‘थाइल्याण्ड भ्रमण सफल, दुई देशबीच आठ सम्झौता’

स्वदेश फर्किए ओली

‘थाइल्याण्ड भ्रमण सफल, दुई देशबीच आठ सम्झौता’

तीनकुने घटनाको निष्पक्ष छानबिन हुन्छ, न्यायिक आयोगबारे विचार गर्छौं: प्रधानमन्त्री

pm thai bhraman

प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्ड भ्रमणका क्रममा दुईपक्षीय र बहुपक्षीय सहयोग अभिवृद्धिका लागि फलदायी वार्ता भएको बताएका छन्।

शनिबार स्वदेश फर्किएका उनले भ्रमणमार्फत नेपाल र थाइल्याण्डबीचको सम्बन्ध विस्तार, आर्थिक सहकार्य र निजी क्षेत्रको सहभागिता बढाउन सफलता मिलेको उल्लेख गरे। भ्रमणका क्रममा दुई देशबीच दुई र निजी क्षेत्रबीच छ वटा गरी कुल आठ सम्झौतामा हस्ताक्षर भएको छ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव अमृतबहादुर राईले प्रधानमन्त्री ओलीको तर्फबाट प्रेस वक्तव्य वाचन गर्दै भ्रमणको उपलब्धिबारे जानकारी दिए।

उनका अनुसार, यो नेपालबाट प्रधानमन्त्रीस्तरमा थाइल्याण्डको पहिलो औपचारिक भ्रमण हो। भ्रमणको उद्देश्य दुई देशबीचको मित्रता र सहकार्यलाई थप सुदृढ बनाउनुका साथै आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध विस्तार गर्नु रहेको थियो। थाइल्याण्ड सरकारले नेपालको कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानी तथा प्रविधि हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएको छ।

प्रधानमन्त्री ओलीले थाइ समकक्षी पेटुन्तान शिनाबात्रसँगको प्रतिनिधिमण्डलस्तरीय वार्तामा व्यापार, लगानी, शिक्षा, पर्यटन र मानव संसाधन विकासजस्ता विषयमा विस्तृत छलफल गरेका थिए।

थाइ पक्षले नेपालमा लगानी र प्रविधि हस्तान्तरणका लागि तयार रहेको जनाएको छ। दुई देशबीच पर्यटन र सांस्कृतिक सहयोगका लागि छुट्टाछुट्टै सम्झौता भएका छन् भने निजी क्षेत्रका व्यवसायीहरूबीच आर्थिक सहकार्यका छ वटा सम्झौता सम्पन्न भएका छन्।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले थाइल्याण्डको छैटौँ विमस्टेक शिखर सम्मेलनलाई सम्बोधन गरे। उनले क्षेत्रीय सहकार्यमार्फत जलवायु परिवर्तन, दिगो विकास र विश्व शान्तिजस्ता साझा चासोका विषयमा छलफल गरेका थिए।

साथै, उनले थाइल्याण्डको प्रख्यात एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआइटी) मा सम्बोधन गर्दै नेपाली विद्यार्थीलाई स्वदेश फर्केर प्रविधिको प्रयोगमार्फत देश विकासमा योगदान दिन प्रेरित गरे। एआइटीले हालसम्म १,८०० नेपाली विद्यार्थीलाई उच्च शिक्षा प्रदान गरेको छ।

प्रधानमन्त्री ओलीले थाइ व्यवसायीहरूसँगको अन्तरक्रियामा नेपालमा वैदेशिक लगानीका लागि अनुकूल वातावरण रहेको बताउँदै लगानी गर्न आह्वान गरे। उनले नेपाल सरकार लगानीलाई सरल, सुरक्षित र प्रतिफलमुखी बनाउन प्रतिबद्ध रहेको उल्लेख गरे। थाइ लगानीकर्ताहरूले नेपालमा आफ्नो लगानी विस्तार गर्ने इच्छा व्यक्त गरेका छन्।

सचिव राईले भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विमस्टेक राष्ट्रका समकक्षीहरूसँग छुट्टाछुट्टै भेटघाट गरी दुईपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको जानकारी दिए। उनले नेपालमा आयोजना हुने सगरमाथा संवादमा सहभागी हुन विमस्टेक राष्ट्रका प्रधानमन्त्रीहरूलाई निमन्त्रणा पनि दिए।

यो भ्रमणले नेपाल र थाइल्याण्डबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनुका साथै आर्थिक र क्षेत्रीय सहकार्यका लागि बलियो आधार तयार गरेको परराष्ट्र सचिव राईले बताए।

‘सगरमाथा संवाद’मा भारतका प्रधानमन्त्री मोदी नआउने

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सगरमाथा संवाद’मा भारतीय प्रधानमन्त्री मोदीको सहभागी नहुने जानकारी गराएका हुन्।

ओलीले ‘सगरमाथा संवाद’मा सहभागी हुन नेपालले आग्रह गरेपनि उक्त समयमा मोदीको युरोप भ्रमणको कार्यतालिका बनेकाले सहभागी हुन नसक्ने भेटमा जानकारी गराएको बताएका हुन्। उनले भारतका उच्च तहबाट कार्यक्रममा सहभागी हुने बताए।

मोदी के गर्नुहुन्छ सगरमाथा संवादमा भन्ने पत्रकारका जिज्ञासामा उनले भने, ‘सगरमाथा संवाद’मा सहभागी हुन नेपालले पुन: आग्रह गरेको थियो। तर यसपटकको सगरमाथा संवाद’मा मोदीजी आउन भ्याउनुहुन्न यसकारण कि पहिले नै युरोप जाने कार्यक्रम तय भइसकेको रहेछ। त्यो कार्यक्रम सेट भइसकेको हुँदा आउन सक्ने अवस्था नभएको जानकारी गराउनुभयो। कार्यक्रममा भारतको राम्रैस्तरबाट सहभागी हुन्छ।’

उनले भारत, श्रीलंका, म्यानमारका प्रधानमन्त्रीसँग पनि भेटवार्ता भएकोसमेत जानकारी गराए।

तीनकुने घटनाको निष्पक्ष छानबिन हुन्छ, न्यायिक आयोगबारे विचार गर्छौं

प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाको निष्पक्ष छानबिन हुने बताएका छन्। तीनकुने घटनाको न्यायिक छानबिन हुनुपर्छ भन्ने माग उठिरहेको उल्लेख छ नि? भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले न्यायिक छानबिन हुनु पनि सक्ने र नहुन पनि सक्ने बताए।

तीनकुने घटनाको लागि न्यायिक छानबिन गठन गर्ने की नगर्ने भन्नेबारेमा विचार गर्ने बताए।

प्रधानमन्त्री ओलीले भने, ‘न्यायिक छानबिन हुँदैछ। न्यायिक छानबिन नभनौँ। न्यायिक छानबिन नहुन पनि सक्छ, हुन पनि सक्छ। तर छानबिन निष्पक्ष हुन्छ। सबै कुरामा न्यायिक छानबिन नै चाहिन्छ भन्ने पनि छैन। त्यो हामी विचार गर्नेछौँ। यसै निष्पक्ष छानबिन गर्ने कि न्यायिक छानबिन गर्ने भनेर।’ उनले सबै कुरामा न्यायिक छानबिन जरुरी नरहेको बताए।

सरकारले शिक्षकहरूका माग सम्बोधन गर्छ, उहाँहरू छिटै फर्किनुहुनेछ

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले शिक्षकहरूका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्।

उनले शिक्षकहरू अहिलेको सरकासँग विश्वास गरेर र यो सरकारले आफ्ना आवाज सुन्छ भनेर प्रदर्शनमा आएको भन्दै धन्यवाद दिए।

उनले पहिलाको सरकारमा आन्दोलन नगर्नुको कारण सरकरले जति आन्दोलन गरे पनि नसुन्ने र अहिलेको सरकारले आफूहरूका माग पूरा गर्ने ठानेर प्रदर्शनमा आएको जिकिर गरे। उनले सरकार शिक्षक विरोधी नभएको र शिक्षकहरू पनि सरकार विरोधी नभएको उल्लेख गर्दै मागहरू परस्परमा बसेर छलफलबाट टुंग्याइने बताए।

प्रधानमन्त्री ओलीले काठमाडौँमा आएर प्रदर्शनको दुःख नगर्न आग्रह गर्दै सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ