दीपक थापा बने नेपाल प्रहरीको ३१ औं महानिरीक्षक

नियुक्ति

दीपक थापा बने नेपाल प्रहरीको ३१ औं महानिरीक्षक

को हुन् नयाँ आईजीपी थापा ?

dipak-thapa

काठमाडौं । नेपाल प्रहरीले नयाँ महानिरिक्षक (आइजिपी) पाएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापा नेपाल प्रहरीको ३१ औं महानिरीक्षक बनेका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले एआइजी थापालाई आइजिपीमा बढुवा गरेको हो ।

थापाले अन्य दुई प्रतिस्पर्धीलाई पछि पार्दै मुलुकको प्रहरी संगठनको नेतृत्व लिन सफल भएका छन्। गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले थापालाई प्रहरीको महानिरीक्षक नियुक्त गरेको हो। महानिरीक्षक वसन्त बहादुर कुँवर सेवा अवधि पुरा गरी अनिवार्य अवकासमा गएपछि सोमबारदेखि प्रहरी महानिरीक्षक पद रिक्त भएको छ ।

एआईजीमध्ये जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा थापालाई आईजी बनाइएको हो । थापासँगै एआईजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङ पनि महानिरीक्षकको प्रतिस्पर्धामा थिए ।आईजीमध्ये थापा वरिष्ठ हुन् ।

को हुन् नयाँ आईजीपी थापा ?

थापा फिल्ड कमान्ड र अपरेसनमा अनुभवी अधिकृतको रुपमा चिनिन्छन् । इन्स्पेक्टरको बेसिक तालिम सकेपछि थापाले इन्स्पेक्टर दर्जामै विभिन्न ठाउँको कमान्‍ड सम्हालेका छन् । इलाका प्रहरी कार्यालय बनेपा, इलाका प्रहरी कार्यालय गरुडा रौतहटको प्रमुख भएर उनले काम गरेका छन् ।

नेपाल प्रहरी स्कुल साँगा, प्रहरी स्कुल दिपायलमा पनि काम गरेको अनुभव थापासँग छ । द्वन्द्वको समयमा उनले इलाका प्रहरी कार्यालय मैकोट रुकुममा रहेर काम गरेका थिए । इलाका प्रहरी कार्यालय कात्तिके देउरालीमा पनि थापाले इन्चार्ज भएर काम गरे । इन्स्पेक्टर दर्जामै हेडक्वार्टरको कर्मचारी शाखामा रहेर काम गरेको अनुभव उनीसँग छ ।

इन्स्पेक्टरमै रहँदा उनी सुडान मिसन गएका थिए । त्यसपछि डीएसपीमा बढुवा भएका थापाले जिल्ला प्रहरी कार्यालय खोटाङको २ वर्षसम्म कमान्ड गरेका थिए ।

प्रधानमन्त्री सुरक्षा कार्यालय बालुवाटार, प्रहरी वृत्त महाराजगञ्जको प्रमुख भएर पनि उनले काम गरेका छन् । महाराजगञ्जमा उनले १९ महिनासम्म कमान्ड गरेका थिए ।

इलाका प्रहरी कार्यालय बुटवलमा पनि इन्चार्ज भएर उनले काम गरे । त्यहाँबाट हेडक्वार्टरको कर्मचारी प्रशासन शाखामा सरुवा भएर काम गरे । मोरङ, सुनसरी, मकवानपुरमा समेत गरेका उनी डीएसपीमै रहँदा लाइबेरिया मिसनमा गएका थिए ।

एसपीमा बढुवा भएपछि भने अख्तियारको कोहलपुर कार्यालय, बुटवल कार्यालयमा रहेर प्रहरी प्रमुखको रुपमा काम गरेको अनुभव थापासँग छ । एसपीमै रहेका बेला जिल्ला प्रहरी कार्यालय चितवनको १८ महिनासम्म कमान्ड गरे । एसपीमै हेडक्वार्टरको बजेट शाखामा रहेर उनले काम गरे ।

एसएसपी बढुवा भएपछि भने आर्थिक प्रशासन महाशाखा, अपराध अनुसन्धान महाशाखा (हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय)को प्रमुख भएर थापाले काम गरेका थिए ।

एसएसपीमै वृत्ति विकास महाशाखा, प्रहरी एकेडमीमा काम उनले काम गरेका छन् । डीआईजीमा बढुवा भएपछि प्रबन्ध निर्देशनालय, बागमती प्रदेश प्रहरी प्रमुख रहेर काम गरेको अनुभव उनीसँग छ ।

एआईजीमा बढुवा भएपछि प्रशासन विभाग प्रमुख, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी प्रमुख र अहिले सीआईबी प्रमुख भएर उनले काम गरेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ