‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’

घलेगाउँमा सिनेमा संवाद

‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’

'हामीलाई बजारमा हल्ला भएका सतही गीतमात्र याद हुन्छ'

cinema sambad ghalegau (3)

घलेगाउँ (लमजुङ), १० फागुन । चलचित्र तथा गीत संगीतमा मौलिकता हराउँदै गएको आरोप बेलाबखत आइरहन्छ । पछिल्लो समय बनेका चलचित्र तथा गीत संगीत परिवारसँगै बसेर हेर्न नसकिने खालका हुन्छ । त्यहाँ प्रयोग हुने शब्द, भाषाले मौलिकता गुमाउँदै गएको देख्न सकिन्छ । पछिल्लो समय बनेका गीत संगीतले मौलिकता गुमाएका हुन् वा आधुनिकता हो ?

लमजुङ घले गाउँमा भइराखेको सिनेमा संवादको ‘सिनेमा संगीत, कति मौलिक कति आधुनिक’ सेसनमा गफिदैँ थिए, तीन पुस्ताका कलाकार । संगीतकार शम्भुजित बास्कोटा, बसन्त सापकोटा र प्रकाश सपुत । चलचित्र पत्रकार संघ कास्कीको आयोजनामा भइराखेको सिनेमा संवादअन्तर्गत उक्त सेसनलाई रिमा विश्वकर्मा सहजीकरण गरेकी थिइन् ।

विसं. २०३० को दशकले गीतसंगीतमा रहेको वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटाले अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडेको अनुभव सुनाए । पहिलाका कुरा अहिलेका जेनेरेसनले पनि क्यारी गर्नुेपर्नेमा बास्कोटाले जोड दिए ।

‘पप गीत त मैले पनि गाए । तर, सिनेमाभित्रको कथामा बसेर गाइयो । यस्तो गीत चाहियो भनेर गाइयो हामीले । अहिले पनि केही बिग्रेको छैन । गीत संगीतको प्याकेज बन्न छोड्यो । त्यो बेला फिल्ममा ५ वटा गीत हुन्थ्यो । अहिलेको जेनेरेसनले पनि क्यारी गरोस् न,’ उनले भने । चलचित्रसँगै संगीतलाई संगै लगेर जानुपर्ने वरिष्ठ संगीतकार बास्कोटाले धारणा राखे ।

संगीतकार बसन्त सापकोटाले संगीतको रोजाई जेनेरेशनअनुसार फरक पर्ने बताए । कथामा पनि क्यारेक्टर अनुसार गीत बनाउनुपर्छ भन्ने भाष्य बन्दै भएको उनको भनाइ छ । ‘१८–२० वर्षको हुनुहुन्छ भने उहाँहरुले गितार समाएर रक गीत, स्लो रक गाउनुपर्छ । उहाँलाई समाजमा त्यस्तै भाष्य बनाइएको छ । उहाँले लोक गीत गाउनुभयो भने समाजमा हामीले पप गीत गाउने पो हो त भन्ने छ,’ उनले भने ।

पहिला आउने र चलचित्रमा रिलेटेड नहुँदा गीत कालजयी हुन नसकेको संगीतकार सापकोटाको अनुभव छ । उनी भन्छन्, ‘पहिला चाहिँ गीत सुनिन्थ्यो । चलचित्र हेर्न गएपछि त्यसैमा रिलेटेड भएर आएको हुन्थ्यो र चलचित्र चलेपछि गीत हिट हुन्थ्यो । अहिले चलचित्रभन्दा पहिला गीत आउँछ । त्यो गीत चलचित्र मै हुँदैन । नभएपछि भन्दा खेरि हाम्रो मनमा बसेन ।’

नयाँ पुस्ताका चर्चित कलाकार प्रकाश सपुतले कार्यक्रममा कथा मौलिक भए संगीत मौलिक हुन आउने बताए । ‘एउटा राम्रो निर्देशकले सम्भवतः आफ्नो कथामा मिल्ने संगीत नै प्रयोग गर्छ र कथाको पृष्ठभूमि मौलिक छ भने चाहिँ त्यहाँ प्रयोग हुने संगीत पनि मौलिक नै हुन्छ,’ उनले भने, ‘सिनेमाले नै संगीतलाई बोक्ने भएकाले हामीले कथा निर्माणमा अल्ली बढी ध्यान दिनुपर्छ ।’

चलचित्र विकास बोर्डको मापदण्डमा संगीतलाई नराखेको भन्दै उनले गुनासो पोखे । ‘चलचित्र बनाउँदा केके चाहिन्छ, के के नभई हुँदैन भनेर चलचित्र विकास बोर्डको मापदण्डमा संगीतलाई राख्नुभएको छैन । राष्ट्रिय चलचित्र पुरस्कार गर्नुहुन्छ । त्यहाँ चाहिँ संगीतलाई छैन । संगीत भनेको अपरिहार्य कुरा हो,’ उनले भने, ‘बिहेमा बाजा बजाउने, ब्रतबन्धमा झजन गाउने कुरा हुन्छ । अन्त्यमा मृत्यु भएर जादा पनि पनि शंख फुक्दै गइन्छ । त्यो पनि संगीत हो ।’

अहिलेको समय बजारमा चलेका गीतहरु मात्रै याद हुने खालको भएको कलाकार प्रकाश सपुत बताउँछन् । आजका दिनमा पनि धेरै सौन्दर्य गीतहरु रचना भएको सुनाउँछन् । एउटादुईटा भाइरल गीतहरुलाई मात्र हेरेर अहिलेको पुस्ताले यो गीतमात्र गर्छ । अहिले गीतहरु राम्रो छैनन् । क्षणिक छन् । अहिलेका गीतहरु आजको भोलि सेलाउँछन् भन्नेमात्र देखिन्छ । किनभने अहिलेको समय त्यस्तो छ,’ उनले भने ।

उनले थपे, ‘हामीलाई बजारमा हल्ला भएका सतही गीतमात्र याद हुन्छ । आज पनि सर्जकहरुले काम गरिराख्नुभएको छ । आज पनि बिम्बहरु प्रयोग गरेर गीतहरु लेखिएका छन् । सौन्दर्य छ ।’

चलचित्र पत्रकार संघ कास्कीका कावा अध्यक्ष अर्पण तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव सन्तोष बस्याल र स्वागत संयोजक सुरेश सुनारले  गरेका थिए ।

कार्यक्रम उद्घाटन सत्रमा चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामी, नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल, संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देल लगायत बोलेका थिए । सिनेमा संवाद सुन्न घलेगाउँबासीको उल्लेख्य उपस्थिति थियो ।

संघले यसअघि कास्कीको पर्यटकीय गाउँ घान्द्रुक र सिक्लेसमा यसप्रकारको सिनेमा संवाद गरिसकेको छ ।

सम्बन्धित समाचारः

‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ