नेपाली कांग्रेस धादिङ-पोखरा सम्पर्क समितिको सभापतिमा पाण्डे

नेपाली कांग्रेस धादिङ-पोखरा सम्पर्क समितिको सभापतिमा पाण्डे

Kamal_Panday

पोखरा । नेपाली कांग्रेस धादिङ–पोखरा सम्पर्क समितिको सभापतिमा कमलबहादुर पाण्डे निर्वाचित भएका छन् । समितिको शनिबार सम्पन्न तेश्रो अधिवेशनबाट पाण्डे सर्वसम्मतरुपमा सभापतिमा निर्वाचित भएका हुन् ।

समितिको वरिष्ठ उपसभापतिमा माधव लम्साल, उपसभापतिमा देवराज अर्याल, किशोर भट्ट र सीता श्रेष्ठ रहेका छन् । यसैगरी सचिवमा श्याम इटनी, कोषाध्यक्षमा लालप्रसाद ढकाल सन्देश, सहसचिवमा लालकाजी श्रेष्ठ, शान्ता धरेल र राकेश श्रेष्ठ, सहकोषाध्यक्षमा कृष्णबहादुर शाह छन् ।

यस्तै, कार्यसमिति सदस्यमा केशव श्रेष्ठ, रामकृष्ण पाठक, कृष्णकुमार श्रेष्ठ, भूपेन्द्र सिलवाल, जानुका अधिकारी, गोविन्द पोखरेल, तपन गुरुङ, राजेन्द्र पाण्डे र दीपेश गुरुङ छन् ।

यसअघि, अधिवेशनकाे उद्घाटन गर्दै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुकको समुन्नति र समृद्धिप्रति सबैले समर्पण देखाउन आवश्यक रहेको बताएका छन् । शनिबार पोखरामा आयोजित नेपाली कांग्रेस धादिङ-पोखरा सम्पर्क समितिको तेश्रो अधिवेशन उद्घाटन गर्दै उपसभापति गुरुङले समुन्नति, मुलुक र जनताप्रतिको समर्पण अति आवश्यक रहेको स्पष्ट पारे ।

देशका राजनीतिज्ञहरु आर्थिक मोहबाट मुक्त हुन आवश्यक रहेको स्पष्ट पार्दै उनले मुलुकको रुपान्तरण खोज्ने र मुलुकलाई बदल्ने हो भने आर्थिक मोह त्याग गर्नैपर्नेमा जोड दिए ।

उनले भने, ‘नेताहरु एउटा कुराबाट टाढा रहनैपर्छ, त्यो भनेको राजनीति गर्ने नेताहरु आर्थिक मोहबाट धेरै टाढा रहनुपर्छ । मुलुकमा प्रजातन्त्र स्थापना भएको दशकौं वर्ष बितिसक्दा पनि, व्यवस्था परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन भएन, पात्र परिवर्तन भयो तर प्रवृत्ति परिवर्तन भएन भन्ने गुनासो छ ।’

‘हिजोका दिनमा शहीदहरुले मुलुकका लागि रगत बगाए । तर हामीले रगत बगाउन आवश्यक छैन, कम्तिमा पनि पसिना बगाउन आवश्यक छ । पसिना बगाउन नचाहे देश बन्दैन । राजनीतिमा मुलुकप्रतिको इमान्दारिता र जिम्मेवारिता संगसंगै हुन आवश्यक छ । तर नेपाली राजनीतिमा नैतिकताको खडेरी परेको छ ।’

देशको मुहार बदल्न आफू बदलिन आवश्यक रहेको भन्दै उनले जुन नेता आफू बदलिन सक्दैन, त्यो नेताले पार्टी र देश बदल्न नसक्ने ठोकुवा गरे ।

देशका पूर्व पदाधिकारीका नाममा राज्यबाट लिइने सुविधा छोड्नुपर्ने बताउँदै उनले नेतृत्वमा इमान्दरिता र जिम्मेवारिता अपरिहार्य भएको बताए । उनले नेपाली राजनीतिमा सहमति, सहकार्य र एकताको भावनालाई अझै बलियो बनाउँदै देखिएका बिकृति, बिसंगति अन्त्य गर्दै जानुपर्ने आवश्यकता औंल्याए । उनले चुनाव घोषणा भइसकेकाले चुनावको मितिभन्दा १५ दिन अघि नै गाउँ फर्किएर चुनावमा खटिन आग्रह गरे ।

नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले चुनाव नजिकिंंदै गएकाले गाउँ फर्किन र चुनावमा केन्द्रित हुन निर्देशन दिए । नेपाली कांग्रेस धादिङका पूर्वसभापति रमेश धमलाले मुलुकको समृद्धि कांग्रेसबाहेक अन्य पार्टीबाट आश गर्न नसकिने स्पष्ट पारे ।

नेपाली कांग्रेस धादिङका वरिष्ठ नेता हरि अधिकारीले देश र जनताको भविष्य नेपाली कांग्रेससंग जोडिएकाले आगामी निर्वाचन कांग्रेसले जित्नुको विकल्प नभएको बताए । नेपाली कांग्रेसका नेता वासु तिमिल्सिनाले मुलुकलाई सही दिशातर्फ डोहोर्याउने पार्टी नेपाली कांग्रेसमात्र भएको बताए ।

नेपाली कांग्रेस कास्कीका पार्टी सचिव भानु ढकालले धादिङवासीलाई पोखरामा एक्लो हुन नदिने स्पष्ट पारे । नेपाली कांग्रेस धादिङ–पोखरा सम्पर्क समितिका सल्लाहकार कृष्णकुमार श्रेष्ठले पार्टी संगठनलाई बलियो बनाउनका लागि आर्थिक पारदर्शिता, कार्यकताको उचित मूल्याङ्कन हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य राजन बुर्लाकोटी, क्षेत्रीय सभापतिद्वय कुमार बहादुर सिंखडा र राकेश धमला, धादिङ कांग्रेसका सचिव विकास श्रेष्ठ, कोषाध्यक्ष रामप्रसाद अधिकारी, ज्वालामुखी गाउँपालिकाका प्रमुख यामनाथ दनै, समितिका सल्लाहकार मोहन पण्डितलगायतले बोलेका थिए ।

नेपाली कांग्रेस धादिङ-पोखरा सम्पर्क समितिका सभापति लालप्रसाद पाठकको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ उपसभापति एवं कार्यक्रम संयोजक यादुप्रसाद ढकालले स्वागत र सचिव माधव लम्सालले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds