पोखरा । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ।
त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो। विष्णुको सातौँ अवतार मानिने उनको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो। कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो।
भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो।
वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मिएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गरेका थिए। धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम रामनवमी पर्व मनाउनुको महत्व रामजस्तै मर्यादित, अनुशासित र नियन्त्रित राज्य सञ्चालकको आशा गरेको बताउँछन्।
रामनवमीको महत्वका विषयमा गाग्र्यतन्त्र कृष्ण वचनअनुसार चैत्र अष्टमीका दिन अष्ट मातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको पूजा गरी जप, पाठ र ध्यान गर्नाले मनले चिताएको काम सफल हुने उल्लेख छ। यस अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ। रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजा, पाठ एवं आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ।
परापूर्वकालमा वासन्तीय नवरात्रलाई नै मूल दसैँ मानिने गरेकामा धेरै गर्मीका कारण असोजमा मनाउन थालिएको भनाइ छ। चैत र असोजको नवरात्रलाई जाग्रत दशैँका रूपमा महत्वका साथ मनाइन्छ भने पुस र असारको नवरात्रलाई सुप्त दसैँ भनिन्छ।
यसैगरी व्रतार्क नामक ग्रन्थको अगस्त्य संहितामा चैत्र शुक्ल नवमीमा व्रत उपवास बसी श्रद्धा भक्तिपूर्वक रामचन्द्रको पूजा गर्नाले अनेक जन्मका पाप नाश भई वैकुण्ठ बास प्राप्त हुने उल्लेख छ। असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरहरूमा पूजापाठ गरिन्छ। आज जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लाग्छ।
त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा भगवान् श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ।
सरकारले रामनवमीको अवसरमा आज सार्वजनिक बिदासमेत दिएको छ।
सम्बन्धित खबर
नेपाल प्रहरीको आधिकारिक भनाई –‘दुर्गा प्रसाईंको खोजी हुँदैछ’
दुर्गा प्रसाईं असाममा पक्राउ, नेपाल ल्याइँदै
नेपाल बार एसोसिएसनको अध्यक्षमा प्राडा मिश्र निर्वाचित
ज्ञानेन्द्रलाई जति धोइपखाली गरेपनि संवैधानिक राजा बनाउन सकिँदैन : गगन थापा
त्रिविका भीसी बरालको राजीनामा कुलपतिद्वारा स्वीकृत
बालेनका स्वकीय सचिव र महानगर प्रहरी प्रमुखलाई कारबाही गर्न कर्मचारी संगठनको माग
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर