के तपाईं लाङटाङ घुम्ने योजना बनाउँदै हुनुहुन्छ ? तर, कसरी जाने ? कहिले जाने ? कति खर्च लाग्ला ? भनेर अन्योलमा हुनुहुन्छ भने मेरो यो अनुभव उपयोगी बन्न सक्छ । गत कात्तिकमा लाङटाङ यात्रामा निक्लने अवसर मिल्यो । मसँगै मेरो दाइ अंकित पौडेल, सपना सापकोटा भाउजु र भाइ उदयराज काफ्ले थिए । आहा ! त्यो अविष्मरणीय अनुभव, साँच्चिकै मलाई प्रकृति बारे बुझ्ने मौका मिल्यो ।
रसुवा जिल्लाको लाङटाङ हिमाली जनजीवन र प्राकृतिक सम्पन्नताका लागि चर्चित छ । यहाँ मौसम सफा हुँदा लाङटाङ उपत्यकाबाट हिमालको राम्रो दृश्यावलोकन गर्न सकिन्छ । लिरुङ, दोर्जे लाक्पालगायत धेरै पिकको दृश्यावलोकन यहाँबाट गर्न सकिन्छ । रेड पान्डा, हिमाली कालो भालु र असंख्य चरा यस क्षेत्रका आकर्षण हुन् ।

पोखराबाट हाम्रो यात्रा एकाबिहानै सुरु भएको थियो । बिहान ४ बजे नै आँखा खुल्यो, भिसमिसेको अँध्यारोमै हामीहरु पोखराबाट बस चढ्यौं । चिसो बतासले ट्रेकिङको आभास गराइरहेको थियो । पोखराबाट गल्छी पुग्न करिब चार घण्टा लाग्यो । गल्छी पुग्दा बिहानको घाम छ्यांक परेको थियो । बिस्तारै वातावरणमा यात्रा सुरु गर्ने उत्साह थपिँदै गयो ।
गल्छीबाट हामी काठमाडौँबाट छुट्ने स्याफ्रुबेँसी जाने सार्वजनिक बस चढ्यौं । त्रिशूली र धुन्चे हुँदै स्याफ्रुबेंसी पुग्दा बाटो कहिले काँडा र कहिले कच्ची, तर रोमाञ्चक थियो । गाडीको झ्यालबाट देखिने हरियाली, खोला र पहाडको दृश्यले थकान कम गरिरह्यो ।
रसुवा जिल्लाको सदरमुकाम धुन्चे बजारमा रहेको लाङटाङ राष्ट्रिय निकुञ्ज प्रवेश बिन्दुमा हामीले प्रति व्यक्ति सय रुपैयाँ शुल्क तिरेर प्रवेश गरेका थियौं । स्याफ्रुबेँसीबाट सुरु भयो हाम्रो पैदल यात्रा । जंगलको सुरुङ जस्तो बाटो हुँदै हामी अघि बढ्यौं । कहिले बिर्कलिएका पाखा चढ्यौँ, कहिले खोला पार गर्यौं ।

पहिलो दिनः
हामी ब्याम्बोसम्म पुग्ने लक्ष्यसहित हिँड्यौं । जंगलको झ्यालबाट झुल्कँदै गरेको घामले बाटो उज्यालो पारिरहेको थियो । बाटो सजिलो भए पनि पहिलो दिनको यात्रा लामो भएकाले थकान महँशुस भयो ।
ब्याम्बोभन्दा एक घण्टा तलको पहिरो भन्ने ठाउँमा बास बस्यौं । टिनको छाना भएको सानो घरमा सुत्दा साँझ झ्यालबाट तारा देखिन्थ्यो, अनि खोला बगिरहेको आवाजले निदाउन सजिलो बनायो ।

दोस्रो दिनः
बिहानै ब्याम्बोको चिया पिएर फेरि उकालो लाग्यौं । रिम्चे हुँदै लामा होटलसम्म पुग्दा हामी थाकिसकेका थियौं, तर बाटोमा पाइला टेकेर अघि बढ्ने जोश भने घटेको थिएन ।
लामा होटलमा खाएको खाना सायद हामीलाई सबैभन्दा मिठो लाग्यो, किनभने त्यो थकाइको क्षणमा त्यो स्वादले फेरि ऊर्जा थप्यो । त्यसपछि हाम्रो यात्रा अझ रमाइलो बन्यो—घनाजंगल पन्छिएर विशाल चट्टाने पहाड, टाढाटाढा देखिने हिमशृंखला र आकाशसँगै खेल्ने गँगटा हाम्रो साथमा थिए ।
लाङटाङ गाउँ पुग्न करिब ६ घण्टा लाग्यो । त्यहाँ पुग्दा हिमाली बस्तीको वास्तविक अनुहार देख्न पाइन्थ्यो—तामाङ समुदायको जीवनशैली, उनीहरूको व्यवहार र सांस्कृतिक सरलता नजिकबाट अनुभव गर्न सकिन्थ्यो । ३४५० मिटर उचाइमा रहेको लाङटाङ गाउँमा हामीले रात बितायौं।

तेस्रो दिनः
लाङटाङ गाउँको बिहानी दृश्य अविस्मरणीय थियो । लाङटाङ २०७२ सालको भुकम्पले तहसनहस भएको खबर सुनेका थियौं । १० वर्षपछि पनि लाङटाङ मरुभूमि जस्तै छ । त्यो दृश्य देख्दा कस्को मन दुख्दैन र ! तर अहिले त्यहाँ भन्दा अल्ली पर बस्ती बसेको छ । त्यो बस्ती पुग्दा टुप्लुक्क घाम निस्किन लागेको, हिमालको चुचुरो सुनौला देखिन थालेका थिए । त्यो मेरो जीवनकै अविश्मरणीय क्षण थियो ।
हामी सबै साथी क्यान्जिङ गुम्बातर्फ लाग्यौं । बाटोभरि हामी तामाङ र शेर्पा समुदायका घर–दैलो, गुम्बा, प्रार्थनाका झण्डा र धार्मिक शिलालेखहरूको साथमा अघि बढ्यौं । क्यान्जिङ गुम्बा पुग्दा दिउँसोको २ बजेको थियो । त्यहाँ पुग्दा वातावरण एकाएक शान्त, पवित्र र आध्यात्मिक अनुभूत भयो । हिमालको काखमा बसेको यो गुम्बा केवल बौद्धस्थल मात्र होइन, यात्रुहरूको आत्मिक विश्रामस्थलजस्तै लाग्थ्यो।

चौथो दिनः
बिहानै हामी क्यान्जिङ री चढ्न निस्कियौं । अग्लो डाँडाबाट तल झुल्किरहेको गाउँ, माथि फैलिएको आकाश, अनि हाम्रो सास फेर्ने गति एकअर्कासँग भिड्दै थिए ।
करिब ३ घण्टा लाग्यो क्यान्जिङ री–२ पुग्न, जुन ४७०० मिटर उचाइमा छ । त्यहाँबाट देखिने हिमालको श्रृंखला, विशेषगरी लाङटाङ लिरुङ, सानो हिमताल र सूर्योदयको रंगले आँखामा भरिने सौन्दर्य दिलमा अमिट रहिरहने छ । फर्केर हामी लाङटाङ गाउँमै बास बस्यौं, यद्यपि धेरै यात्रुहरू समय अनुसार थाङ्श्यापसम्म पुग्ने गर्दछन्।

पाँचौं दिनः
हामी स्याफ्रुबेँसी झर्यौं। घोडा तबेला, लामा होटल, ब्याम्बो हुँदै तल झर्दा थकान पनि लाग्यो र फर्कंदै गरेको भावनाले मन अलिकति खाली पनि भयो ।
स्याफ्रुबेंसी पुग्दा साँझ भइसकेको थियो, त्यसैले नियमित बस भेटिएन । तर भाग्यले साथ दिँदा हामी जिपमा नुवाकोटसम्म आइपुग्यौं र त्यसपछि गल्छी हुँदै रात्रिबसबाट पोखरा फर्कियौं ।

यात्राभरी लाङटाङ खोला हाम्रो साथी बनिरह्यो—कहिले चिसो बतासको आवाजमा, कहिले ढुंगासँग ठोक्किने उसका लहरहरूमा । खोला, जंगल, हिमाल र मानिसहरूको आत्मियताले यो ट्रेकलाई केवल शारीरिक होइन, आत्मिक अनुभव बनाइदिएको थियो।

अब कुरा गरौँ खर्चको
पाँच दिनको यो ट्रेकिङ यात्रामा करिब १५ हजार रुपैयाँमा सजिलै यात्रा सम्पन्न गर्न सकिन्छ । दैनिक खाना ५००–६०० रुपैयाँ पर्ने भए पनि बाससहित प्याकेजमा १५००–२००० रुपैयाँ लाग्छ । स्याफ्रुबेँसीसम्मको यातायात, राष्ट्रिय निकुञ्ज शुल्क, पानी, नास्ता र अन्य सानातिना खर्च जोड्दा पनि यो ट्रेकिङ अन्यभन्दा किफायती मानिन्छ ।
तर, ट्रेकिङमा खर्च मात्र होइन, तयारी पनि उत्तिकै आवश्यक छ । ट्रेकिङ सुज, पञ्जा, चस्मा, क्याप, हलुका लुगा, बाक्लो ज्याकेट, पानीको बोतल, सनब्लक, औषधि, प्राथमिक उपचार सामग्री, जीवनजल, लट्ठी—यी सबै झोलामा हुनु अनिवार्य हुन्छ । मौसम परिवर्तन, उचाइको असर र जंगलको बाटोमा आइपुर्ने कठिनाइसँग जुध्न पक्कै तयारी अपनाउनुपर्छ ।
यो यात्रा मेरा लागि केवल पाँच दिनको ट्रेक मात्र थिएन । यो आत्मसात गर्ने प्रक्रिया थियो—जहाँ मैले प्रकृतिसँग बोल्न सिकें, मौनतालाई महसुस गरें र नेपाली पहाडका मान्छेहरूको सरलता बुझ्ने प्रयास गरें । लाङटाङले मलाई फेरि जीवनको गतिमा फर्कायो, शान्तिको स्पर्श गरायो।

सम्बन्धित खबर
४७ सय मिटर उचाइमा रहेको लाङटाङकाे क्यान्जिङ री पुग्दा…
संविधान संशोधन राजनीतिक एजेण्डा हो: रेखा शर्मा
त्याग, बलिदान र सहिद दिवसको महत्त्व
कहाँ हराएको छ हाम्रो खुसी ?
मगर समुदायको माघेसंक्रान्ति र पुतली नाँच: योमाखार र पेल्माखारसंग सम्बन्ध
‘मैले देखेको पोखरामा हाम्रो भूमिका’
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु