राष्ट्रपति भण्डारी पोखरामा, सुरक्षा व्यवस्था कडा

राष्ट्रपति भण्डारी पोखरामा, सुरक्षा व्यवस्था कडा

Rastrapati

अन्नपूर्ण केवलकार अवलोकन गर्दै राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा आएकी छन्। राष्ट्रपति भण्डारी बुद्ध एयरको उडानमार्फत मध्यान्ह पोखरा आएकी हुन्।

मङ्गलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन उनी पोखरा आइपुगेकी हुन्। पोखरा विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीलाई गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तथा उच्च पदस्थ सरकारी अधिकारीले स्वागत गरेका थिए।

उनी आज पोखराका कुनै पनि औपचारिक कार्यक्रममा सहभागी हुने कार्यक्रम थिएन । यद्यपी, अन्नपूर्ण केवलकार चढेर सराङकोट पुगी अवलोकन गरेकी छन् । मंगलबार भने विभिन्न तीन वटा कार्यक्रममा सहभागी हुनेछिन्।

राष्ट्रपति भण्डारी पोखराको विरौटास्थित होटल पोखरा ग्रान्डमा बसेकी छन्। उनी मङ्गलबार बिहान ८ः३० बजे पोखरास्थित विन्ध्यवासिनी मन्दिरको दर्शन गरी पूर्वान्ह ११ बजे विन्ध्यवासिनी मावि बाटुलेचौरको हिरक जयन्तीमा सहभागी हुने कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए। उनले विद्यालयको नवनिर्मित भवन पनि उद्घाटन गर्नेछिन्।

उनका अनुसार राष्ट्रपति मङ्गलबार नै दिउँसो तमुधीमा ट्रहोटे पर्वको कार्यक्रममा सहभागी बनी अपरान्ह ४ बजे काठमाडौँ फर्कने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीले आइतबार साँझ प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरेको नागरिकता विधेयक १५ बुँदे सुझावसहित आइतबार फिर्ता गरिदिएकी थिइन्। भण्डारीको उक्त कदमप्रति सत्तारुढ गठबन्धनका नेताहरुले आलोचना गरिरहेका छन् भने विपक्षी नेकपा एमालेले स्वागत गरेका छन् । केही बाहेक अधिकांश जनताले राष्ट्रपतिको कदमको वाहवाही गरेका छन् ।

नागरिकता विधेयक फिर्ता गरेको भोलिपल्टै राष्ट्रपति भण्डारीको पोखरा भ्रमणलाई महत्वका साथ हेरिएको छ। राष्ट्रपतिको पोखरा भ्रमणलाई लक्षित गरी उनको सुरक्षा व्यवस्था कडा बनाइएको छ।

राष्ट्रपतिको पोखरा सवारीको २४ घण्टा अघि देखिनै कास्की जिल्लाको सुरक्षा व्यवस्था थप मजबुत पारिएको कास्की प्रहरी प्रमुख, एसपी अजय केसीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds