वालिङ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अभिव्यक्ति स्वतन्त्रतामा सरकार दृढ रहेको बताएका छन् ।
सरकारले प्रस्तुत गरेको सामाजिक सञ्जाललाई नियमन गर्ने विधेयकका सन्दर्भमा उपमहासचिव ज्ञवालीले सामाजिक सञ्जाललाई नियमन गर्नु प्रेस स्वतन्त्रतासँग कुनै सम्बन्ध र साइनो नभएको बताए ।
पुतलीबजारमा आयोजित प्रेस चौतारी नेपाल स्याङ्जाको छैटौं जिल्ला अधिवेशनमा सम्बाेधन गर्दै उपमहासचिव ज्ञवालीले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने कुरा कल्पना पनि गर्न सकिँदैन, यसमा निश्चिन्त हुन आग्रह गरे ।
उनले भने– ‘भर्खरै सरकारले सामाजिक सञ्जाललाई नियमन गर्ने विधेयक प्रस्तुत गरेको छ, यस सम्बन्धमा विभिन्न खालका बहसहरु छन् । हरेकले के बुझ्न जरुरी छ भने यदि मिथ्या सूचनाहरुको भीडबाट सत्यलाई जोगाउन सकेनौं भने हामीले सत्यलाई रक्षा गर्न सक्दैनौँ । कहिँ न कहिँ सामाजिक सञ्जालहरुलाई मर्यादित बनाएनौं भने समाजलाई जोगाउन सक्दैनौं । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सरकार दृढ छ, त्यो अभिव्यक्ति मर्यादित होस्, सामाजिक सद्भावलाई बलियो बनाउने होस्, व्यक्तिको चरित्रहत्याको माध्यम नबोस भन्ने ढङ्गबाट यो कुरा ल्याइएको हो । लोकतन्त्र भनेको छाडातन्त्र होइन, आफैमा मर्यादित प्रणाली हो । यदि त्यो मर्यादित भएन र अराजकतन्त्र र भीडतन्त्रमा रुपान्तरित भयो भने लोकतन्त्र र देशलाई जोखिम हुनेछ ।’
उपमहासचिव ज्ञवालीले वाक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता संविधानले पूर्णरुपले प्रत्याभूत गरेको र यसलाई कुण्ठित गर्ने कुरा कल्पना पनि गर्न नसकिने बताए ।
पछिल्लो समय समाचार के हो, के होइन, पत्रकार को हुन् को होइनन्, सत्य के हो सत्य के होइन भन्ने नयाँ बहस अगाडि आइरहेको उनले उल्लेख गरे । उनले भने – ‘प्रविधिको प्रयोगसँगै सत्य र सही सूचनालाई जोगाउने चुनौती हाम्रा सामु एकदमै ठूलो बनेको छ । किनभने संसारैभरी अहिले मिस इन्फरमेशन र डिस इन्फरमेशनको बाढीभित्र बगिरहेको छ । यसले गर्दा मान्छेहरुलाई सत्य के हो ? असत्य के हो सही सूचनाहरु के हुन् ? मिथ्या वा भ्रामक सूचनाहरु के हुन् भन्ने बारेमा ठूलो प्रश्न चिन्ह छ ।’
उनले सिङ्गो सामाजिक मनोविज्ञानलाई तरङ्गित गरिरहेको स्थितिभित्र प्रेस चौतारी नेपाल एवम् श्रमजीविहहरुको हकहित र रक्षा गर्ने प्रश्न रहेको उल्लेख गरे । अहिले पनि कैयौं मिडियाहरुमा न्यूनतम पारिश्रमिक पनि नपाइकन सस्तोमा काम गर्नुपरेको छ । कतिबेला बिग हाउसहरूले राख्दैनन् भन्ने टुङ्गो छैन । जीविकाकै चिन्ता भैसकेपछि क्वालिटीको सामग्री उत्पादन कहाँबाट होस् ?’ उनले भने ।
सरकारको सन्दर्भलाई जोड्दै उपमहासचिव ज्ञवालीले राजनीतिक स्थायित्व कायम गर्ने, अर्थतन्त्रलाई गति दिने, राष्ट्रिय हितको सम्वर्द्धन गर्ने र जनतामा आशा र भरोसा जगाउने उद्देश्यका साथ नेकपा एमाले र नेपाली काङ्ग्रेस दुई ठूला पार्टीहरु मिलेर सहकार्य गरेको बताए ।
केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकार उद्देश्य अनुरुप अगाडि बढेको उनको भनाई छ ।
सम्बन्धित खबर
सामाजिक सञ्जाललाई नियमनको प्रेस स्वतन्त्रतासँग कुनै सम्बन्ध र साइनो छैनः ज्ञवाली
एमालेले पढायो कार्यकर्तादेखि नेतासम्म
‘ब्याक टु नाइन्टिज’मा शनिबार गुञ्जिँदै सात पोखरेली ब्याण्ड
लमजुङका मालपोत कार्यालय प्रमुख नहुँदा कामकाज प्रभावित, कर्मचारीले पाएनन् तलब
सुन्तला बेचेर बर्सेनि ४५ लाख कमाउँछन् पर्वतका पूर्व शिक्षक
बागलुङमा १४० रोपनी झाडी फाँडेर ओखरखेती
यो पनि पढौँ
तनहुँमा टिपरले ठक्कर दिँदा पोखराकी अप्सरा क्षेत्रीको मृत्यु, छोरा घाइते
गण्डकीमा प्रदेश दिवसमा माघ २२ गते सार्वजनिक बिदा
गण्डकीका एक लाख किशोरीलाई माघ २२ देखि एचपीभी खोप दिइँदै
तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर