पोखरादेखि मुग्लिनसम्मको सडक स्तरोन्नतिले गति लिँदा पर्यटन राजधानी पोखरा आउजाउ सहज बन्दै गएको छ । यहीअघि ७/८ घन्टा लाग्ने यो सडक छिचोल्न अचेल २ घन्टा हाराहारी लाग्छ । आँबुखैरेनीदेखि पोखरासम्मको सडक विस्तार तथा स्तरोन्नति पूर्वी र पश्चिम गरी २ खण्डमा जारी छ ।
पृथ्वी राजमार्गमा पर्ने ८१ किमी सडक एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको गरिएको हो । यो सडक अहिले पूर्वी खण्डमा ३ किमी र पश्चिम खण्डमा १० किमीबाहेक अन्यत्र कमसेकम एकतर्फी कालोपत्र भइसकेको छ । पूर्वी खण्डको भौतिक प्रगति ७७.७ र पश्चिम खण्डको भौतिक प्रगति ४२.४३ प्रतिशत छ ।
पहिले पश्चिम खण्डको काममा ढिलाइ भएको भए पनि पछिल्लो समय कामले गति लिएको छ । जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डमा ४ लेनको १८ मिटर चौडा सडक १२ किमी, ४ लेनको २३ किमी चौडा सडक ८.५ किमी र ६ लेनको ४६ मिटर सडक १८.३ किमी बनाइँदै छ । यो खण्डमा ४ ठूला र ८ साना गरी १२ पुल छन् ।
पश्चिम खण्ड निर्माणको सम्झौता २०७८ जेठमा भए पनि काम ३ महिनापछि मात्र सुरु भएको थियो । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले ७ अर्ब ४० करोड ४६ लाखमा पश्चिम खण्ड निर्माणको जिम्मा लिएको छ ।
गएको भदौ १२ मै पहिलो म्याद सकिएकोमा २ पटक थप भई ३१ डिसेम्बर २०२५ सम्म यसको म्याद छ । यो खण्डमा सेती नदीमा १ सय ९० मिटरका २ लेनका २ पुल बन्दै छन् । रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले १ अर्ब ७ करोड २४ लाखमा पुल निर्माण बनाइरहेको छ । २०२५ डिसेम्बर ६ सम्म सक्नुपर्ने पुलको भौतिक प्रगति अहिले ४० प्रतिशत हाराहारी छ ।
पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सौजन्य नेपाल पछिल्लो समय कामले गति लिएको बताउँछन् । ‘पछिल्लो समय निर्माण व्यवसायीले पूर्ण क्षमतामा काम गरेको देखिन्छ,’ उनी भन्छन्, ‘केही ठाउँमा अझै बिजुलीका पोल व्यवस्थापन बाँकी हुँदा ढिलाइ भएको छ ।’
राजमार्ग विस्तारमा ढिलाइ हुँदा पर्यटन राजधानी पोखराको आर्थिक गतिविधिसहित गण्डकी प्रदेशमै प्रभाव पर्ने परेको थियो । पछिल्लो समय सडक सहज हुँदा जाँदा आशा जागेको उल्लेख गर्छन् पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र केसी । अरु क्षेत्रमा बाटो विस्तार तीव्र गतिमा भए पनि पोखरा महानगर क्षेत्रमा भने ढिलोमात्र काम सुरु भएको थियो ।
तनहुँको कोत्रेदेखि पृथ्वीचोकसम्म करिब २० किमी राजमार्ग पोखरा महानगरमा पर्छ । महानगर क्षेत्रमा अहिले काम जारी छ । अध्यक्ष केसी महानगर क्षेत्रमै सडक विस्तार ढिलो हुँदा सकस भएको सुनाउँछन् । महानगरभित्र खानेपानीका पाइप व्यवस्थापन, बिजुली पोल व्यवस्थापन, मापदण्डका संरचना हटाउन ढिलाइ हुँदा काम ढिलो भएको हो ।
खानेपानी, बिजुली र भौतिक संरचनाको अवरोध हटेको र निर्माण व्यवसायीले पूर्ण क्षमतमा काम गरिरहेकाले आगामी वर्षभित्रै काम सकिने आयोजना प्रमुख राजेन्द्रप्रसाद पौडेल बताउँछन् । योजनाको पूर्वी खण्डको काम पछिल्लो क्रममा धमाधम भइरहेको छ ।
यो खण्डको भौतिक प्रगति ७७.७ प्रतिशत छ । यो माघ महिनासम्मको प्रगति हो । पूर्वी खण्डमा ३४.५ किलोमिटरमा ४ लेन र ३.१ किमीमा २ लेनमा प्रथम तहको कोलोपत्र भइसकेको छ ।
पूर्वी खण्डका सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले १५.५ किमीमा ४ लेन र १२.७३ किमी २ लेनमा दोस्रो तहको कालोपत्र सकिएको जानकारी दिए । पूर्वी खण्ड ४१.४५ किमी छ । दमौली बजार क्षेत्रबाहेक अन्यत्र एकतर्फी कालोपत्र हुन बाँकी छैन । ‘दमौली खण्डमा काम भइरहेको छ । अब यो खण्डमा एकतर्फी पनि कालोपत्र नभएको सडक ३ किमी जति होला,’ पाण्डेले भने, ‘यही आर्थिक वर्षभित्र पूर्वी खण्डको काम सकिने देखिन्छ ।’
यो खण्डमा बन्ने १७ पुलमध्ये १६ पुल बनिसकेका छन् । नालामा एउटा पुलको काम जारी छ । मादी पुल भने छुट्टै ठेक्कामा लगाइएको हो । यसको भौतिक प्रगति ६० प्रतिशत छ । २०७८ वैशाखदेखि चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले काम सुरु गरेको यो खण्डमा तनहुँको दमौली र डुम्रे बजारमा ६ लेन र बाँकी खण्डमा ४ लेनको सडक बन्दै छ । कम्पनीले ६ अर्ब २१ करोड ३१ लाखमा यो खण्डको ठेक्का लिएको छ ।
दमौली बजारमा कालोपत्र थालियो
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत तनहुँको सदरमुकाम दमौली बजारमा कालोपत्र सुरु भएको छ । मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड)का अधिकांश स्थानमा कालोपत्र सकिँदा लामो समयपश्चात् दमौली बजारमा कालोपत्र सुरु भएको हो ।
दमौलीस्थित व्यास नगरपालिका २ बागबजारमा शुक्रबारदेखि कालोपत्र थालिएको पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । दमौली बजारमा सडक मापदण्डभित्र रहेका घरहरु भत्काउने क्रमले तीव्रता लिएसँगै बागबजारमा कालोपत्र थालिएको हो ।
पाण्डेले भने, ‘बागबजार टोलमा एकतर्फी कालोपत्र थालिएको छ । एकतर्फीको कालोपत्र सकिएसँगै अर्कोतर्फ कालोपत्र हुनेछ ।’ बागबजार क्षेत्रमा सडक नाला निर्माणसँगै कालोपत्रलाई अगाडि बढाइएको उनको भनाइ छ । यो खण्डमा १४ वटा साना पुल निर्माण सकिएका छन् । रासस
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते