पोखरा स्पोर्टस् लाइफ टाइम अचिभमेन्ट अवार्ड २०७४: प्रा. डा.वीरेन्द्र सिंह गुरुङ (भिडियो सहित)

पोखरा स्पोर्टस् लाइफ टाइम अचिभमेन्ट अवार्ड २०७४: प्रा. डा.वीरेन्द्र सिंह गुरुङ (भिडियो सहित)

Birendra sing gurung

पल्टने परिवारमा भारतमा जन्म, प्राज्ञिक कर्मक्षेत्र तर नेपाली खेलकुदमा महत्वपूर्ण योगदान । खेल्नु भन्दा पनि पोखरामा खेल्ने माहौल बनाउन ठूलो योगदान छ, प्राध्यापक डाक्टर वीरेन्द्र सिंह गुरुङको ।

भारतिय सेनाका सुवेदार नत्थुराम गुरुङ र शुभद्रा गुरुङका माहिला छोराका रुपमा भारतको पन्जावमा विं सं. १९९७ चैत्र ५ गते गुरुङको जन्म भयो । सानै उमेर देखि पढाइमा अब्बल गुरुङले खेलमा समेत बिशेष रुची राख्दथे । बुबाको पल्टने जीवन संगै डाक्टर गुरुङकोे विद्यालय समेत धेरै परिवर्तन भए ।

अध्ययन संगै एथलेटिक्समा समेत उनको विशेष रुची थियो । सात कक्षा सम्मको अध्ययनको क्रममा गुरुङले प्रायः एथलेटिक्समा नै सहभागी भई विभिन्न पदक समेत प्राप्त गर्न सफल हुन्थो । विक्रम सम्वत् २०१५ मा मारवाडी हाइस्कुल रांचीबाट म्याट्रिक उत्तीर्ण पश्चात् नै उनी खेलप्रति झनै सौखिन भए । राँचीकै एक महाविद्यालयबाट २०२१ सालमा भुगोल विषयमा स्नातकोत्तर उत्तीर्ण गर्ने बेलासम्म टेनिस खेलमा पोख्त बनिसकेका थिए ।

राँचीको पागलखानामा रहेका अंग्रेज डाक्टरहरुकै कारण उनी टेनिस खेलमा जानकार बने । आफ्नो मामा समेत अंग्रेज डाक्टरको साथी भएकाले टेनिस खेलको बारेमा जान्न सजिलो भयो । पागल खानामा टेनिससँगै क्रिकेट समेत खेल्न थाले । रांचीमा बसोबास गर्ने आदिवासीहरुले खेल्ने हक्की खेललाई समेत नजिकबाट नियाल्ने मौका पाए ।

डिग्री सकिएपछि उनी २०२२ मा नेपाल फर्किए । लगत्तै काठमाण्डौको बालाजु स्थित बनस्थली वोर्डिङ स्कुलमा प्रध्यानाध्यापक भइ एक वर्ष अध्यापन गराए । त्यस पश्चात गुरुङले काठमाण्डौ त्रिभुवन विश्वविद्यालयका उपकुलपतिका पिए भई विक्रम् सम्वत् २०२४ देखि २०२६ सम्म काम गरे ।

त्रिभुवन विश्वविद्यालयमा राम्रो काम गरेका गुरुङ वि.सं. २०२७ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसमा सरुवा भई आए । गुरुङलाई त्रिलोक्य नाथ श्रेष्ठले पोखरा झिकाएका थिए । त्यसपछि सुरु भयो पोखराको खेलकुदमा डा. गुरुङको योगदान ।

टेनिस र क्रिकेट खेल गुरुङले आफूसँगै क्याम्पसमा भित्राए । पृथ्वीनारायण क्याम्पसका तत्कालिन प्रमुख डा. जर्ज जोनको उत्तिकै साथ र सहयोग रह्यो । पोखराको पुरानो टँुडिखेलमा तीन जनाले क्रिकेट खेलेको देखे तर उनीहरुमा प्राविधीक ज्ञानको कमी देखेपछि डा. गुरुङले उनीहरुलाई सो बारे जानकारी दिएर क्रिकेट सिकाएको डा. गुरुङको सम्झनामा ताजै छ । त्यसबेला क्रिकेट र टेनिसको लागि आवश्यक पर्ने सामाग्री जर्ज जोनको सहायतामा भारतको गोरखपुरबाट पोखरा भित्राउने गरिन्थ्यो ।

पोखराको पृथ्वीनारायण क्याम्पसमा जय कुमार नाथ साहको नेतृत्वमा क्रिकेट संघ नेपालको स्थापना हुँदा गुरुङ पनि सस्थापक सदस्य हुन् । त्यो वेला पोखरामा अशोक पालिखे, केशव श्रेष्ठ, विश्व पालिखे, किरण श्रेष्ठ, रन्जित गुरुङ, महेन्द्र सिंह थापा, डाक्टर गोमा गुरुङ सहितसँग टीम बनाइ टेनिस खेल्ने गरिन्थ्यो ।

गुरुङकै पहलमा पोखराले २०३१ सालमा हक्की खेल पनि पायो । पोखराको टोलीको आफै टीम क्याप्टेन भई पहिलो पटक चौथो राष्ट्रिय हक्की च्याम्पियनसिप हेटौडामा सहभागी भई दोश्रो स्थान हासिल गरेको क्षण उनको मानसपटलमा अझै गाढा छ । वीरगञ्ज भएको राष्ट्रिय हक्की च्याम्पियनसिपमा समेत टीम म्यानेजर भएर प्रतियोगितामा सहभागी भए ।

खेलकुद, अध्यापन संगै पोखरामा भुतपुर्व खेलाडी मंच गठनमा उनी उत्तिकै सक्रिय बने । तत्कालिन समयमा भुपु खेलाडी मंच गठन गरी पोखरा रंगशालामा पर्खाल लगाउन गुरुङको देन अतुलनीय छ । जसकै कारण अतिक्रमणको चपेटामा परेको पोखरा रंगशालाको जमिन २०६१ सालबाट अहिलेसम्म एक ईञ्च पनि मिचिन पाएको छैन । गौचरण बन्ने बाटो बन्द भयो । उनकै पहलमा पोखरा रंगशाला पर्खाल निर्माण समिति गठन गरी करोडौं संकलन गरी पर्खालले घेरियो भने रंगशालामा बोरिङबाट पानी निकाल्न समेत सफल भयो । राज्यले गर्नुपर्ने काम गुरुङको नेतृत्वमा सम्पन्न भई पोखरेली खेलकुदलाई ठूलो गुन लगाए ।

प्राध्यापक डाक्टर गुरुङकै विभिन्न टीममा रहेर नजिकबाट नियालीरहेका भुपु खेलाडी मञ्चका अध्यक्ष तेज बहादुर गुरुङले प्राज्ञिक क्षेत्रमा रहेर पनि खेल क्षेत्रमा अतुलनिय योगदान पु¥याएकोले राष्ट्रको अभिन्न अङ्गको रुपमा लिन पर्ने बताउछन् ।

प्राडा. वीरेन्द्र सिंह गुरुङ पोखरा रंगशाला स्थित पोखरा क्रिकेट मैदान निर्माण समितीको अध्यक्ष भएर यत्तिको मैदान निर्माण गर्न सफल भए । लिटिल स्टेप विद्यालयको ब्यवस्थापन समितीको अध्यक्ष, सगरमाथा निकेतन विद्यालय ब्यवस्थापन समितीको अध्यक्ष रहेर काम गरेको अनुभव गुरुङसंग छ । गुरुङले चीनको गोन्जाओमा सम्पन्न एसियन कप महिला क्रिकेट प्रतियोगितामा नेपाली महिला राष्ट्रिय टीमलाई लिएर सहभागीता समेत जनाएका छन् । अमेरिका, चीन, थाइल्याण्ड लगायतका राष्ट्रहरुको समेत भ्रमण गरिसकेका छन् ।

पृथ्वीनारायण क्याम्पसमा अध्यापनसंगै २०४० सालमा भुगोल विषयमा विद्यावारिधी पश्चात् वि स २०५६ देखि २०६० सम्म पृथ्वीनारायण क्याम्पसको प्रमुख भई काम गरे । उनी आफ्ना विद्यार्थी र खेलाडी दुवैका गुरुका रुपमा पूज्य छन् ।

खेलकुद, अध्ययापन संगै २०३३ सालमा रोल्पाका कौशल्या थापा मगरसंग गुरुङको अन्तरजातिय मागी विवाह भयो । हाल गुरुङ परिवारका दुई सुपुत्री उच्च शिक्षा संगै अमेरिका रहेका छन । गुरुङ आफ्नो जीवनको सफलताका श्रेय धर्मपत्नी कौशल्या थापा गुरुङलाई दिन्छन् । शैक्षिक क्षेत्रकी थापाले पनि लक्ष्मी आदर्श मावि शिशुवा लेखनाथ, विन्दबासिनी माबि बाटुलेचौर र कालिका मावि लगायतका विद्यालयहरुमा ३२ वर्ष लामो अध्ययापन सेवा गरिन् ।

पोखरा लेखनाथ १० सम्बृद्ध टोलमा आफ्नै निवासमा रिटायर्ड जिवन बिताइरहेका गुरुङ खेलकुदबाट टायर्ड छैनन् । ७८ वर्ष पुग्दै गर्दा समेत हरेक खेलकुद सम्बन्धी कार्यक्रममा उनी पुगेकै हुन्छन् । प्राध्यापक डाक्टर गुरुङको नजरमा जीवनको रक्षक खेल हो । उनी भन्छन् “खेलले शरिर स्वस्थ र तन्दुरुस्त राख्न महत्वपूर्ण योगदान दिन्छ, यसले जीवनको रक्षा गर्छ । त्यसैले खेल जीवन रक्षक हो ।”

प्रा.डा. वीरेन्द्र सिंह गुरुङ प्राज्ञिक क्षेत्रसँगै पोखरेली खेलकुदमा सुनौलो नाम हो । यहाँको अतुलनीय योगदानको कदर गर्दै समस्त खेल जगत्को तर्फबाट नेपाल खेलकुद पत्रकार मञ्च कास्की, यस तेस्रो टिभीएस अपाचे पोखरा स्पोर्टस् अवार्ड २०७४ को महत्वपूर्ण घडीमा यहाँको दीर्घ जीवनको कामनाका साथ अर्पण गर्दछ, पोखरा स्पोर्टस् लाइफ टाइम अचिभमेन्ट अवार्ड २०७४ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ