पिङ्क सिटी महोत्सवमा गोर्खाली खुकुरी दर्शकको रोजाइमा

पिङ्क सिटी महोत्सवमा गोर्खाली खुकुरी दर्शकको रोजाइमा

thulo khukuri pic

स्याङ्जाको वालिङ् नगरपालिका – ८ खेलमैदानमा जारी प्रथम पिङ्क सिटी महोत्सवमा गोर्खाली खुकुरी सबैको रोजाइमा परेको छ । फागुन २१ गतेदेखि जारी यस महोत्सवमा स्थानीयले आफ्नै सीपबाट निर्माण गरेको खुकुरी दर्शकको रोजाइमा परेको हो ।

यहाँको वालिङ् नगरपालिका – १४ रैपाला निवासी ३८ वर्षीय सन्तोष विश्वकर्माले आफूले बनाएका खुकुरीदेखि कृषि औजारहरु प्रदर्शनीमा राखेका छन् । महोत्सवमा विकले प्रवेशद्वार नजिकैको स्टलमा उनले आफ्ना उत्पादनहरु प्रदर्शनी एवं बिक्रीवितरण गरेका हुन् ।

विश्वकर्माले आफ्नो सीपको सदुपयोग गरी बनाई प्रदर्शनीमा राखेको ५ फीट १० इन्च लम्बाईको गोर्खाली खुकुरी भने सबैको रोजाइमा परेको छ । ३० केजी तौल भएको यो खुकुरी किनेर लैजानको लागि एक लाख एघार हजार एक सय एघार रुपैयाँ राखिएको विश्वकर्माले बताए । उक्त खुकुरी मन पराएर यहाँ आएका दर्शकले अर्डर समेत गरेको उनले बताए ।

उनले फलामबाट बन्ने हसिया, फाली, बन्चरो, कोदाली, खुकुरी, चक्कु, दाउ तथा तरवारलगायतका सामाग्री बनाउँदै आएको बताए । उनले राखेका खुकुरी र कृषिऔजारको प्रचारप्रसार मात्रै भएको छैन, बजारीकरण समेत भएको छ । यहाँबाट केही औजारहरु बिक्री भैसकेका छन् भने अर्डर पनि आएका छन् । घरायसी कामका लागि यी औजारहरु प्रयोग हुने हुँदा महोत्सवमा आएका दर्शकले लिएर जाने गरेको विश्वकर्माले बताए ।

उनले आफूले बनाएका यस्ता किसिमका सामाग्रीहरु घरबाटै बिक्रीवितरण गर्ने गरेको र मेला महोत्सवमा समेत स्टल लिएर प्रदर्शनी एवं बिक्रीवितरण गर्दै आएको बताएका छन् । महोत्सवले आफूले उत्पादन गरेका सामाग्रीहरुको बजारीकरण र प्रचारप्रसारमा टेवा पुर्‍याएको विकको भनाइ छ ।

मौलिक तथा परम्परागत प्रविधिको प्रयोग गर्दै आफ्नो पुस्तौंदेखि चलिआएको कला, सीप अबका पुस्तालाई हस्तान्तरण गर्न भने अलि गार्‍हो रहेको पनि विकले बताएका छन् । अहिलेका पुस्ताहरु यहाँ माध्यमिक तहसम्म पढेर बाहिरिँदै गएको अवस्थामा आफ्नो पुस्तापछिका अर्का पुस्तालाई परम्परागत सीप हस्तान्तरण गर्न गार्‍हो रहेको उनको भनाइ छ ।

वालिङ् चेम्बर अफ कमर्सको आयोजनमा जारी महोत्सवमा स्थानीय सीप तथा उत्पादनलाई प्राथमिकता दिइएको संस्थाका उपाध्यक्ष मणि प्रसाद पङ्गेनीले बताए । महोत्सवका स्टलमा राखिएका ती सामाग्रीले यहाँका स्थानीय सीपलाई झल्काएको मात्रै छैन, उत्पादित सामाग्रीको प्रचारप्रसार र बजारीकरणमा समेत टेवा पुग्ने उपाध्यक्ष पङ्गेनीको विश्वास छ ।

‘आर्थिक सामाजिक सम्पन्न समाज, समृद्ध वालिङ्’ भन्ने नाराका साथ वालिङ् चेम्बर अफ कमर्सले सञ्चालन गरेको महोत्सव चैत ३ गतेसम्म चल्नेछ । महोत्सवमा करिब चार सय स्टल रहेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ