प्रेस चौतारी पत्रकारिता पुरस्कार ईन्द्र पौडेललाई, गणेशमान गुरूङलाई सम्मान

सम्मान तथा पुरस्कार

प्रेस चौतारी पत्रकारिता पुरस्कार ईन्द्र पौडेललाई, गणेशमान गुरूङलाई सम्मान

स्थापना दिवसमा माघ २२ गते सम्मान तथा पुरस्कार अर्पण गरिने

Indra Ganeshman

पोखरा । प्रेस चौतारी नेपाल, कास्की शाखाले स्थापना एवं सञ्चालन गरेको ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार’ यस वर्ष ईन्द्रप्रसाद पौडेललाई प्रदान गरिने भएको छ । यस्तै, ‘प्रेस चौतारी पत्रकारिता सम्मान २०८१’ अग्रज पत्रकार गणेशमान गुरूङलाई अर्पण गर्ने पनि प्रेस चौतारी कास्कीले जनाएको छ ।

प्रेस चौतारीको २७ औं स्थापना दिवसको अवसर पारी कास्की शाखाले माघ २२ गते पुरस्कार एवं सम्मान अर्पण गर्न लागेको हो । पुरस्कारको राशी २२ हजार २ सय २२ रहेको छ ।

प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष तथा सल्लाहकार शान्ति गुरूङ संयोजक, पूर्व पुरस्कृत व्यक्तित्व केशव पाठक र अग्रज केशवशरण लामिछाने सदस्य तथा कार्यवाहक अध्यक्ष मोतिसागर अधिकारी र सचिव रञ्जन अधिकारी पदेन सदस्य रहेको प्रतिभा छनौट समितिले पौडेललाई पुरस्कृत र गुरूङलाई सम्मान गर्ने निर्णय गरेको हो ।

सम्मानित व्यक्तित्व गणेशमान गुरूङ २६ वर्षदेखि पत्रकारितामा क्रियाशील छन् । स्याङ्जा सिरूबारी जन्मस्थान रही पोखरा १५ मा स्थायी बसोबास गर्दै आएका गुरूङले २०५५ सालमा पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरू गरेका थिए । हिमचुली एफएम, गोल्डेन आई टेलिभिजन हुँदै २०६४ देखि सगरमाथा टेलिभिजनमा आबद्ध रही १३ वर्षदेखि समाचार सम्पादक पदमा कार्यरत छन् । बिएलसम्म अध्ययन गरेका गुरूङ २०७७ मा ‘प्रबल जनसेवा श्री चतुर्थ’ पदकबाट विभूषित भइसकेका छन् ।

पुरस्कृत पत्रकार इन्द्रप्रसाद पौडेल २१ वर्षदेखि पत्रकारितामा निरन्तर सक्रिय छन् । २०६० सालमा समाधान र पोखरा हटलाइन दैनिकमा संवाददाता र फोटो पत्रकारिता गरेका पौडेल २०६२ सालदेखि कान्तिपुर टेलिभिजनमा आबद्ध छन् । यस्तै, मैदानन्यूज डटकमको संस्थापक सञ्चालक हुन् ।

प्रेस चौतारी नेपाल गण्डकी प्रदेश कमिटी अध्यक्ष पौडेल नेपाल पत्रकार महासंघ गण्डकीको संस्थापक सचिव, पत्रकार महासंघका पूर्व केन्द्रीय पार्षद् पनि हुन् । नेपाल फोटो पत्रकार महासंघको कास्की शाखा अध्यक्षदेखि केन्द्रीय सदस्यसमेत भइसकेका पौडेल सामाजिक संस्था सिर्जना विकास केन्द्र, पोखराको पूर्व अध्यक्ष पनि बने । कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित समाज सेवा युवा परिवारका संस्थापक अध्यक्ष, जनप्रिय बहुमुखी क्याम्पसका सञ्चालक समिति सदस्य पनि हुन् । पौडेलले प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार २०७२, सहारा क्लब पोखरा, फोटोग्राफर संघ पोखबाट सम्मान प्राप्त गरेका छन् । पोखरा ७ निवासी पौडेलले बिए अध्ययन र २ वर्षे सीएमए पनि गरेका छन् ।

प्रेस चौतारी कास्कीले राजु भण्डारी, सावित्री खनाल, हुम गुरूङ र मीना गुरूङलाई संस्थागत योगदानको कदर गर्दै सम्मान गरिसकेको छ ।

प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकारहरु संस्थापक अध्यक्ष पुण्य पौडेल, माधव शर्मा, रुद्रबहादुर थापा, नवराज सुवेदी, हरि बास्तोला, बद्रीबिनोद प्रतीक, खेम सारु, दुर्गा भण्डारी, निमदत्त सुवेदी, श्रीराम सिग्देल र शान्ति गुरुङ पुरस्कृत भइसकेका छन् । यसैगरी, रामकृष्ण ज्ञवाली, श्याम कुँवर, दीपेन्द्र श्रेष्ठ, केशव पाठक, सुष्मा पौडेल र माधव बराल पुरस्कृत भएका छन् ।

यसैबीच, सम्मान तथा पुरस्कार अर्पण समारोहलाई व्यवस्थित बनाउन विभिन्न उपसमितिसमेत गठन गरिएको छ । सोहि दिन स्थानीय तहसँगको समन्वयमा अन्तर्क्रिया र प्रेस चौतारी कास्कीको नवौं अधिवेशनमार्फत् नयाँ नेतृत्व पनि चयन गर्ने कार्यक्रम रहेको सचिव अधिकारीले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds