सम्झौता समयअगावै राङ्खोला – बिरुवा जोड्ने सडक कालोपत्रे

सम्झौता समयअगावै राङ्खोला – बिरुवा जोड्ने सडक कालोपत्रे

rangkhola-dhobadi sadak kalopatre

जिल्लाको पुतलीबजार नगरपालिका – १० राङ्खोला हुँदै बिरुवा गाउँपालिका जोड्ने सडक सम्झौता समयअगावै कालोपत्रे भएको छ । यहाँको राङ्खोलादेखि धोबादी सडकखण्डमा ६ किलोमिटर स्तरोन्नतिसहित प्रिमिक्स कालोपत्रे गर्ने काम सम्झौताको समयभन्दा चार महिनाअगावै गरिएको हो ।

बिरुवा गाउँपालिका जोड्ने यो मुख्य सडक २०८० भदौ १२ गते गणेशकुन्द इन्द्रयणी रक्तकन्या जेभी, काठमाडौंले २०८२ साउन २८ गतेसम्म काम सक्ने गरी पूर्वाधार विकास कार्यालय, स्याङ्जासंग सम्झौता गरेको थियो ।

स्तरोन्नतिसहित कालोपत्रेका लागि भ्याट र पिएससहित १९ करोड ९३ लाख ५३ हजार १०४ रुपैयाँ ८८ पैसामा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले ६ करोड नौ लाख ५९ हजार ३८८ रुपैयाँ ७३ पैसा भुक्तानी लिन बाँकी रहँदै काम सकेको हो ।

यो सडकखण्ड कालोपत्रे गर्नका लागि सम्झौताअनुरूप तीन हजार ८९१ घनमिटर मेसिनरी, दुई हजार ९६९.७५ घनमिटर प्लम्ब, तीन हजार १८० घनमिटर ग्याबिन, सबबेस, बेसको काम सकेर समयअगावै कालोपत्रे गर्ने काम सकेको निर्माण कम्पनीका ज्ञानराज घिमिरेले बताए ।

यो आर्थिक वर्षमा विनियोजन गरेको साढे पाँच करोड लिएको बताउँदै घिमिरेले काम सकेकाले प्रदेश सरकारले रकमान्तर गरेर पूर्वाधारमा पैसा पठाएमा यो आर्थिक वर्षमा भुक्तानी लिने र नभए आगामी आर्थिक वर्ष लिने बताए । काम थालेपछि समयमै सकेमा जनतालाई सहज हुने बताउँदै घिमिरेले आफूले थालेका काम सक्न कहिल्यै ढिलाइ नगरेको दाबी गरे ।

एउटा योजना जिम्मा लिएर सकेपछि मात्र अर्को काम आफूले थाल्ने गरेको बताउँदै घिमिरेले निर्माण कम्पनीले म्याद गुजारेर काम गर्न नहुने बताए ।

कालोपत्रे गर्ने क्रममा चैत ७ गतेदेखि १९ दिन सवारीसाधन आवागमनमा रोक लगाएर कालोपत्रे गरिएको थियो । यो सडक कालोपत्रे भएसँगै बिरुवा गाउँपालिका सदरमुकाम पुग्ने १७ किमी बाटो पुरै कालोपत्रे भएको हो ।

यो सडक सिद्धार्थ राजमार्गबाट बिरुवा गाउँपालिका पुग्ने छोटो, सहज र मुख्य सडक हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ