नवग्रह मन्दिरमा उठ्यो ७७ लाख बढी भेटी

नवग्रह मन्दिरमा उठ्यो ७७ लाख बढी भेटी

navagraha veti

नेपालमै पहिलोपटक निर्माण भएको नवग्रह मन्दिरको अनुष्ठान, गीता ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवमा ७७ लाख रुपैयाँ बढी भेटी रकम संकलन भएको छ ।

भक्तजनको आगमनसँगै मन्दिरको भेटीलगायत शीर्षकमा आम्दानी भएको हो । नगद, बैंक क्युआर तथा खाद्य सामाग्री बिक्रीबाट ७७ लाख ६९ हजार तीन सय २९ रुपैयाँ भेटी रकम संकलन भएको नवग्रह मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोख्रेलले जानकारी दिए ।

सहयोग रसिद तथा बैंक क्युआरबाट ५९ लाख दस हजार आठ सय ८९ रुपैयाँ, दान पेटिकाबाट १६ लाख २६ हजार छ सय ६५ रुपैयाँ र चामल, धान, आलू, आटा खाद्य सामाग्री बिक्री गर्दा दुई लाख ३१ हजार सात सय ७५ रुपैयाँ भेटी संकलन भएको अध्यक्ष पोख्रेलले बताए ।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका – १ जलबराह धार्मिक वनमा निर्माण भएको नेपालकै पहिलो नवग्रह मन्दिरको अनुष्ठान, गीता ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवमा एक लाख २५ हजार भन्दा बढी भक्तजनले पूजाआजा तथा दर्शन गरेका थिए ।

१४४ बर्षमा आएको महाकुम्भको समयमा फागुन ६ गतेबाट नौ दिन महाशिवरात्रीसम्म धार्मिक महोत्सव गरिएको थियो । पहिलो दिनबाटै भक्तजनको भीड लागेको नवग्रह मन्दिरमा दैनिक जसो लाइनमा बसेर भक्तजनले पूजा तथा दर्शन गर्नु परेको थियो । धार्मिक महोत्सवमा छिमेकी देश भारत, नेपालभित्रका सबै जिल्लाका भक्तजनले यहाँको नवग्रह मन्दिरमा पूजाआजा र दर्शन गरेको गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले बताए ।

महोत्सवमा एक करोड २५ लाख दीप प्रज्वलन, चार बेदको पाठ पारायण, गायत्री मन्त्रद्धारा सवालाख हवन, धार्मिक अन्तरक्रिया, सन्ध्याकालिन महाआरती तथा भजनकृतन गरिएको थियो ।

नवग्रह मन्दिर अनुष्ठान एवं धार्मिक महोत्सवमा आचार्य श्री चैतन्य कृष्ण महाराज गूरु प्रमुख वाचक रहेका थिए भने डाक्टर केएन स्वामी, युवा पण्डित प्रशान्त ढकालले समेत धार्मिक प्रवचन दिएका थिए ।

महोत्सवमा गायक खुमन अधिकारी, गायिका देवी घर्ती मगरले आफ्ना साङ्गितिक प्रस्तुति समेत राखिएको थियो । महोत्सवको अन्तिम दिन महाशिवरात्रीमा गायक टेक नारायण चापागाईं र गायिका देवी घर्ती मगरको स्वरमा रहेको नवग्रह भजन ‘नवग्रह तिम्रै चरणमा छौं, तिम्रै सरण पर्छौँ’ बोलको गीतको भिडियो छायांकन समेत गरिएको थियो ।

१५७ रोपनी क्षेत्रफलमा फैलिएको यस धार्मिक वनमा नवभूज आकारको आकाशतर्फ फर्केको २७ फिट अग्लो नवग्रह मन्दिर बनाइएको छ । यस मन्दिरमा रहने पिल्लरको सबैभन्दा माथि आकाशतर्फ फर्काएर सौर्यमण्डलीय ब्रह्माण्डको प्रतीक राखिएको छ ।

पिल्लरको १४ फिटमा सूर्य, शुक्र, केतु, चन्द्र, मंगल, बुध, शनि, बृहस्पति र राहुका प्रतीक राखिएको छ भने पिल्लरको नौवटा भुजामा ग्रह अनुसारका रंग लगाइएको छ । नवग्रह मन्दिरसङ्गै षट्कोण शिवालय बनाइएको छ भने यसको बीचमा पशुपतिनाथको जस्तै पञ्चमुखी शिवलिङ्ग (सात क्वीन्टल) र कोणमा गणेश, कुलदेवता, लक्ष्मी, कालभैरव, हनुमानको मूर्ति राखिएको छ ।

मन्दिरमा षट्कोणको एक छेउबाट प्रवेश गरेर गणेश, कुलदेवता (तेलको पोखरी), इष्टदेवताको पूजा गरेर बीचमा रहेको पञ्चमुखी शिवलिङ्गको दुई पटक घुमेर पूजा गरेसङ्गै हनुमान, लक्ष्मी, कालभैरवको पूजा गरेर बाहिर निस्किने बनाइएको छ ।

यहाँ नव्रग्रह यन्त्र, शिवयन्त्र र एक मण्डला समेत निर्माण गरिएको छ भने मन्दिरमा विवाह नहुने हुँदा सँगै रहेको राधाकृष्ण मन्दिरको मर्मत समेत गरिएको छ । यहाँ षट्कोण शिवालयका मूर्तिको अस्तित्वमा रहेको कर्णको मूर्ति नवग्रह फर्काएर करिब तीन मिटर पूर्वको जङ्गलमा राखिएको छ ।

नवग्रह मन्दिर शनिबार मात्र खुला हुनेछ भने नौमध्ये एक चक्रमा भने हरेक दिनमा पनि पूजा गर्न सकिने छ । सौर्यमण्डलीय ब्रह्माण्डको मूर्ति भने हरेक वर्षको गणेश चतुर्थीमा मात्र हेर्न पाइने छ भने सो दिन पालिका नै बिदा गरेर पूजा गरिने छ ।

मूल नवग्रह मन्दिर पालिकाको वडा नं. – १ मा रहेपनि अन्य नौवटा निशान प्रतीमा पालिकाका अन्य पाँच वडा तथा भौगोलिक स्वरूप ब्रह्माण्डीय स्वरूपमा घुमेर रहेको भीरकोट नपाको वडा नं – ७, पुतलीबजार नपाको वडा नं – १३ र १४ र आँधीखोला गापा – १ मा निशान प्रतिमालाई आलोपालो पूजा गर्ने प्रबन्ध मिलाइएको छ भने नौ वर्षमा सबै निशान पहिलाको ठाउँमा पुग्ने छन् ।

नव्रग्रह मन्दिर बनेको यस जल वराह धार्मिक वनभित्र ग्रह अनुसारका बिरुवा समेत रोपिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ