काठमाडौंवासीलाई फेवा महोत्सवको निम्ता

काठमाडौंवासीलाई फेवा महोत्सवको निम्ता

Fewa-KTM

काठमाडौं । होटल संघ पोखरा नेपालले यही चैत ३० गतेदेखि आगामी वैशाख १ गतेसम्म लेकसाइडमा आयोजना गर्न लागेको २० औं फेवा नव वर्ष महोत्सवमा सहभागी हुन काठमाडौंवासीलाई आमन्त्रण गरेको छ ।

होटल संघ नेपाल र होटल संघ पोखरा नेपालले शुक्रबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी काठमाडौं उपत्यकावासीलाई महोत्सवमा भाग लिई नेपाली नयाँ वर्ष भव्य रुपमा मनाउन निम्ता प्रदान गरिएको हो । कार्यक्रममा बोल्दै हानका केन्द्रिय अध्यक्ष विनायक शाहले फेवा महोत्सव पोखराको स्थापित कार्यक्रम मध्ये एक हुन पुगेको बताउँदै शहरलाई चयायमान बनाउन महोत्सव सहयोगी भएको भनाई राखे ।

पोखरा महानगरपालिकाले घोषणा गरेको भिजिट पोखरा इयर २०२५ अन्तर्गत लक्ष्य लिइएको २० लाख पर्यटक पोखरा भित्र्याउन समेत महोत्सवले सघाउने विश्वास अध्यक्ष शाहले व्यक्त गरे । पोखराबाट चीनका विभिन्न शहरमा अन्तर्राष्ट्रिय हवाई उडान सुरु हुनु र विभिन्न शहरबाट पोखरा जोड्ने सडकहरु समेत सुधार हुँदै जानु सकारात्मक पक्ष भएको उनले बताए । नेपालको होटल क्षेत्रले ३५ लाख पाहुनालाई सेवा दिन सक्ने तथ्यांक सुनाउँदै उनले देशको समृद्धिको आधार पर्यटन हुन सक्ने भनाई राखे । ठूला शहरहरु प्रदूषणको चपेटामा परेको तर्फ सरकार गंभीर बन्नुपर्ने सुझाव पनि उनको थियो ।

कार्यक्रममा होटल संघ पोखरा नेपालका निवर्तमान अध्यक्ष विकल तुलाचनले फेवा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए । पर्यटन, संस्कृति र खाना फेवा महोत्सवको मुख्य आकर्षण रहने उनले बताए । पछिल्लो समय नेपाली नयाँ वर्षलाई पनि उल्लासपूर्ण रुपमा मनाउने प्रचलन बढ्दै गएको निवर्तमान अध्यक्ष तुलाचनले स्मरण गराए । महोत्सवका अवसरमा आयोजक संघले पोखरा आउने पाहुनालाई २० प्रतिशत छुट प्रदान गर्ने जानकारी पनि उनले दिए । संचारकर्मीले राखेका विभिन्न जिज्ञासाको उत्तर तुलाचनले दिएका थिए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड गण्डकी कार्यालयका प्रमुख मणिराज लामिछानेले पोखरालाई भाइव्रेण्ट सिटिका रुपमा अगाडि बढाउन महोत्सव सहयोगी हुने विश्वास व्यक्त गरे । यही अभियानमा टेवा पुग्नेगरी बोर्डले महोत्सवलाई सघाइरहेको बताउँदै उनले पोखरा र चीन जोड्ने गरी हालै केही अन्तर्राष्ट्रिय उडानहरु पनि हुनु सकारात्मक पक्ष भएको भनाई राखे ।

आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले पोखराको खहरेदेखि ड्यामसाइडसम्मको सडकमा आयोजना हुने महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको बताए । नेपाली संस्कृतिको जगेर्ना गर्दै पोखराको पर्यटन प्रवद्र्धन गर्ने र पर्यटकहरुको बसाई अवधि लम्ब्याउने महोत्सवको थप उदेश्य रहेको संयोजक सुवेदीले जानकारी दिए । कार्यक्रममा संघका प्रथम उपाध्यक्ष एवं महोत्सवका सहसंयोजक दीपक श्रेष्ठले उपस्थित सबैप्रति धन्यवाद प्रकट गरे ।

प्रदेश स्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुती, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता महोत्सवका आकर्षण रहने आयोजक संघका द्वितीय उपाध्यक्ष एवं महोत्सवका सहसंयोजक गणेशराज पहारीले जानकारी दिए । व्याडमिन्टन कप, स्थानीय एवम् प्रख्यात कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, कृषि एवम् हस्तकलाका सामानहरुको प्रदर्शनी तथा स्थानीय तथा प्रख्यात कलाकारद्वारा लोक दोहोरी कार्यक्रम पनि प्रस्तुत हुने उपाध्यक्ष पहारीले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ