नवनियुक्त मुख्यमन्त्री अधिकारीले पदभार लगत्तै गरे ५ निर्णय [तस्वीर/भिडियाे]

नवनियुक्त मुख्यमन्त्री अधिकारीले पदभार लगत्तै गरे ५ निर्णय [तस्वीर/भिडियाे]

Khagaraj Adhikari

नवनियुक्त गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले साेमबार नै पदभार सम्हालेका छन् । उनीसहित ३ मन्त्रीले शपथ ग्रहण लगत्तै शहीद पार्कमा पुगी माल्यार्पण गरी पदभार ग्रहण गरेका हुन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री अधिकारीसँगै माओवादी र राप्रपाबाट ३ जनालाई मन्त्री नियुक्त गरेका थिए । माओवादी केन्द्रका हरिबहादुर चुमान (तनहुँ), राप्रपाका पन्चराम गुरुङ (स्याङ्जा) र एमालेकी सीता सुन्दास (स्याङ्जा) मन्त्री बनेका हुन् । चुमान प्रदेशमा पुरानै मन्त्री भए पनि गुरुङ र सुन्दास नयाँ अनुहार हुन् ।

मुख्यमन्त्रीपछि तीन मन्त्रीहरुले पनि सपथ लिए । मन्त्रीहरुलाई कुनै मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन । उनीहरु सबै विना बिभागीय मन्त्री भएका हुन् ।

पदभार ग्रहणसँगै ५ निर्णय

मुख्यमन्त्री खगराज अधिकारीले पदभार ग्रहणसँगै ५ निर्णय गरेका छन् ।

अधिकारी नेतृत्वको गण्डकी प्रदेशको सोमबार साँझ नै मन्त्रिपरिषद् बैठक पनि बसेको छ । मन्त्रिपरिषद्को पहिलो बैठकले स्वास्थ्य सेवामा ध्यान दिंदै गण्डकी प्रदेशमा डाइलोसिस सेवा बिस्तार गर्ने पहिलो निर्णय गरेको छ।

बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता बिनाविभागीय मन्त्री सीता सुन्दासले डायलोसिस सेवा आवश्यक पर्ने बिरामीलाई प्रदेशमातहतका ११ जिल्लाका अस्पतालमा डायलोसिस सेवा बिस्तार गर्ने निर्णय भएको जानकारी दिइन् ।

अधिकारीले आज दिउँसो ३३ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । ६० सदस्यीय गण्डकी प्रदेश सभाका बहुमत सांसदको समर्थन पाएका अधिकारीलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आज दिउँसो मुख्यमन्त्री नियुक्त गरेका थिए ।

 

काे हुन् मुख्यमन्त्री अधिकारी ?

२०३२ सालमा नेकपा एमालेको सदस्यता लिएसँगै सक्रिय राजनीतिका रहेका खगराज अधिकारी लामो समय भूमिगत राजनीतिक जीवन बिताएका छन् । २०३६ सालमा विद्यार्थी आन्दोलनका अगुवाइ गरेका उनी २ पटकसम्म पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति बने । स्ववियु सभापतिलाई राजनीतिको टर्निङ प्वाइन्ट मान्छन् ।

नेपालीमा स्नातकोत्तर गरेका उनको जन्म २०१८ सालमा कास्कीको वेगनासमा भएको हो । पञ्चायतविरुद्धको आन्दोलनका अग्रमोर्चामा रहेर नेतृत्व गरेका अधिकारीले ५ वर्ष जेल जीवन बिताएका छन् । अधिकारी २०४६ सालमा नेकपा एमाले कास्कीको सचिव र २०५० देखी ५३ सम्म पार्टी अध्यक्षको जिम्मेवारीमा थिए ।

एमालेको आठौं महाधिवेशनबाट केन्द्रिय कमिटी सदस्य र पोलिटव्युरो सदस्य समेत बने । नवौं महाधिवेशनमा केन्द्रीय सदस्यमा १ मतले मात्रै पराजित उनी एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य बनेका थिए ।

तत्कालीन गण्डकी अन्चल कमिटीको सचिव हुँदै संयोजक बनेका अधिकारी पहिलोपटक २०५१ सालमा कांग्रेसका प्रभावशाली नेता तारानाथ रानाभाटलाई हराउँदै कास्की क्षेत्र १ बाट निर्वाचित भई प्रतिनिधिसभा सांसद बनेका थिए । त्यससमय तत्कालीन एमाले संसदीय दलका नेता रहेका मनमोहन अधिकारीले उनलाई संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी दिएका थिए । उनी २०५६ र २०६४ सालको निर्वाचनमा उम्मेदवार बने पनि पराजित भए ।

२०७१ सालमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको मन्त्रिपरिषद्मा स्वास्थ्यमन्त्री बनेका अधिकारीले नेपालमै पहिलोपटक स्वास्थ्य बिमा कार्यक्रम ल्याएका थिए । आफ्नो कार्यकालमा स्वास्थ्य मन्त्रालयको वेथिति चिर्न सफल बनेका उनी सफल स्वास्थ्यमन्त्रीको रुपमा परिचित छन् ।

नेपालको संविघान जारी भइसकेपछि २०७३ सालको प्रतिनिधि सभामा कास्की १ बाट करिब १४ हजार मतान्तरले निर्वाचित अधिकारी एमालेको संसदीय दलको प्रमुख सचेतक बनेका थिए ।

केपी ओली प्रधानमन्त्रीको पालामा उनी २ साताको लागिमा मात्र गृहमन्त्री नियुक्त भएका थिए । सादा राजनीतिक जीवन, कार्यकर्तामा अत्यन्तै सरल रुपमा प्रस्तुत हुने उनलाई कार्यकर्ताहरु विकासप्रेमी नेताको रुपमा लिने गर्दछन् ।

गएको ४ मंसिरको चुनावमा उनी कास्की क्षेत्र १(१) मा प्रदेशसभा सदस्यमा निर्वाचित हुँदै मुख्यमन्त्रीको बाटो खोलेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds