‘घडी छिराउँदा कराउने डिटेक्टर क्वीन्टल सुन छिर्दा किन कराएन ?’

‘घडी छिराउँदा कराउने डिटेक्टर क्वीन्टल सुन छिर्दा किन कराएन ?’

rastriya sabha

काठमाडौं– संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभामा सांसदहरुले त्रिभुवन विमानस्थल र त्यहाँको भन्सार चेकजाँचका विषयमा प्रश्न उठाएका छन्। १ क्वीन्टल सुन नेपाल अवैध रुपमा भित्रिएको विषयले नेपालको एयरपोर्टको सुरक्षा जाँचका सम्बन्धमा समेत प्रश्न उठेको भनी सांसदहरुले सरकारको ध्यानाकर्षण गरेका छन् ।

विशेष समय लिएर बोल्दै सांसदहरुले एउटा घडी,फोन र पर्स बोक्दा कराउने विमानस्थलको डिटेक्टर किलोका किलो सुन आउँदा किन कराएन भनी प्रश्न गरेका छन्।

सत्ता पक्ष र प्रतिपक्ष दुवैका सांसदहरुले मंगलबार बरामद भएको एक सय किलो सुन तस्करीमा कर्मचारीको संलग्नता र सेटिङका साथै उच्च राजनीतिक तहको पनि संलग्ननतामाथि पनि अनुसन्धान हुनुपर्ने माग गरे।

नेपाली काँग्रेसका सांसद रमेशजंग रायमाझीले एकपछि अर्को सुन प्रकरण आइरहेको भन्दै यसमा गम्भीरतापूर्वक राज्यले छानबिन गर्नुपर्ने माग गरे। उनले चार्ल्स शोभराजले त्रिभुवन विमानस्थलबाट हात्ती छिराइदिन सक्ने भनी कुनै बेला दिएको अभिव्यक्तिलाई बिर्साउनेगरी विमानस्थलबाट एक सय किलो सुन अवैध रुपमा भित्रिएको भन्दै भन्सार जाँच पासमा संलग्नदेखि सबैमाथि अनुसन्धान गर्न माग गरे।

नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलका नेतासमेत रहेका रायमाझी यसरी विमानस्थलवाट ठूलो मात्रामा सुन भित्रिँदा नेपालको छवि पनि अन्तर्राष्ट्रियस्तरमा धुमिल भएको दाबी गरे। उनले विमानस्थलवाट एक पटक नभई पटक–पटक भएको कुरा आएको भन्दै यसरी प्रवेश गर्दा विमानस्थलमा राखिएको एक्स रे र डिटेक्टर किन कराएन भनी प्रश्न गरे।

भन्सारका कर्मचारीहरुको भूमिमा शंकास्पद रहेको उनको आरोप थियो। ‘यत्रो सुन भन्सारबाट बाहिर जाँचपास भएर निस्कदा त्यहाँको पुलिस र अन्य कर्मचारी के गरिरहेका थिए?’, उनले भने, ‘लाज हुन्छ कि हुँदैन? भन्सारको मिलेमतो बिना यस्तो हुन्छ?’

त्यस्तै, सांसद गोपाल भट्टराईले मंगलबार बरामद भएको सुनमा धेरै शंकास्पद अवस्थाहरु देखिएको दाबी गरे। उनले शून्य समयमा बोल्दै उनले ठूला राजनीतिक व्यक्तिहरुलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने छ। भट्टराईले एक क्वीन्टल सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठकै पनि संलग्नता हुनसक्ने आरोप लगाए।

उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वसभामुख कृष्णबहादुर महराको नामसमेत सो प्रकरणमा मुछिएको समाचार आएको भन्दै छानबिनको माग गरे। उनले सुन तस्करहरुले राज्य सञ्चालनमै हस्तक्षेप गरिरहेको आभास भइरहेकोसमेत बताए।

उनले यो एक/डेढ महिना यही प्रक्रियाबाट लगातार सुन भित्रिरहेको भन्दै छानबिनका लागि तत्परता देखाउन माग गरे। सांसद भट्टराईले जनताको ध्यान एकातिर मोडेर मुलुकमा सुन तस्करी गर्ने क्रम बढिरहेको जिकिर गर्दै त्यसलाई नियन्त्रण गर्न सरकार गम्भीर नभएको बताए।

जसपाका सांसद मोहम्मद खालिदले पनि यो प्रकरणमा छानबिन हुनुपर्ने माग गरे। उनले भन्सारका कर्मचारीसँगको सेटिङबिना यत्रो परिणाममा सुन भित्र्याउन नसकिने भन्दै यसमा राजनीतिक तहको पनि संलग्नता हुनसक्ने दाबी गरे।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds