सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली

दीक्षान्त

सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली

‘हामी ४० औं ठूलो देशमा पर्छौं । १ सय ५३ देश हामीभन्दा साना छन् दुनियाँमा, अनि हामी कसरी सानो ?’

KP-Sharma-Oli-PU-1024×682

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले सानो देशमा छु भन्ने हीनताबोधी भावना नराख्न आग्रह गरेका छन् ।

कास्कीको ढुङ्गेपाटनमा विहीबार आयोजित पोखरा विश्वविद्यालयको २०औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘दास मनोवृत्ति राख्ने होइन । कमजोर भावना, हिन भावना, सानो देशको ग्रन्थी…त्यस्तो पाल्ने होइन । कुनै पनि देशको सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन।’

‘हामी ४० औं ठूलो देशमा पर्छौं । १ सय ५३ देश हामीभन्दा साना छन् दुनियाँमा, अनि हामी कसरी सानो ?’ उनले भने ।

विश्वविद्यालयका कुलपति समेत रहेका ओलीले नेपाल ज्ञान, दर्शन, योग र खोजको उद्गम मुलुक भएकाले दीक्षित विद्यार्थीहरूले इमानदार भएर देशका लागि काम गर्न आग्रह गरे ।

विश्वविद्यालयलाई रुपान्तरणकारी काम गर्न आग्रह गर्दै उनले थपे, ‘हामीसँग उर्बर भूमि छ । यसलाई रुपान्तरणकारी विकासमा लान सकिन्छ । यस काममा विश्वविद्यालय लागोस् । सरकार विश्वविद्यालयको साथमा छ ।’

दीक्षित विद्यार्थीहरूलाई ओलीले आत्मविश्वास र इमानपूर्वक समाजका लागि सकारात्मक काममा प्राप्त ज्ञान उपयोग गर्न अनुरोध गरे ।

इमानदारिताले मात्रै सकारात्मक सफलता पाउन सकिन्छ । बेइमानी गरेर पाएको सफलता समाजका लागि उपयोगी हुँदैन । तपाईँहरुले राम्रो पढेको हो भने पनि त्यसलाई समाजमा नकारात्मकता, चोरी, ठगीजस्ता अपराधका काममा प्रयोग गरेमा त्यसलाई सफलता मान्न सकिँदैन,’ प्रधानमन्त्री ओलीले भने ।

उनले थपे, ‘तपाईँहरू समाज र देशका लागि उपयोगी हुनुपर्छ । आफ्ना लागि मात्रै गर्न खोजेमा स्वार्थी भइन्छ । देश र समाजका लागि केही गर्नुस् । नागरिक सर्वोच्चताको गर्व तपाईँहरूमा होस् ।’

‘आफ्ना लागि चरा, फट्यांग्रा, किरा जसले पनि आफ्नो लागि चारो खोजेकै हुन्छ, पेट पालेकै हुन्छ, कुदैकै हुन्छ,’ उनले भने, ‘आफ्ना लागि गर्नु भनेको धेरै ठूलो कुरा होइन । आफ्ना लागि मात्रै गर्न खोजियो भने स्वार्थी भइन्छ । निजात्मकता बढ्छ । आत्मकेन्द्रित हुन्छ मान्छे । त्यसकारण परिवारका लागि हुनुस्, समुदायका लागि हुनुस्, देशका लागि हुनुस् ।’

समारोहमा कुलपति ओलीले विश्वविद्यालयका विभिन्न संकाय र तहका गरी सात हजार आठ सय ७२ विद्यार्थीलाई दीक्षित गराएका प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ