पोखराको सिर्जना बहिरा माविमा दुई छात्रालाई गर्भवती बनाएको आरोपमा दुई छात्र पक्राउ

अनैतिक क्रियाकलाप

पोखराको सिर्जना बहिरा माविमा दुई छात्रालाई गर्भवती बनाएको आरोपमा दुई छात्र पक्राउ

यस दुःखद् घटनाको असर अन्य विद्यार्थीमा नपरून् भन्नेमा हामी सचेत छौंः प्रअ भण्डारी

srijana bahira mavi ghatana

कक्षा ११ पढ्ने युवक थुनामा, आरोपित १४ वर्षीय बालक अभिभावकको जिम्मामा

पोखरा महानगरपालिका वडा नंं. २६ मा सिर्जना बहिरा माध्यमिक विद्यालय छ । जहाँ सुन्न र बोल्न असमर्थ बालबालिकाहरू पढ्दै आएका छन् । सम्भव हुने आफ्ना घरबाटै र टाढा घर तथा बाहिरी जिल्लाका विद्यार्थीहरू छात्रावासमा बसेर पढ्छन् । नेपालभर बहिरा (सुस्त श्रवण) भएकाहरू अध्ययन गर्ने २५ विद्यालय छन् ।

सिर्जना बहिरा मावि अहिले चर्चामा रहेको छ । यस विद्यालयमा अध्ययनरत दुई छात्रले दुई छात्रालाई करणी गरी गर्भवतीसमेत बनाएको घटना ढिला गरी सार्वजनिक भयो । १९ दिनको फरकमा कानुनी प्रक्रियामा गएका यी दुई गम्भीर घटना सार्वजनिक भएपछि विद्यालयबारे विभिन्न टीकाटिप्पणी भइरहेको छ ।

घटना १ः

कक्षा ११ पढ्ने २० वर्षीय विजय विक हिरासतमा छन् ।  कास्की जिल्ला अदालतले अभियुक्त विकलाई पुर्पक्षमा रहने गरी कारागार चलान गर्न आदेश दिएपछि उनी अहिले कास्की जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार १७ वर्षीया किशोरीलाई जबर्जस्ती करणी मुद्धामा जिल्ला अदालत कास्कीको आदेशानुसार थुनामा पठाइएको हो ।

कपिलवस्तु घर भएका सिर्जना बहिरा माविका विद्यार्थी यी युवक होस्टेलमा बस्दै आएका थिए । बिकले सोहि विद्यालयमा अध्ययनरत किशोरीलाई करणी गरी गर्भवतीसमेत बनाएको र किशोरीका परिवारले थाहा पाएपछि विद्यालय प्रशासनसहित प्रहरीकहाँ उजुरी दिएका थिए ।

बिकका परिवारले भने फसाइएको जिकिर गरेको छ । बिकका आफन्त प्रविण बिसीले विजयलाई झुट्टा मुद्धा लगाएर पक्राउ गरिएको मिडियासमक्ष बताएका छन् । बिदाको समयमा घर पुगेको व्यक्तिलाई आरोप लगाएर फसाएको बिकका परिवारको भनाई छ । उनलाई पुस ४ गते पक्राउ गरिएको थियो ।

घटना २ः

विद्यालयमै अध्ययन गर्ने १४ वर्षका एक बालकलाई १४ वर्षिया बालिका (जन्मदर्ता अनुसार १३ वर्ष) सँग यौनसम्बन्ध कायम गरी गर्भवती बनाएको आरोप छ । पुस २३ गते सार्वजनिक यस घटनासँग सम्बन्धित बालिकाले सोमबार मात्रै बच्चा जन्माइसकेकी छिन् । असहाय र हिंसापीडित बालिका तथा महिलाहरुको क्षेत्रमा क्रियाशील पोखराकै एक गैरसरकारी संस्थाले उनलाई आश्रय दिएर राखेको छ ।

कक्षा ५ मा पढ्ने छात्रलाई भने नाबालक भएकाले अनुसन्धान र कानुनी प्रक्रियामा सघाउने गरी हाललाई अभिभावकको जिम्मामा पठाइएको एसपी ओलियाले गण्डकन्यूजलाई जानकारी दिए । ‘केटा र केटी दुवै उमेर नपुगेको नाबालिग हुनाले आवश्यक अनुसन्धानमा अनिवार्य उपस्थित गराउने गरी हाललाई अभिभावकको जिम्मा लगाइएको छ ।’ एसपी ओलियाले भने । माघ १८ गतेदेखि नै बालक अभिभावकको जिम्मामा छन् ।

बालिकाका परिवारले बालक विरुद्ध जबर्जस्ती करणी मुद्धामा जाहेरी दिएका थिए । बालकले कहिले घटनामा संग्लग्नता नस्विकार्ने, कहिले स्विकार्ने तर घटना भएको स्थलबारे फरक फरक बयान दिएको श्रोत बताउँछ।

होस्टल राखेर पढाएकी छोरी गर्भवती भएर बच्चा पाउन लागेको थाहा भएपछि बालिकाका आफन्तले आफूहरु निकै दुःखी भएको बताएका छन् । छोरी गर्भवती हुनुको सम्पूर्ण दोष विद्यालयको रहेको उनीहरुको आरोप छ ।

के भन्छ विद्यालय प्रशासन ?

विद्यालयका प्रधानाध्यापक सुनिल भण्डारीले  जानकारी दिए अनुसार २०४४ मा स्थापित यस विद्यालयमा अहिले २१० जना विद्यार्थी र ३४ जना शिक्षक कर्मचारी कार्यरत छन् ।

१४० जना विद्यार्थी छात्राबासमा र बाहिरी विद्यार्थी ७० जना छन् । शिक्षक २३ जना छन् । होस्टलमा विद्यार्थीलाई हेर्ने कर्मचारी जम्मा ५ जना छन्, जुन अपुग रहेको उनी बताउँछन् ।

विद्यालयमा ४–५ कक्षा पढ्ने, १४ वर्षदेखिका विद्यार्थीहरू यस्तो घटनामा संलग्न रहुन्जेलसम्म विद्यालय कतिको गम्भिर बन्यो ? भन्ने गण्डकन्यूजको प्रश्नमा प्रअ भण्डारीको भनाई संक्षेपमाः

‘सबैलाई लागे जसरी नै घटना अत्यन्त गम्भिर हो । सामान्य भन्नै मिल्दैन । नघट्नुपर्ने घटना हो । स्वस्थ हुँदाहुँदै हामीलाई हर्ट अट्याक हुन्छ । राम्रो सडकमा पनि दुर्घटना हुन्छ । त्यस्तै भयो, यो हाम्रो लागि हर्ट अट्याक नै हो । म अत्यन्त दुःखी छु । प्रहरी प्रशासन र अदालतले गहन तबरले अनुसन्धान गरिरहेको विषय हो । हाम्रो चाहना पछि यही हो, दोषी उम्कनु भएन, निर्दोषी फस्नुभएन ।

अब यसलाई व्यवहारिक पक्षमा बुझौँ भन्न चाहन्छु । एक त सबलाङ्गहरू पढ्ने विद्यालय होइन, अपाङ्गता भएका व्यक्तिहरू जो सामान्य उमेरभन्दा अलिक बढी नै उमेरदेखि पढ्न थालेका हुन्छन् । उनीहरुलाई हामीले गर्ने ट्रिट बेग्लै हुन्छ । सामान्य बालबालिका भए सबैलाई अनुशासन र नियममा राख्न सजिलो, सहज वार्तालाप तथा सञ्चार हुन्थ्यो । जनशक्ति असाध्यै थोरै छ । ४–५ जनाले १ सय ४० जना हेर्नुपर्छ । भौतिक संरचना असाध्यै सानो र साँघुरो छ । यस्ता घटना नेपालका अरु जिल्लामा नभएका होइनन् । अन्यत्र त मान्छे समेत मरेका छन् ।

यो घटना पनि ४–५ महिना अघिको हो, अहिले खुलिरहेको छ, सार्वजनिक भएको छ । विद्यालय प्रशासनले सहयोग गरेन भन्ने पनि सुनेँ, प्रशासन नै घटनामा दोषीलाई कारबाहीका लागि अभिभावकका साथमा प्रहरीसमक्ष पुगेको हो । अपांगता भएका व्यक्तिहरु पढ्ने र कर्णाली, सुदूरसम्मका विद्यार्थी रहने भएकाले संवेदनशीलतालाई ध्यानमा राखेर हामीले भित्रभित्रै कानुनी उपचारमा गएका हौं । लुकाएको भने होइन । किनकि, हाम्रो विद्यालय संवेदनशील क्षेत्र हो । यो सबैले ख्याल गर्न जरुरी छ । हामी विद्यालयका शिक्षकले, कर्मचारीले देख्दा देख्दै ख्याल नगरेको हो र ?

घटना हामी आफैले सार्वजनिक गरेर बाँकी अरू बालबालिकाका अभिभावक र परिवारलाई पीडा दिनपर्छ भन्ने हो र ? यस्ता घटना हुन नदिएर विश्वासको वातावरण बनाउने पो हो । यस घटनापछि हामीले निकै गम्भिर भएर सचेतना अपनाएका छौँ । यसअघि पनि नअपनाएको भने होइन ।

हातहातमा मोबाइल छ । नदिम् भने परिवारसँग टाढा छन्, सम्पर्क गर्नुपर्छ । मोबाइल  साथमा छ, किशोरावस्थाको मन मस्तिस्कमा के सोच हुन्छ ? नजानेको र नहेरेको के हुन्छ ? हामी सबैलाई थाहै छ । हाम्रो भौतिक संरचनाका कारण छात्र र छात्रालाई  पूरै अलग राख्न सक्ने अवस्था छैन । तर पनि खाना खाँदा बाहेक बस्ने ठाउँ अलग्गै हो । उनीहरु सधैं होस्टल कम्पाउण्डम भित्रै रहन्छन् भन्ने अवस्था पनि छैन । 

दुई घटनालाई अनुसन्धान गरी हेर्दा डाक्टरका रिपोर्ट र रजस्वला बन्द समय हेर्दा लामो बिदा भएको समयतिर पनि छ । बाहिर गएर उनीहरुबीच अनैतिक कार्य भएमा यसमा विद्यालय कसरी दोषी हुन्छ ? हामीले कसरी जिम्मेवारी लिने ? होस्टल बस्दा जिम्मा हाम्रै हो । हाम्रै जिम्मामा अभिभावकले बालबालिका छाड्ने हुन्, जिम्मा नहुने भन्ने होइन । व्यवहारिक पाटो हेर्नुस् न, सधैं होस्टलको कम्पाण्डमै राख्ने, छात्र र छात्राहरु देखभेट नै हुन नदिने गरी त हामीसँग स्रोत साधन नै छैन । तर, समस्या छ भन्दैमा यस्तै छ, भैहाल्छ नि भन्ने पनि होइन फेरि ।

सिर्जना बहिरा स्कूलमा असुरक्षित छ, छोरीहरु सुरक्षित रहन्नन् भन्ने भाष्य सिर्जना नगरिदिनुहुन अनुरोध गर्दछु । फेरि भन्छु, सामान्य व्यक्तिहरु पढ्ने विद्यालय नभएको र अपांगता भएका बालबालबालिकाहरू रहेका कारण उही तरिकाले हामीले ट्रिट गर्नै सक्दैनौं । अन्य जिल्लाका विद्यालयहरुमा पनि यस्ता समस्याले विद्यालय प्रशासनलाई टाउको दुखाईको विषय बनिरहेको छ । मात्रै के हो भने, विद्यालय असुरक्षित छ भनेर हल्ला नफैलाऔं । यस्तो सन्देश गयो भने यो विद्यालयका लागि ठूलो दुर्घटना हुन्छ । यहाँको समाज भए बुझ्थे तर कर्णाली, दार्चुला, सुदूरका जिल्लाहरुका अभिभावकले कसरी बुझ्ने ?

टाढा टाढाबाट अभिभावकको फोन आउन थालेको छ । रुँदै चिन्ता गर्नुभएको छ । यस्ता घटना हुन नदिन हामी सचेत नै छौं तर संरचना र जनशक्तिका सवालमा हामीलाई सहयोग गनुपर्छ । हामीसँग विद्यार्थी धेरै छन् । उनीहरुलाई रेखदेख गर्ने जनशक्ति र राख्ने संरचना छैन ।

अब कक्षा १० सम्मका विद्यार्थीहरुलाई मोबाइल नियन्त्रणमा राखेका छौँ । आवश्यक पर्दा दिने नत्र वार्डेनलाई बुझाउने नियम बनाइसकिएको छ । कक्षा १२ सम्मलाई नै यो गर्ने विचारमा छौं । यो घटनापछि फेरि सँगै विद्यालय पढ्ने बालक र बालिकाबीच यस्ता हर्कत हुन नदिन के गर्ने भन्ने विषयमा अभिभावकहरु, पत्रकार, प्रशासन, अपांगता क्षेत्रमा क्रियाशील संघसंस्था, अधिकारवादी, नागरिक समाजबीच एउटा वृहत कार्यक्रम गर्ने योजनामा छौँ ।

बहिरा विद्यालयहरु सबै ठाउँमा नभएकाले देशका विभिन्न जिल्लाका टाढा टाढाका विद्यार्थीहरु आउँछन् । हाम्रै विद्यालयमा ७७ वटै जिल्लाका विद्यार्थीहरु पढेर गइसके । अहिले ४६ जिल्लाका विद्यार्थी अध्ययनरत छन् । कति जिल्लाका विद्यालयले त होस्टल हटाउन थालिसके । हामी पनि के गर्ने हो ? सर्वपक्षीय छलफल गरेर अघि बढ्नेछौं ।

छात्र र छात्राबीच विद्यालय वा होस्टल तथा बाहिर नै किन नहोस् ? अनैतिक कार्य हुने अवस्था हुनुहुँदैन भन्नेमा हामी सचेत छौं भनेर फेरि भन्न चाहन्छु । उनीहरुको उमेर नै कच्चा र के गर्ने , नगर्ने थाहा नहुने भएकाले पनि मोबाइल प्रविधिले यो अवस्थासम्म आइपुगेको भन्ने मेरो ठहर छ । नत्र ४० वर्ष हुन लागेको विद्यालय के यति दुई घटनाले असुरक्षित नै भयो भन्न मिल्छ त ? जे नहोस् भनिन्थ्यो, त्यो भयो अब हुन नदिनेतर्फ हामी सबै पक्ष लाग्नुर्पछ । विद्यार्थीहरु ईमान्दार हुने हो, विद्यालय प्रशासन, अभिभावक र सरोकारवाला सबै पक्ष जिम्मेवार ढंगले समस्या समाधानमा लाग्नुपर्छ । यो दोषारोपण गर्ने बेला पनि होइन । घटना दोहोरिन नदिनेतर्फ हामी गम्भिर हुनुपर्छ ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रञ्जन अधिकारी

रञ्जन अधिकारी

अधिकारी गण्डक न्यूजका फाउण्डर इडिटर हुन् ।

ट्रेन्डिङ