पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्

पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्

received_649200257756881

पोखरा । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले २०७९ सालको पोखरा महानगरपालिकाको निवार्चनको नतिजालाई पाठको रूपमा लिएर एकढिक्का हुन कस्केली नेता/कार्यकर्तालाई निर्देशन दिएका छन् । वडा केन्द्रित अभियानको सन्दर्भमा पार्टी कास्की जिल्ला कमिटीले शुक्रबार पोखरामा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले पार्टी राजनीतिका आन्तरिक असन्तुष्टि आफै भित्र नियन्त्रण गरिनुपर्ने बताए ।

नेता÷कार्यकर्ता एकजुट नहुँदा महानगरको मेयर हार्नुपर्ने परिस्थिति बनेको महासचिव पोखरेलको भनाइ थियो । ‘हाम्रा मनहरू जोडिएको भए, हामी एकताबद्ध भएको भए महानगरको निर्वाचनमा मेयर हार्ने, उपमेयर जित्ने हुँदैनथ्यो होला । हाम्रा मनहरू जोडिएको भए वडामा सदस्य जित्ने, अध्यक्ष हार्ने हुँदैनथ्यो होला,’ निर्वाचनको करिब ३ वर्षपछि उनले भने, ‘नगर सभामा हामी बहुमतमा छौं । कार्यपालिकामा हामी अल्पमतमा छौं र आज कार्यपालिकाले हामीलाई नियन्त्रण गरिराखेको छ ।’

प्राविधिक कर्मचारी, स्वास्थ्यका कर्मचारी निकाल्ने काम भएको र पोखरामा काम हुन नसकेको भन्दै उनले हारबाट पाठ सिक्नुपर्ने बताए । अनेक समस्याबीच प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कास्कीले राम्रो नतिजा दिएको भन्दै महासचिव पोखरेलले खुसी व्यक्त गरे । ‘स्थानीय चुनावमा भाँचिएका मनलाई आम चुनावमा एकताबद्ध बनाउने कोसिस गर्नुभयो । कति भयो थाहा छैन तर परिणामका हिसाबले राम्रै दियो भन्ने लाग्छ,’ उनले भने, ‘तर, पनि सबैका मन खुलस्त हुन सकेका छैनन् ।’ पार्टीभित्र एकताबद्ध नभए मिसन ०८४ को उद्देश्य पूरा हुन नसक्ने महासचिव पोखरेलले बताए ।

तथ्यभन्दा बाहिर गएर राजनीतिक दल र नेतालाई गाली गर्ने गलत काम भइरहेको उनले बताए । देशको समस्या अस्थिर सरकार भएपनि तथ्य बाहिर गएर प्रचारबाजी भएको उनले बताए । एउटै दलले बहुमत नपाउनु, साना दल धेरै हुनु, समीकरण फेरिइरहनु अस्थिर सरकारको कारण भएकोतर्फ महासचिव पोखरेलले इंगित गरे ।

छिमेकी देश चीन र भारतमा स्थिर सरकार हुँदा विकासमा फड्को मारेको र नेपालको प्रमुख समस्या अस्थिरता रहेको महासचिव पोखरेलले जिकिर गरे । चीनमा सि जिनपिङ र भारतमा नरेन्द्र मोदीले लगातार सरकारको नेतृत्व गरेको प्रसङ्ग सुनाउँदै महासचिव पोखरेलले भने, ‘यही सन्दर्भमा नेपालमा के भइरहेको छ तपाईं हामी सबैलाई थाहा छ । प्रधानमन्त्री फेरिइरहने, समीकरण फेरिइरहने, मन्त्री फेरिइरहने, प्रदेशमा मुख्यमन्त्री फेरिइरहने भएको छ । देश किन बनेन भन्नेमा यो यथार्थबाट बाहिर गएर अनेक प्रकारका विवेचना गर्ने, नेताहरू काम लाग्दैनन्, पार्टीहरू काम लाग्दैनन् भन्ने जुन प्रकारको भाष्य निर्माण गर्न खोजिएको छ यसलाई तत्यसंगत विवेचना गरेर बुझ्नु–बुझाउनु पर्छ ।’

माओवादीको सशस्त्र युद्धका कारण देशमा १० वर्षसम्म काम हुन नपाएको महासचिव पोखरेलको टिप्पणी थियो । गणतन्त्र स्थापना भएपछिको समयपछि काम गर्ने समयका रूपमा लिन सकिने उनको भनाइ थियो । ‘यो समय पनि कस्तो समय रह्यो भनेर विवेचना गर्ने हो, छलफल गर्ने हो भने ठूला दलमाथि साना दलले शासन गर्ने समय बन्यो,’ उनले भने, ‘वास्तविक जनादेशको सरकार भनेको २०७४ देखि तीन वर्षको हो जुन केपी शर्मा ओलीले नेतृत्व गर्नुभयो ।’

वर्तमान समीकरणमा नेकपा (एमाले) इमान्दारिता साथ अघि बढेको महासचिव पोखरेलले सुनाए । सरकार र संसदलाई चलायमान बनाएर काम गरिरहेको महासचिव पोखरेलले जानकारी गराए । ‘अहिले ६ वटा अध्यादेश ल्याएका छौं त्यो त्यसैको परिणाम हो । संसदमा विचाराधीन विधेयकलाई तीव्रताका साथ लैजान खोजेका छौं । समितिको परिणाम हो । दुई पार्टी नमिलेको भए यी काम गर्न सम्भव थिएन,’ उनले भने ।

सरकार सञ्चालनमा सहकार्य भएपनि आगामी निर्वाचनमा अलग–अलग लड्ने उनले बताए । आगामी चुनाव एक्लै लड्ने विषय बुझेर तयारीमा जुट्न कास्कीका नेता–कार्यकर्तालाई महासचिव पोखरेलले निर्देशन दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ