[म्याच प्रिभ्यु] ब्राजिल Vs बेल्जियम @११ः४५

[म्याच प्रिभ्यु] ब्राजिल Vs बेल्जियम @११ः४५

Neymar_Lukaku_SCaZ755Rvj

फिफा विश्वकपको क्वार्टरफाइनलका दोस्रो खेलमा आज राति ११ः४५ बजे पाँचपटकको विश्वविजेता ब्राजिल र बेल्जियम आमनेसामने हुँदै छन् ।

प्रिक्वार्टरफाइनलमा मेक्सिकोलाई २–० ले पराजित गरेको ब्राजिले उच्च मनोबलका साथ उपस्थिति जनाउँदै छ । बेल्जियमले जापानविरुद्धको अन्तिम १६ को खेलमा २–० ले पछि परेको स्थितिलाई उल्ट्याउँदै ३–२ को जित निकालेको थियो । नसिर चाड्लीले अन्तिम मिनेटमा गरेको गोलले बेल्जियम क्वार्टरफाइनलमा पुगेको हो ।

ब्राजिलको टिममा पछिल्लो समय फर्ममा रहेका नेमारका साथै मार्सेलो, फिलिप काउटिन्हो, गाब्रियल जेसस, पाउलिन्हो, विलियन, थियागो सिल्भालगायका विश्वस्तरीय खेलाडी छन् । ब्राजिलका डिफेन्सिभ मिडफिल्डर कासिमिरो भने आजको खेलमा मैदानमा हुने छैनन् । उनले दुई पहेंलो कार्ड पाएका कारण आजको खेल गुमाउँदै छन् ।

पाँचपटकको विजेता ब्राजिल छैटौंपटक विश्वकप जित्ने ध्याउन्नमा छ । ब्राजिल सन् १९९० पछि लगातार क्वार्टरफाइनल पुग्न सफल टोली हो । अघिल्लो खेलमा एक गोल र अर्को गोलका लागि पास दिएका नेमार फर्ममा रहेको पुष्टि गर्छ । तर नेमारमाथि मैदानमा अस्वाभाविक लडेर नाटक गर्ने गरेको आरोप छ ।

त्यस्तै, रामेलु लुकाकु, हाजार्ड, केभिन डी ब्रुयेन, भिन्सेन्ट कोम्पानी, ड्राइज मार्टिन, थोमसजस्ता खेलाडी रहेको ‘डार्क हर्स’ बेल्जियम पनि उच्च मनोबलका साथ तयारीमा जुटेको छ ।

सन् १९८६ मा चौथो भएको बेल्जियमले त्यसअघि समूह चरण पार गर्न सकेको थिएन । गत विश्वकपमा बेल्जियम क्वार्टरफाइनलमा पराजित भएको थियो ।

बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले शुक्रबार हुने ब्राजिलविरुद्धको क्वार्टरफाइनल खेलमा ‘पावर गेम’को आवश्यकता पर्ने स्वीकार गरेका छन् ।

छैटौँ तारा थप्ने र पहिलो तारा छाप्ने योजना

 पाँच पटकको विश्वविजेता ब्राजिल जर्सीमा अर्को अर्थात छैटौं तारा थप्ने ध्याउन्नमा छ भने बेल्जियम पहिलो तारा अंकित गर्ने योजनामा ।

दुवै टिम क्लब फुटबलका हस्तीहरुले भरिएका छन् । यद्यपी, ब्राजिल मुख्यगरि नेइमारको प्रेरणामा छ भने चेल्सीका प्लेमेकर इडेन हाजार्डले बेल्जियमको नेतृत्व गर्नेछन् ।

ब्रजिलसँग नेइमार मात्र होइन गाव्रियल जेसस, फिलिप कोटिन्हो, पाउलिन्हो, विलियन, मार्सेलो, थियागो सिल्भा लगायका विश्वस्तरीय खेलाडीको पल्टनै छ । बेल्जियममा हाजार्डसँगै रोमेलु लुकाकु, मराउन फेलानी, केभिन डि ब्रुयेन, भिन्सेन्ट कोम्पानी, ड्राइज मार्टिन, थोमस भर्मालिज जस्ता खेलाडीको ताँती छ । विश्लेषकहरु भन्छन् सन् १९८६ मा सेमिफाइनलसम्म पुगेको बेल्जियम यसपटक उपाधि जित्ने बलियो सम्भावना बोकेर रसिया पुगेको हो । समूह चरणमा उसको प्रदर्शनले त्यो पुष्टि पनि गरेको छ ।

यो बेल्जियम फुटबलको गोल्डेन जेनेरेशन हो । र, यो सुनौलो पुस्ता बेल्जियमलाई पहिलो विश्वकप उपाधि दिलाउने अभियानमा छ । सन् १९८६ मा चौथो भएको बेल्जियम त्यसपछि क्वार्टरफाइनलबाट माथि जान सकेको छैन । जापानसँगको अन्तिम १६ को खेलमा २–० ले पछि परेको स्थितिलाई उल्टाउँदै ३–२ को जित निकालेको बेल्जियमले जुनबेला पनि खेलमा फर्किनसक्ने ल्याकत राख्छ । तर ब्राजिलको डिफेन्सको पर्खाल तोड्नु उसका लागि फलामै च्युरा चपाउनु सरह बन्नेछ ।

सन् १९९० यता कम्तिमा पनि विश्वकपको क्वार्टरफाइनलमा पुगेको ब्राजिलले समूह चरणमा नाम चलेका धेरै टिम घर फर्किदा पनि आफूलाई उपाधिको दावेदारका रुपमा पुष्टि गरिरहेको छ । प्रशिक्षक टिटेको रणनीतिले काम गरिरहेको र उनले टीमलाई उपाधि दिलाएरै फर्किने सम्भावना रहेको विश्लेषकहरु बताउँछन् ।
बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले ब्राजिलसँगको क्वार्टरफाइनल खेलमा ‘पावर गेम’को आवश्यकता पर्ने स्वीकार गरेका छन् । त्यसैले फेलानीलाई सुरुआती टोलीमा राख्ने सम्भावना छ ।

जापानसँग २–० ले पछि परेको स्थितिमा फेलानी र चाड्ली ६५औं मिनेटमा मैदान प्रवेश गरेपछि बेल्जियमको खेल सुधारिएको थियो । उनीहरुले ड्राइज मार्टिन्स र यान्निक कारास्कोलाई प्रतिस्थापन गरेका थिए । दुवै सब्सिच्युडले गोल गर्न सकेपछि मार्टिन्सको ‘प्लान बी’ सफल भएको थियो ।

‘एक प्रशिक्षकका रुपमा मसँग धेरै बिकल्पहरु छन्, र त्यसलाई कतिबेला प्रयोग गर्ने मलाई थाहा छ ।’ प्रशिक्षक मार्टिनेजले भने, ‘हामी बढी फिजिकल हुनुपर्नेछ । तथा, सोमबारकै मानसिकतामा खेल्यौं भने हामी जित्न सक्छौं । हाम्रा अगाडि ठूलो अवसर छ ।’ ब्राजिलसँगको खेल हाम्रा खेलाडीका लागि एउटा सपनाको खेल हो । उनले थपेका छन् ।

मेक्सिकोलाई हराउँदा ब्राजिलले कमाण्डिङ र रचनात्मक फुटबल पस्कँदै तुफानको रुपमा अघि बढेको विश्लेषण पनि भइरहेको छ । ब्राजिलका चम्किला तारा नेइमार लयमा रहेपनि अझै उनले आफ्नो भएजति क्षमताको उपयोग गर्न नसकिरहेका समर्थकको भनाई छ । संसारकै सबैभन्दा महंगा फुटबलर नेइमार रेफ्रीको निर्णयलाई प्रभाव पार्न मैदानमा अस्वाभाविक नाटक गर्ने गरेको कारण पनि आलोचनाको चुचुरोमा छन् । तर,ब्राजिलका अघिल्लो पुस्ताका एक सशक्त खेलाडी रिभाल्डोले आलोचनालाई एउटा कुनामा थन्क्याएर नेइमारले जस्तो खेलिरहेका छन् त्यस्तैलाई निरन्तरता दिन सुझाव दिएका छन् । किनकि नेइमारजस्तो रचनात्मक स्ट्राइकरलाई झेल्न बेल्जियमलाई पक्कै सहज हुनेछैन ।

रिभाल्डोले आफ्नो इन्स्टाग्राम पेजमा लेखेका छन्, ‘नेइमार, तिमी हमेसा जस्तो खेल्छौ त्यस्तै खेलिराख । अन्य देशबाट आएका नकारात्मक टिप्पणीको वास्ता नगर किनभने उनीहरु विश्वकपमा छैनन् ।’
‘यदि तिमीलाई ड्रिबलिङ गर्न मन लाग्यो त गर, यदि तिमीलाई फ्लिक गर्नुछ भने गर, तिमीले गोल गर्नुछ भने यस्तो गर्नैपर्छ । तर, तिमीलाई कसैले फल गरेर लडायो भने लड ।’ ‘यसअघिका खेलमा जस्तै माथि उठ्नु , र हमेशा फुटबलका साथ मजाक गर्ने बानी जारी राख्नु ।’

ब्राजिल आज डिफेन्सिभ मिडफिल्डर कासिमिरो बिना मैदानमा उत्रँदैछ । उनी दुई पहेँलो कार्डका कारण एक खेल गुमाउनेछन् । त्यस्तै चोटका कारण डग्लास कोष्टाको उपस्थितिमा पनि सन्देह छ ।

प्लेयर्स टू वाच

नेइमार, ब्राजिल
स्वभाविक रुपमा यदि नेइमारले राम्रो खेले भने अवश्य पनि ब्राजिलले राम्रो प्रदर्शन गर्नेछ । पेरिस सेन्ट जर्मेनका शशक्त स्ट्राइकर शानदार स्टार हुन् । मेक्सिकोबिरुद्धको खेलमा उनले आफ्नो लय सही तरिकाबाट पहिल्याएका थिए । निःसन्देह उनी ब्राजिललाई एक अर्को चरणमा पुर्याउनका लागि उत्सुक छन् र उनी बेल्जियमलाई ध्वस्त पार्ने क्षमता राख्छन् ।

केभिन डि ब्रुयेन, बेल्जियम
हुन त मार्टिनेजले ब्राजिलबिरुद्धको खेलमा ‘पावर गेम’को कुरा गरेका छन् । तर, यो पनि याद राख्नुपर्छ कि उनीसँग संसारकै सबैभन्दा निर्णायक मिडफिल्डर छन् । जापानबिरुद्धको सनसनीपूर्ण जितमा ब्रुयेनले डीपमा पुगेर खेलेका थिए जुन रणनीति सफल भएको थियो । कासिमेरो बाहिर रहेपछि ब्राजिलको सेन्ट्रल एरियाको कमजोरीको फाइदा ब्रुयेनले उठाउन सक्छन् ।

म्याच फ्याक्ट्स
– ब्राजिल लगातार सातौं विश्वकप क्वार्टरफाइनल खेल्दैछ । र, उनीहरु सन् २००६ मा फ्रान्स र २०१० मा नेदरल्याण्डसँग गरी २ पटकमात्र पराजित भएका छन् ।

– ब्राजिल पछिल्ला तीन विश्वकपमा युरोपेली टोलीबाट नकआउट भएको छ । सन् २००६ मा फ्रान्स, सन् २०१० मा नेदरल्याण्ड्स र सन् २०१४ मा जर्मनी ।

– रोवर्टो मार्टिनेजको प्रशिक्षणमा इडेन हाजार्ड बेल्जियमको पछिल्लो १८ खेलका १९ गोलमा प्रत्यक्ष सहभागी छन् । उनले १० गोल गरेका छन् भने ९ गोलका लागि अवसर सृजना गरेका छन् ।

उज्यालो अनलाइन डटकम, फरकधार डटकमबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ