स्याङ्जा । शाह वंशको कूल मन्दिरका रूपमा परिचित ‘आलमदेवी’ मन्दिर महिलाका लागि पनि खुला गरिएको छ ।
कुनै समय महिलालाई प्रवेश निषेध थियो । महिलालाई मन्दिर प्रवेशमा रोक लगाउन व्यक्ति नै खटाइएका हुन्थे । अहिले भने मन्दिर महिलाका लागि समेत खुला गरिएको हो ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ स्थित आलमदेवी मन्दिर शाह वंशको कूलदेवता र कूल मन्दिरका रूपमा चर्चित छ । आलमदेवी मन्दिर १३५० सालमा स्थापना भएको हो । यो मन्दिरको शक्तिपीठमध्ये बेग्लै पहिचान र धार्मिक विशेषता छ । मन्दिरमा ठकुरी महिलालाई प्रवेश खुला गरिएको थियो । उनीहरूलाई मन्दिरभित्र पसेर पूजा, दर्शन तथा भेटी चढाउन छुट थियो । तर ठकुरीबाहेकका महिलालाई मन्दिर प्रवेशमा निषेध गरिएको थियो । मन्दिर प्रवेश गर्न रोक लगाइएका कारण अन्य महिला बाहिरबाटै दर्शन एवं पूजा गर्दै आएका थिए । उनीहरूले ल्याएको भेटी मन्दिरका पुजारीलाई अथवा आफूसँग आएका पुरुषलाई भित्र चढाउन दिने चलन थियो ।
आलमदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रित थापाले पहिला–पहिला एक जना राखेर ठकुरीबाहेकका महिलालाई मन्दिर प्रवेशमा रोक लगाउने गरिएको बताए। “हिजोआज सबै महिलाका लागि मन्दिर खुला गरिएको छ”, उनले भने, “ठकुरीबाहेकका महिला मन्दिरमा प्रवेश गर्दा अनिष्ट हुन्छ भन्ने सुनिन्थ्यो, हिजोआज बाहिरबाट आएका महिला सहजै भित्र पस्छन्, पहिलाको चलनबारे थाहा पाएका महिला अझै पनि मन्दिर छिर्दैनन् ।”
अध्यक्ष थापाका अनुसार मन्दिरको सुरुआतदेखि नै चुडाकर्म गरेका रानामगर पुजारी छन् । यहाँ दशैँको नवमीका दिन डेढ घन्टा लामो यज्ञ र नवदुर्गाका विशेष पूजासहित सरकारी पञ्चबलि चढाउने चलन छ । “आलमदेवीमा राँगो, बाख्राको पाठो, कुखुरा, परेवा र भेडालाई बलि चढाइन्छ, भेडा नभए कुभिण्डो प्रयोग गरिन्छ”, उनले भने ।
कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले शाह वंशीय राजाले छाडिदिएको राँगोलाई स्थानीयले बलि चढाउने इतिहास रहेको बताए । “पछिल्लो समय राँगो छाड्ने परम्परा हटेको छ”, उनले भने, “गुठी संस्थानको रु ८४ हजार बजेटमार्फत मन्दिरको व्यवस्थापन हुँदै आएको छ ।” आलमदेवी मन्दिरमा तीन सय ६५ दिन नै पूजा हुने गरेको छ । यहाँ एकादशी, औँसी, साउन १ गतेदेखि नागपञ्चमी र सोह्रश्राद्धमा बाहेकका दिन बलि चढाउने गरिएको छ ।
सम्बन्धित खबर
भूकम्पसम्बन्धी सचेतना फैलाउन पोखरामा नास्टको ‘भूकम्प सिकाइ प्रदर्शनी’
आवासीय चिकित्सकको आन्दोलन : शुक्रबार देशभर ओपीडी बन्द
कालीगण्डकी तिनाउ डाइभर्सनबारे पोखरा-नवलपुर सम्पर्क समाजद्वारा नवलपुरका जनप्रतिनिधिसँग अन्तर्क्रिया
बैशाख १२ः बिर्सन नसकेको भूकम्प
स्याङ्जामा अवैध सामान बरामद, तीनजना पक्राउ
भारतले पानी नदिँदा गण्डक जलविद्युत्को बिद्युत उत्पादन बन्द
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध