पोखरा कोटीहोम विवादः भूमिपूजन गरेपछि नगर प्रहरी र आयोजकबीच झडप [तस्वीरहरू]

कोटीहोम मैदान बन्यो रणमैदान

पोखरा कोटीहोम विवादः भूमिपूजन गरेपछि नगर प्रहरी र आयोजकबीच झडप [तस्वीरहरू]

कोटीहोम आयोजक पक्ष र नगर प्रहरी घाइते

kotihom jhadap (1)

पोखरा । मानव सेवा फाउन्डेसन, नेपालले पोखराको लेकसाइड स्थित बाराहीघाट मैदानमा कोटीहोम सञ्चालन गर्न तयारीलाई तीव्रता दिएको छ । तर, चौतारो मासिएको विवादमा मुछिएपछि पोखरा महानगरपालिकाले कोटीहोम हुन दिने अडानमा छ ।

शुक्रबार बिहान अनुमतिविना भूमिपूजन गर्न खोजेको भन्दै महानगर प्रहरी रोक्न पुगेको थियो । मैदानमा आयोजक पक्षले विधिपूर्वक भूमिपूजन सुरू गरेका थिए । नगर  प्रहरीले माला, टेबल, कुर्सी उठाएर गाडीमा हालेपछि विवाद सुरु भएको थियो । दोहोरो झडपका बीच भूमिपूजनको कार्य भने सम्पन्न भएको छ ।  महानगरका प्रहरी लिएर एक दर्जन वडाध्यक्ष समेत पुगेका थिए । तर, उनीहरुले भूमिपूजन रोक्न सकेनन् ।

भूमिपूजन सकेर निस्कने बेला नगर प्रहरीले कोटीहोम आयोजक पक्षलाई गेटमा रोकेपछि २ पक्षबीच हानाहान सुरु भएको थियो । झडपका क्रममा दुवै पक्षका केही घाइते भएका छन् । घाइतेलाई उपचारका लागि मेट्रोसिटी अस्पताल र गण्डकी मेडिकल कलेज लगिएको छ ।

भूमिपूजन स्थलबाट आयोजकलाई हटाउन महानगर प्रहरी र केही स्थानीय अघि सरेको थियो । आयोजक पक्षले पनि रड र लाठी बोकेको समूह तैनाथ गरेको थियो । कोटीहोम पक्षका युवाहरुलाई पनि नगर प्रहरी सहित विरोधी समूहले लाठी बर्साए ।

दुई पक्षबीचको झडपलाई साम्य पार्न कुनै प्रयत्न नगरी पछि पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरी मुकदर्शक देखिन्थे । घटनास्थलबाट अहिले सबैजना तितरवितर भइसकेको बैदाम प्रहरीले बताएको छ ।

नेपाल ट्रस्टले कोटीहोमका लागि उपलब्ध गराएको बाराहीचोक नेरको खुल्ला जग्गामा तीन महिना लामोसमय कोटीहोम सञ्चालन गर्ने मानव सेवा फाउण्डेशनले जनाएको छ ।

महानगरको कार्यपालिका बैठकले समेत कोटीहोम कुनै पनि हालतमा गर्न नदिने निर्णय गरेको छ ।

उक्त स्थान अति व्यस्त रहेको, विश्व रामसार सूचीमा सूचीकृत फेवातालको किनार र कोटीहोमले भिडभाड बढ्न गई पर्यटकीय गतिविधिमा असर पर्ने हुनाले सुरक्षा तथा वातावरणीय संवेदनशीलतालाई ध्यानमा राखेर महानगरले उक्त स्थानमा कोटीहोम गर्न नदिने बताएको छ ।

फाउण्डेशनका संस्थापक विजय भण्डारी भने जुनसुकै हालतमा कोटीहोम गरेरै पोखराबाट फर्कने अडानमा छन् । संस्थापक भण्डारीले शान्त आयोजकलाई उत्तेजित बनाएर झडपको अवस्था सिर्जना गराएको बताउँदै कोटीहोम हुन नदिन षड्यन्त्र भइरहेको बताए । पोखराको शिवालयचोकमा व्यवस्थित सचिवालय स्थापना गरी तयारी गरिरहेका छन् ।

पोखरा महानगरले सामाजिक सञ्जालमार्फत् भनेको छः ‘विना अनुमति पोखराको बाराही घाटमा कोटी होम सञ्चालनको तयारी गरिरहेका विजय भण्डारी नेतृत्वको टोलीले हतियारबद्ध मानिसहरू परिचालन गरी नगर प्रहरी माथि गरेको आक्रमण प्रति महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।’

प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई समेत कोटीहोम रोक्नको लागि महनगर प्रमुख धनराज आचार्यले बिहानै टेलिफोन गरेको तर, प्रशासनले सहयोग नगरेको महानगरका प्रवक्ता मोति तिमिल्सिनाले सञ्चारकर्मीमाझ बताए ।

उच्च अदालत, पोखरामा कोटीहोम गर्न पाउनुपर्ने र कोटीहोम गर्न नदिने दुवै पक्षको रिटमा छलफल चलिरहेको छ । अदालतले संचालन गर्न वा नगर्न भन्ने अन्तरिम आदेश दिएको छैन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ