धवलागिरी क्याम्पस स्ववियु निर्वाचन: नेविसंघबाट सृष्टि आचार्यको उम्मेदवारी

स्ववियु निर्वाचन

धवलागिरी क्याम्पस स्ववियु निर्वाचन: नेविसंघबाट सृष्टि आचार्यको उम्मेदवारी

विरासत जोगाउने कसरतमा ‘नेविसंघ’

shristy

पोखरा, २८ फागुन।  बागलुङको धवलागिरी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सृष्टि आचार्यलाई अध्यक्ष पदमा अघि सारेको छ ।

स्ववियु नेतृत्वका लागि मंगलबार आचार्यले मनोनयन दर्ता गरेकी हुन् । त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्दैछ । सोही अनुसार त्रिभुवन विश्वविद्यालयअन्तर्गतको बागलुङको एक मात्र आंगिक क्याम्पस हो । त्यसका लागि मंगलबार तीन जनाले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसमध्ये आचार्यको नेतृत्वमा नेविसंघ चुनावी मैदानमा आएको हो । आचार्यसहित नेविसंघबाट ११ सदस्यीय टीम चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । सचिवमा सचिन हरिजन, कोषाध्यक्ष पदमा विशाल थापा छन् ।

यस्तै, सदस्यतर्फ दीपसागर सुवेदी, प्रशान्त सुवेदी, सृष्टि घर्ती, सुभम राजभण्डारी, सेमन्त शर्मा, सुवास बाबु घर्ती, सुदिप घर्ती मगर र मनिषा घर्ती चुनावी मैदानमा उभिएका हुन् ।

विरासत जोगाउने कसरतमा ‘नेवि संघ’

धवलागिरी बहुमुखी क्याम्पसमा पछिल्ला दुई दशकदेखि नेविसंघको वर्चस्व रहँदै आएको छ । करिब २० वर्षयता स्ववियु नेतृत्वमा निरन्तर नेविसंघले जित हात पार्दै आएको छ ।

यसपटक पनि नेविसंघले आफ्नो जितको निरन्तरता कायमै राख्ने दाबी गरेको छ । तर, विपक्षी विद्यार्थी संगठनहरू यसपटक इतिहास उल्ट्याउने रणनीतिमा छन् । अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल छैठौं र राप्रपा विद्यार्थी संगठन मिलेर नेविसंघको विरासत भत्काउने योजनामा लागेका छन् ।

क्याम्पसमा १,४७६ मतदाता रहेका छन्, जसको समर्थन जित–हारको निर्धारण गर्नेछ । धवलागिरी बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापतिहरूले स्थानीय तथा प्रादेशिक तहमा महत्वपूर्ण भूमिका खेलिसकेका छन् ।

पूर्व स्ववियु सभापति गोविन्द नेपाली हाल नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक छन् । त्यस्तै, बागलुङ नगरपालिकाका वर्तमान प्रमुख बसन्त श्रेष्ठ र पूर्व प्रमुख जनक राज पौडेल पनि यही क्याम्पसका स्ववियु सभापति थिए । उनीहरुले नेपाली राजनीतिमा आफ्नो छाप बनाइरहँदा यो निर्वाचनलाई महत्वका साथ हेरिएको छ ।

को हुन् सृष्टि आचार्य ?

आचार्य २०७५ सालमा धवलागिरी बहुमुखी क्याम्पसमा भर्ना भएकी थिइन् । उनी हाल एमबीएस अध्ययनरत छिन् र वर्तमान स्ववियु कोषाध्यक्ष हुन् । उम्मेदवारीपछि गण्डक न्यूजसँग कुरा गर्दै उनले विद्यार्थीका हकहितको पक्षमा आफूले काम गर्ने बताइन् ।

‘स्ववियु अध्यक्षको भूमिका शिक्षासम्बन्धी नीति र व्यवस्थापनमा प्रभाव पार्ने भएकाले म विद्यार्थीहरूको आवाज बन्न चाहन्छु,’ उनले भनिन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ