२० औं फेवा नव वर्ष महोत्सव सुरु

महोत्सव

२० औं फेवा नव वर्ष महोत्सव सुरु

fewa-fest-startsMainuse-it-scaled

पोखरा । होटल संघ पोखरा नेपालको आयोजनामा पोखरामा आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले २० औं फेवा नव वर्ष महोत्सव सुरु भएको छ । नयाँ वर्ष–२०८२ अवसरमा शनिबारदेखि सुरु महोत्सव १ वैशाखसम्म चल्नेछ ।

लेकसाइडको अम्बोटमा आयोजित समारोहमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महोत्सवको उद्घाटन गरे । उनले पोखरा नेचर, कल्चर एड्भेञ्चर तिनै हिसाबले उत्कृष्ट रहेको बताउँदै उनले यस्तो विशिष्टताको अनुभव गर्न सकिने बनाउने दायित्व पर्यटन व्यवसायीको भएको जनाए ।

पोखराको यातायात क्षेत्र आधुनिक र प्रविधिमैत्री बनाउने कार्य अगाडि बढिसकेको उनले जानकारी दिए । पोखरालाई पर्यटनको राजधानी घोषणा गरेपछि पर्यटनमा यसको प्रभाव सकारात्मक परेको बताउँदै उनले नयाँ विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान थपिंदै जाने विश्वास व्यक्त गरे ।

होटल संघ नेपाल अध्यक्ष विनायक शाहले पर्यटनबाट मात्र आर्थिक समृद्धि सम्भव रहेको बताए । उनले पोखरामा पर्यटनसम्बन्धी लगानी र ब्राण्डहरु थपिंदै गएको र यो सुखद पक्ष भएको सुनाए ।

होटल संघ नेपालका केन्द्रीय सदस्य एवं आयोजक संघको सल्लाहकार परिषद् संयोजक भरतराज पराजुलीले फेवातालको माथिल्लो भागमा माटो निकाली सानो ताल बनाएर त्यहाँ जल गतिविधि संचालन गर्न सकिने सुझाव दिए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र महिला सञ्जाल वडा ६ अध्यक्ष बबिता मल्लले पनि भनाइ राखेका थिए ।

यसअघि, खहरे र ड्यामसाइडबाट निकालिएका आमा समूहसहितका विशाल झाँकीसहितका ¥याली सभास्थलमा पुगेका थिए । एसके डान्स ट्रेनिङका कलाकारले सो अवसरमा नाच देखाए ।

निःशुल्क प्रवेशको व्यवस्था गरिएको महोत्सव तिनै दुई स्थलबीचको सडकमा संचालन हुनेछ । पञ्चैबाजा, भजन र रत्यौली जस्ता नेपाली मौलिक बाजा र नाच महोत्सवका आकर्षण हुन् । महोत्सवमा यसपटक भक्तपुरको विस्केट जात्रा विशेष आकर्षण छ ।

पर्यटन, संस्कृति र खाना फेवा महोत्सवका मुख्य आकर्षण रहेका छन् । महोत्सवका अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्दै छन् । अहिले पोखराका ८० प्रतिशत होटलको अकुपेन्सी ८० प्रतिशत नै पुगेको आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । महोत्सवले पोखराको आर्थिक क्षेत्र चलायमान बनाउन मद्दत पुग्ने उनले बताए । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने र नेपाली मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्य महोत्सवले लिएको उनले सुनाए ।

प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुति, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता महोत्सवका आकर्षण रहेका छन् । संस्थागत व्याडमिन्टन कप प्रतियोगिता यसपटकको नयाँ आकर्षणको रुपमा रहेको छ ।

स्थानीय एवं प्रख्यात कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, कृषि एवं हस्तकलाका सामानको प्रदर्शनी तथा स्थानीय तथा प्रख्यात कलाकारद्वारा लोकदोहोरी कार्यक्रम पनि महोत्सवमा प्रस्तुत हुनेछ ।

उद्घाटन कार्यक्रमको संचालन संघका महासचिव राजेन्द्र ढकालले गरेका थिए ।

३ दिनसम्म चल्ने महोत्सवको मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रालि हो । प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र पोखरा महानगरपालिका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ