पोखरा । विद्यार्थीमा साहित्यको चेतना र पठनशैली विकास गराउने उद्देश्य सहित पालिखेचोकस्थित प्रतिभा माविमा शनिबार एकदिने साहित्य, कला र संगीत मेला आयोजना गरिएको छ ।
त्यससँगै विद्यालयमा यसअघि अध्ययनरत विद्यार्थीको भेटघाट पनि गरिएको छ । विद्यालयका प्राचार्य किरण सापकोटाले प्रतिभाबाट विद्यालयतहको अध्ययन सकेका पूर्व विद्यार्थीको भेटघाटसँगै साहित्य, कला र संगीतलाई एकैठाउँमा जमघट गराएको बताए । कार्यक्रमको साहित्यकार तीर्थ श्रेष्ठले उद्घाटन गरेका थिए ।

सापकोटाका अनुसार प्रतिभा मावि २०४३ सालमा स्थापना भएको थियो । त्यसपछि विद्यालयतहमा अध्ययन गरेका विद्यार्थीको भेटघाट भएको थिएन । उनीहरुलाई एकैठाउँमा भेला गराएर विद्यालयमा अध्ययनरत रहँदाको दिनलाई स्मरण गराउँदै साहित्य, कला र संगीतमा जमघट गराउनका लागि कार्यक्रम आयोजना गरिएको बताए ।
‘विद्यालयमा अध्ययनरत रहँदाको अनुुभव साट्नका लागि अल्मुनाईमार्फत जमघट गरिएको छ । एउटै विद्यालमा पढेर हाल विभिन्न ठाउँमा पुगेको अवस्थामा पनि पूर्व विद्यार्थीलाई जमघट गराउने अवसर जुटेको छ,’ उनले भने । त्यसबाहेक कवि तीर्थ श्रेष्ठसँग साहित्यिक छलफल गरिएको थियो ।

उक्त कार्यक्रममा पुस्तक र चित्रकला प्रदर्शनी र सांगीतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । त्यसैगरी चित्रकार सुनिल मर्सानीलाई पनि त्यही अवसरमा सम्मान गरिएको थियो । विद्यार्थी आफैले कोरेका चित्र उक्त कार्यक्रममा प्रदर्शनीमा राखिएको थियो ।
यसअघि विद्यालयमा आयोजना गरिएको विज्ञान प्रदर्शनीमा उत्कृष्ट भएको प्रविधिलाई पनि उक्त प्रदर्शनीमा राखिएको थियो ।

‘विद्यार्थीको सिर्जना, रचना र सिर्जनामार्फत पस्केको सपना देखाउने अवसर यो कार्यक्रमले जुटाएको छ,’ प्राचार्य सापकोटाले भने, ‘यसले विद्यार्थीमा रहेको अन्तरनिहीन क्षमतालाई बाहिर ल्याउनेछ भने अरु विद्यार्थीमा पनि कला र संस्कृतिको ज्ञान पस्कनेछ ।’ एल्मुुनाईमार्फत विद्यार्थीलाई पहिलेका दिनमा फर्काउने प्रयास गरेको उनले बताए ।

‘साहित्य मेलामार्फत पठनशैलीको विकास गर्ने प्रयास पनि गरेका छौ । पछिल्लो पुस्ता पुस्तक पठनमा केही पछाडि परेको अवस्थामा यस्ता गतिविधिले उनीहरुमा पढ्ने शैलीको विकास हुने अपेक्षा छ,’ प्राचार्य सापकोटाले भने । कार्यक्रममा विद्यालयका लागि तयार पारिएको गीत पनि उक्त अवसरमा सार्वजनिक गरिएको थियो ।
उक्त अवसरमा पोखरेली साहित्यकार तीर्थ श्रेष्ठसँग लेखक समेत रहेका जीवनसागर भण्डारीले साहित्यिक छलफल गरेका थिए । भण्डारीसँग गफिँदै कवी श्रेष्ठले विद्यार्थीको जीवनबारे अनुभव साटेका थिए । आफुले पोखरामा रहेर विद्यालयमा पढ्दा र अहिलेको शिक्षाबारे अनुभव साटेका थिए ।

‘हामी स्कुल जाँदा गुन्द्री लिएर जान्थ्यौ, विद्यालयमा कक्षा कोठा थिएनन । खुला आकाशमुनि रहेर पढ्नु पर्दथ्यो । त्यस्तो बेला पानी पर्दा र हावाहुरी चल्दा स्कुल नै बिदा हुन्थ्यो,’ साहित्यकार श्रेष्ठले आफ्नो स्कुले अनुभव साटे, ‘अहिलेका विद्यार्थीका लागि ती कुरा सुुन्दा पनि नौलो लाग्छ । तर, हाम्रो पालामा अध्ययन निकै नै सकसपूर्ण थियो ।’

उनका भनाईमा विद्यार्थी विरुवा हुन, ती विरुवालाई अभिभावकले घाम, शिक्षकले पानी र समाजले हावा दिएमा मात्र पूर्णता पाउँछन् । ‘अभिभावक स्वयं पनि शिक्षक नै हुन् । त्यही भएर विद्यार्थीका लागि अभिभावक, शिक्षक र समाज सबै क्षेत्र आवश्यक पर्छ,’ उनले भने, ‘कुनै एउटा क्षेत्रको मात्र अभावमा विद्यार्थीले फक्रने गतिलो मौसम पाउँदैन ।’

विद्यार्थीलाई एकपटक असफल हुँदैमा सधैंको असफल नहुने पनि उनले बताए । ‘एकपटक असफल हुँदैमा सफलताको यात्रा सकिन्न । असफलताबाट पाठ पढ्दै अघि बढेमा पक्कै पनि सफल भइन्छ,’ श्रेष्ठले भने, ‘एकपटकको असफलताबाट आत्तिनु हुँदैन ।’ उनले विद्यार्थीको सीकाई पाठ्यपुस्तकमा मात्र निर्भर रहन नहुने पनि बताए । ‘किताब पढेर मात्र विद्यार्थीको सिकाइ पुरा हुँदैन । विद्यार्थीले संस्कार पनि सिक्नुपर्छ । संस्कार सिक्नका लागि संगत पनि राम्रो हुनुपर्छ,’ श्रेष्ठले भने, ‘विद्यार्थीका लागि सधैंको संघर्ष आवश्यक पर्छ । संघर्षबिना सफलता हात पार्न मुस्किल हुन्छ ।’

विद्यालय संचालक समितिका अध्यक्ष नारायण पौडेलले विद्यार्थीका फरक कार्यक्रम पस्कने क्रममा साहित्य, संगीत र कलालाई समेटेर कार्यक्रम आयोजना गरेको बताए । ‘विद्यार्थीको रुची फरक फरक हुन्छ । कतिपयले साहित्यलाई रुचाउँछन, केहीले कला र कतिपयले संगीतलाई । त्यसबाहेक विद्यार्थीमा पठन शैली विकास गर्न पनि यस्ता कार्यक्रम सहयोगी बन्छन,’ पौडेलले भने, ‘फरक शैलीमा कार्यक्रम पस्कने क्रममा यो पटक साहित्य, कला र संगीतलाई समेटेका छौ ।’
पाठ्यपुस्तक बाहेक बाह्य ज्ञान दिलाउन यस्ता कार्यक्रम आवश्यक रहेको उनले बताए । आगामि दिनमा पनि विद्यालयले यस्तै कार्यक्रमलाई निरन्तरता दिइरहने उनले बताए । उक्त अवसरमा कविता बाचन सहित सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।
सम्बन्धित खबर
चैत तेस्रो सातादेखि पोखराबाट ल्हासामा नियमित उडान हुँदै
स्ववियु निर्वाचन: जनप्रियमा अखिलको नेतृत्व गर्दै आविष्कारको उम्मेदवारी घोषणा
स्ववियु निर्वाचन: पिएन क्याम्पसमा १२ संगठन दर्ता
पोखरालाई अझै आधुनिक र विकसित बनाउन तीनै सरकार लाग्नुपर्छ: राष्ट्रपति पौडेल
पोखराको अमरसिंह चौरमा आज गुञ्जिँदै चर्चित ब्याण्ड
नेपाल लिटरेचर फेस्टिभलः दोस्रो दिन बालबालिकादेखि प्रदीप, गगनसँगका बहस (भिडियो)
यो पनि पढौँ
बाइकमा बाँधेर कुकुर घिसार्ने पोखरा पुम्दीभुम्दीका खुशीराम पक्राउ
आठौँ राष्ट्रिय रनिङ शिल्ड दोहोरी प्रतियोगिता प्रतिष्ठान बागलुङले जित्यो
मनकामना मन्दिरका दर्शनार्थी सवार माइक्रोबस दुर्घटना: १ जनाको मृत्यु, १४ घाइते
बालेनलाई गण्डकीका स्वास्थ्यमन्त्रीले भने – के हो भाइ तिम्रो पारा ?