पोखराको ढुंगेसाँघु मेला निरन्तर

'ढुंगेसाँघुको मेलैमा, भेट भएको बेलैमा'

पोखराको ढुंगेसाँघु मेला निरन्तर

पछिल्ला वर्षहरुमा भिडभाड कम हुँदै गएको छ

dhungesanghu mela (1)

‘ढुंगेसाँघुको मेलैमा, भेट भएको बेलैमा …..’ सदाबहार चर्चित गीत । माघे संक्रान्तिमा यहाँ भव्य मेला लाग्ने भएकाले नै यस थेगो बनेको भन्दा अत्युक्ति हुँदैन ।

प्रत्येक बर्ष माघे संक्रान्तिको दिन ढुंगाले बनेको प्राकृतिक पुलसँगको सम्बन्ध गाँसिएको ढुंगेसाँघु मेला यस वर्ष पनि सकियो । यो ऐतिहासिक मेला जमानामा जसरी महत्व दिएर मनाइन्थ्यो । पछिल्ला वर्षहरुमा भने भिडभाड कम हुँदै गएको छ ।

महतगौंडा र टुटुङ्गाको मितेरी साइनो गाँस्ने सो पुलको नामबाट लाग्दै आएको मेला भर्न पोखरेलीका साथै कास्कीका विभिन्न गाउँ, स्याङ्जा, पर्वत, तनहुँ, बाग्लुङ, म्याग्दी लगायतका स्थानबाट समेत आउने गर्दथे ।

पोखरा क्षेत्रको धार्मिक तथा ऐतिहासिक तीर्थस्थल सितापाईलामा रहेको सेतीनदी किनारमा दर्शन गर्नेहरुको बिहानैदेखि भिड लाग्ने गर्छ । सेतीनदी किनारमा हुने मेला विना प्रचार–प्रसार वर्षेनी भव्य रुपमा आयोजना हुँदै आएकोमा रौनकता हराउँदै गएकोले चिन्ता पनि बढ्दै गएको छ ।

वि.सं. १८६४ सालबाट निरन्तर रुपमा मेलाको आयोजना हुँदै आएको जानकारहरु बताउँछन् । भगवान राम र सिताले माघेसंक्रान्तिको दिनमा त्यहाँ बसेर खाजा खाएको धार्मिक विश्वास रहेकोले सख्खर, चिउरा, तरुल खानेगरी मेलाको आयोजना गर्न थालिएको किम्बदन्ती छ । सिताघाटमा स्नान गरेर सदाशिव हरिहर, अकलादेवी, सितापाईला लगायत विभिन्न देवदेवीको दर्शन गर्न सकिने उक्त पुण्यभुमीका प्राचिन कालदेखि ढुङेसाघुँ मेला लाग्दै आएको हो ।

मकर संक्रान्तिमा हरिहरको दर्शन गर्नको लागी व्रम्हा, विष्णु र महेश्वर लगायत सम्पुर्ण देवी देवता, यक्ष, गन्धर्व अप्सरा यस ठाँउमा आउँछन र उक्त दिन हरिहरको दर्शन गरी जान्छन भन्ने मान्यता रहेको छ । त्यसैले पनि भक्तजन अहिले यहाँ आएर सीताघाटमा गंगास्नान गरी हरिहरको मन्दिरभित्र प्रवेश गरी विधि अनुसार पूजा गरी दर्शन गर्ने चलन छ ।

स्वर्गका अप्सरा यस ठाँउमा आइ नाचगान गरी रमाइलो गर्ने गरेको हुँदा विगतका समयमा यहाँ रोइला गाउने गरिन्थ्यो । रातभरी भजन किर्तन गरी विहान नुहाइ धुहाइ गरी हरिहर महादेवको दर्शन गरिन्थ्यो । जुन ऐतिहासिक चलन अहिले हराएको छ । त्रेतायुगमा रामसीता यहाँ आएका र  चिनोस्वरुप आफ्नो पैतालाको छाप छाडेको हुँदा यो ठाँउ सीतापाइला नामले पनि परिचित छ ।

परम्परागत रुपमा लाग्दै आएको यो मेला हेर्न पुगेका दर्शकको भिडलाई व्यवस्थापन गर्न आयोजकलाई हम्मेहम्मे परेको थियो । माघे संक्रान्तीको अवसरमा हस्तकलाबाट उत्पादित विभिन्न जातिहरुले आ–आफ्नो जातिय पेशामा आधारित भाडाकुँडा, डोको, नाङलो, माद्रो, मुडा लगायतका बस्तुहरु किन्न भिडभाड भएको थियो ।

निकै नै खचाखच भीड हुने यो मेलामा घरयसी सामानको किनमेल, खेलकुद प्रतियोगिता र मनोरञ्जनात्मक गतिविधि हुने गरेका छन् ।

यस ठाउँमा मकर संक्रान्तिको दिन यहाँको जात्रामा भेला भइ आ–आफ्ना सामान साटफेर गरी जिविकोपार्जन सहज बनाउने गर्दथे । अहिले पनि यहाँ घरायसी सामानको किनमेल नै हुने गरेको छ ।

यहाँ पोखरा बजारबाट मात्र नभई आसपासका क्षेत्रबाट समेत भक्तजन आउँछन् । त्यसको भीडले मकरसंक्रान्तिमा ढुंगे साँघु निकै नै खचाखच हुन्छ । दिनभर भजनकिर्तन सहित मनोरञ्जनात्मक गतिविधिले पनि यहाँको मौलिकता बढेको स्थानीयले बताउने गरेका छन् ।

मेलाको प्रमुख आकर्षण भनेको पोखराको मध्य भागबाट बगेको सेती नदीमाथि बनेको ढुंगाको प्राकृतिक साँघु हो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ