै सकरात्मक हो’, कप्तान रोहितले भने ।

प्रशिक्षक मोन्टीले एसियाडको यात्रामा नेपालले क्रिकेटको ब्रान्ड देखाएको र गर्व लागेको बताए । ‘हामी यो यात्राबाट प्राउड छौं, हामीले इनभेस्ट गरेका छौं,’ उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds