पोखरामा शुक्रबार दोहोरी गीत प्रतियोगिता हुँदै, प्रजापति र पुरुषोत्तमलाई सम्मान गरिने

सम्मान

पोखरामा शुक्रबार दोहोरी गीत प्रतियोगिता हुँदै, प्रजापति र पुरुषोत्तमलाई सम्मान गरिने

puru dai

 पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्कीको आयोजनामा शुक्रबार गण्डकी प्रदेशस्तरीय लोक दोहोरी गीत प्रतियोगिता हुँदैछ । सोही प्रतियोगिताबीच दुई अग्रज गायक प्रजापति पराजुली र पुरुषोत्तम न्यौपानेलाई सम्मान गरिने भएको छ ।

दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्कीको  बैठकले पराजुली र न्यौपानेलाई सम्मान गर्ने निर्णय गरेको हो । लोकदोहोरीको संरक्षण र प्रवद्र्धनमा टेवा पुर्याएकोमा उनीहरुलाई सम्मान गर्न लागिएको हो । ‍दुवै जना राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्वअध्यक्ष हुन् ।

विसं २०२० सालमा कास्कीको भदौरेमा जन्मिएका लोक गायक प्रजापति पराजुलीका ‘के खान्चेउ कमला सुन्तला कि आमला ’, ‘बेदनाको पोको’लगायत गीत परिचित छन् । पराजुलीले भजन–चुड्का, तीजका गीतमा पनि स्वर दिएका छन् । पराजुलीकाअनुसार नेपालमा पहिलो लोक दोहोरी गीत प्रतियोगिताको सुरुवात २०३८ साल असोज १ गते डाँफे कला मन्दिर पोखरामा भएको थियो । जसको आयोजना नेपाल कलाकार संघ जिल्ला कार्यसमिति कास्कीले गरेको थियो ।

अर्का सम्मानित व्यक्तित्व पुरुषोत्तम न्यौपाने स्याङजाको कालीगण्डकी गाउँपालिका–५ बलाम बेलटारीमा विसं २०२९ सालमा जन्मिएका हुन् । न्यौपानेका ‘सरर पानी घट्टमा’, ‘घामजस्तो चम्किलो जुन हुँदैन’, ‘रुन्छ नि मन किन रुँदैन’, ‘ऐना हेरेर’, ‘मायाले मार्यो’, ‘मिर्मी मुनि काली थुनेको’, ‘ढुंगेधारामा’, ‘देउरालीमा धजा’लगायत गीत चर्चित छन् । स्याङजामा जन्मिएपनि उनी पोखरामा बसेर संगीत कर्ममा सक्रिय छन् । उनी रेडियो नेपालमा कार्यक्रम अधिकृत पनि हुन् ।

दोहोरी प्रतियोगिता र सम्मान कार्यक्रम गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु सभाहलमा हुनेछ । दर्शकलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । प्रतियोगितामा १३ टिमले भाग लिएको आयोजकले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ