टेसा पोखराको अध्यक्षमा प्रमोद

टेसा पोखराको अध्यक्षमा प्रमोद

20230909_171249

पोखरा । ट्रेकिङ सामग्री विक्रेताहरुको छाता संस्था ट्रेकिङ इक्युपमेन्ट सप एशोसिएसन (टेसा)पोखराको अध्यक्षमा प्रमोद भण्डारी निर्वाचित भएका छन् । शनिबार माछापुच्छ्रे गाउँपालिका-९ सैंतीघट्टमा भएको २५ औं वार्षिक साधारण सभा तथा १४ औं अधिवेशनले भण्डारीको नेतृत्वमा १० सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

दुई वर्षे कार्यकालका लागि प्रथम उपाध्यक्षमा टीकाबहादुर लम्साल, द्वितीय उपाध्यक्षमा दामोदर बराल, सचिवमा महेन्द्र जिसी, सहसचिवमा टीका लम्साल र कोषाध्यक्षमा रमेशराज अधिकारी निर्वाचित भएका छन् । सदस्यमा रामजीप्रसाद अधिकारी, केशवराज बास्तोला, मिलन सापकोटा, बुद्धिबहादुर बस्नेत निर्वाचित भएको निवर्तमान अध्यक्ष नारायण सापकोटाले जानकारी दिए ।

नवनिर्वाचित अध्यक्ष भण्डारीले गुणस्तरीय ट्रेकिङ सामग्री बिक्री गर्नेहरुको संस्था बनाउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । उनले आर्थिक गतिविधिमा पार्दर्शी हुने र प्रश्न उठ्ने ठाउँ नराख्ने दाबी गरे ।

माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले सडकको विस्तारले पदमार्ग पर्यटन खस्कँदै गएको र व्यवसायी पलायन हुने अवस्था पैदा भएको बताए । उनले धेरै पर्यटक आउने कास्की, म्याग्दी, लमजुङ, मनाङ, मुस्ताङका पदमार्ग रुटमा उठ्ने शुल्क आफूहरुलाई नदिएर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले कब्जा गरेको भन्दै आक्रोश पोखे ।

टेसाका पूर्वाध्यक्ष अग्नि कँडेलले अन्तर्राष्ट्रिय ब्राण्ड बेच्नेभन्दा पनि नेपाली उत्पादनमा जोड दिने र अन्तर्राष्ट्रिय बजारमा पुर्याउनुपर्ने बताए । `अन्तर्राष्ट्रिय ब्रान्ड बेचिरहे पनि धेरै कर तिर्नुपर्ने भएकाले त्यो बिक्री गर्न सक्ने अवस्था छैन । कर बढ्दा अहिलेकै मूल्यमा बेच्न सकिँदैन,´ उनले थपे, `आफ्नो नेपाली उत्पादन गरेर, निर्यात गर्न सक्ने किसिमको वातावरण सरकारले सिर्जना गर्नुपर्छ ।´

मुग्लिङ-पोखरा सडकको दुरावस्थाले पर्यटकको संख्या घटेको तर सरकार र ठेकेदारलाई पर्यटन व्यवसायीले दबाब दिन नसकेको उनले बताए । चाडपर्व नजिकिँदा र आन्तरिक पर्यटकको संख्या बढ्ने समयमा पनि सडक निर्माणको काम छिटो सकिनुपर्नेमा उनले जोड दिए । `पोखरा आउने बाटो निर्माणको अवस्थामा छ । अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन तर हामी पनि प्रेसर दिन सकेका छैनौं,´ उनले थपे, `यहाँका विकृती सुधार गर्न विगतमा हामीले जे गर्‍याैं अहिले त्यस्तो हुन सकेको छैन । सडकले गर्दा आन्तरिक पर्यटक पनि आउने अवस्था छैन ।´

पोखरा पर्यटन परिषद्का प्रथम उपाध्यक्ष कृष्णप्रसाद भट्टराईले विश्वकै अग्लो शिखर सगरमाथाको देशमा वार्षिक २० लाख पर्यटक भित्र्याउन नसक्नु दु:खद भएको सुनाए । पर्यटकको संख्या बढाउने विषयमा पर्यटन व्यवसायी एकजुट हुनुपर्ने र सरकारलाई व्यवसायीमैत्री नीति बनाउन दबाब दिइनुपर्ने बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds