केही दिनयता देशका विभिन्न ठाउँमा आँखा पाक्ने रोग फैलिरहेको छ । चिकित्सकीय भाषामा आँखा पाक्ने रोगलाई ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पनि भनिन्छ ।
गण्डकी प्रदेशमा पनि आँखा पाक्ने समस्या विकराल रुपमा फैलिएको छ । विशेषत विद्यार्थीमा धेरै संक्रमण फैलिएपछि तनहुँमा त विद्यालय नै बन्द भएका छन् । पाेखरामा पनि ३ दिन बन्द गरिँदैछ । अस्पतालमा समेत बिरामीको चाप बढेको छ ।
गण्डकी प्रदेशकै एकमात्र आँखा रोगको विशेषज्ञ अस्पताल हिमालय आँखा अस्पतालमा गएको मंगलबारदेखि आइतबारसम्म मात्रै १ हजार ५७३ जना बिरामी आँखा पाक्ने रोग लिएर उपचार गराउन आएको अस्पतालकी मेडिकल निर्देशक डा. इलिया श्रेष्ठले जानकारी दिइन् । त्यसमा पनि अधिकांश ९१८ जना बालबालिका छन् ।
हिमालय आँखा अस्पतालका अनुसार यसअघि आँखा पाक्ने बिरामी दैनिक करिब ३० जना हुन्थे । तर पछिल्लो समय बिरामीको चाप अत्यधिक बढेको छ ।
‘अहिले देशभर नै आँखा पाक्ने रोग फैलिरहेको छ’ श्रेष्ठले भनिन्, ‘पछिल्लो एकहप्तामा पोखरामा १ हजार ५ सय ७३ जनाले आँखा पाक्ने रोगको उपचार गराएका छन् । यसले प्रकोप फैलिएको देखिएको छ । ‘खासै जटिल रोग नभएपनि एक हप्ता गाह्रो बनाउँछ, उनले भनिन्, ‘यसले ज्योति नै गुम्छ भन्ने हुँदैन । यो निको हुन कम्तिमा १ हप्तादेखि २, ३ हप्तासम्म समय लाग्छ ।’
हरेक बर्खायाममा पानी परेर रोकिएपछि आँखा पाक्ने समस्या देखिन्छ । कन्जन्टिभाइटिस रोगले आँखाको झिल्लीजस्तो तहमा असर गर्छ । यसका कारण भने धेरै छ, तीमध्ये प्रमुख कारण हो इन्फेक्सन ।
कस्ता लक्षण देखिन्छन् ?
यो रोगको मुख्य लक्षण आँखामा चिप्रा लाग्ने, आँखा सुन्निने, चिलाउने, पोल्ने र रातो हुने आदि हुन् । ‘यो रोग एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्छ । यसले दीर्घकालीन असर भने गर्दैन । तर, कसैमा संक्रमण फैलिएर आँखाको नानीमा जान सक्छ । आँखाको नानीमा संक्रमण भएमा घाउ हुने सम्भावना हुन्छ ।
आँखाको नानीमा असर गर्दा घाम तथा उज्यालो प्रकाशमा हेर्न धेरै नै गाह्रो हुन्छ । आँखाको नानीमा दाग तथा फुलो बस्ने समस्या पनि रहन सक्छ । चिकित्सकका अनुसार समयमै उपचार गरे यो रोग सजिलै निको हुन्छ । आँखा पाक्ने रोग देखिएपछि एक देखि दुई हप्तामा आफैं कम हुँदै जान्छ । कसै–कसैमा लामो समयसम्म पनि रहन सक्छ ।
बिहान उठ्दा आँखाका परेला टाँसिन सक्छ र, अरु बेला भन्दा अलि धेरै कचेरा वा चिप्रा लाग्ने समस्या पनि हुन्छ । कचेरा वा चिप्राचाहिँ कसैकसैमा एकदम तरल पानीजस्तो हुन्छ भने कसैकसैमा पिपजस्तो पहेँलो पनि हुन्छ । कसैकसैमा चाहिँ रेशाजस्तो तन्किने खालको पनि हुनसक्छ । यो कुन खालको हुन्छ भन्नेचाहिँ कुन कारणले गर्दाखेरि आँखा पाकेको हो त्यसले फरक पार्छ ।
आँखा पाक्ने समस्या वर्षातको समयमा बढी देखिन्छ । ‘पानी पर्ने र रोकिने भइरहेका बेला हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको हुन्छ । यस्तो बेलामा भाइरस बढी संक्रामक हुनजान्छ ।
कसलाई बढी जोखिम ?
चिकित्सकका अनुसार आँखा पाक्ने समस्या जोसुकैलाई देखिन सक्छ । किनकी, एडिनो भाइरस बढी संक्रामक हुन्छ र एक व्यक्तिबाट अर्कोमा सजिलैसँग सर्न सक्छ ।
विद्यालय, कलेज लगायत धेरै भिडभाड हुने ठाउँहरुमा यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्छ । सजिलै सर्ने भएकाले यसले घरको सबै सदस्यलाई संक्रमित पनि गराउन सक्छ । तर आँखा पाकेको मानिसमा हेर्दैमा रोग सर्दैन । आँखा पाक्ने रोग आँसुबाट मात्रै सर्छ ।
कसरी बच्ने ?
चिकित्सकका अनुसार संक्रमण भएको व्यक्तिले आँखा छोएर टेबल, मेच, लुगा वा अन्य व्यक्तिलाई छुँदा संक्रमण फैलिन सक्छ । आँखा पाक्ने एउटै माध्यम भनेको आँसुबाट नै हो । त्यसकारण पाकेको आँखा छुन हुँदैन । छोइहाले पनि हातलाई साबुनपानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्नुपर्छ ।
आँखा पाक्ने रोग लागेमा नजिकको आँखा उपचार केन्द्र वा अस्पतालमा जाँच गराउनुपर्छ । त्यसपछि चिकित्सक वा विशेषज्ञले दिएको औषधि मात्र आँखामा राख्नुपर्छ । त्यस्तै, रातो भएको आँखालाई बरफ वा आइसले सेकाउन पनि सकिन्छ ।
घरमा खानेपानीलाई बरफ बनाएर त्यसले आँखा सेकाउन पनि मिल्छ । एउटा आँखामा प्रयोग गरेको बरफ अर्कोमा प्रयोग गर्न भने हुँदैन ।
आँखा पाकेका मानिसले आँसु पुछ्दा ‘डिस्पोजेबल टिस्यु’ हरूको प्रयोग गर्नुपर्छ । चिकित्सकका अनुसार आँखा पाक्ने रोग लागेमा आँखा नमाड्न, पानी नछ्याप्न, जथाभावी औषधिको प्रयोग नगर्न, घरबाहिर जाँदा कालो चस्मा प्रयोग गर्न चिकित्सकहरु सुझाव दिन्छन् ।
सम्बन्धित खबर
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
फोनिज कास्कीको अध्यक्षमा बिनु थापा मगर
पोखरामा पुराना सवारीसाधनले लाइसेन्स ट्रायल दिनुपर्दा धेरै असफल भएपछि नयाँ व्यवस्था
अध्यादेशको विरोध गर्दै कास्कीका ३५ स्थायी शिक्षकले दिए सामूहिक राजीनामा
डा. निकोलस भुसाललाई ५० हजार धरौटीमा छाड्न कास्की अदालतको आदेश
कास्की हिरासतमा रविको तस्वीर खिच्ने निकोलस भुसाल फेरि पक्राउ
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी