स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा जिल्लाकै गरिमा बोकेको आँधीखोलाको काख पुतलीबजार नगरपालिका – १ मालेबगरमा यही फागुन ६ गते देखि १८ गतेसम्म सञ्चालन हुने ७ औं संस्करणको स्याङ्जा महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।
‘स्याङ्जा महोत्सवको आधार – कृषि, पर्यटन नै आर्थिक समृद्धिको पूर्वाधार’ भन्ने नाराको साथ आयोजना गर्न लागिएको महोत्सवको ८० प्रतिशत तयारी पूरा भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा संघले जानकारी गराएको छ ।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष एवं महोत्सवका मूल समारोह समिति संयोजक महादेव श्रेष्ठले स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघले २०६३ साल देखि सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै स्याङ्जा महोत्सव गर्दै आएको र विभिन्न जात जाति भाषा भाषीलाई एकै थलोमा उपस्थित गराएर स्याङ्जा क्षेत्रको पहिचान गराउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको बताए ।
श्रेष्ठले गत वर्षहरूको महोत्सव भन्दा अझ पृथक प्रभावकारी रुपमा गण्डकी प्रदेश स्तरीय औद्योगिक, कृषि पर्यटन, सांस्कृतिक, सूचना प्रविधि तथा व्यापार मेला – २०८१ को रुपमा ७ औं स्याङ्जा महोत्सव आयोजना गरिएको जानकारी दिए ।
उनले महोत्सवको माध्यबाट यस क्षेत्रलाई पर्यटकीय दृष्टिकोणबाट आम नागरिकहरुमा प्रचार-प्रसार गर्ने, पर्यटकीय विकास क्षेत्रको रुपमा संवर्द्धन, प्रवर्द्धन र विकासमा सचेतना जगाउने र औद्योगिक उत्पादन, स्थानीय कुटिर उद्योग, कृषि तथा वनजन्य उत्पादनहरुको बजार प्रवर्द्धन गर्नुका साथै प्रतिस्पर्धात्मक रुपमा बजारमा पुयाउने, गुणस्तरीय उत्पादन बढाउनुका साथै स्वरोजगार सिर्जना गरी स्थानीय आर्थिक विकासमा सघाउ पुर्याउँदै राष्ट्रिय अर्थतन्त्रमा टेवा पुऱ्याउने लक्ष्य रहेको बताए ।
यस्तै, महोत्सवका प्रचार प्रसार संयोजक एवं स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका महासचिव रविन्द्र केसीले महोत्सवले अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको व्यापार व्यवसाय, उद्योग र उत्पादनको प्रवर्द्धन गर्नुका साथै स्थानीय कृषि तथा पशुपालन, प्राचिन तथा परम्परागत व्यवसायको संरक्षण, पर्यटन लगायत अन्य पेशासंग सम्बन्धित विभिन्न क्षेत्रको उत्थान गरी स्थानीय जनताको क्रयशक्तिमा वृद्धि ल्याउन मद्दत गर्ने र विभिन्न राजनीतिक दल, सरकारी निकाय, संघ संस्था, वित्तीय संस्था, शैक्षिक संस्था, धार्मिक संस्थाहरु, जातीय समाजहरु, नागरिक समाज लगायत समग्र सबै पक्षको साझा मञ्चको रुपमा आपसी सद्भाव एवं समन्वय तथा माया बाँड्न सफल हुने भन्ने अपेक्षा गरिएको जानकारी दिए । उनले महोत्सवमा बढी भन्दा बढी आन्तरिक तथा बाह्य दर्शक एवं पर्यटक भित्र्याउन तथा दर्शकहरूलाई आकर्षित गर्न विविध कार्यक्रम तथा प्रदर्शनीहरू गरि आन्तरिक पर्यटनलाई सहयोग पुर्याउने महोत्सवको मुख्य उद्देश्य रहेको बताए ।
उक्त अवसरमा नेपाल पत्रकार महासंघ स्याङ्जा शाखाका अध्यक्ष प्रदीप कोइरालाले महोत्सव सफल बनाउन सबैले आ – आफ्नो स्थानबाट लागि पर्नुपर्ने बताए । उनले पत्रकार महासंघ स्याङ्जा शाखा सधैं साथमा रहेको बताउँदै महोत्सवको सफलताको सुभकामना व्यक्त गरेका थिए ।
सोही अवसरमा पत्रकार गोपाल जिटी, सुशील सुवेदी, जोगराज पाठक, नारायण कोइराला, ओमप्रकाश शर्मा, स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष रविन्द्रमान श्रेष्ठ, संघका पूर्व केन्द्रिय सदस्य तथा जिल्लाका पूर्व अध्यक्ष दीपक लम्साल लगायतले आयोजित महोत्सवलाई सफल बनाउन हातमा हात साथमा साथ दिनुपर्ने र महोत्सव सफल पार्न विशेष भूमिका दर्शकहरुकै रहने हुँदा महोत्सवमा दर्शकहरुलाई सहज व्यवस्थापन हुनुपर्नेमा जोड दिँदै सल्लाह, सुझाव तथा गुनासो राखेका थिए ।
महोत्सवको थप आकर्षणको रुपमा महोत्सवस्थलमा माछा महोत्सवको रुपमा स्याङजा जिल्लाका प्रख्यात नदीहरु आँधीखोला, ज्याग्दीखोला, दरौंखोला, कालीगण्डकी लगायत नदीहरु तथा स्थानीय माछापोखरीहरुबाट उत्पादित माछाहरुको परिकार, भुरा तथा माउहरुको प्रदर्शनी, राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान, औद्योगिक व्यापार मेला, लोक दोहोरी गीत प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, पञ्चेबाजा प्रतियोगिता, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, ताजा तरकारी, अर्गानिक कफी तथा सुन्तला प्रदर्शनी, हस्तकला प्रदर्शनी, महिला विशेष कार्यक्रम अन्तर्गत परम्परागत रत्यौली गित प्रतियोगिता, मम्मी डान्स (एकल आमा नृत्य) प्रतियोगिता, लोक भजन प्रतियोगिता, ख्याती प्राप्त कलाकारहरुबाट दैनिक प्रस्तुती, सुगम संगित, लाईभ कन्सर्ट लगायत थुप्रै मनोरञ्जनात्मक कार्यक्रमहरुको रुपमा प्रस्तुती रहने छन् ।
उक्त महोत्सवमा अगुवा कृषक तथा कृषि विशेषज्ञ बीचको अन्तरक्रिया कार्यक्रम, पश्चिमाञ्चल क्षेत्रका विभिन्न ऐतिहासिक एवं धार्मिक र साँस्कृतिक महत्व बोकेका पर्यटकीयस्थलहरूको फोटो प्रदर्शनी, महोत्सवस्थलबाट पशुपंक्षी, अटोमोवाइलहरूको प्रदर्शनी तथा विशेष छुटसहित बिक्री वितरण गर्ने व्यवस्था समेत मिलाइएको छ ।
महोत्सवमा सूचना प्रविधि तथा शैक्षिक सामाग्री प्रदर्शनी हुनेछ भने विभिन्न जातजाति, धर्म, सम्प्रदाय तथा संघ संस्थाका मौलिक सांस्कृति झल्कने सांस्कृतिक कार्यक्रमहरु, झाँकीहरू समेत प्रस्तुत गरिनेछ ।
महोत्सव प्रवेशका लागि टिकट रु. १०० रहेको छ । विद्यार्थी परिचयपत्रको आधारमा विद्यार्थीलाई रु. ५० को टिकट र ज्येष्ठ नागरिक परिचयपत्रका आधारमा ज्येष्ठ नागरिकलाई नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ । महोत्सव टिकट आम्दानीको ५ प्रतिशत संस्थाको सामाजिक उत्तरदायित्व वहन अन्तर्गत विभिन्न सामाजिक कार्यमा खर्च गरिने आयोजकले जानकारी दिएको छ ।
संघका अध्यक्ष महादेव श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव रविन्द्र केसीले गरेका थिए भने स्वागत वरिष्ठ उपाध्यक्ष भिम कुमार श्रेष्ठले गरेका थिए ।
‘स्याङ्जा महोत्सवको आधार – कृषि, पर्यटन नै आर्थिक समृद्धिको पूर्वाधार’ भन्ने नाराको साथ आयोजना गर्न लागिएको स्याङ्जा महोत्सव – २०८१ का कार्यक्रमहरुलाई व्यवस्थित रुपमा संचालन गर्नका लागि एक हजार १११ जनाको आयोजक मूल समिति साथै महोत्सव सल्लाहकार समिति, निर्देशन समिति, अनुगमन समिति गरी विभिन्न ३९ समिति गठन गरिएको छ । २२० स्टल रहने यस महोत्सवमा ३ लाख पचास हजारभन्दा बढि दर्शकले मेला अवलोकन गर्ने र करिब ८ करोड बरावरको व्यापारिक कारोबार हुने अपेक्षा गरिएको छ ।
महोत्सवमा करिब एक करोड एक लाख आम्दानी हुने र महोत्सव सम्पन्न गर्नका लागि करिब ९५ लाख बीस हजार खर्च भई पाँच लाख ८० हजार बचत हुने अनुमान गरिएको छ ।
सम्बन्धित खबर
७ औं स्याङ्जा महोत्सव फागुन ६ देखि, तयारी अन्तिम चरणमा
सेभेन ए साइड खुल्ला फुटबल: दोस्रो रिमा स्मृति कपको उपाधि राम लक्ष्मण क्लबलाई
रेडक्रस स्याङ्जाको सभापतिमा पुनः अर्याल
नागरिकको समस्या समाधानमा अर्जुनचौपारीको अग्रसरता
एचपीभी खोपसम्बन्धी अभिमुखिकरण एवं अन्तरक्रिया गोष्ठी
नियन्त्रित लागूऔषधसहित एकजना पक्राउ
यो पनि पढौँ
तनहुँको सत्र सयमा दुर्घटना, भरतपुरकी युवतीको मृत्यु
हाइड्रोपावरको लोडर पल्टिँदा लमजुङका घलेको मृत्यु
पोखराको साइमनबाट झण्डै १५ लाख चोरेर फरार दुई पूर्वकर्मचारी बुटवलमा पक्राउ
आगलागीबाट घाइतेलाई काठमाडौं लैजाँदै गर्दा बाटोमै अस्ताए एकै परिवारका तीन जना