नेपाल लिटरेचर फेस्टिभलः पहिलो दिन शुभारम्भ, विद्वत प्रवचन लगायत ९ सेशन (भिडियो)

साहित्य महोत्सव

नेपाल लिटरेचर फेस्टिभलः पहिलो दिन शुभारम्भ, विद्वत प्रवचन लगायत ९ सेशन (भिडियो)

सरकारले छाडापन नियमन गर्न खोजेको हो: सञ्चारमन्त्री गुरूङ

vijay kumar manisha koirala

सरकारले छाडापन नियमन गर्न खोजेको हो: सञ्चारमन्त्री गुरूङ

पोखरा । सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयक अहिले संसदमा विचाराधीन छ । विधेयक संसद्मा जानुअघिबाटै सदनदेखि विभिन्न संघसंस्थाले विधेयकमा विरोध जनाइराखेका छन् ।

विधेयकले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउन खोजेको धेरैको दाबी छ । तर, संसदमा विधेयक पेस गरेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउन नभई छाडापन रोक्न विधेयक ल्याएको बताएका छन् ।

बिहीबारबाट पोखरामा सुरु भएको एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘सञ्चार संवाद’ मा उनले असभ्यतिर जान लागेको समाजलाई रोक्न विधेयक ल्याएको प्रष्टिकरण दिए । उनले विधेयकप्रति जनताको बुझाइ फरक भएको दाबी गरे ।

पत्रकार विजय तिमल्सिनासँगको संवादमा सरकारका प्रवक्तासमेत रहेको मन्त्री गुरूङले सामाजिक सञ्जालमार्फत हुने लुट, हिंसा रोक्न विधेयक आवश्यक रहेको टिप्पणी गरे ।

‘यहि महिना मात्रै कति मान्छे लुटिए ? विश्वास दिलायो । पैसा माग्यो या केही ग¥यो । आइडीयाहरु लियो । त्यो चाहिँ अन्त्य गर्नुपर्छ की पर्दैन ? राज्य छ भने सरकार छ भने लुट बन्द गर्नुप¥यो । हिंसा बन्द गर्नुप¥यो । अपराध बन्द गर्नुप¥यो,’ उनले भने ।

एआईले बायसनेस हुँदा ठूलो दुर्घटना हुन सक्नेमा सञ्चारमन्त्री गुरूङले आंशका व्यक्त गरे । समाजलाई हानीनोक्सानी पु¥याउने गतिविधिलाई नियमन गर्न कानुन बनाउन लागिएकोमा गुरूङको जोड थियो ।

सरकारले ल्याएको विधेयकमा डिपफेक भिडियो बनाउनेदेखि प्रसारण गर्नेसम्मलाई कारवाही हुने व्यवस्था छ । तर, सञ्चारमन्त्री गुरूङले सामाजिक सञ्जाल विधेयकमा दण्ड जरिवाना मात्रै नभएको बताए । उनले सामाजिक सञ्जाल सञ्चालन गर्नेहरूलाई साक्षारता अभियान चलाउने उल्लेख गरे ।

‘हाम्रो त्यहाँ खाली डन्ड जरिवानाको मात्रै कुरा छैन । सामाजिक सञ्जाल सञ्चालन गर्नेहरुलाई लिटरेसी क्याम्पेन चलाउने भनेका छौं । उनीहरुलाई सहयोग गर्ने भनेका छौं,’ उनले भने, ‘के–के चिज गर्नुहुन्छ के के चिज गर्नुहुन्न आइटीको, सामाजिक सञ्जालको माध्यमबाट भनेर । सबै प्रयोगकर्ताहरुलाई क्याम्पेन चलाउनुप¥यो । सरकारले सामाजिक सञ्जाललाई सघाउने भनेका छौं । अभियान त्यो हुन्छ ।’

अभिव्यक्ति स्वतन्त्रताको विषयमा सर्वाेच्च अदालतको निर्देशनात्मक फैसला नै काफी रहेको सञ्चारमन्त्री गुरूङले बताए । सर्वाेच्चले कुनै पनि आइटीका माध्यमबाट सामाजिक सञ्जाल चलाइराख्दा व्यक्तिगत विवरणको गोपनियता भंग गर्ने काम रोक्न भनेको उनले उल्लेख गरे ।

सामाजिक सञ्जाल प्रयोगकर्ता आफै सजग र सचेत हुनुपर्नेमा मन्त्री गुरूङले जोड दिए । सामाजिक सञ्जाल प्रयोग गरेर व्यापार गर्नेलाई प्रोत्साहन गर्ने सञ्चारमन्त्री गुरूङले बताए । तर, सामाजिक सञ्जालमार्फत अरूलाई तुच्छ गाली दिन नपाइने उनको भनाइ छ ।

‘तपाईं सामाजिक सञ्जाल प्रयोग गरेर व्यापार बढाउनुस् न,’ उनले भने, ‘त्यसमा सरकारले प्रोत्साहन गर्छ । तपाईंको सेवालाई सूचिकृत गर्नुस् न । सरकारले प्रोत्साहन गर्छ । व्यापार बढाउनुस् न । तर, अरुलाई हेट स्पीच किन गर्नुहुन्छ । ह्याक किन गर्नुहुन्छ ? पाइन्छ त्यो । पाइँदैन ।’
सरकार सामाजिक सञ्जाल अधिकतम प्रयोग गर्नुपर्छ भन्नेमा रहेको उनले बताए । नेपाललाई आइटी हफ बनाउनका लागि लगानीको वातावरण बनाउन अध्यादेश ल्याएको मन्त्री गुरूङको दाबी छ ।

राजनीतिक नेतृत्व र कर्मचारीकै कारण प्रदेशमाथि प्रश्न उठ्यो: मुख्यमन्त्री पाण्डे

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारप्रति प्रश्न उठ्नुको कारण परम्परागत केन्द्रीकृत शासन सत्ता रहेको दाबी गरेका छन् ।

पोखरामा जारी ‘एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभल’को ‘प्रदेशको पाइला’ सत्रमा पत्रकार भरत कोइरालासँगको संवादमा मुख्यमन्त्री पाण्डेले केन्द्रीकृत शासन सत्ताको परम्पराबाट बाहिर निस्कन नसकिएको बताए ।

राजनीतिक नेतृत्व र कर्मचारी तन्त्रमा अधिकार हस्तान्तरण गर्न नचाहने समस्या देखिएको मुख्यमन्त्री पाण्डेको भनाइ थियो । ‘केन्द्रीकृत शासन सत्ता राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रमा देखिन्छ । मैले उपयोग गरिरहेको अधिकार अरूलाई हस्तान्तरण गर्न नचाहने मानसिकता हुने रहेछ,’ उनले भने, ‘त्यसले नै हामीलाई काम गरेको छ । त्यो पावर तल दिन खोजेका छैनन् । त्यसकारण जनताले उठाएको प्रश्न सम्बोधन गर्न सकेका छैनौं ।’

जनताको अपेक्षा राजनीतिज्ञले बढाएको तर त्यसअनुसार कानुन निर्माण नहुँदा जनताको अपेक्षाअनुसार हुन नसकेको मुख्यमन्त्री पाण्डेले बताए । अहिले पनि सेवा लिन काठमाडौं जानुपर्दा संघ र स्थानीय सरकारबीचमा अर्को सरकार आवश्यक नरहेको प्रश्न उठ्नु स्वाभाविक भएको उनको भनाइ थियो ।

‘अहिले पनि कम्पनी दर्ता, राष्ट्र बैंक, मन्त्रालयअन्तर्गत, जग्गा प्राप्तिका कुरा संघ सरकार मातहत छ । हाम्रो समस्या के हो हामीले जनतालाई भनेका छैनौं,’ मुख्यमन्त्री पाण्डेले थपे, ‘उहाँहरू जुन आशाका साथ आउनुहुन्छ त्योअनुसार गर्न सक्ने कानुनी धरातल छैन । हामीबाटै होस् भन्ने अपेक्षा । हिजो काठमाडौं जानुपथ्र्यो । आज पनि जानपर्छ भने बीचमा प्रदेश सरकार किन चाहियो भन्ने छ । त्यो स्वाभाविक हो ।’ प्रदेश सरकारलाई स्थापित गर्न संघ सरकारको अग्रसरता र प्रधानमन्त्रीको इच्छाशक्ति चाहिने मुख्यमन्त्री पाण्डेले बताए ।

वित्तीय संघीयताअनुसार दिइने अनुदानका कारण पनि जनताको चाहना पूरा हुन नसकेको उनको भनाइ थियो । संघले ७० प्रतिशत राजस्व राख्ने, बाँकी १५–१५ प्रतिशत प्रदेश र स्थानीय सरकारलाई दिँदा जनताको अपेक्षा पूरा गर्ने अवस्था नरहेको मुख्यमन्त्री पाण्डेले बताए ।

सत्ता साझेदार दलसँग मिलेर आगामी वर्षको बजेटमा परम्परागत मोडललाई सच्याउने उनले दाबी गरे । परम्परागत मोडल र लोकरिझ्याइँलाई छोडेर ‘बोल्ड डिसिजन’ गर्ने उनले सुनाए । ‘हङ्ग पार्लियामेन्टमा कम्प्रमाइज गर्नुपर्ने हुने रहेछ । अहिले दुई दलको साझा समझदारी बनाउन सक्यौं भने बोल्ड भएर काम गर्न सकिन्छ,’ मुख्यमन्त्री पाण्डेले थपे, ‘लोकरिझ्याइँ मात्र भन्दा पनि जनताले महशुस गर्न सक्ने, प्रदेश सरकार छ भन्ने महशुस गर्न सक्ने गरेर दुई दलले समझदारी गर्छौं ।’

मुख्यमन्त्री पाण्डेले संघ सरकारले नबनाइदिएका कानुन अब प्रदेश सरकारले नै बनाउने तयारी गरिरहेको सुनाए । संघले कानुन नबनाइदिँदा प्रदेश सरकारप्रति प्रश्न उठिरहेको र अब आफैं कानुन बनाउन लागेको बताए । ‘कुन कानुन आवश्यक छ, संघले कानुन बनाएको छैन भने आफ्नो कानुन आफैं बनाऊँ भन्ने भयो,’ उनले भने, ‘कानुन बाझियो भने हाम्रो कानुन खारेज हुन्छ । त्यसपछि परिमार्जन गर्दै जाऊँ, अहिले हाम्रो अधिकार प्रयोग गरेर जाऊँ, आर्थिक रुपमा सम्पन्न हुन सक्ने क्षेत्र र कानुन बनाउने भनेर लागेका छौं ।’

प्रदेश सरकारको आन्तरिक आम्दानी वृद्धि गर्न निजी क्षेत्रलाई लगानीको वातावरण बनाउनेसहित पाँच वटा विकल्प पहिचान गरिएको उनले सुनाए । निजी क्षेत्रमैत्री कानुन, जमिनलाई उत्पादनसँग जोड्ने क्षेत्रको खोजी गरिरहेको, पर्यटकीय राजधानी ब्राण्डिङ गर्ने विषय पहिचान भइरहेको, औद्योगिक ग्राम स्थापनालाई जग्गा प्राप्ति गर्ने क्रममै रहेको, खेतीलाई व्यावसायिक बनाउने प्रयास प्रदेश सरकारले गरिरहेको मुख्यमन्त्री पाण्डेले सुनाए । ‘निजी क्षेत्रलाई जति लगानी गर्ने वातावरण बनाउँछौं त्यति नै राजस्व बढाउन सक्छौं । अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि लगानी हुनसक्छ । लगानीका लागि आवश्यक कानुन कुनकुन हुन् पहिचान गर्ने, प्रदेशको कानुन बाधक भए त्यो संशोधन गर्ने सोचाइ छ,’ उनले भने । जुन सरकारको अधिकार हो त्यसैअनुसार कानुन बनाउने गरी कार्यविस्तृतीकरण प्रतिवेदनमा छलफल भइरहेको मुख्यमन्त्री पाण्डेले जानकारी दिए ।

जनताले आफ्ना आवाज सुनाउने ठाउँको रूपमा प्रदेश सरकार रहेको र यो आवश्यक नै रहेको मुख्यमन्त्री पाण्डेले दाबी गरे । स्थापनाको सुरूआतका वर्ष भएकाले केही विषयमा समस्या भइरहेको तर भौतिक निर्माणको क्षेत्रमा जनताले अनुभव गर्ने गरी काम गरेको उनले दाबी गरे । ‘जनताको पहुँच सहज रूपले पुगेको छ । बजेट बनाउनेबेला वडादेखि जिल्लासम्मको साथीहरु आवश्यकता लिएर, सहयोग गर्नप¥यो, यो निर्माण सम्पन्न गरिदिनुप¥यो भनेर आउनुभएको छ,’ उनले भने, ‘आवश्यकता सजिलै सुनाएजस्तो संघको विभागीय मन्त्रीलाई सुनाउन पाउनुहुन्छ जस्तो लाग्दैन । कति गर्न सकियो सकिएन भन्ने दोस्रो कुरा हो । आवाज भने सुन्ने वातावरण बनेको छ ।’

संविधानमा लेखेअनुसार कानुन बनाएर तीन तहको सरकारले आफ्नो अधिकार उपयोग गर्न पाए संविधानमा धेरै संशोधन आवश्यक नदेखेको मुख्यमन्त्री पाण्डेको भनाइ थियो । संविधान संशोधन गर्दा राजनीतिक सहमति आवश्यक हुने उनले बताए । ‘संविधान संशोधन गर्ने क्रममा एउटा ख्याल गर्नुपर्छ । संविधान सभाबाट सबै मिलेर ल्याएको हो । यो संविधान कुनै एउटा पार्टीको मात्र होइन,’ मुख्यमन्त्री पाण्डेले भने, ‘यसलाई चलाउने क्रममा राजनीतिक दलको बीचमा साझा समझदारी, राजनीतिक समझदारी आवश्यक छ । समझदारी नगरी खोतल्दै जाँदा झनै खत्तम हुन सक्छ ।’

संघले कानुन नबनाइदिँदा प्रदेशले र प्रदेशले कानुन नबनाइदिँदा स्थानीय सरकारले काम गर्न नपाएको मुख्यमन्त्री पाण्डेले बताए । सेवा प्रवाह सहज बनाउन आवश्यक कानुन पछि बाझिने भएपनि अहिले बनाउन आफूले प्रदेशभित्रका स्थानीय सरकार प्रमुखलाई भनिसकेको उनले सुनाए । भविष्यमा बाझिने हकमा त्यतिबेलै संशोधन गर्ने र वर्तमान आवश्यकता पूरा गर्नुपर्छ भन्ने पक्षमा आफू रहेको मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।

सिमानाको किस्सा सुनाउँदै लामा भन्छन्ः ‘कतै, फूल त कतै बारुद’

लेखक, प्राध्यापक, आर्थिक एवं सुरक्षा सल्लाहकारलगायत विविध छवि बनाएका महेन्द्र पी लामाले सिमानाका रोचक एवं डरलाग्दा किस्सा सुनाएका छन् ।

पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलको उद्घाटन सत्रका वक्ता लामाले ‘सीमा, सम्बन्ध र साहित्य’ विषयक विधामा विद्वत् प्रवचन दिँदै सिमाना कतै प्रकृतिको त कतै प्रहारको भएको उल्लेख गरे ।

‘हामीबीच कतै, हिमाल, लेकाली फूल र प्रकृतिको सिमाना छ कतै, खोला, नदीहरुको’ उनले भन्दै गए ‘कतै बम र बारुद अनि कुनैपनि बेला सुरु हुने गोलाबारीको सिमाना छ ।’ भारतको सिमानामा कतै युद्ध त कतै झोपडपट्टी रहेको सुनाउँदै उनले खुला सिमानाको पनि चर्चा गरे ।

उनको भनाई जस्ताको तस्तैः

विश्वमा कुनै पनि क्षेत्रसँग दाँज्ने सिमाना खोज्नुभयो भने यहाँ (नेपाल)मा पाउनुहुन्छ । तपाईंले खुल्ला सिमाना पाउनुहुन्छ । नेपाल–भारत, प्वाल र खाल्डो भएको सिमाना पाउनुहुन्छ बर्मा र भारतको । तपाईंले काँडे तारले बन्द गरिएको सिमाना पाउनुहुन्छ भारत र पाकिस्तानको । प्राकृतिक डाँडाकाँडाले ढाकेको सिमाना पाउनुहुन्छ । अनि सिमाना यस्तो पनि छ कि सिमाना त तपाईं मेघालय र बंगलादेशको सिलोङमा जानुभयो भने सिमाना त भुजावाला र झालमुडीवाला सिमाना छन् । भुजावाला, झालमुडीवालाको अगाडि उभिनुभयो भने भारत अनि पछाडि उभिनुभयो बंगलादेश पर्छ । पशुपतिमा भारत र नेपालको सीमामा जानुभयो भने बीचमा एउटा नाली छ उता गए नेपाल यता आए भारत ।

कोही सिमाना तय गरेका छैनौं । चीनले पनि काल्पनिक भन्छ हामी पनि काल्पनिक भन्छौं । लुछाचुँडी भइरहन्छन् । त यो सिमाना भन्ने कुरा दुई किसिमको हुँदो रहेछ । एउटा धर्का, रेखा भएको । अर्को सिमाना सीमा क्षेत्र हुँदो रहेछ । धर्काको सिमानामा बसेका आर्मीहरू कतिबेला त्यसले सिमाना पार गर्छ र बन्दुक ठोकौंला भनेर बस्छ । अनि अर्को सिमाना बोर्डर लाइन भन्छौं । त्यसमा उताको यता, यताको उता गरिरहन्छौं । यी सिमानालाई हे¥यौं भने हामीले कुन नरम हो भन्ने, कुन कडा हो भन्ने छुट्टाउन सक्ने रहेछौं । कडा सिमाना भनेको क्रस गर्न नसकिने हो । क्रस गरेको खण्डमा गोला–बारुद चलिहाल्छ । भारत–पाकिस्तान, भारत र चीनजस्तो देशको सिमाना यस्तै छ ।

हामीले जो नेपाल र भारतको सिमाना छ त्यसलाई सफ्ट बोर्डर (नरम सिमाना) भन्छौं । चारैतिर तपाईंले सिमाना हेर्नुभयो भने हाम्रो सिमानामा पाँच प्रकारको कुराहरू आदानप्रदान गर्दा रहेछौं । एउटा तीर्थयात्रा, ज्ञान–बुद्धिको आदानप्रदान गर्छौं । अर्को मानव समाज आवातजावत गर्छन् पर्यटनका लागि, अध्ययनका लागि, स्वास्थ्यका लागि । अर्कोपट्टि व्यापार–वाणिज्यका लागि सिमाना तोक्छौं । वस्तु, बिजुली र देहव्यापारसम्म हुन्छ । अनि फेरि अर्को युद्ध र आक्रमण, आतंकवाद र शरणार्थीको बारेमा सीमाना तय गर्छौं । अनि अर्कोपट्टि फेरि प्राकृतिक प्रकोप बाढी, भूकम्प करूणाजस्तो बिमारको लागि सीमाना तय गर्छौं । अनि सिमानामा हुने यो पाँचै वटा कुरालाई हामीले पहिला त दुई देशको सम्बन्धमा गाभ्ने कोसिस गर्छौं । अनि सम्बन्धमा गाभ्ने कोसिस गरेपश्चात् साहित्यकारले साहित्यिक लेखनमा, पत्रकारले पत्रकारितामा बाँध्ने कोसिस गर्छन् । साहित्यिक लेखनमा जब सिमाना भन्ना साथ मलाई नेपालका गोर्खाहरू र पूर्व–भारत कम्पनीका आर्मीका युद्ध भएको याद आउँछ ।

सन् १८१४ तिर अर्थात् आजभन्दा करिब २ सय वर्ष पहिला भएको युद्ध थियो । यो देहराधुनदेखि अलिकति माथि नालापानीमा भएको थियो । एकपट्टि अंग्रेजका आर्मी थिए र अर्कोपट्टि नेपालका बलभद्र आफ्ना सिपाही लिएर गएका थिए । लडाइँ कस्तो भयो ? त्यो साहित्य र इतिहासमा लेखिएको छ । उताबाट २ हजार ५ सय सिपाही लिएर मेजर जर्नल रोर्बट जिलेप्सी आयो गोला–बारुद्ध लिएर । अनि जुन नालापानीको किल्ला थियो त्यहाँबाट गोर्खालाई खेद्नुपर्छ भनेर आयो । यताबाट बलभद्र आफ्नो ५÷६ सय सिपाही लिएर गयो । उताबाट गोखा–बारुद्ध, यताबाट खुकुरी, धनुकाँड, ढुंगा लिएर गयो । कसले खलंगा खाने, कसले किल्ला ओगट्ने भनेर लडाइँ सुरू भयो । युद्ध सुरू हुँदा पहिलो, दोस्रो र तेस्रो राउण्डमा अंग्रेज हारे । त्यसपछि जेलेप्सीले हामीले सकेनौं, यिनीहरूलाई हराउन नयाँ शक्ति लिएर आउनपर्छ भनेर गए । यता वीर बलभद्रले नानी, छोरी, श्रीमती सबैलाई लिएर गएपछि फेरि युद्ध सुरू भयो ।

यति भीषण प्रकारले गोर्खाहरूले त्यो लडाइँ लडे । अनि गोर्खाहरूले हारेरनन् तर वीर बलभद्रले किल्ला छोडेर गए । साहित्यमा के लेखेका छन् भन्दा वीर बलभद्रलाई आफ्नो सिपाहीहरूले के भन्छन् ? के भनेको रहेछन् भन्दा आन्द्रा लाग्यो चुत्की खेल्न, तिघ्रा लाग्यो काँप्न, सक्तिन महाराज पत्थरका लात् थाम्न । भोक लाग्यो, तिघ्रा भोकले हल्लिन थाल्यो, गोखा–बारूद्ध आयो भनेर छोडेर गयो । साहित्य, सिमाना अनि सम्बन्ध त्यसरी सुरू भएको हो ।

अब अर्को यस्तै युद्धको क्षेत्रमा लैजान्छु । जापानिजले अमेरिकनको अड्डामा बम खसालेपछि दोस्रो विश्व युद्ध सुरू भयो । जापानिजले हमला गर्दैगर्दै आएर जब नागासाकी र हिरोसिमामा अमेरिकनले एटम बम पहिलोपटक झा¥यो त्यसपछि युद्धको अन्त्य भयो । विचलित पार्ने कुराहरू भएपछि एक हजार हाँसको बारेमा कसैले कथा लेख्यो । अनि त्यसमा के लेखेको छ भन्दा – स्कुल पढ्ने सानो नानीलाई एटम बमको किरणले घोचेपछि जब क्यान्सर भयो, क्यान्सर भएपछि उसलाई जब अस्पताल लग्यो, अस्पताल लगेपछि उसलाई कसैले भन्यो – तिमी यदि जाति हुन मन छ भने एक हजार वटा कागजको हाँस बनाउँदैनौं तबसम्म बनाइ रहनुपर्छ भनेपछि उसले दबाइको प्रेस्किप्सन पायो भने हाँसै बनाउने र टाल्ने भन्दाभन्दै सदाकोको मृत्यु हुन्छ । त्यहाँबाट साहित्यको सुरू हुन्छ सदाको ‘वान् थाउजेण्ड पेपर क्रेन्स’ भनेर ।

तपाईं हिरोसिमामा जानुभयो भने यो सब देख्नुहुन्छ । अनि मैले हिमलखबर पत्रिकामा एउटा कथा लेखेको थिएँ – बुलेट ट्रेनमा रोइरहें भनेर । त्यता यस्तो युद्ध भयो यता ब्रह्मापट्टि भारतको उत्तरपूर्व आसाम, मणिपुरतिर यस्तो युद्ध सुरू भयो । जापानीहरू छ्यापछ्याप्ती आउन थाले । बमबारी गर्न थाले । अनि अमेरिकीले सीमा कसरी पार गर्ने भनेर एउटा बाटो बनाए । अमेरिका, चीन र भारत मिलेर सन् १९४२ मा एउटा बाटो बनायो । त्यो सन् १९४५ मा बाटो सकियो । बाटो असामको लेखापानी जग्गाबाट जयरामपुर भएर छ्याङलाङ हुँदै पाङसाउ पास पुगेर मिच्यान्हा झरेर फेरि मण्डले भएर चीनको कुन्मिङमा पस्छ । जापानीहरू म्यानमारबाट चीन र बर्माबाट भारत जान नसकोस्, तिनीहरूलाई रोक्न सक्नुपर्छ भनेर तीन देशलाई छुने बाटो बनायो । त्यस युद्धमा लड्नेमध्ये सबैभन्दा प्रमुख गोर्खाहरू थिए ।

म्यान्मारमा मण्डले हिल्स भन्ने महानगर छ । मण्डले हिल्समा गएको त्यहाँ एउटा बुद्धिष्ट गुम्बा छ । यो जग्गा गोर्खाहरूले जापानीलाई खेदेको जग्गा हो भनेर ठूलो लेखेको रहेछ । अनि जापानीहरू पछि कोइमा, नागाल्याण्ड, मणिपुर पसे । कोइमामा भरपुर मान्छेहरू मारे । कोइमामा सबैको कपुर बनाइएको छ । स्मारक बनाइएको छ । कोइमामा सिंहवीर घलेको नाम एउटा कपुरमा पाउनुहुन्छ । घले ३० मे, १९४४ मा मरेका रहेछन् । घलेको चिहानको माथि – ओम् भगवतय नमः भनेर लेखेको रहेछ ।

अर्को बमबहादुर घर्ती मरेका रहेछन् । उनी २२ वर्षका थिए । अनि यसरी अंग्रेज, मुसलमान, भारतीय सेनाहरू मारिए । अनि चिहानको माथि सबैले आ–आफ्नो कुरा लेखेको रहेछ । अंग्रेजको एउटा एच टेन थोन भन्ने मान्छे सहिद भएको रहेछ । उसको श्रीमतीले ‘हामीले एउटा अपूर्व भविष्यको योजना बनाएका थियौं तर सपनामै सकियो’ भनेर लेखेको रहेछ । अब यो कुरा साहित्यमा कसरी आयो भन्ने तपाईंहरूले बुझ्नुहुन्छ । साहित्य कोट्याएर हेर्नुभयो भने चाखलाग्दा कुरा पाउनुहुन्छ ।

अहिले त युद्धको कुरा भनें, अब सिमानाबाट देहव्यापार कसरी हुन्थ्यो भन्छु । आज माइती नेपालका अध्यक्ष अनुराधा कोइराला यो गर्नुहुन्छ, त्यो गर्नुहुन्छ, यहाँ जानुहुन्छ, त्यहाँ जानुहुन्छ, छोरीचेलीलाई बचाउनुहुन्छ ।

आजभन्दा एक सय वर्षअघि सन् १९२६ मा कलकत्तामा एउटा गोर्खा कल्याण संघ थियो । अनि त्यसका अध्यक्ष खड्गबहादुर विष्ट थिए । उनले भारतको स्वतन्त्रता संग्रामका लागि पैसा उठाउनलाई, योगदान दिनलाई बाटोमा हिँडिरहेका थिए । बाटोमा चित्तुर रोडमा हिँडिरहँदा कसैले कागज फ्याँकिदियो । त्यसपछि कागज टिपेर माथि हेर्नुभयो । एक जना सानी ठिटीले माथिबाट तपाईंले त्यो पढ्नुस् भनेर भित्र जानुभयो । अनि त्यो कागजमा पद्मप्रसाद भन्ने बनारस बस्नेले १८ वर्षकी राजकुमारी मैयाँलाई झुटो आश्वासन दिएर कलकत्तामा हिरालाल सेठ भन्ने व्यापारीलाई बेचेको रहेछ । त्यो ठिटीले माथिबाट मलाई बचाउनुस् भनेर कागज झारेको रहेछ ।

खड्गबहादुर विष्ट त्यो सबै कल्याण समितिको काम छोडेर रिसले घरमा गए । धारिलो खुकुरी बोकेर बिल्डिङको माथि चढेछन् । त्यसपछि दैलो ढकढक गरेर खोल्दा हिरालाल श्रेष्ठ त अनुहार चाउरीसकेको, दाँत झरिसकेको बुढा रहेछ रे ! भित्र कसरी पस्नुभन्दा उसले नाटक गरेर भनिदियो – मलाई बनारसको पद्मप्रसादले पठाएको, उसकोमा दुई जना १६ वर्षकी केटी छन् । अलिकति पैसा ज्यादा दिनुभयो भने म ती केटीहरू ल्याइदिन्छु ।

त्यसपछि हिरालालले रमाएर पद्मप्रसादले पठाएको भनेर स्वागत गरे । खड्गबहादुरले हिरालाललाई काटिदियो । त्यसपछि सिधा थानामा आत्मसमर्पण ग¥यो । के गर्ने भन्ने भयो । पूरै भारतमा आन्दोलन भयो । अनि आन्दोलन गर्नेमा अखिल भारतीय गोर्खा लिगको नेता ठाकुर चन्दन सिंह हुनुहुन्थ्यो । उहाँले सुरू गर्नु भएपछि तीन वर्षभित्र सन् १९३० भित्रमा देहव्यापारको कुरा निकै ठूलो भयो कि खड्गबहादुर रिहा भए । यो सिमाना, सम्बन्ध अनि साहित्यसँग जोडिन्छ ।

हाम्रो कालिङपुङमा पञ्चरत्न प्रधान सर हुनुहुन्थयो । सबैले मान्ने प्रधानाध्यापक हुनुहुन्थ्यो । उहाँले बित्नुअघि केही बोट, केही विरुवा भन्ने पुस्तक लेख्नुभयो । राम्रो पुस्तक लेख्नुभएको छ । उहाँले के भन्नुभएको छ भने जब म दार्जिलिङ जिल्ला परिषद्को अध्यक्ष थिएँ तब म दार्जिलिङको मधेश क्षेत्र खोरीबारी, पानी ट्यांकी, नक्सल बारीतिर जान्थें जहाँ मधेशको मान्छे बस्थे । त्यहाँ कालो वर्णको लाप्चेहरू भेटें भन्नुभयो । लाप्चेहरू कालो वर्णको हुँदै हुँदैन । होइन ? उहाँले त्यत्तिकै लेखेर छोडेर बित्नुभयो ।

मलाई इतिहासमा रूचि भएकाले कालो वर्णको लाप्चे के हो, सिक्किमको टुप्पोतिर बस्ने मान्छे कसरी कालो भयो भन्दा त फेरि सिमाना र इतिहासकै कुरा आयो । नेपालमा ब्रिटिस नागरिक हट्सन क्याम्बेल भन्ने मान्छे थियो । उसले नेपाल खर्लप्पै खाएको थियो । भाषा, साहित्य, पशु, प्राणी सबै खर्लप्पै खाएको मान्छे सन् १८४० को दशकमा दार्जलिङ गएर बस्न थाल्यो । सन् १८४८ मा उहाँलाई मिल्ने साथीले भेट्यो । उनी बेलायतबाट आएको जोसुफ हुकर थिए । उनी मेडिकल डाक्टर भएपनि मेडिकल नगरी उत्पीडित खोज्दै हिँड्थे । उत्पीडित खोज्न उनीहरू सिक्किम पसे । सिक्किममा राजाको शासन थियो । राजाले यिनीहरूलाई जंगल जान दिएन । जबर्जस्ती जंगल पस्दा राजाले पक्रेर जेलमा हाल्दियो ।

तपाईंले विकासको सिद्धान्त प्रतिपादन गर्ने चाल्र्स डार्बिनको नाम सुन्नुभएकै होला । हुकरको बेलायतमा साथी डार्बिन रहेछ । अनि हुकर र चाल्र्स डार्बिनबीच चिठी मैले पाएँ । ४८ दिन त्यस्तो चिसोमा जेलमा हाल्दिएपछि राजालाई अंग्रेज सरकारले उनीहरूलाई छोड्नुभएन भने सिक्किम खाइदिन्छौं, आक्रमण गर्छ भन्यो । त्यसपछि उनीहरूलाई छोडिदियो । छोड्दा अंग्रेज सरकारले तिमीहरूले हाम्रो मान्छेलाई हाल्यौ अब तिमीहरूको पनि खाइदिन्छु भनेर खोरीबारी, नक्सलबारी खाइदियो । अनि त्यहाँ बस्ने लेप्चाहरू पछि कोचे, इचे, सन्ताल सरेकाले कालो भएको हो कि !

अन्त्यमा भू–राजनीतिबारे एउटा कुरा भन्न चाहन्छु । हामीले भारतमा नेपाली भाषालाई आठौं अनुसूचीमा मान्यता दिनुपर्छ भनेर धेरै लड्यौं । सन् १९५६ मा आनन्दसिंह भण्डारीले देहरादुनबाट यो मुद्दा उठाएपछि हामी लड्यौं । यसमा पनि सीमाना र साहित्यको कुरा आयो । लड्दा–लड्दा सन् १९७७ मा मोरर्जी देसाइ प्रधानमन्त्री हुनुभयो । अखिल भारतीय नेपाली भाषा समितिको अग्रजहरू गएर उहाँलाई हाम्रो भाषाले हाम्रो भाषाले मान्यता पाउनुपर्छ भन्नुभयो । मोरर्जी देसाइले के भन्नुभयो भन्दा तिमीहरूको भाषा नेपालको विदेशी भाषा हो त्यसैले मान्यता दिँदैनौं भन्नुभयो ।

हामी पनि अलिकति ढिपी नै मान्छे हौं । हाम्रो भाषा कसरी नेपालको भाषा हो भन्यौं । सन् १९७५ मा नेपाली भाषालाई भारतको आधुनिक भाषा हो र भारतकै साहित्यकारले मान्यता दिएको छ भनेपछि उसले मान्दै मानेन । सन् १९९२ मा आठौं अनुसूचीमा मान्यता पायौं । अब कुरा गरौं उहाँले किन विदेशी भाषा भन्नुभयो भनेर । खोज्दा–खोज्दा चिठी पायौं । उहाँले हाम्रो एक जना सांसदलाई लेख्नुभएको रहेछ, ‘तिमीहरूको भाषा विदेशको भाषा हो । तिमीहरूको नेपालमा पनि हिन्दी भाषी त्यत्रो छ । तिमीहरूको सरकारले नेपाललाई दिन्छ ।’ हामीलाई त तिमीहरूको भनेर नेपालको भन्यो । हाम्रो इतिहास भारतीय, हाम्रो योगदान सबै भारतीय छ । हामीलाई पनि झोक चल्यो । हामीले उहाँलाई जवाफ दियौं । दार्जलिङ आउँदा जुत्ता देखायौं । मैले पनि जुत्ता देखाएँ । मेरो साथीलाई पक्रेर पिट्यो । अहिलेसम्म पनि साथीको ढाड दुख्छ । तर हामीले छोडेनौं ।

किन भनेको रहेछ भनेको त सन् १९७५ मा जब सिक्किम मर्ज भयो नेपालमा पनि तहल्का भयो । नेपालको राजाले शान्ति क्षेत्र घोषणा गर्नुभयो । प्रधानमन्त्री मोरर्जी देसाइले इन्दिरा गान्धीलाई हेर्न नमान्ने । त्यो गर्दा इन्दिरा गान्धीले गर्नुभएको कुनै काम मन नपराउने भयो । नेपालको राजाले मधेशमा हामी हिन्दी भाषीलाई हिन्दी बोल्न दिँदैनौं, नागरिकता पनि दिँदैनौं भन्नुभयो । त्यसपछि नेपालकाले सिमानामा पोल सार्न थाले होला ! धान खाने मुसा, चोट खाने भ्यागुता भनेजस्तो हामीमाथि प्रहार गर्नुभयो । पछि गएर बुझ्यौं ।

अन्त्यमा एउटै कुरा भन्न चाहन्छु । भू–राजनीतिमा प्रोपोगाण्डा भन्ने ठूलो कुरा हुँदो रहेछ । अन्धाधुन्धको प्रचार हुन्छ । सन् १९६५ देखि १९७५ मा जब साँस्कृतिक क्रान्ति भयो त्यसमा प्रोपोगाण्डा धेरै हुन्थ्यो । माओत्से तुङले आफूलाई बचाउन सबै प्रोपोगाण्डा गर्थे । उनले मान्छेलाई माओत्से तुङबाहेक अरू सोच्नै दिँदैनथे । ८० लाख मान्छे म¥यो भनिन्छ । नेपालमा जब चीनको सहयोग सुरू भयो, काठमाडौं–कोदरी राजमार्ग, अरनिको राजमार्ग, रिङरोड, पृथ्वी राजमार्ग बन्यो । सन् १९८७ मा यहाँ आउँदा भारत र चीनको आर्थिक् सहयोगमा के छ भनेर सोध्दा अग्रज नेपालीले एउटा ठूलो अन्तर भारतले आफ्नै प्रकारको इन्जिनियर, ट्याक्टर ल्याउँछ र गाउँ बसाउँछ र कार्यक्रम गर्छ भने । त्रिभुवन राजमार्ग, सिद्धार्थ राजमार्ग बनायो । तर, चीनको १०÷१५ जना मान्छे मात्र आउँछ, सानो कोठामा बस्छ, त्यहीँबाट हिसाबकिताब गर्छ अनि प्रोजेक्ट नेपालीलाई चलाउन लगाएर बनाउँछ ।

गाउँमा जाँदा एक जनाले तपाईंले चीनमा कसलाई चिन्नुहुन्छ भनेर सोध्दा यिनलाई चिन्छु भनेर देखाउनुभयो । को हो यिनी भनेर सोधेँ । खोइ ‘मा’, ‘मा’ भन्छन् यिनीलाई चिन्छु भन्यो । त्यतिबेला चीनले के गर्दो रहेछ भन्दा चीनले जहाँ पनि सहयोग गर्छ त्यहाँ माओको सानो ब्याज सबैलाई बाँड्दो रहेछ ।

चीनको म्युजियममा गएर माओत्से तुङले कसरी प्रोपोगाण्डा गर्दो रहेछ भनेर हेरेको त त्यतिबेलाको जमानामा घरमा जति घडी छ त्यहाँ माओको फोटो हुनैपर्छ । खाने थालमा माओको फोटो हुनैपर्छ । जहाँ पनि तपाईंले देख्नुहुन्छ माओको फोटो हुनैपर्छ । अनि त्यही फोटोग्राफ यहाँ पनि लगाइदिए । मलाई कहिलेकाहीँ लाग्छ – यो नेपालमा माओवादीको आन्दोलन गरे । लेनिनिष्ट, माक्सिष्ट आन्दोलन किन गरेन ? माओकै किन ग¥यो भन्दा त्यो ब्याजको पो प्रभाव हो कि !

(प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाले एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको उद्घाटन सत्रमा बिहीबार दिएको विद्वत्प्रवर्चन । उनी इन्दिरा गान्धी ओपन युनिभर्सिटीको प्रो–उपकुलपति र भारतको सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपति हुन् । उनी भारतको राष्ट्रिय केन्द्रीय विश्वविद्यालयको सबैभन्दा कान्छा उपकुलपतिसमेत बनेका थिए ।)

क्यान्सरले मेरो ‘इगो’ मार्‍याे, मलाई मारेनः मनिषा कोइराला

बलिउडकी सफल अभिनेत्री मनिषा कोइराला बिहीबार पोखरामा आयोजित नेपाल लिटरेचर फेस्टिभलमा आफ्नो जीवनगाथा सुनाउन उपस्थित भइन् ।

फेस्टिभलको दोस्रो सेशनमा सहजकर्ता विजयकुमारसँग ‘अलिअलि हार हो, अलिअलि जित’ माउनले जीवनको अनगिन्ती पाटालाई सहभागी, स्रोतासमक्ष खोलिन् । विपि कोइरालाको कृति तीन घुम्तीलाई कोट्याउँदै विजयकुमारले मनिषाको जीवनका घुम्तीबारे जिज्ञासा राखेका थिए ।

जिज्ञासाको जवाफमा कोइरालाले आफ्नो जीवनमा ३ महत्वपुर्ण घुम्ती रहेको सुनाइन् ।

उनको भनाई जस्ताको तस्तै:

मेरो जीवनका तीन घुम्तीहरू छन् । जहाँसम्म मलाई सम्झना छ,  एउटा त फिल्म इन्डष्ट्र जहाँ मैले कसैलाई चिनेकी थिइनँ । जहाँ मेरो केही पृष्ठभूमि पनि थिएन । नयाँ ठाउँ, नयाँ वातावारणमा गएर त्यहाँ संघर्ष गर्नु त्यो मेरा लागि नयाँ मोड थियो ।

दोस्रो मोड, जब मलाई क्यान्सर भयो त्यो पनि एकदमै नयाँ वातावरण थियो । मलाई थाहा थिएन बाँच्छु, मर्छु, के हुन्छ भनेर । त्यो दोस्रो घुम्ती भयो ।

तेस्रो मलाई लाग्छ, अहिले म ५४ वर्षको छु । मेरो कोसिस के छ भने नौलो जिन्दगी हुनेछ । मसँग यत्रो वर्षको भोगाइ, पीडा र दुःख–सुःखको एउटा अनुुभव छ । त्यसलाई लिएर अब अगाडि कसरी बढ्ने ? भनेर अहिले तेस्रो घुुम्तीमा छुु ।

म जहिले जवान थिए, मसँग असाध्यै ऊर्जा थियो । त्यसैको प्रभावले कहिले निकै उचाइमा पुुगें, खस्दा पनि छर्लङ्ग नै खसे ।

क्यान्सरले ग्रसित हुनुु त्यो मेरो जीवनको एउटा महत्वपूर्ण समय थियो । त्यसैले जहिल्यै पनि सम्झन चाहन्छुु । जीवन भएपछि मृत्यु हुन्छ, हुन्छ, हुन्छ । र त्यतिखेर म मृत्युुको बोधले या भयले घेरिएको थिए । एक्लोपनले गिजलेको थियो । मृत्यु, मलाई लाग्छ हामी सबैको एक न एक दिन सत्य हुन्छ । कसैको छिटो, कसैको ढिला । तर, हामीले एक दिन भोग्नुु नै पर्छ ।
त्यसपछि मलाई लाग्यो कि मैले बाँच्न पाए भने कस्तो जीवन बाँच्ने भनेर मैले त्यतिखेर नै सोचेको थिएँ कि ल यस्तो, यस्तो, यस्तो गर्छु भनेर । बाँच्न पाए अहिले त्यही बाटोमा हिँडेर म हिँडिरहेको हुन्छु ।

क्यान्सरको उपचार गर्नलाई हस्पिटलमा बस्दा आशावादी त म थिइनँ । म निराश थिएँ । लाग्यो कि मलाई यही मेरो जीवनको अन्तिम क्षण हो । अन्तिम दिनहरू हो ।

असाध्यै हिनताबोध के भइरहेको थियो भने मैले जीवन पाएँ तर त्यसको भरपूूर उपयोग गर्न सकिनँ । त्यसको दुरुपयोग गरें । म क्यान्सरले ग्रसित हुँदा ४१ वर्षको थिएँ । मैले ४१ वर्षसम्म बाँच्न पाएको थिएँ । उपयोग आफैंले बाँच्न गरें भनेर असाध्यै हिनताबोध भएको थियो ।
हस्पिटलको बेडबाट धेरै कुरा सिक्न पाएँ त्यतिखेर । आफन्त को हो भनेर ? आफन्त देखिने भनेको को रहेछ ? जीवनमा के महत्वपूर्ण रहेछ ? के संवेदनशील छ ? के संवेदनशील छैन भनेर  ?

क्यान्सर हुनुुभन्दा पहिले मलाई लाग्थ्यो, ‘जीवन अनन्त छ, मेरो अन्त्य छैन भनेर । अंहकार जस्तो थियो ।’ हामीले आफ्नो मृत्युको बारेमा सोचेकै हँुुदैनौं । अब त कहिले मर्ने थाहा भएन । मर्ने त निश्चित छ भनेर धेरै कुरा मनमा आयो । एक्लोपन असाध्यै भयो । डर असाध्यै लाग्यो । बाँच्छुु, जिउँछु ? कतिसम्म बाँच्छुु र कहिलेसम्म कुन हालतमा बाँच्छु ? किमो लिइसकेपछि मेरो जिउ कस्तो खाले हुन्छ भन्ने पनि थाहा थिएन । अपाङ्ग भएर बाँच्छु कि ? भन्ने सोचहरू मनमा आएको थियो । भगवानको कृपा हो, अहिले म जे छु, जस्तो छु ।
जब हस्पिटलमा थिए त्यतिखेर मैले सोचेको मान्छेहरू, माया गरेको मान्छेहरु म सँग कोही आएनन् । मेरो आमाबुवा र निकट साथीहरु भन्दा बाहेकका एउटा दुुईटा आए । मेरो त जमातै हुुन्थ्यो, ठूलो सर्कलमा साथीहरु थिए । त्यतिखेर कोही भएन । म एक्लो निराश भएर हस्पिटल बेडमा बसिराको हुन्थें ।

एक जना डाक्टर हुुनुुहुुन्थ्यो । हरेक आइतबार मकहाँ आउनुहुन्थ्यो । पूरा दिन मसँग बस्नुहुुन्थ्यो । एकचोटी बस्नुुभो । दुुईचोटी बस्नुुभो । मेरो मनमा  धेरै प्रश्नहरू आउन थाले । एकदिन त मैले आफूलाई रोकेर सोधें, ‘तपार्इं आइतबार यहाँ अएर बस्नुहुन्छ । न्यूयोर्कको राम्रो हस्पिटलको डक्टर हुनुुहुन्छ । त्यहाँ तपाईं यति व्यस्त हुनुुहुन्छ हप्तैभरी । आइतबार एक दिन पाउनुहुुन्छ त्यो पनि आफ्नो परिवार, आफूलाई रिल्याक्स गर्ने दिन हो । तर, तपाईं मकहाँ आउनुहुन्छ ? तपार्इं मेरो फ्यान पनि होइन । साथी पनि होइन । किन आएर मसँग बस्नुहुन्छ । आफ्नो महत्वपूर्ण समय मर्ने व्यक्तिलाई किन दिइरहनुुभएको छ ?’

उहाँले भन्नुुभो, ‘मनिषा जी सो द्याट यु डु दिस समबडी एल्स ।’ म अवाक् भएँ । उहाँले आफूलाई भनेर होइन कि थाहा रहेछ म एक्लो छु भनेर । र मलाई साथको खाँचो छ भनेर । त्यसैले उहाँ आउनुुभो । उहाँलाई इच्छा रहेछ मैले पनि त्यसै गरिदिउँ कसैलाई परेको बेलामा ।
हरेक मान्छेहरूको सोच फरक हुन्छ । तपाईंसँग एक जना होस्, दस जना होस्, कोही नहोस् । तर, तिमी शान्त छौ भने केही हुँदैन । हामलाई गाह्रो कहाँनेर हुन्छ भने जब हामीले अपेक्षा राख्छौं । यसले माया गर्देला, मलाई दुःख परेको बेलामा यो मान्छे उभिन्छ होला भनेर अपेक्षा गर्छौं । तर, उभियो भने ठीकै छ नउभिएपनि ठीकै छ नि त ! भनेर स्वीकार गर्न सक्नुुपर्छ । माया प्रेम पाए पनि राम्रो नपाएपनि राम्रो । ब्यालेन्ससिटको फर्मुुलामा गयो भने गाह्रो हुन्छ ।

उचाइमा पुुग्दा पनि मान्छेको दृष्टिकोणमा भर पर्छ । म युवा हुुँदा एउटै नाक आकाशतिर भएर हिँड्थें । इगो धेरै बुस्ट हुन्छ । मेरो सेकेन्ड इनिङमा मैले सफलता पाएँ र यसमा रमाएँ । किनभने मैले असाध्यै मेहनत गरे त्यसको सफलता भए । मैले आफैंलाई असाध्यै आशीर्वाद दिए । मैले आफैंले स्याबास भनेपनि । तर, मलाई यति थाहा छ कि यी सबै सकिने रहेछ । जिन्दगीको सत्य अस्थायी हो । भोलि के हुन्छ थाहा हुदैन ।
उचाइमा पुुग्दा सीमितता हुन्छ । अब यो पछि के गर्ने भन्ने हुन्छ ? त्यो क्षण नै अपेक्षा गर्ने तर सँगै बग्ने होइन । हामी मनुष्य हरेक जीवनमा साझा सत्य के हुन्छ भने निराश, सफलता । हामी सफल पनि देख्छौं, ओरोलो झरिरहेका पनि हुन्छौं । सानो होस् या ठूलो कुरा होस् कहीं हामीलाई धेरै माया इज्जत दिइन्छ । त्यो सधैंभरीका लागि हँुदैन । भोलि गएर कहीं अपमान, बेइज्जति सहनुपर्ला । म धेरै नै ओरोलामा झर्न चाहिन र धेरै नै उचाइमा पुुगेर पागल पनि हुन चाहँदिनँ भन्ने मानवीय स्वभाव रहेछ ।

जब मैले जिन्दगीलाई बुझ्दै गएँ धेरै बुुझ्ने भएँ । युवा अवस्थामा म पनि सानो कुराले चित्त दुख्दा म ओहो ! मिनाकुमारी भन्थें । एकदम निराश हुने  । हरेक चिज परिवर्तन हुन्छ । अहिले जब उमेर बढ्दै गयो अहिले लाग्छ हरेक चिज परिवर्तनशील छन् । जिन्दगी बुुझेर बाँचेको राम्रो ।
क्यान्सर भएर बेडमा हुँदा मैले सोचेको थिएँ – जिन्दगीलाई सुधार गर्छु । जसले मलाई साँचो माया गरेको छ जो अहिले मसँग उभिएको छ त्यो सम्बन्धलाई अपन्तत्व महशुुस गराउँछुु, झन् सुदृढ गराउँछु, मेरो करियरलाई पहिलाको ठाउँमा ल्याउँछुु । त्यो सबै एक एक गर्दै हिँडिराख्याछु अहिले । धेरै मान्छेले बम्बइमा फेरि करियर सुरू हुन्छ भनेर सोचेका थिएँ । किनभने मलाई सिनेमा मन पर्छ । अभिनय, कथाहरू भन्न, सुुन्न, हेर्न मन लाग्छ । तर, मेरो अर्को पाटो खुुलिसकेको छ । अब म एक्सप्लोर जिन्दगी बाँच्न चाहान्छु । जहाँ मेरो आत्मले लाग्छ जहाँ मलाई खुसी लाग्छ त्यो बाटो हिँड्दै जान्छु जहाँ मलाई दिमागले नबाँधोस् । म जिन्दगीलाई खुुला गर्दैछु ।

मनमा एउटा सोच थियो, म जुन उचाइमा थिएँ फेरि त्यही उचाइमा लगेर म निर्णय लिन्छु निरन्तर गर्छु कि गर्न चाहँदिनँ । किनभने जो मान्छेले मृत्युको बोध गरेको हुन्छ त्यसलाई धैरै कुरा बाँध्दैन । म पहिले पनि त्यतिसारो बाँधिएको मान्छे होइन । तर, एउटा फ्लोमा करियर थियो । मैले कडा मिहिनेत गरेपछि म राम्रो काम गर्न सक्दो रहेछु र राम्रो काम गरेपछि अँ राम्रा निर्देशकहरू एक्कासी जिन्दगीले जोडले मलाई लगेको थियो ।  एकदमै महत्कांक्षी भएर म अगाडि बढेको होइन । पहिला पनि म त्यस्तो महत्कांक्षी होइन, अहिले पनि छैन ।

मलाई अनुुभव हुन्छ मैले केही महत्वकांक्षा प्रयोग गरे जब केही महत्वपूर्ण उपलब्धी हासिल गरें । तर, पूर्ण क्षमतावान् थिएँ महत्वकांक्षा हुनका लागि ।

मेरो राजनीतिक व्यक्तिको जस्तो दिमाग छैन । म धैरै कलात्मक, सिर्जनशील, जिप्सी छु । राजनीतिक परिवारमा हुर्किएपछि केटाकेटीदेखि नै राजनीतिकको बारेमा सुन्दा सुन्दा रुचि कम छ । राजनीति सजिलोसँग बुुझिन्छ ।

नेपाली सिनेमाको अहिले राम्रो समय छ । ‘पूूर्णबहादुरको सारङ्गी’ भन्ने सिनेमा छ नि पहिलो ५० करोड बढी कमाउने । यो सुरुआत हो ।

किनकि पहिलेपहिले नेपाली सिनेमाको बजेट र निर्माताले पाउने बजेट ३० लाख मात्रै हो । अहिले सय करोडमा पुुगेपछि सम्भावनाको ढोकाहरू खुुलेका छन् ।

हामीले सिर्जनशीलता दिनुपर्छ । नेपाली समाजमा किताब पढ्नेहरू बढी छन् । त्यसको मतलब यदि कसैले सिर्जनशील फिल्म बनाउँछ । हाम्रो आफ्नो माटो, परम्परा, कथाहरू फिल्ममा हालेर विश्वस्तरको बनाउन सक्छौं । त्यस्ता फिल्म निर्माताहरु युवापुस्ताहरुमा देखिएका छन् ।

(क्यान्सरलाई पराजित गरेकी अभिनेत्री मनीषा कोइरालासँग पत्रकार विजय कुमारले पोखरामा जारी एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलमा गरेको संवादमा आधारित)

हाम्रो सम्बन्ध विश्वास र मायाले टिक्यो: भावेश–प्रणेता

पोखरा । ‘मैले पनि पत्रमित्रताको माध्यमबाटै मेरो श्रीमतीलाई विवाह गरेको हुँ, यसो किताब लेखौं कि भनेर रहर थियो । तर किताबका लागि होला भन्ने सोचेर आफैंले पढे, आफैंलाई लाज लाग्यो, सबै जलाइदिएँ ।’ त्यो प्रेमपत्र, यो प्रेम र साहित्य शीर्षकको सेसन अन्तरगत सहजकर्ता केशव शरण लामिछानेले यसो भनिरहँदा उपस्थित दर्शक माझ एकाएक हाँसोको फोहोरा गुञ्जियो ।

पोखरामा फागुन १५ बाट सुरु भएको १२ औँ लिट्रेचर फेस्टिबल अन्तरगत यो सेसनमा वक्ताका रुपमा लेखक भावेश भुमरी र उनी श्रीमती प्रणेता चोम्लिङ उपस्थित थिए । संयोग पनि कस्तो भने पत्रकार केशव शरण आफैंले पनि पत्रमित्रताको माध्यमबाट विवाह गरेका थिए । संयोग मिलेपछि उनीहरुले मञ्चमा आ–आफ्नो भावना साटासाट गरे ।

पत्रमित्रता अन्तरगत भावेशले कयौंलाई पत्र लेखेका थिए, मन भने प्रणेतासंग मात्रै गाँसियो । एकपटक नाममा गल्ती भएपछि उनको नाममा ५ हजार च्ठ्ठिी आएका थिए । यो देखेर राम्रो विद्यार्थी बिग्रने भयो भन्दै शिक्षकले आइन्दा यस्तो भए विद्यालयबाटै निकालिदिने भन्दै गाली गरेको उनलाई राम्रोसंग याद छ ।

‘जमाना कस्तो थियो भने, मैले करिब ४÷५ सय जनालाईृ त पत्र नै लेख्थेँ, उनको पत्र पाउन थालेपछि भने सबैलाई पत्र लेख्न बन्द जस्तै भयो ।’ भावेश भन्छन् । प्रणेताले पत्रमार्फत् आफूलाई छायाँको रुपमा चिनाउँथिन् । विवाह गर्ने बेलामा बल्ल उनले छायाँ होइन प्रणेता नाम रहेछ भन्ने जानकारी पाए । अहिले आएर भावेशलाई लाग्छ, प्रणेताले आफूले आफैंलाई खलनायकको रुपमा चिनाइन् । ‘नाम ढाँटेको भन्ने जानकारी पाउँदा सम्बन्धलाई पूर्णविराम लगाऊँ कि जस्तो लागेको थियो ।’ भावेश हाँस्दै भन्छन् ।

पुस्तकमा एउटा एस्तो भाग छ, जहाँ प्रणेताले खाली पत्र पठाएकी छिन् । भावेशलाई त्यो बेलामा अचम्म लागेको भएपनि प्रणेताको भने त्यो बेलाको समयमा अर्कै बाध्यता थियो । ‘मेरो खासमा त्यही समय परीक्षा चलिरहेको थियो, पत्र लेखौं नभ्याइने, नलेखौं आफूले मन दिइसकेको व्यक्तिलाई नलेखिरहन मनले नमान्ने ।’ मुसुक्क हाँस्दै प्रणेताले सेसनमा भनिन्, ‘त्यो पत्र मैले अझै बिर्सिएको छैन है, केही बाध्यताले हो भन्ने देखाउन लेखेको हुँ ।’

पत्रमित्रताको माध्यमबाट साथी बनाउने क्रम प्रणेताको समेत जारी थियो । तर भावेशको पत्र आउन थालेपछि भने उनले अरुलाई लेख्न छोडेकी रहिछन् । प्रणेताको लागि पत्र लेख्नै भनेर भावेश राति २÷३ बजेसम्म बसेको अनुभव छ । चिसो मौसममा हात कठ्याङ्ग्रिएर लेख्न नसक्ने हुँदा समेत पत्र लेखेर प्रणेतालाई पठाएको थुप्रै अनुभव भावेशसंग छ । यीनै विविध कारणले गर्दा भावेशले त्यो बेला र अहिलेको प्रेममा भिन्नता देख्छन् ।

यो जोडीले पत्रलाई सम्हालेर राखेका थिए । धेरै पहिलेबाट उनीहरुलाई पुस्तकका रुपमा प्रकाशन गर्न सुझाव नआएको होइन । प्रणेतालाई त झन् कसैले पत्रिकामा प्रकाशित गरिदिन्छु भन्दा समेत हुँदैन, यो हाम्रो व्यक्तिगत जीवनको हिस्सा हो भनेर मान्थिनन् । भावेशलाई पनि पुस्तकका रुपमा आफ्नो भावनालाई बाहिर छरपस्ट गर्ने मन थिएन । पछि धेरैको आग्रह, विषेश गरेर छोरीले अनुरोध गरेपछि नाइ भन्न सकेनन् । ‘पुस्तकको माध्यमबाट पत्र बाहिर आउँदा आफैंलाई नराम्रो हुन्छ कि, झन् पछाडि धकेलिने हो कि झैँ लाग्थ्यो ।’ भावेश भन्छन् । छोरीले म टाइप गरिदिन्छु भनेपछि पुस्तक स्वरुप ल्याउने विषयमा सोच्न थालेको प्रणेताको भनाई छ ।

पत्रमार्फत् सुरुआत भएको उनीहरुको सम्बन्ध अहिलेसम्म पनि धेरै राम्रोसंग अगाडि बढिरहेको छ । दुवै जनाले एकअर्काको साथलाई स्वीकार गरेर जीवनलाई अगाडि बढाइरहेका छन् । प्रणेतालाई भने आफूहरुको सम्बन्ध विश्वास र मायाले अगाडि बढेको र आगामी दिनमा समेत माया र विश्वासले नै चल्छ जस्तो लाग्छ । भावेश घरको कान्छो छोरा, परिवारको विवाह गर्न धेरै आग्रह थियो । प्रणेतालाई अझै याद छ, सासुआमाले उनलाई भनेकी थिइन्, हाम्रो कान्छालाई छोडेर कतै नजानु है कान्छी । यो उनको लागि भावेशको परिवारको तर्फबाट सबैभन्दा ठूलो विश्वास थियो ।

‘एकपटक पनि एकअर्कालाई नदेखेर विवाह गर्ने निर्णयसम्म पुग्नु तपाईहरुको लागि गाह्रो भएन ?’ भन्ने सहजकर्ता लामिछानेको प्रश्नमा भावेशले भने, ‘पहिलोपटक उनलाई देख्दा त राम्रो पनि होइन, नराम्रो पनि होइन, ठीकै हो भन्ने लागेको थियो ।’ परिवर्तन समयको माग हो । समय अनुसार यहाँ परिर्वतनहरु भइरहन्छ र यसरी नै संसार चलिरहेको छ । त्यसैले होला पत्र साहित्य अबको समयमा सक्किएर जान्छ कि भन्ने सोँचले भावेशलाई कहिलेकाहीं अत्ति सताउँछ । ‘चिठ्ठी लेख्ने मेरो कला थियो, अहिले पनि साथीहरुले भनिरहन्छन् ।’ उनले भने, ‘कहिलेकाहीं त पत्र साहित्य हराएर जान्छ कि भन्ने पीर पर्छ ।’

‘ज्ञान निर्माणमा रैथाने ज्ञान समावेश गरिनुपर्छ’

पोखरा । अन्तर्राष्ट्रिय व्यापार बजारमा नेपालको उपस्थिति निकै कमजोर छ । देश व्यापार घाटामा जानुमा कमजोरी के भइरहेको छ ? प्रयास कता असफल भइरहेको छ ? नेपाली रैथाने वस्तुले अन्तर्राष्ट्रिय बजारमा स्थान नपाउँदा पनि असर गरेको संयुक्त राष्ट्र संघ नेपालका आर्थिक सल्लाहकार सुभास नेपाली बताउँछन् ।

बिहीबारदेखि पोखरामा सुरू भएको १२औँ नेपाल लिटरेचर फेस्टिभलको ‘रैथाने ज्ञानको विज्ञान’ सत्रमा बोल्दै उनले भने, ‘अहिले व्यापारको घाटा छ । यसमा हेर्दा किन त्यस्तो भएर हेरौँ भने आयात गर्ने वस्तु र निर्यात गर्ने वस्तु हेरौँ भने हाम्रो रैथाने ज्ञानले अन्तर्राष्ट्रिय बजारमा कुनै पनि किसिमको ज्ञान पाएको देख्दैनाँै ।’

अन्तर्राष्ट्रिय बजारमा मात्र नभई नेपाली बजारमा पनि रैथाने ज्ञान र विषयवस्तुले बजारको पाएको छ वा छैन भन्ने पनि प्रश्नको विषय रहेको उनले सुनाए । कतिपय अवस्थामा नेपालमा उत्पादित वस्तुले अन्तर्राष्ट्रिय बजारमा स्थान पाएपनि त्यसबाट नेपाली जानकार नभएको सुनाए । अष्ट्रेलियामा निर्यात हुने ‘काइली’को अचारको उदाहरण दिँदै नेपालको उत्पादनले बजारमा पहिचान र स्थान पाएको छ छैन यसबाट थाहा हुने उनले सुनाए ।

त्रिभुवन विश्वविद्यालयको मानवविज्ञान विषयका प्राध्यापक सुरेश ढकालले आफनो ज्ञानभन्दा आयातित ज्ञानमा बढी विश्वास गर्ने समस्या भएको सुनाए । प्रतिकुल अवस्थामा बालीमा किरा लाग्ने वा नलाग्ने थाहा हुनुपनि रैथाने ज्ञान रहेको बताउँदै यसको सम्मान गर्दै प्रवद्र्धनमा जोड दिनुपर्ने उनले बताए । ‘रैथाने ज्ञान भनेको लोकलको कुरा भयो । लोकल भनेको मान्छेको ज्ञानको कुरा भयो । त्यो ज्ञानलाई सम्मान गर भनेको । प्रतिकूल अवस्थामा कसरी धान उत्पादन गर्न सकिन्छ । बालीहरुमा किरा लाग्दैन भनेर थाहा पाउने पनि रैथाने ज्ञान हो । त्यो महत्वपूर्ण कुरा हो । केन्द्रमा रैथानेहरूलाई सम्मान गर्ने कुरा प्रर्वद्धन गर्नुपर्छ,’ सुरेशले भने ।

यस्तै उनले समावेशिताको कुरा गरिरहँदा रैथाने ज्ञानको विषयमा पनि समावेशिता जोड्नुपर्ने बताए । ‘नेपालमा लामो समयदेखि समावेशिताको कुरा गरेको छ । सबै ज्ञान निर्माणमा रैथाने ज्ञानको समावेशिता गर्नुपर्छ कि । टाउको गन्ने मात्र गर्ने । रैथाने ज्ञानको समावेशिताको । अर्थतन्त्रमा रैथाने राजनीतिक संस्कृतिको कुरा गर्ने हो,’ उनले भने ।

रैथाने ज्ञानलाई बचाउन विश्वविद्यालय नै खोल्नुपर्छ भन्ने मत राख्ने गीता चौधरी सरकारले प्रत्येक वर्ष विभिन्न कार्यक्रम र योजना अगाडि ल्याएपनि सिप ज्ञान पुस्तान्तरण गर्ने विषयमा ध्यान नभएको बताउँछिन् । ‘प्रत्येक साल सरकारले विभिन्न योजनाहरु ल्याउँछ । कुनै कार्यक्रममा जाँदा तपाईँहरु आफनो कपडा (सांस्कृतिक) लगाएर आउनुस् भन्छ । तर मैले लगाएर बसेको कपडा गहनाहरु ९९ प्रतिशत नयाँ पुस्ताले त्यो कुरा सिलाउन जाँदैनन्,’ उनले भनिन् । पोशाक लगाएपनि पोशाक बारेको ज्ञान र सिपको जानकारी हुनुपर्ने अभियन्ता चौधरीको भनाइ छ ।

फेस्टिभलको पहिलो दिन अलिमियाँ कक्षमा भएको रैथाने ज्ञानको विज्ञान’ सत्रमा सहजकर्ता सीता मादेम्बा थिइन् ।

रचना होइन, भूपीको मीठो बोलीमा प्रभावित थिएँ: कान्ति 

पोखरा । ‘हामी काठमाडौंमा बसोबास गर्ने, भेट पहिलोपटक हस्पिटलमा भएको हो ।’ पोखरामा आयोजित एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलमा सुरुआती चरणमै कवि भूपी शेरचनकी जीवनसंगीनी कान्ति शेरचनले भनिन्, ‘यसरी भेटघाट मात्रै हाम्रो करिब ४÷५ वर्ष जति भयो होला ।’

पोखरामा फागुन १५ गतेबाट सुरुआत भएको फेस्टिभलमा साहित्यमा रुचि राख्नेको जभघट छ । यही क्रममा ‘स्मृतिमा भूपी’ सेसन अन्तरगत भूपी पत्नी कान्ति तथा छोरी कविता वक्ताका रुपमा उपस्थित थिए भने सहजकर्ताका रुपमा बसन्त थापा । कार्यक्रम उद्घाटन भइसकेपछिको दोस्रो सेसनका क्रममा उनीहरुले आफ्नो भनाई व्यक्त गरे । सहजकर्ता थापाले भूपी र कान्तिको प्रेम, विवाह र उमेरको फरकपनको विषयमा प्रश्न राख्दै गर्दा कान्तिले भनिन्, ‘अरुको २०÷२५ वर्ष हुन्थ्यो होला, तर हाम्रो त जम्मा १२ वर्षको फरक मात्रै हो ।’ कान्तिले भनिन् ।

भूपी थकालीको छोरो, कान्ति राणाकी छोरी उनीहरुको जात धर्म केही मिल्दैनथ्यो । अन्तरजातीय विवाहलाई सफल बनाएर समाजसंगै अगाडि बढ्नु त्यो बेला दाँत ढुंगा पचाउनु सरह थियो । त्यस माथि भूपी पहिलेदेखि विवाहित थिए । त्यो बेला अन्तरजातीय विवाह गर्नु कसैको लागि सहज थिएन । धेरै समयसम्म उनीहरुको विवाहलाई कान्तिको परिवारले स्वीकार गर्न सकेन ।

‘हाम्रो सम्बन्धलाई प्रेमपछिको विवाह भने पनि हुन्छ, धेरै समय हामीलाई मेरो परिवारबाट स्वीकार भएन ।’ कान्ति भन्छिन्, ‘छोरी कविताको जन्म भएपछि भने सबै पक्षबाट हाम्रो सम्बन्धलाई स्वीकार गरियो ।’ भूपीको पहिले नै विवाहित भएको विषयमा कान्तिलाई राम्ररी जानकारी थियो । उनलाई लाग्छ, त्यसरी स्वीकार गर्न सक्नु पनि सायद मायाप्रेम पो थियो कि ।

यता भूपीकी छोरीको अनुभव बेग्लै छ । साहित्यकारका रुपमा भन्दा उनले उत्कृष्ट बुवाका रुपमा भूपीलाई कविताले चिन्ने मौका पाइन् । सुरुआतको समयमा कवितालाई बुवा भूपीको ख्यातीबाट त्यति खुसी मिल्थेन । बुवालाई भेट्न किन यति धेरै जना आउँछन् भन्ने लाग्थ्यो ।

‘पछि बुझ्दै गएँ, अहिले त आफूलाई भूपीको छोरी हुँ भनेर चिनाउन पाउँदा गर्व लाग्छ ।’ हर्षित मुद्रामा उनले भनिन् । कहिलेकाहीं भूपीलाई राजाको समर्थकका रुपमा समेत अथ्र्याइने गरेको छ । यसमा कविताको गुनासो छ । छोरीको रुपमा कविताले भूपीलाई जुन रुपमा बुझिन् सायद अरुले बुझ्न सकेनन् । समर्थक पनि कसलाई र कस्तो विचारका व्यक्तिलाई गर्ने भन्ने लाग्छ उनलाई । ‘उहाँ राजा भन्दैमा सबै राजाको समर्थक हुनु भएन, वीरन्द्रको मात्रै हो, वीरेन्द्रको विचारबाट प्रभावित हुनुभयो ।’ उनी भन्छिन्, ‘पञ्चायतको समर्थक भने कहिले हुनुभएन, यसमा सायद भ्रम प¥यो कि ?’

साहित्य बजार वा भूपीको विषयमा परिचर्चा चलिरहँदा उनको मदिरा पिउने बानीको खुबै चर्चा हुने गर्छ । मदिरासंग भूपीको लगनगाँठो कसिएको थियो, भन्ने खुब चर्चा चल्छ नि भन्ने बसन्त थापाको प्रश्नको जवाफ दिँदै कविताले भनिन्, ‘यो हल्ला गलत थियो, पहिले पिउनुहुन्थ्यो होला, तर मेरो जन्म भएसकेपछि भने पिउने बानी धेरै हदसम्म छयो हल्ला गलत थियो, पहिले पिउनुहुन्थ्यो होला, तर मेरो जन्म भएसकेपछि भने पिउने बानी धेरै हदसम्म छुटिसकेको थियो रे ।’ हरेक मान्छेको आ–आफ्नै कमीकमजारी हुन्छन्, कवितालाई लाग्छ, सायद भूपीको पनि थियो । भूपी आफूबाट गल्ती भएमा सन्तानसंग आएर माफी माग्दै संगै रुन्थे । छोरा र छोरीबीच कहिले भिन्नता गरेनन् । ‘कमीकमजोरीका बाबजुद उहाँ हाम्रो लागि उत्कृष्ट अभिभावक हुनुहुन्थ्यो ।’

कविता आफैले बुवा भूपी शेरचनलाई समर्पित गर्दै किताब समेत प्रकाशित गरेकी छिन् । पहिले उनलाई बुवा जस्तो व्यक्तिको विषयमा लेख्न सक्दिन । साथीले उनलाई बुवा भूपीको विषयमा लेख्न हौस्याइरहन्थे । तर म सक्दिन भन्दै टारिरहन्थिन् कविता । पछि भने आफूले आफूलाई हिम्मत दिएर किताब प्रकाशित गरेकी छिन् । ‘मेरो जोसंग राम्रो चिनारी थियो, उहाँहरुसंगको अनुभवलाई समेटेर किताब लेखेको हुँ ।’ उनी भन्छिन् ।

मगर र गुरुङ भाषालाई कामकाजी बनाउँदै गण्डकी सरकार

पोखरा । गण्डकी प्रदेश सरकार मगर र गुरुङ भाषालाई कामकाजी भाषा बनाउने तयारीमा छ । प्रदेशका जिल्लामा पुुगेर सरोकारवाला र विज्ञसँगको परामर्शपछि मगर र गुरुङ भाषालाई प्रदेशको कामकाजी भाषा बनाउने विधयेकको मस्यौदा तयार भएको छ ।

मन्त्रीपरिषद्ले पास गरेको मस्यौदा संसदमा पेश हुुन्छ । छलफल, संशोधनसहित पाश हुनेछ । र कानुन बनेर कार्यान्वयनमा बल्ल आउनेछ । अबको हप्तादिनसम्म संसदमा पेश गर्ने तयारी छ ।

पोखराको लेकसाइडस्थित बाराहीघाटमा बिहीबारदेखि सुरु १२औं संस्करणको एनसेल नेपाल लिटरेचर फेस्टिलमा ‘गण्डकीमा मगर र गुरुङ भाषा’ विषयमा अन्तरक्रिया भयो । गण्डकीका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, डा. विष्णुकुरमा सिञ्जाली र जूनाकुमारी गुरुङसँग गौरी तमुुले प्रश्नहरु गरिन् ।

गौरीले विन्दुकुमारलाई मगर र गुरुङ भाषालाई सरकारी कामकाजी बनाउन किन संविधान जारी भएपछि ९ वर्षको समय लाग्यो भनेर प्रश्न तेर्साइन् । मन्त्री थापाले भाषा आयोगले ढिला गरेर सिफारिस गरेको बताए ।

‘संघीयतामा गएको लामो इतिहास छैन । २०७४ मा संघियता लागू भएर संघ र प्रदेशको निर्वाचन भएको थियो ।  मगर र गुरुङ भाषा गण्डकी प्रदेशमा नेपालीपछि सबैभन्दा धेरै बोलिने भाषा हुन् । यी दुुईटा भाषालाई प्रदेशको कामकाजको भाषा गनुपर्छ भनेर एउटा त संविधानको भावना अनुसार अगाडि बढेका हौं’, उनले भने, ‘भाषा आयोगले २०७८ सालमा मात्रै बल्ल मगर र गुरुङ भाषालाई कामकाजी भाषाको रुपमा मान्यता दिनका लागि सिफारिस भयो ।’

भाषा आयोगले सिफारिस हुनेवित्तकै मगर र गुरुङ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाको रुपमा अगाडि बढाउनपर्छ भनेर प्रयास गरेको बताए । सातै प्रदेश मध्य पहिलो हुने भनेर लाग्दा पनि सम्भव नभएको सुनाए । सर्वमान्य बनाउन लागेको मन्त्री थापाले बताए ।

‘यो विषय अरु विधयेक जस्तो होइन । धेरै जटिल पनि छ । जातिय सद्भाव खलबलिन्छ की भन्ने त्यत्तिकै आशंका पनि थियो । र यसलाई हामीले अझै व्यापक रुपमा सरकोरवालासँग धेरैभन्दा धेरै छलफल गर्नुपर्छ भनेर जिल्लास्तरमै गयौं’, थापाले भन्छन्, ‘११ जिल्लाकै सरोकारवाला र विज्ञहरुसँग धेरै चरणमा छलफल परामर्श गरेका छौं । उत्कृष्ट ऐनको रुपमा ल्याउन पर्छ भनेर अहिले विधयेकको रुपमा मस्यौदा तयार गरेका छौं । ढिलो भन्दा पनि सर्वस्वीकार्य खालको विधेयक ल्याउनुपर्छ भन्ने हिसाबले गरेका छौं ।’ सबै भाषालाई संरक्षणमा प्रदेश सरकार लाग्ने मन्त्री थापाले प्रतिबद्धता जनाए ।

डा. विष्णुु सिंजालीका अनुसार मगरहरुले आफ्नो भाषा संस्कृतिलाई बिर्सेको अवस्था छ । गुरुङको तुलनामा सुरक्षित प्राय भन्न मिल्ने उनी बताउँछन् । सिंञ्जालीका अनुसार २० लाख भन्दा बढी मगरहरुको जनसंख्या छ । भाषा बोल्ने ९ लाख जति छन् । ‘करिब ५५ प्रतिशतले मगर भाषा बिर्सएको अवस्था छ । किन भयो भन्ने विषय ऐतिहासिक छ । आधुनिक नेपाल नबन्दै म्याग्दी, बागलुुङ, पर्वत, गुल्मी, अर्घाखाँची, पश्चिम पाल्पामा सेक्टरवाइज  हिमालदेखि तराईसम्मै भाषा बोल्न पाएनन् । यो राजनीतिक कारण थियो’, ‘उनले थपे, ‘दोस्रो, मगरहरु खानी खन्ने पेशामा थिए ।  खानी खन्ने मगरहरुले पनि भाषा बोल्न पाएनन् । त्यो अझ पछिसम्म पनि चल्यो । विशेष गरेर राणाकालमा चन्द्र शम्शेरले बन्द गरेपछि मात्रै नेपालको खानी बन्द भयो ।’

मगरहरुले प्रजातन्त्र आएपछि इतिहासबारे लेख्न थाले थिए । ‘पञ्चायत आएपछि रोकियो । बहुदल आएपछि अलि लेख्न थालियो । २०६२÷६३ को आन्दोलनपछि धेरै लेखिएको छ’, सिंञ्जालीले मगरबारे लेख्न थालेपछि संरक्षणको प्रयास भइरहेको बताउँछन् ।

मगरहरुले पछिल्लो समय गुमाएको भाषा पढाउन प्रयासहरु गरिरहेको बताए । स्थानीय सरकार, प्रदेश र संघ सरकारले सहयोग गरिरहेको उनको भनाइ थियो ।

‘मगरको भाषालाई जोगाउने हो भने विश्वविद्यालयमा प्रवेश नगरि हुदैन भन्ने तथ्य भेटिएपछि अहिले हामी विश्वविद्यालयमा प्रवेश गरेका छौं । यसका लागि हामीलाई ८÷१० वर्ष लागेको छ’, डा. सिंञ्जालीले बताए । मूलधारबाट गुमाएको पहिचानलाई जोगाउन आदीवासी विश्वविद्यालय बनाएर जानुपर्ने बताए । भाषालाई विकास गर्दै प्रयोगयोग्य बनाएर स्तरीकरण गर्नुपर्नेमा उनको जोड छ ।

गुरुङसँग सम्बन्धित संघसंस्थाले गुुरुङ भाषा संरक्षणमा योगदान दिनुपर्ने जुुनाकुमारी गुरुङ बताउँछिन् । तमु समुदायले मनाउने ट्होंटे पर्व, ल्होसारले पनि भाषासँगै संस्कार संस्कृतिको संरक्षणमा भूमिका निर्वाहा गरेको बताए । ‘जति हुनुपर्ने हो त्यो भाषा संरक्षणका लागि त्यो गर्न सकिएन होला । तर, हाम्रो अभियान जारी नै छ  । र जोगाउनका लागि लागिरहेका छौं’, उनले बताइन् । गण्डकी प्रदेश सरकारले कानुन बनाउन लागेकोमा उनले प्रंशसासमेत गरिन् ।

७ वर्षिया भूमिलक्ष्मीको पुस्तक विमोचन 

पोखरा । सात वर्षिया भूमिलक्ष्मी पराजुलीले लेखेको पुस्तक विमोचन भएको छ । पोखरामा बिहीबारदेखि सुरू भएको एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलमा उनले लेखको ‘मर्मेड, व्हेल एण्ड प्रिन्सेस’ पुस्तक विमोचन गरिएको हो ।

कक्षा २ मा अध्ययनरत भूमिले ६ वर्षको उमेरमा दशैँ बिदामा यो कथा लेखेकी थिइन् । उनले कथासँगै चित्र कोरेर पुस्तक तयार पारेकी हुन् । चित्र र कथा पढ्न रुचाउने भूमिले यसअघि पनि कथा लेखेकी छिन् । तर, प्रकाशित कथा भने उनको यो पहिलो हो । आफ्नो पुस्तकका कथाले अरूलाई घृणा गर्न नहुने, हेपाहा प्रवृत्ति देखाउन नहुने पाठ दिने सुनाइन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ